डी.आर. घिमिरे
चारपाला अर्थात् चार मौजा । राणाकालीन समयमा पालिका वा पञ्चायतलाई पाला भनिन्थ्यो । शायद त्यसै आधारमा चारपाला भनिएको हुनुपर्छ । तत्कालिन तेरिजहरुमा पाला भनेर उल्लेख गरेको पाइन्छ । गुल्मी जिल्लामा पनि चारपाला छ । पाल्पामा खटलुक पाला, खस्यौली पाला आदि थिए भनेर भनेको पाइन्छ । चारपाला सामुदायिक बनको नाम यसै आधारमा राखिएको हुनुपर्छ ।
पाल्पाको बसन्तपुर पालाको नक्सा भित्रै बुटवल बहुमुखी क्याम्पस रहेको पाइन्छ । यसरी हेर्दा जिल्ला विभाजन नहुँदै वसन्तपुरको क्षेत्रमै बुटवलको गोलपार्क क्षेत्र थियो भनेर भन्न सकिन्छ ।
ऐतिहासिक पुरातात्विक महत्वका वस्तुहरु यत्रतत्र छरिएको र तिनको संरक्षण तथा संवद्र्घनमा बेवास्ता गरिएको बुटवलस्थित वडा नं. १२ अन्तर्गत् चारपाला सामुदायिक वन क्षेत्रको जोगिडाँडा लगायतको क्षेत्र खुला संग्राहालयको रुपमा रहेको छ ।
चारपाला वन क्षेत्र पद्यमपाणिको आश्रयस्थल मात्र हैन, भुवनेश्वरनाथको क्षेत्र पनि रहेछ । भुवनेश्वर को हुन् भनेर सवै कुरा भन्न नसकिएपनि उनी बाबा बाघनाथ हुन् र यहाँबाट गोवरडिहा ८ दाङ् गएर बसेका हुन् भन्ने कुरा स्थापित सत्य हो । पद्यमपाणिकोवारेमा यस अघिनै पंक्तिकारले आलेखमार्फत् जानकारी गराईसकेकोले यो आलेखमा बाबा बाघनाथ र अव गनुपर्ने कामकासम्वन्धमा केही विषय प्रस्तुत गर्नेछु । मलाई विश्वास छ यसबाट थप छलफल अघि वढाउन सहयोग पुग्ने छ ।
आजभन्दा २०१ वर्ष पहिले वि.सं. १८७९ मा बुटवलको चारपाला क्षेत्रबाट गोवरडिहा ८, दाङ गएका भुवनेश्वरनाथ अर्थात् बाघनाथ बाबाको यो आश्रमवारे बुटवलवासी धेरैलाई थाहा छैन । बाबाले स्थापना गर्नुभएको यो कुटी जङ्गल कुटीको नामले परिचित छ । उनको मृत्यु १९५९ मा भएको वताइन्छ ।
बाबामा अदृश्य शक्ति थियो भनेर विश्वास गरिन्छ । यसको उदाहरण बाबा बाघमा सवार भएर गाउँ डुल्नुहुन्थ्यो । त्यसैले पछि उहाँको नाम बाबा बाघनाथ राखियो । अहिले त्यसैलाई सिद्ध बाघनाथ बाबाको नाम दिइएको छ ।
भनिन्छ बाबा बाघनाथ एक कुशल बैद्य हुनुहुन्थ्यो । गाउँका मानिस विरामी पर्दा, दुःख संकट आइपर्दा बाबाले जडीबुटी र झारफुकले उपचार गर्नुहुन्थ्यो । गाउँमा ठूलै महामारी आउँदा पनि बाबाले त्यसको निवारण गर्नुहुन्थ्यो । उहाँको कर्मलाई सम्मान गर्दै गाउँका मानिसले उहाँलाई संरक्षक र देवताकोरुपमा मान्न थाले । यही ठाउँमा बाबाको समाधी वनाएर राखिएको छ ।
