डी.आर. घिमिरे
यतिवेला बुटवल उद्योग वाणिज्य संघको चुनावले बुटवललाई तताएको छ । प्रचारशैली र उम्मेदवारका एजेण्डा हेर्दा यस निर्वाचनलाई स्थानीय तहको निर्वाचनसंग तरलना गर्न सकिन्छ ।
बुटवलको गिर्दो व्यापारलाई पुरानै लयमा फर्काउने एजेन्डा बोकेर हरि अर्याल चुनावी मैदानमा छन् भने अर्का उम्मेदवार दीनेश श्रेष्ठले प्रतिस्पर्धी संघ र प्रतिस्पर्धी बजार बनाएर अघि बढ्ने एजेण्डालाई बोकेका छन् । यस्का लागि अर्यालले स्थानीय सरकारसँग सहकार्य गरी उद्यमशीलता र व्यापारमैत्री वातावरण बनाउँदै अघि बढ्ने रणनीति वनाएको देखिन्छ ।
उता श्रेष्ठले बुटवलको विकास पर्यटनसँग जोडिएको भन्दै पर्यटन विकास गरी बुटवललाई चलायमान बनाउने रणनीति वनाएका छन् ।
निश्चयनै बुटवलको ब्यापारमा उल्लेख्य कमी आएको कुरामा शंका गर्ने ठाउँ छैन । तर के यस्लाई लयमा फर्काउन उद्योग वािणज्य संघबाट सम्भव छ ? यसवारेमा निष्कर्षमा पुग्नु अघि हामी केही कुरामा स्पष्ट हुन जरुरी छ ।
मलाई लाग्छ २०६४–०६५ तिरको कुरा हो तत्कालिन बुटवल नगरपालिकाका कानुन अधिकृत विष्णु खनालसहित म पनि कुनै कार्यक्रममा थियौं । सम्भवतः नगरपालिकालेनै आयोजना गरेको थियो । उनले मसंग खुसुक्क भनेका थिए–बुटवलबाट वाईपास रोडका कुरा धेरै उठेका छन् । वन्दै पनि छन् । तर यो सहरको बारेमा रणनीतिक हिसावले कसैले पनि सोंचेका छैनन् ।
त्यतिवेला खैरेनी हुँदै पाल्पा, भुमही हुँदै भैरहवा र जोगिकुटी हुँदै बुद्घनगर निस्केर नयाँगाउँ वा तामनगर निस्कने सडकका वारेमा प्रसंग उठेको थियो । ती सडकले बुटवल सुकाउँछन् भन्ने उनको अनुमान थियो । मलाई पनि त्यस कुराले नछोएको हैन तर, मेरो आवाज सुन्ने कोही थिएन जसरी खनालको आवाज पनि सुनिदैनथ्यो ।
१५ वर्षको अन्तरालमा साँच्चिनै बुटवलको गुल्जारमा कमी आएको छ । यो कमी अझै थपिनेवाला छ । किनकि बुटवलको समुदायले यो विषयलाई गंभीरतापूर्वक लिएकै छैन । अर्थात् सडक सञ्जाल राोकिनेवाला त छैन तर वैकल्पिक एजेण्डा के हुन सक्छन् भनेर खासै वहस भएको छैन ।
यसै सन्दर्भमा त्यतिवेलै हो, उद्योग वाणिज्य संघका ततत्कालिन अध्यक्ष नवराज श्रेष्ठले बुटवलको विकासका लागि सूर्य प्रसाद प्रधान र भोजप्रसाद श्रेष्ठलाई संगै लिएर हिड्ने वातावरण वनाउन चाहेका थिए । यो कुरा उनले नेपाल पत्रकार महासंघ रुपन्देहीको अध्यक्ष हुनुको कारणले मसंग पटक पटक गरेका थिए । म पनि गरौं त भन्नेमा थिएँ । तर, के के भयो गर्न सकिएन ।
त्यस यता नेपालमा प्रदेशहरु बने । लुम्विनी प्रदेशको अस्थायी राजधानी बुटवल भयो । यस्ले केही खुशीयाली ल्यायो । तर स्थायी राजधानी हुन सकेन । अहिले धेरैले राजधानी नभएका कारण बुटवल सुक्यो भनेर आरोप प्रत्यारोप गर्नेवाहेक केही हुन सकेको छैन । बन्दा जस लिने र विग्रदा अपजस अरुमाथि थोपर्ने काममा हामी एकपछि अर्को अब्बलनै छौं ।
