डी.आर.घिमिरे
माथिको शीर्षक धेरैका लागि अपाच्य हुन सक्छ । खासगरी राजनीतिमा सक्रिय हुने प्रायःका लागि यस्तो कुरा पच्दैन । व्यापारीले पैसा कमाउँदा, उद्योगीले राम्रो उद्योग चलाउँदा धेरैको कम्पारो तात्छ । कोही गाडीमा चढेको देख्दा रिस उठ्छ । शहरका ठुला र भव्य महल देख्दा पनि सामन्त, पूँजीपति देख्ने एक खालको संस्कृतिले घर गरिरहेको अवस्थामा व्यापारीलाई धनी किन बनाउने ? ऊ त त्यसै धनी हुन्छ । गरिब, सर्वहारालाई पो धनी बनाउने कुरा हुनुपर्ने हैन र ? यस्तो प्रश्न उठ्नु असान्दर्भिक र अस्वभाविक हैन हाम्रो जस्तो मुलुकमा ।
तर शीर्षकमा उल्लेखित कुरा एक जना राजनीतिक व्यक्तिले नै भनेका हुन् । तर, उनी नेपाली राजनीतिज्ञ हैनन् । चीनको बाउची नगरका मेयर सी जिन काईले रुपन्देहीका उद्योगी व्यापारीका बीचमा उक्त कुरा राखे । उनले यो कुरा उपदेशको रुपमा भनेका हैनन् बरु आफ्नो अनुभव बाँडेका हुन् । अर्थात् चीनमा व्यापारीलाई धनी वन भनेर प्रोत्साहन गरिदो रहेछ ।
केही समय अघि नेपाल राष्ट्र बैंकका गभर्नर चिरञ्जीवि नेपालले बुटवलमा एउटा उदाहरण प्रस्तुत गर्दै भनेका थिए– चीनमा धनी व्यक्ति, उद्योगी वा व्यापारीलाई रातो कार्पेटले स्वागत गरिन्छ । उनले यो कुरा चीनकै एकजना प्रोफेसरले कुनै कार्यक्रममा व्यक्त गरेको भनी बताएका थिए । एउटा व्यापारी वा उद्योगी धनी हुनु भनेको उसको उद्योग व्यापार फस्टाउनु हो । उद्योग व्यापार फस्टाउँदा उसले राज्यलाई कर तिर्छ । राज्यलाई जति धेरै कर तिर्नेहरु बढ्छन्, राज्य उतिनै धनी हुन्छ । यति मात्र हैन उसले रोजगारीमा वृद्धि गर्छ । रोजगारीमा वृद्धि गर्दा वेरोजगारको संख्या घट्छ । वेरोजगारको संख्या घटाउनेहरु राज्यका सहयोगी हुन् । किनकी त्यसको प्रत्यक्ष फाइदा राज्यले लिन्छ । यसको विपरित वेरोजगारको संख्या वढ्दा उत्पन्न हुने संकट राज्यले व्यहोर्नुपर्छ ।
वाउची नगरपालिकाका मेयर स्वभावैले राजनीतिक प्राणी हुन् । उनी राजनीतिक दलको माध्यमबाट सो ठाउँमा पुगेका हुन् । तर उनले भाषण राजनीतिको गरेनन्, गर्दैनन् । वरु एक जना अनुभवी उद्यमी र व्यापारीले जस्तै उद्योग व्यापारमा सफल हुने टिप्सहरु दिए उनले । व्यापार राम्रो नभएसम्म समाजको उन्नति हुँदैन भन्ने कुरालाई उनले पटक–पटक जोड दिइरहे । व्यापारमा सफल हुन प्रभावशाली नेतृत्व गुणको आवश्यक पर्छ । जवकि यो कुरा सवै क्षेत्रको नेतृत्व गर्नका लागि आवश्यक गुण हो । उनले व्यापारमा सफल हुनका लागि ६ वटा मन्त्र सुनाए ।
