डी.आर. घिमिरे
वहुदलीय व्यवस्थाको प्राप्ति पश्चात् बिगत १२ वर्षको अवधिमा नेपालले धेरै कुरामा आफ्नो साख गिराएको भएपनि सामुदायिक वनको व्यवस्थापनमा नेपालले गरेको प्रगति तथा अनुभव विश्व समुदायकै लागि गौरवपूर्ण बन्न पुगेको छ । सामुदायिक वन उपभोक्ता महासंघ नेपाल (फेकोफन) को महत्व नेपालमा भन्दा अन्तर्राष्ट्रिय जगतमा बढी भएको महसुस थाइल्याण्डको च्याङ्माई शहरमा सन् २००१ को सेप्टेम्वर २५–२७ (२०५८ असौज ९ देखि ११ गते) मा आयोजित एक सेमिनारमा सहभागीको हैसियतले यो पंक्तिकारले गर्यो ।
राजनीतिक उतार चढाव, चुनाव या अरु कुनै राष्ट्रिय महत्वका घटना घट्दा साथ अनियन्त्रित तवरले वन फडानी गर्ने परिपाटीको अन्त्य समुदायको चेतनाको कारणलेनै भएको हो । ९० को दशकमा वन संरक्षण गर्ने लहरनै आयो । यो लहरले सवैभन्दा वेसी नेपाललाई प्रभावित पार्यो । राजनीतिक परिवर्तनको कारणलेसमेत हुनसक्छ, जनतामा ब्यापक चेतनास्तर उठ्यो, जुझारुपना देखियो र जवर्जस्त वन संरक्षणमा जनसहभागिता देखियो । परिणामस्वरुप विश्व समुदायको अगाडि नेपाल नमुनाकै रुपमा देखा परेको छ ।
यसको अर्थ वन संरक्षणको मापदण्ड समाप्त भयो भन्ने हैन । यसलाई परिस्कृत गर्दै नयाँ ढंगले कसरी अगाडि वढ्न सकिन्छ भन्नेवारेमा अवका दिनमा छलफल र प्रयोग हुन आवशयक छ । थाइल्याण्डको हालैको सेमिनारको मूल कारण पनि यही थियो । विभिन्न देशमा भए गरेका प्रयास र अनुभवको आदान प्रदान गर्ने र नयाँ तहबाट यसलाई कसरी अगाडि लैजान सकिन्छ भनेर छलफल भएको थियो । यो यस अर्थमा पनि रोचक थियो कि यहाँ कसैले पनि कुनै कुरा लाद्ने प्रयास गर्दैनथ्यो ।
कोही बढी वोलेर कसैलाई अफ्टेरो लाग्दैनथ्यो । कसैका कार्यपत्र थिएनन् । सवैको समान सहभागिता थियो । सामुदायिक वनको क्षेत्रमा केही न केही काम गरेका ब्यक्तिहरु भएको कारणलेले आ–आफ्ना अनुभवहरुको लेनादेनामै वेसी समय वित्यो । समग्रमा कार्यक्रमले तीनवटा कुरालाई वेसी महत्वका साथ उठाएको थियो । सामुदायिक वन व्यवस्थापनमा स्थानीय पद्घति वा प्रक्रिया के हुन सक्छन् ? यसको अर्थ हालमा भई आएका प्रक्रिया भन्दा नयाको खोजी गर्नुपनि हो । त्यसवाहेक सरकारको दायित्व के हो र क्षमता अभिवृद्घि कसरी गर्न सकिन्छ भन्नेवारेमा निष्कर्ष निकाल्नु कार्यक्रमको मूल उद्घेश्य थियो ।
