• Breaking News

    रित्तिदै गरेका गाउँहरु

    डी.आर.घिमिरे

    गाउहरु खाली हुँदै गएका छन् । युवाहरु देश विदेश गएर घर खर्च चलाउँछन् । पढेलेखेका युवाहरु जागिरको सिलसिलामा बाहिरै छन् । वालवालिकाहरुलाई आमाको जिम्मा लगाएर सदरमुकाम  वा नजिकको शहरमा अध्ययनका लागि पठाउने गरिएको छ । वृद्ध वृद्धाहरु घर कुरेर मृत्युलाई पर्खेका छन् । गाउँका गाउँ वृद्धाश्रममा परिणत भएका छन् । गाउँमा छन् भने थोरै शिक्षकहरु छन् । जसले ग्रामीण समाजलाई धानेका छन् । अहिलेको  नेपालका पहाडी जिल्लाहरुको अवस्था यही हो । पहाड रित्तिनु र तराई भरिनु, पहाडका पाखा पखेरा बेचेर शहर वा शहरोन्मुख ठाउमा २० हातको घडेरीमा सीमित हुनु अहिलेको चालु प्रक्रिया हो । यो प्रक्रियालाई सजिलो गरी रोक्न सक्ने अवस्था छैन । यसको अर्थ कुनै विकल्प छैन भन्ने पनि हैन ।
    वि.सं.२०६० सालतिरको कुरा हो, म मेरो जन्मभूमि मैदान गएको थिएँ । सानैदेखि हुर्के, बढेको, नातापाता इष्टमित्र र थोरै  सहपाठीहरु गाउँमै भएकोले त्यतिन्जेलसम्म म हरेक वर्ष जस्तो पहाड गइरहन्थे । मेरो वुवा आमा असमयमै वित्नुभयो । त्यसैले पनि वुवा आमाका दौतरीहरुलाई भेट्दा अभिभावकत्व पाएजस्तो हुन्थ्यो । वुवा आमाले गरेका कतिपय काम, समय समयका अभिव्यक्तिहरुलाई सम्झेर उहाँहरुले मप्रति सहानुभूति प्रकट गर्नुहुन्थ्यो । अहिले पनि गर्नुहुन्छ । गाउँसँग जोडिनका लागि मसँग ठोस र मूर्त कुरा केही छैन । जग्गा  जमिन छैन । परिवार भित्रका कोही सदस्यको बसाई पनि छैन । एक आधबाहेक काका काकीहरु पनि हुनुहुन्न । भएकाहरुलाई  भेट्न पनि पहाडै पुग्नु पर्दैन । किनकी उहाँहरु सबैको तराईसँग नाता गाँसिएको छ । यस्तो अवस्थामा पहाडसंग नाता जोड्नु मेरो रहर र इच्छा दुवै थियो । यद्यपि यो इच्छा अहिले पनि सकिएको छैन । यस्तो अवस्थामा कुनै न कुनै कामले जोडिने  मेरो इच्छा पनि पूरा हुने, नयाँ कामको  थालनी हुने, आजका लागि सिकाईको पात्र बनिने भएकोले  एउटा सहकारी बनाउने र त्यसले कृषि उत्पादनका कार्य गर्ने प्रस्ताव मैले नै गरे । टोलका १५।२० जना जम्मा भयौं । मलाई त्यतिबेला पनि कागती खेती गर्नुपर्छ भन्ने लागेको थियो । जग्गा बाँझै थिए । छन् अहिले पनि । सस्तो मूल्यमा  जग्गा पाइनु, लिजमा लिए पनि सुलभ दरमा पाइने भएकोले मेरो मन कागती खेतीतर्फ थियो । विचारको विनिमय हुँदा हुँदै भैसीका पाडा पाडीको पालन  पनि आकर्षक देखियो । हरेक जसोले एउटा दुध दिने भैसी पाल्ने गर्थे । किनकी शरीरलाई आवश्यक तत्व दुधबाटै आपूर्ति गरिन्थ्यो । धेरै पाल्न नसक्ने, पाडापाडीहरुले दुःख पाएकोले व्यवसायिक रुपमा गर्दा ४ वर्षमा एउटा पाडी ३० देखि ५० हजार सम्मको हुन्थ्यो । पाडा अलि ठूला भएपछि शहरतिर पठाउन सकिन्थ्यो । सँगसँगै यसलाई पनि संचालन गर्ने । मल प्रसस्त भएपछि अदुवा, वेसार,तरकारी आदि खेती पनि हुन्थ्यो । उस्तै पर अर्गानिक तरकारी शहर लगिन्छ । २।३ घण्टाको बीचमा राम्रो सपना बुन्यौं हामीले ।