पहिलो प्रविधिको विकास । प्रविधिको माध्यमबाटै अत्यधिक उत्पादन हुन्छ । जनशक्ति भन्दा प्रविधिको शक्तिबाट वा उपयोगबाट उत्पादनको मात्रा बढाउन सकिन्छ । वास्तवमा चीनले जोड दिएकै भनेको एकै पटक धेरै उत्पादन गर्नु हो । यसो गर्दा प्रतिस्पर्धात्मक बजारमा उत्कृष्टता हासिल गर्न सकिन्छ । दोस्रो उत्पादनको गुणस्तर । संसारभरीनै गुणस्तरको कुरा उठ्ने गरेको छ । गुणस्तर बजारीकरणको लागि पहिलो मापदण्ड हो । तेस्रो पूँजीको वृद्धि । सानो पूँजीले उत्पादन बढ्दैन । बजारमा प्रतिस्पर्धा गर्न सकिदैन । आधुनिक प्रविधिको प्रयोग गर्न पनि सकिदैन । त्यस अर्थमा पूँजीको वृद्धि गर्नका लागि उद्योगी व्यापारीहरु हरदम प्रयत्नशील हुनैपर्छ । चौथो मानवीय स्रोतको विकास । मानव स्रोत भन्या केवल दुइवटा खुट्टाले टेकेको मानिस भएर हुँदैन । त्यस्तो मानिस जोसँग सिप छ । श्रम गर्ने क्षमता छ । जांगर छ । पर्याप्त समय दिएर काम गर्न सक्छ । त्यसलाई मानव स्रोत मान्न सकिन्छ । कामको प्रकृति हेरेर सिप, क्षमता र योग्यता फरक–फरक हुनु स्वभाविक हो ।
पाँचौं व्यवस्थापन र छैठौं बजारीकरण । सबै कुराका लागि राम्रो व्यवस्थापन भएन भने सबै कुरा भएर पनि केही हुँदैन । प्रविधि छ । उत्पादन गर्न सक्ने सामथ्र्य छ । गुणस्तर छ । पूँजी छ र व्यवस्थापन छैन भने केही पनि हुँदैन । सबै कुरालाई संयोजन गर्ने कला कौशल र खुबी भनेकै व्यवस्थापन हो । जो उद्योग व्यापारको लागि मात्र हैन राजनीतिका लागि र हरेक व्यक्तिको वैयक्तिक उद्देश्य पूर्तिका लागि अत्यावश्यक छ । त्यस्तै उत्पादित वस्तुको बजारीकरण अर्को महत्वपूर्ण चीज हो । समयमा, बजार चिनेर गुणस्तरीय वस्तुको वजारीकरण गर्न सक्नु अर्को महत्वपूर्ण पाटो हो ।
बाउजी नगरका मेयरले यो कुरालाई बडो सहज ढंगले प्रस्तुत गरे । मानौं कि उनको मुख्य व्यवसाय भनेको उद्योग व्यापार हो । यसबाहेक उनले विकासका बारेमा पनि केही महत्वपूर्ण सुझाव दिए । खासगरी एउटा नगरले कसरी विकास गर्न सक्छ र सक्नुपर्छ ? यो उनको विषय नै हो । किनकी उनी नगरपिता थिए । शहरको प्रमुख कुरा सडक हो भन्नेमा उनले जोड दिए । सिद्धार्थनगर नगरपालिकासँग भगिनी सम्बन्ध कायम गरिसकेपछिको भेटघाट भएकोले उनले त्यसबारेमा पनि केही विचार प्रकट गरे । सिद्धार्थनगरलाई आधुनिक शहर बनाउनका लागि सबैभन्दा महत्वपूर्ण पक्ष भनेको योजना हो । दीर्घकालिन योजनाका लागि आफूले चीनबाट केही विज्ञहरु पठाउने धारणा राखे उनले । योजना राम्रो भएन भने जतिसुकै राम्रा काम पनि टिकाउ हुँदैनन् र शहरको सौन्दर्यता रहदैन । शायद यही कारणले हुनुपर्छ उनले विज्ञहरु पठाएर राम्रो योजना बनाउने कुरामा जोड दिए ।
त्यस्तै शहरको विकास गर्दा पर्यावरणलाई कसरी बचाउने भन्नेमा पनि उनले जोड दिए । यसले शहरको सुन्दरतालाई कायम गर्न मद्दत पुग्छ । उद्योग, कृषि र पर्यटन आम्दानीका मुख्य स्रोत हुन् र आवश्यकताको हिसाबले पनि जरुरी हुन्छ । उत्पादन भएन भने खानाको आपूर्ति हुँदैन र उद्योगहरु भएनन भने रोजगारीका सम्भावनाहरु घट्छन् । पर्यटन त हरेक देशको आम्दानीको स्रोत हो । यद्यपि हामीकहाँ पर्यटनलाई समुचित ध्यान दिइएको छैन । आन्तरिक र वाह्य पर्यटकहरु आउनका लागि र ल्याउनका लागि नेपाल स्वर्ग नै हो । तर, तद्नुसारको ध्यान पुग्न सकेको छैन । वास्तवमा यी सबै कुराको विकास भयो भने समाजको सर्वाङ्गिण विकास हुन्छ । किनकी शिक्षा र स्वास्थ्यको विकासका लागि पनि आर्थिक सं्रोत नै जरुरी हुन्छ ।