राजधानी रहेको भए केही हदसम्म रमाइलो अवश्यै हुने थियो । तर अहिलेको संकट मुलुकभरीनै छ । संघीय राजधानीमा छ । पोखरामा छ । दाङ भालुवाङमा छ । अर्थात् राजधानी भएका ठाउँमा पनि छ । स्थानीय निर्वाचनका वेला सवै पार्टीले बुटवललाई गुल्जार बनाउने नीति बनाएकै हुन् । तर, बुटवलको मेयर भएपछि नगर प्रमुखले यसवारेमा एक दिन पनि छलफल चलाउनु भएको छैन ।
राजधानी गयो भनेर सधै पिडा ओकलेर बस्ने कि नयाँ सम्भावना खोज्ने ? के बुटवलका लागि सवै सम्भावनाहरु सकिएका हुन् ? जरुर हैन । यसवारेमा बुटवल उपमहानगरले अभिभावकत्व लिनु पर्दथ्यो । सवै सरोकारवालासंग बसेर बहस पैरवी गर्नुपर्दथ्यो । कतिपय दातृ निकायहरुले पनि यसवारेमा सहयोग गर्न सक्छन् सक्थे । त्यो पनि भएन । मेयर खेलराज पाण्डे कागको कुहिरोमा रमाइरहनु भएको छ । उहाँलाई कर्मचारी ठेगान लगाउँदानै फुर्सद छैन ।
उहाँका सल्लाहकारहरु होलान्, ति पनि गाली गरेरै दिन बिताएका छन् । सत्ता न पाइन्जेल गाली गर्ने एउटा पक्ष होला । के सधैभरी यसरी नै चल्छ ? त्यसैले अझै समय सकिएको छैन । यस्को अधिकतम उपयोग गर्नेतर्फ ध्यानदृष्टि लगाउँ ।
अझै पनि बुटवल उद्योग वाणिज्य संघ एक्लैले केही गर्न सक्दैन । तर पहल गर्नका लागि महत्वपूर्ण स्टेकहोल्डर भने जरुर हो । उपमहानगरले सवै स्टेक होल्डरलाई वसालेर यसवारेमा अध्ययन गर्नु पहिलो काम हो । साथै यस क्षेत्रमा रहेका कतिपय आयोजनाहरु छन् तिनको यथाशीघ्र कार्यान्वयनका लागि पहलकदमी लिने वातावरण बनाउन जरुरी छ ।
तिनाउ करिडोरमा बन्ने औद्योगिक क्षेत्रले यस क्षेत्रको कायापलट गर्न सक्छ । रोजगारी सृजना गर्ने, पूँजी भित्रिने र अर्थतन्त्र चलायमान् गराउने काममा यति ठूलो परियोजना यहाँ हुनु तर यस्को स्वामित्व ग्रहण गर्न नसक्नु यहाँका ब्यावसायी, पालिका, ब्यावसायिक सस्था सवैको कमजोरी हो ।
तिलोत्तमामा रहने बुटवल शिक्षण अस्पताल अर्को बहुआयामिक आयोजना हो । यस्ले गति लिन सक्दा बुटवलको चहलपहलमा भारी बृद्घि हुने देखिन्छ ।
त्यसवाहेक लुम्विनी प्रादेशिक अस्पतालको स्तरोन्नति गरी १२ सय शय्याको अत्याधुनिक सुविधा सम्पन्न १० तले भवनसहितको अस्पताल बनाउने काम रोकिएको छ । ६ अर्वको ठेक्का भएर पनि कमिशनको माध्यम बनाउन खोजेका कारण स्थगित भयो ।
यो अस्पताल बन्दा प्रसुति तथा बाल वार्ड, क्यान्सर वार्ड समेत हुनेछन् । क्याथल्याब, एमडिआईसियू, एसआईसियू, सिसियू, सिटिभी र स्वीट वार्डको समेत डिजाईन गरिएको छ । मुख्य भवनको छतमा हेलिप्याड रहने ब्यवस्था छ जहाबाट सिधै ईमरजेन्सीमा झर्न मिल्ने गरि लिफ्ट बनाईने छ ।
अहिले बुटवलको अर्को समस्या पार्किङ हो । यस्लाई पनि अहिलेका उम्मेदवारहरुले एजेण्डा वनाएका छन् । यो अस्पताल बन्दा १ सय ५८ वटा कार, जिप र १ सय २२ वटा मोटरसाईकल पार्किङ गर्न मिल्ने गरि पार्किङ बनाईने छ । सम्भवतः यो भन्दा अर्को ठाउँ पनि बुटवलमा छैन । यति ठूलो सम्भाबना वोकेको अस्पताल बनाउनका लागि बुटवल उपमानगर र ब्यावसायिक सस्थाहरुले किन दवाव सृजना गर्दैनन् ?