    यसो गर्दा देशैभरी राम्रो सन्देश जाने थियो । यद्यपि अहिले जस्तो आकर्षण थिएन त्यतिबेला । तर अहिले मलाई लाग्छ १२।१३  वर्ष अघि उक्त योजना सञ्चालन गरेको भए आज त्यो नेपालकै नमूना बन्ने रहेछ । गाउँ कति रसिलो र भरिलो हुने थियो । अहिले मैले कल्पना मात्र गर्न सक्छु ।
    त्यतिबेला यो योजना किन अघि बढेन ? यसका बारेमा पनि थोरै उल्लेख गर्नुपर्छ । बुटवलबाट गाउँमा गएर सपना देख्न सजिलो छ, तर त्यसको कार्यान्वयनमा व्यक्ति नै लाग्नुपर्छ । हामीले कल्पनाको संसार देखे पछि त्यस कामको अगुवाई र नेतृत्व गर्ने  जिम्मा मेरै सहपाठी भाई जीवलाल घिमिरेलाई दियौं । उनी गाउँमा चल्तापूर्जा, सबैका विश्वासिला पढेलेखेका पात्र थिए । खासमा वेरोजगार पनि थिए । त्यसैले उनैले हाँक्छन् भन्ने आशयले पनि मेरो जबरजस्तीले योजना बनाएका थियौं । अहिले पनि मलाई विश्वास छ, उनले विश्वास गरेको भए यो योजना अर्घाखाँची मात्र हैन, लुम्बिनी अञ्चलको गौरवपूर्ण योजना बन्ने थियो । वास्तवमा मलाई अत्यन्तै दुःख लागेको कुरा यो हो ।  किनकी मैले पनि यस मार्फत् आफ्नो जन्मभूमिलाई केही गर्ने उत्कट अभिलाषा राखेको थिए । उनको वैयक्तिक जीवनमा कायापलट हुने थियो । उक्त काम आर्थिक कारणले नरोकियोस् भनी हिड्ने बेलामा मैले भनेको थिए– ‘पैसाको कारणले यो काम रोकिन्न । कामको प्रारम्भ होस् श्रोत साधन मैले जुटाउँछु ।’ बुटवल आएपछि विष्णु घिमिरेले नयाँ पत्रिकामा  समाचार लेखे । कतिपय साथीहरुले वधाई दिए । तर, योजना अघि बढेन । अहिले जिवलाललाई पनि पश्चाताप परेको छ । एमाले जिल्ला कमिटी सदस्य रहेका उनले यस्तो काम गरेको भए पछिल्लो एमाले महाधिवेशनले गरेको निर्णयलाई कार्यान्वयन गर्ने ब्यक्तिको रुपमा पनि उनी दर्ज हुने रहेछन् ।
    अर्को एउटा  पश्चातापपूर्ण कृषि सम्बन्धी नै योजना छ । त्यसका बारेमा पनि थोरै कुरा गरेपछि किन रित्तिदै छन् गाउँहरु भन्नेतर्फ लाग्नु उपयुक्त हुनेछ । करिब ०६५।६६ सालतिर हुनुपर्छ, सामुदायिक बहुउद्देश्यीय सहकारी संस्था लि.को मलाई योजना अनुगमन समितिको संयोजक बनाइयो । तत्कालीन अध्यक्ष होमबहादुर गलामीले योजना बनाउने, कार्यान्वयन गर्ने र अनुगमन समेत गर्ने सबैभन्दा महत्वपूर्ण समिति भएको जानकारी गराउनु भयो । मैले उत्पादनमूलक काम गराउनु पाए बहुउद्देश्यीय सहकारी भएकोले  नाम अनुसारको काम हुने थियो भन्ने लाग्यो । योजना बनाउनु पूर्व कृषि उत्पादनका पकेट क्षेत्रमा घुमियो । पाल्पाको मदनपोखरा रुपन्देहीको सूर्यपूरा लगायत क्षेत्रमा स्थलगत भ्रमण ग¥यौं । किसान सँगबाट सोझै तरकारी लगायत उत्पादन उठाउने र बुटवलमा विक्री केन्द्र राख्ने । सहकारीले केहीलाई रोजगारी दिने र किसानसँग सोझो सम्बन्ध राख्ने भएकोले यसलाई उपयुक्त हुने सम्झेर साधारण सभामै योजना पेश ग¥यौं । पास भयो ।
