• Breaking News

    बैश हराएको गाउँ


    डी.आर. घिमिरे

    त्यसोत अर्घाखाँची सडक निर्माणमा नामुद मानिन्छ । हरेक गाउँमा र घरघरमा सडक पुगेको जिल्ला भनेर सामान्य ज्ञानमा रुचि राख्नेहरुले भन्ने गर्छन् । समयको विकासले शायद गुल्मी, पाल्पा पनि त्यो अवस्थामा पुगे कि ? तर नाम अर्घाखाँचीकै आउँछ ।

    हुनपनि भाष्य यस्तो निर्माण भयो कि विकास भन्नुनै सडक हो । मान्छे एक घण्टा हैन आधा घण्टा हैन दश मिनेट हिड्नु पनि विकासको सूचक भित्र परेन । पाणिनि–५ कै कुरा गर्दा लरधारामा ५ घर छन् । उनीहरु कति वर्ष वस्छन् त्यस्को पत्तो छैन तर, सडकका लागि आठ दश लाख खर्च गरियो । विजुली, खानेपानी, सञ्चार आदिमा हुने खर्चको अनुमान लगाउँदा करोडौं खर्च हुन्छ । सडक मर्मत खर्च वर्षेनी उत्तिकै हुन्छ । धातिवांग जुखुदीमा दुई तीन घरमा यसरीनै बाटो विजुली लैजाँदा त्यसरीनै अनावश्यक खर्च गर्नुपरेको थियो ।  उनीहरुलाई बाटो विजुली लैजानुभन्दा अन्यत्र सार्नु सुरक्षाको हिसावले उचित हुने थियो । तर यो प्रस्ताव लैजाँदा उनीहरुले मानेनन् । 

    पाणिनि–५ का वार्ड अध्यक्ष इन्द्रमणि घिमिरेका अनुसार उनको वडामा मात्र वर्षेनी कम्तिमा १५ देखि २० लाख रुपैयाँ सडक मर्मतमा खर्च हुन्छ । अहिले पनि रजौसा–कुडापानी–अमजा–बर्थान हुदै भर्तापुर पुग्ने वैकल्पिक सडक हुँदा हुँदै अर्को ट्रयाक खोलिदैछ । योजनामा प्राथमिकीकरणनै छैन र प्राविधिक अध्ययन पनि गरिदैन । अचम्म के छ भने जनताले पनि सडकबाहेक अरु माग्दैन । रोजगारी सृजना गर, बाँझा जग्गा उत्पादनशील बनाउ भनेर भन्ने हो भने कति राम्रो हुँदो हो ।

    अहिले बुटवलबाट मेरो जन्मथलो पाणिनि वडा नं. ५ मा पुग्न अढाई घण्टा लाग्छ । गोरुसिंगे हुँदै घुम्टी भएर जाँदा म आफैले ड्राइभ गरेर तीन घण्टामा पुगे । सार्वजनिक सवारीमा एक घण्टा वढी लाग्ला । पैदल यात्रा गर्दा तिनगीरे हुँदै सालझण्डी आउन एक दिन लाग्थ्यो भने सल्लेरी, नेटाका पोखरा, कालीकाठी, खत्रीपोखरी, भर्तापुर, दमिल्ला, पाब्र हुँदै वाणगंगा नदीको किनारै किनार बैरीया आउन पनि पूरै एक दिन लाग्थ्यो । एक दिन बजार गरेर फर्कदा दुई दिनमा घर पुगिन्थ्यो । यसरी चार दिनको मेलो थियो । अहिले बिहान गएर साँझ फर्किन सकिन्छ । 

    हाम्रो परिवार जतिवेला बसाई सराई गरेर कपिलवस्तुको तत्कालिन पत्थरदेइया हाल विजयनगर गाउँपालिकामा आयो (यो २०४३ तिरको कुरा होला) त्यतिवेला दुई कुरा थिए । जो बुवाले मलाई भन्नुभएको थियो– यहाँ (पहाडमा) बसेर धन पनि सकियो, शरीर पनि सकियो । तराईतिर गए कम्तिमा शरीर त बँच्ने थियो । 

    बुवाले राख्नुभएको यो प्रस्ताव मेरा लागि स्वभाविक थियो । किनभने त्यतिवेला म पत्थरदेइयामा रहेको भुवनेश्वरी माविमा अध्यापन गर्थे । मेरो मनोविज्ञान बुझेर बुवाले सो प्रस्ताव राख्नु भयो वा आफ्नै कारणले ? अहिले अनुमान मात्र लगाउन सकिन्छ । किनभने अहिले बुवा हुनुहुन्न र मैले जानेवुझेसम्म  कतै यसवारेमा बोल्नुभएको पनि छैन । तर नुन तेल चामल लत्ताकपडा बोकेर वाणगंगाको चुनौतिपूर्ण यात्रा पार गर्नु चानेचुने कुरा थिएन । 