यो ठाउँ कम्ति चिसो छैन । पहाडको घेंच भएपनि अत्यन्तै चिसो छ यहाँ । यही चिसोमा वाघ, हरिण, रंगी विरंगी तामे ढुकुर पाइन्थे । ७१ वर्षका देवीरामले आफु सानो छँदा प्रसस्तै बाघ देख्थे र ढुकुरहरु त हातमा आएर चारा खाने गर्दथे । तर, अहिले ती कता लोप भए थाहा छैन । कहिलेकाही दुई चारवटा देख्न भने पाइने रहेछन् । घना जंगल रहेको यो क्षेत्रमा विभिन्न किसिमका जडिवुटी, २५० प्रजातिका चराचुरुङ्गी, वन्यजन्तु, पुरातात्विक महत्वका सामाग्री पाइन्छन् ।
देवीराम चौधरीहरु दुधाहारी हुन् । अर्थात् मासु खाँदैनन् । तथापि चारपालास्थित तामनगरको उत्तर वँगैचामा भने हाँसको वली दिने गर्छन् । यसमा देवीरामको भने चित्त वुझेको रहेनछ ।
पूर्वमा चिमचिमे खोला, पश्चिम सुपैला खोला, दक्षिण डडुवा पर्वत र उत्तरमा गोवरडिहा र धैरेनी थारु गाउँको बीचमा रहेको जङ्गल कुटी यस क्षेत्रको प्रमुख धार्मिक स्थलको रुपमा परिचित छ । सन्तान प्राप्ती, दुःखबाट छुटकारा, दुःख विमार भगाउन तथा श्रीसम्पत्तिको जोहोको भाकल गरी बाघनाथ बाबाको दर्शन गर्छन् ।
विशेषगरी थारुको पर्व माघ, शिवरात्री, दशैं तथा मेला महोत्सव र प्रत्येक पाँच वर्षमा गरिने पञ्चवर्षे पूजामा जङ्गल कुटीमा भक्तजनको घुइँचो लाग्छ । पञ्चवर्षे पूजा पश्चात् चारपालाको बँगैचामा रहेको मन्दिरमा प्रसाद ल्याएर चढाउने चलन रहेछ । जो चारपाला क्षेत्रका जनतालाई थाहै छैन । उनीहरु सैनामैना रामापुरका एक ठाकुर भन्ने चौधरीको माध्यमबाट यहाँ आउँदा रहेछन् । उनको सम्वन्ध गंगोलियाका राजाराम थारु जो साधु हुन् र उनका छोराहरुसंग पनि थियो । तर अहिले अत्तोपत्तो छैन । विस्तारै सम्वन्ध सेलाउँदै गएको पाइन्छ ।
अहिले जंगल कुटीमा देवीसिंह चौधरीका दम्पत्ति वस्छन् । उनका बुवा जेदुरामका हजुरबा नोखिराम बाबा बाघनाथका चेला हुन् । उनले सिकाएको हस्त लिखित पुस्तक देवीसिंहले पनि पाठ गर्छन् । निगालाले लेखिएको पुस्तकको खासै अर्थ उनले बुझ्दैनन् । सो पुस्तकको पहिलो पानामा १९७३ साल १३ गते वार २ मा भुईचाल गएको भनिएको छ । तत्पश्चात् हठ योगका विधि सिकाइएको छ । त्यसको पूरै भावानुवाद गरी संरक्षण गर्नुपर्ने आवश्यकता देखिन्छ ।
अव यसलाई सम्वन्ध वढाउने र पद्यमपाणी तथा यहाँबाट गएका बाबाको स्मरणमा केही काम गरेर नाथ सम्प्रदायको तीर्थ बनाउन सकिने प्रचुर सम्भावना छ ।