    लुम्बिनी कोशेली घरको नाममा सञ्चालनमा ल्याइने उक्त कम्पनीले फलफूल, मकै, मकैको आटो, कोदो तथा फापरको पिठो, सातु, स्थानीय प्रजातिका चामल, घ्यू, कफि, मह, गेडागुडी, नाम्ला, डाला, कुचो, चुक, खुदो, मस्यौरा, हरियो तरकारी, सिलाम, तेल जसता वस्तुहरुको विक्री गर्ने उद्देश्य राखेको थियो । भारताट आउने कृषिजन्य वस्तुको आयातलाई प्रतिस्थापन गर्ने, नेपाली उत्पादनलाई प्रश्रय दिने, गाउँका वारी, खेतलाई उत्पादनमा प्रयोग गर्ने, उत्पादन क्रान्तिको प्रारम्भ गर्ने जस्ता उद्देश्य राखिएको थियो । सहकारीले यसलाई कार्यान्वयनमा ल्याउन सकेन । खासगरी व्यवस्थापनमा केही चुनौती देख्यो । यद्यपि हाम्रो प्रस्तावमा सहकारी एक्लैले भन्दा पनि व्यक्तिलाई समेत शेयर हाल्न लगाउने र कम्पनीद्वारा सञ्चालन गर्दा दिगो हुने भएकोले त्यसो गरौं भन्ने थियो । हामीले योजना बनाएको २ वर्षपछि पैंचो पसलले त्यही प्रकृतिको काम ग¥यो । तर, जे ग¥यो, अत्यन्तै राम्रो ग¥यो । गुल्मीमा उसले उत्पादनमा समेत लगानी गरेको छ । राम्रो बजार बनाएको छ । मलाई लाग्छ यसको भविष्य उज्जवल छ ।
    मैले जोड्न खोजेको कुरा गाउँ रित्तिदै जानु र युवा शक्ति  पलायन हुनुसँग सम्बन्धित छ । अझै पनि अपार सम्भावना छन् । बसाई सराई समस्याको समाधान हुँदै हैन । जो  जहाँ छ उसले त्यहीबाट आत्मनिर्भर हुने योजना नबनाउने हो भने देश आत्मनिर्भर हुन्न । मलाई संझना छ, २०४०।४५ सालसम्म  गाउँ आत्मनिर्भर थिए । म आफै पनि पहाडबाट घ्यू लिएर वुवासँग बुटवल आउँथे र वर्षभरीलाई चाहिने नुन तेल, लत्ता कपडा लैजान्थे । करिब २०४० सालसम्म त मैले पनि त्यसो गरे । तर ०४५।०४६ पछि क्रमसः बसाई सराइले तीव्रता पायो । उत्पादन हुन छोड्यो र अहिलेसम्म आई पुग्दा गाउँका गाउँ खाली भए । त्यसैले पहाडी जिल्लालाई तरकारी र फलफूल खेती एवं पशुपालन केन्द्रको रुपमा विकास गर्ने हो भने स्थितिमा परिवर्तन आउन सक्छ । व्यावसायिक खेती एक्लै हैन, सामूहिक रुपमा गर्न सकिन्छ । सहकारीहरुसँग थुप्रिएको रकमलाई त्यसरी परिचालन गर्ने वातावरण बनाउने हो भने १०।२० हजारको जागीर खान अरबको खाडी पुग्नु पर्दैन । कम्तिमा १ लाख लगानी गरेर अरब जानुको सट्टा २० जना मिलेर २० लाखको परियोजना बनाउने हो भने हालको अवस्थामा थप २० लाख सरकारले दिन्छ र ४० लाखको परियोजना बन्छ । यसो गर्दा उत्पादन बढ्छ । आत्मनिर्भरतातर्फ उन्मुख भइन्छ र दीगो रुपमा भारतबाट आउने कृषि उत्पादनलाई प्रतिस्थापन गर्न सकिन्छ ।