    पछि जव मैले हिमालयन–क्याराभान चलचित्र हेरें मलाई यति पछुतो लाग्यो कि जसको समाधान मसंग थिएन । पेरिसबाट आएर एरिक भालीले डोल्पाली जनजीवनमा आधारित चलचित्र हिमालय–क्याराभान बनाएका थिए । डोल्पाका थिन्ले लेण्डुप सो चलचित्रका नायक थिए । आजभन्दा २४ वर्ष अगाडि सन् २००० मा सो चलचित्र विश्वविख्यात ओस्कर पुरस्कारका लागि अन्तरर्राष्ट्रिय प्रतियोगितामा मनोनयन भएको थियो । 

    तर वाणगंगाको जनजीवनमा कुनै क्याराभान बनाउन कुनै विदेशी आएन । यदि बनेको हुन्थ्यो भने म आफै नायक बन्ने थिए कि ? अहिलेजस्तो शिप, प्रविधि र सोंच भएको भए निर्माता पो हुने थिएँ कि ? केही न केही त पक्कै हुने थिएँ । 

    वास्तवमा लाग्छ कहिलेकाँही मेरो आफ्नै जीवन पनि फिल्म हो कि । मात्र यस्लाई मिलाएर प्रस्तुत गर्न सक्नुपर्छ । प्रश्न फेरि पनि यहाँ छ अहिलेजस्तो सडक भएको भए शायद बुवाले तराईतिर आउने प्रस्ताव राख्नु हुने थिएन कि ?

    नुनतेल लिन बटौली आएको अस्ति जस्तै लाग्छ । ४० वर्ष नाघेछ । बाटोको कम्ता दुःख थिएन । डोकोमा घीउ बोकेर दोश्रो दिन बटौली पुगिन्थ्यो । सेते र बुध्दि साहु घीउका नामुद ब्यापारी थिए । उनीहरुको खास नाम थाहा भएन । हामीले बुध्दि साहुकहाँ घीउ बेचेर गोपाल साहु (०६२ तिरका बुटवलका उपमेयर रामेश्वर श्रेष्ठको बुवा) कपडा किनेको सम्झना ताजै छ । त्यतिवेला वंशराजकहाँ किराना सामान किनिन्थ्यो । जुल्पी (जेहेरी) बुटवलको नामुद थियो । त्यतिवेला जिन्दगीमा बुटवल सहरमा बसिएला भनेर सोचेकै थिइन ।

    प्रसंग नुनतेलकै थियो । हिजो नुनतेल गर्ने बाटाघाटा सवै आनको तान भएकाछन् । मोटर गुड्ने बाटाले पुरानो अस्तित्व नामेट पारेको  छ । हो अहिले हिजो जस्तो हिँड्नुपर्दैन । मोटर कुदेर लिन आउँछन् । अहिले त गाउँ गाउँमा छिनभरमै ट्याक्सी आउँछन् । घरै पिच्छे मोटरसाइकल छन् । बिहान दिउसो बस चल्छन् । रात्री बस पनि बाक्लै आउजाउ गर्छन् । बीच गाउँबाट लमतन्न सुतेको मोटरबाटोले स्थानीय उत्पादन अन्यत्र लैजाँदैन । बरु चामल पिठो, तरकारी देखि खुर्सानीसम्म तराईबाटै बोकेर लैजान्छ । 

    अहिले बिहानै उठेर पानी लिन पँधेरो धाउनु पर्दैन । पानी लिनकै कारण राती एक दुई घण्टा पहिला उठ्नु पर्दैन । त्यति गर्दा पनि पानी नपुगेर पालो कुरेर बस्नु पर्दैन । अहिले पानी लिन जाने ती ठाउँमा चमक छैन । जतिवेला पनि मानिसको भिड हुने त्यस्ता खोल्साहरु अहिले डरलाग्दा देखिन्छन् । उचा ठाउँमा रहेका पँधेराहरु प्रायः नासिएका छन् ।

    मेरो गाउँका कैयौं पोखरीहरु सडक र विद्यालय बनाउँदा पुरिएर थातथलो छैन । पोखरी अनुसारका नाम थिए । अब पोखरीनै नभएपछि ती ठाउँको नामै परिवर्तन हुने अवस्था छ । बाँझपोखरा, पोखरीबारी, उपल्लापोखरा, मौलिपोखरा, गुहे पोखरा, भुसाल पोखरा, रिपाहा पोखरा, डाडापोखरा,मंगलटारीको पोखरी, चौरमा दुईवटा पोखरी, नयखर्कको पोखरी, ढोबाटदेखि माथि देवलको पोखरी, नयखर्कको पोखरी, रानीवासमा पोखरी, मालिकामा रहेका दुई वटा पोखरी । टाकुरा अघि राँग्से कुवा (गहिरो पोखरी), मैदानको पोखरी, माझका पिपलामा रहेको पोखरी, पञ्चायतघरनिरको पोखरी, नेटाको पोखरी थिए । पोखरीको संख्या यकिन गर्न सकिदैन तर, अहिले धेरै पोखरीहरु छैनन् । जो पुरिए । नासिए । नेटापोखरा (डाँडोमा रहेका पोखरी) नामका दुई पोखरी थिए । ती पनि छैनन् । 