वाउजी नगर मेसिनरी उत्पादनका लागि संसारकै प्रसिद्ध ठाउँ रहेछ । मध्यपूर्वी एशियाका धेरै देशहरुमा उनीहरु मेसिनरी सामानहरु निर्यात गर्दा रहेछन् । खासगरी हाम्रो जस्तो मुलुक जहाँ निर्माणको काम भइरहेको छ, लाई आवश्यक पर्ने मेसिनरी टुल्स वाउजी नगरमै उत्पादन हुन्छ । गाडी, मेसिनरी टुल्स, रक्सी, चुरोट, खाद्यान्न गरी मुख्यतः ५ वटा क्षेत्रमा विशिष्टता हासिल गरेको रहेछ यो नगरले । अहिले हरेक क्षेत्रबाट डेढ खरबका दरले उत्पादन बढाउने उद्देश्य राखेको बताए उनले । अहिले ३० खरव वरावरको उत्पादन हुने रहेछ । मेसीनरी टुल्स मेसिन बनाउने मेसिन हो । जस्तो कि इटा बनाउने मेसिन, गाडी बनाउने मेसिन, उद्योगलाई चाहिने मेसिनहरु यसैको माध्यमबाट बनाइदो रहेछ । यसको मूल्य १६।१७ करोड नेपाली पर्दछ । वास्तवमा वर्षेनी अरर्बौंका मेसिनहरु नेपाल आयात गरिन्छ भने यो एउटा मेसिन ल्याउने हो भने त्यसले धेरै मेसिनहरु बनाउँदो रहेछ । थोरै समयमा धेरै मेसिनहरु बनाउन सक्ने उक्त मेसिन नेपाल जस्तो मुलुकलाई आवश्यक छ भन्ने उनको आशय थियो ।
उनले होटल तथा सिमेन्ट जस्ता उद्योगमा लगानी गर्न चिनियाहरु आउन सक्ने कुरा मात्र गरेनन् वाउची नगरका उद्योगीसंग यहाँको संभाव्यताबारे जानकारी गराउने र उनीहरुलाई नेपालमा लगानी गर्न प्रोत्साहन दिने वचनबद्धता पनि प्रकट गरे । र अन्तमा नेपाली उद्योगी व्यापारीलाई अध्ययन भ्रमणको निम्तो दिए ।
सिद्धार्थनगर नगरपालिकाले भगिनी सम्बन्ध कायम गरेको छ । अब ती सबै सम्भावनाका लागि नगरपालिकाले पत्राचार गर्ने र उपयुक्त वातावरण बनाउने काम गर्न सक्छ । उनीहरु सिद्धार्थनगरकै लागि पनि धेरै थोक गर्न तयार छन् भने उद्योग व्यापारको क्षेत्रमा सहकार्य गर्न तयार नहुने कुरै भएन । यसका लागि नेपाली पक्षले स्वःस्फूर्त रुपमा जोड दिन जरुरी छ । लुम्बिनी सामुदायिक विकास केन्द्रको तर्फबाट यसक्षेत्रकै राजनीतिकर्मी बिष्णु पन्थीको अगुवाई र सक्रियतामा भगिनी सम्बन्ध कायम भएकोले स्वयं केन्द्रको तर्फबाट पनि सहजीकरण हुन सक्छ । आवश्यकता के हो भने हाम्रा उद्योगी व्यापारीहरु आफै सक्रिय हुन जरुरी छ । चीनमा भएको अत्याधुनिक प्रविधि ल्याउने र त्यसको माध्यमबाट देश विकास गर्ने कार्यमा राज्यले पनि सहयोगी भूमिका निर्वाह गर्न सक्छ । उद्योगी व्यापारीलाई आर्थिक उपार्जन गर्नका लागि सहजीकरण गर्दा अन्ततः आफ्नै मुलुकको, आफ्नै नगरको र आफ्नै क्षेत्रका नागरिकको विकास हुन्छ भन्ने कुरालाई आत्मसात गर्न आवश्यक छ ।
दैनिकपत्र ०७३ पुस २५

No comments:
Post a Comment