    गाउँका जनशक्ति यसरी पलायन हुनु शुभ लक्षण हैन । सरकारले ल्याएका कैयौं परियोजनाहरु शहरमै केन्द्रीत छन् । हुनेखानेकै पहुँचमा छन् । त्यति मात्र हैन, अनुदान आउँछ भनेपछि टुरिस्ट कृषकहरु बढेका छन् । अनुदान हात पार्ने उद्देश्यले कृषितर्फ आकर्षित भएकाहरुले लगानी गरेर पनि अनुदानलाई प्रभावित पारेका छन् । जसलाई टुरिस्ट किसान भन्न सकिन्छ । यसो गरेर कृषिमा परिवर्तन त आउला थोर वहुत तर, खास किसानहरुमा परिवर्तन आउँदैन र रित्तिदै गरेका गाउँहरु भरिने अवस्था पनि आउँदैन । निर्वाहमुखी कृषि प्रणाली रहुन्जेल बसाई सराईमा कमी आउने छैन भन्नेतर्फ नीति निर्माताहरुले बुझ्नैपर्छ । पूर्वी अर्घाखाँचीको पणेना सुन्तला र कागती खेतीका लागि प्रसिद्ध छ । पणेनासँग जोडिएको खिदीममा पनि सुन्तलाको राम्रो सम्भावना छ । म सानो छँदा ढाण मैदानबाट मावली घर पणेना जाँदा सुन्तला खाने गरेको अनुभव छ । मैदानको २।३ वटा वडाहरुमा अदुवा र वेसार खेतीको प्रचुर सम्भावना छ । अलि चीसो भएको ठाउँमा कफी खेतीको उत्तिकै सम्भावना छ । फलफूल खेती नहुने कुरै भएन । कुरा यति हो कि कुन कुन क्षेत्रमा के के हुन सक्छ भनेर माटो परीक्षण गर्ने र उपयुक्त वाली, वनस्पति वा फलफूलको सिफारिस गर्ने निकायको खाँचो छ ।
    जडिबुटीतर्फ त खासै ध्यान नै गएको छैन । हर्रो, वर्रो, अमला त्यत्तिकै खेर गई रहेका छन् । कागतीका दाना भुइमा झरेर कुहिदासम्म त्यसको वजारीकरण गरिदैन । फर्सी बारीमा पल्टन्छन् । प्रायः गाई भैंसीलाई खुवाइने भएकाले तरकारीको रुपमा त्यसको अति कम प्रयोग हुन्छ । जबकि गाउँभरीका संकलन गरेर ट्रक भरेर बजारमा ल्याई बिक्री गर्न सकिन्छ । शहरतिरबाट लगेको स्याउ, तरकारी विक्री गर्नेहरु प्रसस्तै छन् । तर, त्यही हुने फरक स्वादका तरकारी जो गाउँका लागि अनुपयुक्त होला त्यही चीज शहरतिर ल्याउँदा प्रसस्त विक्री हुन्छ । तथापि त्यस्तो व्यापार गरिदैन । आखिरी किन ? व्यापार भनेको नयाँ नयाँ सम्भावनाको खोजी गर्ने हो । व्यापार स्थायी हुन सक्छ तर स्वरुप परिवर्तन हुन्छ । नेपालका ठूला ठूला उद्योगपति र व्यापारीहरु पछिल्लो पटक इलेक्ट्रिक सामानहरुको विक्री तर्फ आकर्षित छन् । उद्योग बेचेर व्यापारमा लागेका छन् । तर गाउँतिरका व्यापारीले शहरबाट कपडा, भाँडाकुडा, मरमसला, कापि किताब मात्र बेचेर परम्परालाई धानिरहेका छन् । उनीहरुले आफूलाई परिमार्जन गर्ने र समयानुकुल बनाउने भनेको गाउँको उत्पादन जस्तै तरकारी, गेडागुडी, कागती, जडिबुटी यावत् कुरा शहरमा पु¥याउनु पर्छ । त्यसो गर्दा शहरको पैसा पनि थोर बहुत गाउँमा जान्छ । त्यसैले समयानुकुल व्यापार गर्ने हो भने राम्रो आर्थिक उपार्जन हुन सक्छ ।