दाङको जंगलकुटीमा बारा, सप्तरी, चितवन, नवलपरासी, कपिलवस्तु,बाँके, वर्दिेया, कैलाली, कञ्चनपुर र छिमेकी मुलुक भारतको पचपेडवा, वलरामपुर, तुलसीपुर, वढ्नी, गोरखपुर, लखनउ लगायतबाट दर्शनार्थीहरु आउने गर्छन् ।
यद्यपि यो कुटी सस्थागत हुन सकेको छैन । यस ठाउँमा बस्ने चौधरी कुनै विषयका ज्ञाता हैनन् । उनले यस ठाउँको राम्रो परिचय दिन र अन्य महत्व वुझाउन सक्दैनन् । त्यसैले सस्थागत रुपले विकास समिति वनाई यसको नियमित हेरचाह तथा आगन्तुकलाई आकर्षण दिने काम गरिनपर्छ ।
भुवनेश्वरनाथ को हुन् भनेर पनि खोज गरिनु आवश्यक छ । बुटवलको चारपालाबाट गएको भनेर मात्र भएन, उनको जन्म कहिले, कहाँ भयो ? कसरी र किन सो ठाउँमै गए भन्ने कुरा खोजको विषय हुन सक्छ । यो काम दुवैतिरबाट गरिन आवश्यक छ ।
बाबाको हस्त लिखित पुस्तकमा हठ योगकावारेमा लेखिएकोले यो ठाउँ ध्यानको केन्द्र बन्न सक्छ । त्यसतर्फ अध्ययन गरियोस् ।
चारपाला सामुदायिक वनले अव के गर्ने ?
१. चारपाला सामुदायिक वन क्षेत्रको जोगीडाँडा, ठूलो प्लेट (ठूलो पठार) तथा सानो प्लेट (सानो पठार) क्षेत्र गरी करिव दुई देखि तीन किलोमिटर र गोलाकारमा दश किलोमिटर क्षेत्र खुला संग्राहालय रहेछ । यो क्षेत्रलाई यस अघि पनि यो रुपमा रहेको चित्रित गरिएपनि यसप्रति राज्यको चासो जगाउन सकिएको छैन । तर अव ढिला गर्नु हुँदैन । यो सम्पदा राज्यको रहेकोले राज्यले ध्यान दिनैपर्छ र स्थानीयले पनि तदनुसारको दवाव सृजना गर्नुपर्छ ।
२. खुला आकाशमुनि रहेका यहाँका भग्नावशेष मूल्यवान् छन् । यहाँ रहेका इटा र ढुंगामा कैयौं आकृति देखा पर्छन् । यस्ता महत्वपूर्ण इटा, ढुंगा, विभिन्न प्रकारका खपटा वा अन्य सामाग्री वहुमूल्य छन् । यिनको पहिचान गर्नु र संरक्षण गर्नु अहिलेको ज्वलन्त आवश्यकता हो ।
३. तेहै चौधौं शताब्दीका सम्पदा भेटिनु सामान्य विषय हैन । यिनको संरक्षण र प्रवद्र्धनमा लागि पुरातत्व विभाग, स्थानीय, संघीय एवं प्रादेशिक सरकार, बिश्वविद्यालय लगायतका सरकारी एवं गैरसरकारी संघसंस्थाले पहल लिनुपर्दछ ।
४. त्यसो त सम्पदाहरु राज्यकै महत्वपूर्ण सम्पत्ति हुन् । तथापि चारपाला सामुदायिक बन उपभोक्ता समुहले संरक्षण गर्दै आएको क्षेत्रमा यी सम्पदा प्राप्त हुनु समुहका लागि पनि गर्वको विषय हो । यस अर्थमा सो समुहले तत्काल कम्तिमा तारवार गरी संरक्षणको पहल गर्नु र विभिन्न सरोकारवालाको ध्यान आकर्षित गर्न ढिला गर्नु हुँदैन । साथै यसलाई नागरिकस्तरबाट पैरवी गर्ने ढंगले एउटा संयन्त्रको निर्माण गरी सरकार, अध्येताहरु, धार्मिक सम्प्रदाय वा सरोकारवालासंग छलफल गर्ने र यसको प्रचारप्रसारमा ध्यान दिनुपर्छ ।