वन सवैभन्दा पहिला उपभोक्ताहरुको हो र उनीहरुले वनबाट लिनुपर्ने फाइदा लिन पाउनुपर्छ । त्यस्तो मौका उपभोक्ताहरुलाई नै दिनुपर्छ । आयश्रोतको माध्यम वा जीविकोपार्जनको माध्यम पनि उनीहरुले बनाउन सक्छन् । यसो भयो भने वनको संरक्षण हुनसक्छ भन्ने अवधारणा जहाँ जहाँ लागु भएको छ त्याहाँ त्यहा त्यहाँ वन संरक्षणले मूर्त रुप लिएकोबाट स्पष्ट हुन्छ ।
त्यसोत वन व्यवस्थापनको नमुना हाम्रो देशले बाह्य मुलुकबाट सिक्नुपर्ने अवस्था छैन भन्दा हुन्छ । किनभने यस सवालमा नेपालले धेरै प्रयोगहरु गर्दै आएको छ । तैपनि एक दुईवटा उदाहरणहरु थाइल्याण्डबाट पनि लिन सकिने अनुभव प्रत्यक्षदर्शीको हैसियतले मैले गरेको छु । वाङ पायो जिल्लाको वान हुय हिन ल्याड नाई भन्ने एउटा गाउँमा गरिएको वन व्यवस्थापनले व्यक्तिगत रुपमा म प्रभावित भएँ । सो गाउँमा ६० हेक्टर जंगल रहेछ र ३० घर परिवार सुकुम्वासीहरु बस्दा रहेछन् ।उनीहरुको कही कतै जग्गा जमिन नभएकोले त्यही घर बनाएर राम्रोसंग बसेका छन् । जंगल जीविकोपार्जनको राम्रो माध्यम बनेको छ । यसको मतलव उनीहरुले जंगल काटेर नोक्सानी गर्दैनन् बरु जंगलको व्यवस्थित संरक्षण गर्छन् । प्रत्येक घरपरिवारले जंगललाई हिस्सा लगाएर बाँडेका छन् र उनीहरुले त्यहाँभित्र खेती गर्छन् । खासगरी तरकारीमा च्याउ र फलफुलमा भुई कटहर, लिची, केरा एवं वाँस खेती गर्दोरहेछन् । उनीहरुलाई सरकारले कुनै सहयोग गरेको छैन तैपनि उनीहरुले आरामपूर्वक जीवन व्यतित गरिरहेका छन् । सुकुम्वासी समस्याको समाधान र वनको संरक्षण संगसंगै भएको छ । वन पाल्ने मात्र हैन, त्यसलाई आम्दानीको श्रोत पनि बनाउने हो भन्ने कुराको यो उदाहरण हुनसक्छ । यद्यपि वनलाई व्यवस्थापन गर्ने सम्पूर्ण अधिकार थाइल्याण्डमा उपभोक्तालाई छैन । अर्थात् कुनै कानुन अहिलेसम्म बनेको छैन । जसका कारण केवल संरक्षण गर्ने मात्र काम भएको छ ।
त्यसैले थु¨ यो भन्ने अर्को एक गाउँमा हामी गयौं । जहाँ समुदायमा आधारित आय आर्जनका काम र जंगललाई संरक्षण गर्ने काम भएको थियो । समुदायको जवाफदेहिता भएपनि त्यहाँ सवै काम व्यक्तिगत तवरमै भएका थिए । तैपनि जंगल संरक्षण गर्ने काममा सवैको एकमत थियो । जंगल संरक्षण गर्दै गएपछि पानीके श्रोत बढेको बिश्वास उनीहरुमा रहेको पाइयो । कुलो खनेर सिंचाइका लागि पानीको व्यवस्थासमेत गरेका छन् । जंगल संरक्षण गर्नलाई उनीहरुले एउटा नयाँ तरिका अदृश्य शक्ति ईश्वरलाई माध्यम बनाएको पनि पाइयो । जंगलका वीचवीचमा कतिपय महत्वपूर्ण रुखहरुलाई कपडाले बेरेर ईश्वरकै नाममा राखेका रहेछन् । मन्दिर पनि बनाइएका रहेछन् । समुदायका अध्यक्ष एक वृद्घलाई यो जंगल संरक्षण मात्र गर्ने कि यसलाई आम्दानीको श्रोत पनि बनाउने भनेर सोद्घा उनको जवाफ थियो– म वाचुन्जेल केही गर्दिन, मेरो मृत्युपछि जे गर्लान् । उनीहरुलाई कानुनी रुपमा अधिकार त छैन तर त्यस्तो अधिकार प्राप्त भएपनि अथवा नभएका कारण मात्र रहेको हो भन्ने चिन्तन उनीहरुमा पाइएन ।
