डी.आर. घिमिरे
ऐतिहासिक पुरातात्विक महत्वका वस्तुहरु यत्रतत्र छरिएको र तिनको संरक्षण तथा सम्बर्द्धनमा बेवास्ता गरिएको बुटवल उपमहानगरपालिका– १२ स्थित चारपाला सामुदायिक वनको जोगीडाँडालगायतको क्षेत्र खुला संग्रहालयको रुपमा रहेको छ ।
भारतका वरिष्ठ पुरातत्वविद् पीसी मुखर्जीले भ्रमण गरेको १२४ वर्ष र देवाला मित्रले भ्रमण गरेको ६१ वर्ष हुँदासम्म नेपाली पक्षको बेवास्ता हुनु आफैंमा लज्जाको विषय हो । ए फुहररले मुखर्जीभन्दा पहिला सन् १८९५ मा यस ठाउँको भ्रमण गरेका थिए । उनले यसलाई कनकमुनि बुद्धको अवसान भनेका थिए । गौतम बुद्धअघि कश्यप बुद्ध, त्यसअघि क्रकुच्छन्द बुद्ध र उनीभन्दा अघि कनकमुनि बुद्धको समय हो ।
मुखर्जी र देवाला मित्रको भ्रमण समय क्रमशः सन् १८९९ र १९६२ हो । मुखर्जीले भ्रमण गरेको ६३ वर्षको अन्तरमा देवालाले भ्रमण गरेकी थिइन् । त्यसयता तिनाउ र दानव नदीमा धेरै पानी बगेको छ । भूबनोटमा पनि अन्तर आए होला । बाढीपहिरोका कारण नदीले बहाव क्षेत्र परिवर्तन गर्नुका साथै कैयौं देखिने र नदेखिने परिवर्तन भए होलान् । त्यतिवेलाकै सन्दर्भमा पनि मुखर्जीले जे देखे, देवालाले सो देखिनन् । यस आधारमा कैयौं कुरा हराउँदै र मासिँदै गएको पाइन्छ ।
देवाला मित्रको विश्लेषणमा जोगीडाँडामा भेटिएका भाँडाका टुक्रा र अलङ्कृत इँटहरु कपिलवस्तुको कुदानका भग्नावशेषमा प्राप्त सामग्रीको समकालीन हुन् । यसरी हेर्दा यो ठाउँको सम्बन्ध लुम्बिनी र कपिलवस्तुसँग जोडिन्छ ।
कुदान त्यो ठाउँ हो, जहाँ बुद्धले बुद्धत्व प्राप्त गरेपछि ई.पू. ५२५ मा कपिलवस्तु आएका बखत बाबु शुद्धोधन, श्रीमती यशोधरा, कान्छीआमा प्रजावती, छोरा राहुल, परिवारजन र ३०० शिष्यलाई भेट गरी उपदेश दिनुभएको थियो ।
सैनामैना र बुटवल– १२ तामनगरलाई वौराहा खोलाले छुट्याएको छ । जसको किनारमै हाल पद्मपाणि योग तथा प्राकृतिक चिकित्सालयसमेत रहेको छ । त्यही वौराहा खोलाको पूर्वउत्तर जंगलमा टाटे पहरो अर्थात् जोगीडाँडामा माटाका भाँडाका टुक्रा, गाडधन फेला पार्ने उद्देश्यले खनिएका खाल्डाहरु यत्रतत्र छन् । पहिरो गएको स्थानमा करिब ३ मिटरको उचाइमा विभिन्न किसिमका माटाका भाँडाका तत्वहरुले बनेको छ । सो ठाउँबाट करिब २०० मिटर उत्तरपूर्व ठूलो प्लेट छ । ५० मिटर आयतकारमा फैलिएको भवनको जगसमेत छ । जगमा प्रयोग भएका इँट ३० सेन्टिमिटर लम्बाइ र १९ सेन्टिमिटर चौडाइको चारपाटे छन् । प्रायः यस क्षेत्रमा भेटिने इँटा यही साइजका भएकाले एउटै समयका हुनसक्ने अड्कल गर्न सकिन्छ ।
यसबारेमा २०६५ सालमा लेखेको बुटवल नजिकैको पर्रोहा गाविसस्थित सैनामैना क्षेत्रका पुरावशेषहरुको पुरातात्विक अध्ययन विषयक नेपाली इतिहास, संस्कृति तथा पुरातत्व विषयको स्नातकोत्तर तहको लागि लेखेको शोधपत्रमा सुशीलकुमार गौतमले पुरातत्वविद्को हवाला दिँदै यी इँटहरु शुँग–कुषाणकालीन हुनसक्ने अनुमान गरेका छन् ।