    यो काममा स्थानीय युवा शक्तिलाई भने विश्वास छैन । जब त्यसतो सम्भावनालाई बाहिरबाट जानेले उपयोग गर्न  थाल्छ, त्यतिबेला  टाउको समाएर बस्नेबाहेक अरु कुनै उपाय रहँदैन । ठूला व्यापारी जाने अवस्था आई सकेपछि प्रतिस्पर्धा बढ्छ । जबकि अहिले गर्नेले एकाधिकार प्राप्त गर्न सक्छ । ज्जादै थोरै लगानीमा उच्च प्रतिफल प्राप्त गर्न सक्छ । यहाँ सम्म कि विना लगानीको व्यापार समेत हुन्छ । गाउँमा खेर गएको जिन्सीपात दुई महिनालाई उधारो लिने हो भने त्यस बीचमा उसले विक्री गरेर रकम हात पारी सक्छ । यसका लागि चिन्तन आवश्यक छ । बजारको अध्ययन आफैले गर्नुपर्छ । ताकि विश्वास आफै भित्रबाट उत्पन्न हुन सकोस् । ब्यापार गर्ने कला ठूलो कुरा हो । कपिलवस्तुको पिपरादेखि उत्तर एउटा सानो झुपडीमा दैनिक पच्चीस तीस हजारको ब्यापार हुन्छ । लोकल कुखुराको स्वादका लागि बुटवल र चनौटासम्मका उपभोत्ताहरुको भीडनै हुन्छ । आफैले हेरेर  यो कुखुरा काट्ने भनेपछि त्यहीनै काटेर खुवाउने त्यो पनि किलोका हिसावले र पकाएको अतिरिक्त शुल्क लिने गरिन्छ त्यहा । यसले गर्दा ग्राहकको भीड थामी नसक्नु हुन्छ । तर पहाडतिरका गाउमा जाने हो भने बुटवल भन्दा महंगो छ । उनीहरु एकैपटकमा महिना दिनको खर्च उठाउन खोजे जस्तो देखिन्छ । जवकि शहर भन्दा सस्तो दिएर आकर्षण गरिराख्नु ब्यावसायिक हिसावले उचित हुन्थ्यो । पहिले बजारीकरणका उपाय खोजेरमात्र शुल्क बढाउनु उत्तम हुनेथियो । यसप्रकारको रणनीति सिकाउनु जरुरी छ मेरो अध्यनमा ।
    कृषि प्रधान देश भनेर विद्यार्थीलाई पढाइन्छ । नेताहरुले भाषण गर्छन् । तर दुध तथा दुधजन्य पदार्थ वार्षिक  २ अर्व ९ करोडको आयात हुन्छ । हरियो तरकारी र तरकारीजन्य जसभित्र आलु, लसुन, काउलीबनदा, गेडागुडी, मास, राज्मा, प्याज, चना, हरियो तरकारी, टमाटर, बोडीको गेडागुडी, अरहर गर्दा १५ अर्व ९३ करोडको आयात हुन्छ । केरा जुनसुकै ठाउँमा हुन्छ तथापि ३० करोडको आयात हुन्छ । आपँ ३० करोड, सुन्तला ५४ करोड, स्याउ २ अर्व,  मेवा करिब ७  करोड, कागती लागयत साढे ३७ करोडको आयात हुन्छ । गहुँ, कोदो, फापर, जौ, धान, ३५ अर्व १२ करोडको आयात हुन्छ । वेसार ५ करोड र अदुवा ९ करोडको अझै आयात हुन्छ । इजरायल जस्तो मरुभूमिमा कृषि उत्पादनले फड्को मारेको छ । हाम्रो भूगोल, जमिन र हावापानीको हिसाबले जुनसुकै चीज पनि उत्पादन हुन सक्छ । यसका लागि राज्यले प्रोत्साहन पूर्ण नीति बनाइ दिने र युवा शक्तिलाई आकर्षण गर्ने विधि अपनाउनै पर्छ । जबसम्म गाउँका बाँझा जमिनको प्रयोग हुने अवस्था आउँदैन तबसम्म परिस्थितिमा परिवर्तन आउँदैन । स्वरोजगार सिर्जना गर्ने युवाहरुलाई विशेष ढंगले  सम्मान गर्ने वातावरण पनि तैयार गर्नुपर्छ ।

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Travel