    भएकामा पनि पानी हुन छाड्यो । करिव २० बर्ष अघिसम्म पानी हुन्थ्यो । जथाभावी डोजर लगाउँदा शायद पानीका श्रोत छिन्नभिन्न भए । कही बुटा काटिए जसले गर्दा मुहान सुके । सडक भनेपछि कुनै सम्झौता गरिएन । त्यसको वातावरणीय प्रभाव मूल्यांकन गरिएन । कतिपय समस्या न्युनिकरण गर्न सकिन्थ्यो होला त्यो पनि गरिएन । एक तथ्यांक अनुसार बिगत ३० वर्षमा पानीका ठूला स्रोतहरुमा ३० प्रतिशतले पानी घटेको छ ।

    जहाँ जहाँ पोखरी थिए ति ठाउँमा चौपारी पनि हुन्थे । उकालो ओरालो गर्दा सुइय सुस्केरा हाल्दै चौपारीमा बसेर हावा खानुको मज्जा अर्कै थियो । त्यो पनि हरायो । आखिरी ती चौपारी यथावत् राख्न नसकेपनि नयाँ ढंगले बनाउने नीति बनाउन सकिन्थ्यो ।

    त्यतिवेला मट्टितेलको वत्ति (ढेब्री) बालेर उज्यालो बनाउनु पर्दथ्यो । दुई अक्षर पढ्न गारो थियो । बिहान उठेर खोक्दा कालो खकार र नाकबाट कालै सिंगान आउँथ्यो । तर, अहिले घरघरमा विजुली पुगेको छ ।

    मोटरबाटो, बिजुली बत्ती, स्वास्थ्य चौकी, स्कुल, कलेज अत्यावश्यकनै हुन् । खुले । यो खुशी र हर्षको विषय हो । तर अवको नेतृत्वले सोंच्नुपर्ने के हो ? त्यो सडकलाई उपयोग गरी कृषि र अन्य उत्पादन बोकेर सहरतिर पठाउने तर्फ ध्यान दिनु पर्ने हैन र ? 

    बजेटजति सडकमै | अन्नपूर्ण पोस्ट् (annapurnapost.com)

     २०७६ सालको यो समाचारले के वताउँछ भने स्थानीय तहहरुले पनि बजेटको ठूलो अंश सडकमा खर्च गरे । जम्मा बजेटको २५ प्रतिशत एउटै शीर्षकमा त्यो पनि सडक सफा गर्न र नयाँ ट्रयाक खोल्न ।

    यसरी हेर्दा भैतिक रुपमा धेरै सुविधा थपिएको छ । समयले ल्याउने परिवर्तन आवश्यक थियो र छ पनि   तर, खेतवारीमा हरियाली छैन । अन्न फलेफुलेका छैनन् । बाँझा खेतवारी कक्रक्क परेका छन् । हिजो त्यही बारीले अन्न दियो । गाईभैसीलाई घाँसपात दियो र हामीलाई दुधघीउ दियो । आज त्यो छैन । पानी घरघर आएको छ । तर पानीमा जीवन छैन । खोलामा पानी बगेको छ । त्यस्मा पनि जीवन छैन । 

    उमेर पुगेर हो कि ? सिंगो गाउँमा जीवन छैन । बैस छैन । खै किन हो ? गाउँ, सहर, देश सवैको उमेर बढ्दै जाँदा यस्तै हुने हो कि ? वास्तवमा मान्छे मात्र हैन भूगोल पनि बुढो भएछ । यसरी हेर्दा गाउँमा चमक छैन । बुढो भूगोललाई तन्नेरी बनाउने कसरी ? यो पेचिलो प्रश्नको उत्तर खोज्नुपर्ने भएको छ ।

    हो एउटा चिज बढेको छ । त्यो हो बनजंगल । त्यतिवेला नभएका जंगली जनावर बढेका छन् । जंगलमा पस्नै सकिदैन । बाँदर थोरै देखिन्थे त्यो पनि कहिलेकाँही मात्र । अहिले सवैभन्दा ठूला समस्या बनेका छन्् । खेती गर्नेलाई डर बाँदरकै छ । एक दिनमै बारी रित्तै पारेर खाली गर्ने तागत तिनै बाँदरसंग मात्र देखिएको छ । गाउँमा युवा जनशक्ति नभएर पनि होला उसले मान्छेलाई टेर्न र देख्न छाडेको छ ।

    २०८० माघ २०


    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Travel