हामीहरु समुह वनाएर भ्रमण गर्दा सवै ठाउँमा सवै ब्यक्ति जान सम्भव भएन तर भ्रमण पश्चात् एक आपसमा अन्तरक्रिया गर्दा धेरै कुराहरु सिक्न पायौं । इको टुरिजमका लागि मेइ काम पो¨ भन्ने गाउँ विशेष चर्चित रहेछ । यद्यपि त्यहाँ त्यति धेरै ठूलो कुरा केही थिएन । तर व्यवस्थापनले गर्दा आकर्षण गराएको रहेछ । त्यस ठाउँमा चियापत्तिको जंगल पनि रहेछ । जसबाट गाउँलेले कच्चा पदार्थको रुपमा पात टिपेर बिक्री गर्छन् । पहिले पहिले त्यसै खेर गएको जंगललाई आय श्रोतको माध्यम बनाएपछि त्यहाँ पर्यटकहरु जाने र घरघरमा वस्ने रहेछन् । हाम्रो स्यांजाको सिरुवारीमा जस्तो पर्यटकलाई घरमा राख्ने व्यवस्थाका कारण पर्यटकलाई पनि स्थानीय रहनसहन, खानपान, सस्कृतिजस्ता यावत् कुराहरु जान्न सजिलो हुँदो रहेछ ।
र अन्त्यमा नेपालमा सामुदायिक वनमा देखिएका सफलताले कतिपय व्यक्ति र सस्थाको निद हराम भएको छ । ब्यक्तिगत तवरले आम्दानीको श्रोत हुन नसकेपछि उनीहरुमा असन्तुष्ठी हुनु स्वभाविक हो । यही मनोविज्ञानलाई बुझेर कतिपय विदेशीहरुले पनि नेपालको वनमा आँखा गाडेका छन् । चार वर्ष अघि बारा जिल्लाको ३२ हजार हेक्टर वन क्षेत्र विदेशी कम्पनीलाई हस्तान्तरण गर्ने प्रयास भयो । अहिले वन कार्ययोजनाको नाममा तराईको जंगलको ठूलो हिस्सा समुदायबाट खोसेर लिने प्रयत्न भइरहेको छ । गत वर्ष मात्र वन विभागका उच्च पदस्थ कर्मचारीहरु र जिल्ला वन अधिकृतहरुको भेलाले उपभोक्ताहरुमा गइसकेको अधिकारलाई कटौति गर्ने निर्णयनै गरिसकेको छ । यी सवै कुराका लागि उपभोक्ताहरुको सक्रियता आवश्यक छ । वनको व्यवस्थापन समुदायले गर्दा कही पनि कति पनि गल्ती भएको छैन भन्ने हैन तर हिजोको तुलनामा कैयौं गुना वढी सुधार भएको छ । अनुभवमा खारिदै जाँदा यसलाई अझै राम्रो कसरी गराउने भन्ने कुरा पनि निस्कदै जानेछन् । जसलाई व्यवहारमा प्रयोग गर्दै जानु आवश्यक छ । सरकारी निकायले स्वच्छतापूर्वक अनुगमन गर्ने र उपभोक्ताहरुलाई सिकाउँदै जाने हो भने वन व्यवस्थापनमा नेपाललाई अझै केही दशक विश्वका अरु राष्ट्रले शायदै भेटाउलान् ?
मेचीकाली सन्देश २०५८ असौज २०
No comments:
Post a Comment