५. यो स्थानमा लुम्विनी, कपिलवस्तु, देवदह क्षेत्रमा आउने पर्यटकहरुलाई आकर्षण गर्न सकिने पर्याप्त सम्भावना छ । यसका लागि न्युनतम पूर्वाधारको निर्माण गर्नु जरुरी हुन्छ । कुनै पनि पूर्वाधार निर्माण गर्नु अघि गुरुयोजना आवश्यक हुने भएकोले सो काममा लाग्नुपर्छ । तत्पश्चात् विभिन्न भागमा विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गरी किस्तावन्दीमा काम अघि वढाउन सकिन्छ ।
६. चारपाला सामुदायिक बन नेपालकै सन्दर्भमा फरक विशेषतासहितको हुने सम्भावना देखिएकोले उपभोक्ता समुहको प्रमुख जोड यसलाई माध्यम बनाएर गरिवी न्यूनिकरणको क्षेत्रमा काम गर्नु हुन्छ । यसका लागि यो सम्पदालाई माध्यम बनाउन सकिन्छ । अतः यो अवसरलाई कसरी ब्राण्डिङ गर्ने ? यसका लागि प्रथम चरणमा अध्ययन, लेखन र पुरातत्व विभागको ध्यानाकर्षणनै प्राथकितामा हुनुपर्छ । दोश्रो चरणमा उत्खनन गरिनुपर्छ । तेश्रो चरणमा आय आर्जन गर्ने र स्थानीयको जीवनमा परिवर्तन ल्याउने गरी काम गर्नु सान्दर्भिक हुन्छ ।
७. यो स्थानलाई सवै धर्मावलम्वीको आस्थाको केन्द्र बनाउनुपर्छ । तथापि कुनै एउटा सम्प्रदायको लागि विशेष हुन पनि सक्छ । ललितपुरमा पद्यमपाणि लोकेश्वर (रातो मच्छेन्द्रनाथ) लाई जसरी वौद्घ र हिन्दुमा पनि नाथ सम्प्रदायले अपनत्व ग्रहण गर्छन् त्यसरीनै यस ठाउँलाई पनि सोही मुताविक विकास गर्न सकिन्छ ।
८. त्यस्तै चारपाला सामुदायिक बनले बाघनाथ धार्मिक बनसंग भगिनी सम्वन्ध राख्ने र यस ठाउँलाई एउटा तीर्थस्थलको रुपमा विकास गर्नुपर्छ । खासगरी चौधरी हुनुको कारणले चौधरीहरुको र नाथ सम्प्रदायहरुको मुख्य तीर्थस्थल हुन सक्छ । यसको अर्थ सवै हिन्दुहरुको तीर्थस्थलनै बन्न सक्छ ।
९. यी सवै कार्य गर्नु अघि धार्मिक तथा पुरातात्विक क्षेत्रका व्यक्ति, इतिहासप्रति रुचि राख्ने अध्येता र स्थानीय ब्यक्तिकावीचमा छलफल गरी सुझाव लिनु उचित हुनेछ । यसो गर्दा सवैले अपनत्व लिन सक्ने अवस्था आउँछ ।
१०. यस्ता महत्वपूर्ण ऐतिहासिक स्थलप्रति राज्यको ध्यान जानैपर्छ । त्यसैले सवै सरकारका पर्यटन विभाग, बुटवल उपमहानगरपालिका, वन डिभिजन कार्यालयसमेतलाई सवै परिस्थितिको लिखित जानकारी गराई आवश्यक सुझाव लिने र लगानीको वातावरण वनाउन पनि उत्तिकै आवश्यक छ ।
२०८० पुस १४
No comments:
Post a Comment