हिजो जसरी ब्यापार गरेका थियौं त्यसरीनै ब्यापार गरेर वस्छौं भन्ने हो भने बुटवल फस्टाउन सक्दैन । अवको बुटवलका लागि स्वास्थ्य, शिक्षा, पर्यटन र सूचना प्रविधि सम्भाब्य क्षेत्र हुन् । यस अर्थमा लुम्विनी प्रादेशिक अस्पतालको स्तरोन्नति र मेडिकल कलेजलाई जतिसको छिटो सञ्चालनमा ल्याउँदा बुटवल चलायमान् हुन सक्छ ।
बुटवल क्याम्पस रुग्ण बनेको छ । यसलाई आधुनिकीकरण तथा विविधिकरण गर्ने, बीटीआईलाई हाम्रो पहुँचमा रहेको लुम्विनी बौद्य विश्वविद्यालयको मातहतमा राखि इन्जिनियरिंगको अध्यापन गर्ने ब्यवस्था मिलाउने हो भने शैक्षिक नगरीको रुपमा विकास गर्न खासै मेहनत गर्नुपर्दैन । यो कामका लागि पनि बुटवलको मेयर सकारात्मक हुन जरुरी छ ।
नेपालमा सूचना प्रविधिसंग सम्वन्धित कम्पनीहरुले एकै वर्षमा झन्डै ६८ अर्ब रुपैयाँ बराबरको सूचना प्रविधि सेवा निर्यात गरेको तथ्यांक हालै मात्र सार्वजनिक भएको छ । बुटवलमा सूचना प्रविधिको जनशक्ति पर्याप्त छ । उनीहरुलाई एउटा सुविधासम्पन्न सूचना हाउस बनाएर अवसर सृजना गरिदिने हो भने एकातिर पलायन हुने जनशक्ति रोकिन सक्थ्यो भने अर्कोतिर वैदेशिक मुद्रा आर्जन गर्न सकिन्थ्यो । यस काममा पनि उपमहानगरले आवश्यक ब्यवस्था गर्न सक्छ ।
पर्यटन अर्को सम्भावनाको क्षेत्र हो । पर्यटनका लागि हामीले ठूला कुरा त खुवै गरेका छौं तर साना काममा भने चुकेका छौं । पर्यटनमैत्री वातावरण पहिलो शर्त हो । पर्यटनका लागि वाहिर जे देख्छौं त्यही गर्ने हाम्रो मानसिकता हुने गरेको छ । कुरा यस्तो हैन । बरु हाम्रो मौलिकता बेच्ने हो । सस्कृति, सभ्यता, खाना, ऐतिहासिक, पुरातात्विक र सास्कृतिक सम्पदाको संरक्षण, प्रचार प्रसार, गाइडको व्यवस्था, छिमेकी जिल्लामा प्याकेजको व्यवस्था आदि र अरु केही तत्काल गर्न सकिन्छ ।
सूचना प्रविधिमा हामी अत्यन्तै कमजोर छौं । हरेक स्थानको महत्वका वारेमा अनलाइन जानकारी हुने ब्यवस्था गर्नैपर्छ । यस्का लागि पहिलो चरणमा गर्न सकिने काम एक वर्षभित्र गर्ने, दोश्रो वर्ष हुँदै हरेक वर्ष थप गर्दै जाने ब्यवस्था मिलाउन सकिन्छ ।
अन्तमा फेरि पनि मैले अनुरोध गर्न चाहेको कुरा के हो भने बुटवलको विकास र श्रृविृद्घिमा सामुहिक ढंगलेनै पहल गर्नुपर्छ । कसैले कसैलाई गाली गरेर अपनत्व आउन सक्दैन । नवराज श्रेष्ठले भनेजस्तै जनस्तरबाट पनि कुनै फोरम बनाएर दवाव सृजना गर्ने तथा पूर्व पश्चिम फर्केका मुखहरुलाई एकैतिर ल्याउने काम गर्न अव ढिला गर्नु हुँदैन । सम्भावना पर्याप्त छन् । तिनै सम्भावनालाई लिएर यहाँका ब्यावसायिक सस्थाहरुले पहल गरुन् ।
२०८० असौज १८
No comments:
Post a Comment