उनले सैनामैना क्षेत्र भनेर बुटवलको चारपाला क्षेत्रमा भेटिएका पुरातात्विक भग्नावशेषको पनि अध्ययन गरेका छन् । चारपालाको जोगीडाँडा, ठूलो र सानो प्लेट क्षेत्र चारपाला सामुदायिक वन क्षेत्रमा पर्छन् ।
ठूलो प्लेटबाट करिब १०० मिटर उत्तरतर्फ जोगीडाँडा छ । यहीबाट केही मूर्ति भेटिएर लुम्बिनी लगिएका हुन् । यसको नाम किन जोगीडाँडा रह्यो भनेर अनुमान गर्दा कुनैवेला योगीहरुको आश्रयस्थल भएका कारणले हुनसक्छ । पद्मपाणि जस्ता योगी, ध्यानी तथा सिद्ध पुरुषहरुका दर्जनौं मूर्ति फेला परेकाले उनीहरुको आश्रयस्थल भएको अनुमान लगाउन सकिन्छ र सोही कारणले जोगीडाँडा नाम रहन गएको हुनसक्छ ।
वर्षामा माटाका मालाका गेडाहरु, पुरानो धातुका चुरा प्रशस्तै पाइन्छन् । यस भवनको जगबाट ठीक तल पश्चिमतर्फ इनारको भग्नावशेष छ ।
सैनामैना नगरपालिकाले २०७६ सालमा प्रकाशन गरेको सैनामैना दर्पणमा यसबारे केही जानकारी दिइएको छ । जसअनुसार वौराहा खोलाको बीचमा अर्को इनार रहेको छ । जसमा प्रयोग भएका इँटाबाट केही अनुमान लगाउन सकिने अवस्था छ । नदीको मूल प्रवाहमा इँटाको चक्के इनारको अस्तित्व अद्यापि देख्न सकिन्छ । पंक्तिकारले पनि यसै महिना सो स्थलको अवलोकन गर्दा सफा पानीभित्र देखिने इनारमा परम्परागत इँटा देखिएका छन् ।
इनारको बाहिरी परिधि १५ फिट ६ इन्च र भित्री परिधि २ फिट १० इन्च रहेको सैनामैना दर्पणमा उल्लेख छ । त्यस्तै सो इनारमा प्रयोग भएका इँटाको आकार ११ इन्च लम्बाइ, ८ इन्च चौडाइ र २ इन्च मोटाइ रहेको भनी गौतमले आफ्नो शोधपत्रमा लेखेका छन् ।
विडम्बना यो छ कि ती सबै भग्नावशेषमा वौराहा खोलाले वर्षेनि क्षति पु¥याइरहेको छ । यदि तिनको तत्काल संरक्षण गर्न सकिएन भने इतिहास नै समाप्त हुनसक्छ । अहिले यो नदी बगेको ठाउँलाई हेर्दा करिब २० वर्षअघि मात्र पनि २०० मिटर पश्चिम थियो भनेर अनुमान लगाउन सकिन्छ । खोलाको उत्तरपूर्व रहेको जोगीडाँडामा भग्नावशेषका अतिरिक्त पानी खान कुवा थियो भन्ने कुरा पनि प्राप्त भग्नावशेषबाट स्पष्ट हुन्छ ।
यी भग्नावशेष कहिलेका हुन् त ? यो खोजको विषय अवश्यै हो । तर, आजसम्मका अध्येताले ती ठाउँमा भेटिएका इँटा कपिलवस्तुको कुदानमा रहेका इँटासँग मिल्ने गरेकाले माध्यमिक कालका हुनसक्ने अनुमान गरेका छन् । त्यहाँ भेटिएका माटाका भाँडाहरु ईश्वीको आठौं–नवौं शताब्दीतिरका भनी पुरातत्वविद् देवाला मित्रको भनाइ उद्धृत गर्दै गौतमले आफ्नो शोधपत्रमा उल्लेख गरेका छन् ।
चारपालाका सम्पदा लुम्बिनी संग्रहालयमा
बुटवल–१२ स्थित चारपाला सामुदायिक वन क्षेत्रमा भेटिएका पुरातात्विक महत्वका सम्पदा हाल लुम्बिनीस्थित संग्रहालयमा सुरक्षित छ । निश्चय नै तिनको संरक्षण गरिनुलाई अन्यथा लिन मिल्दैन ।
तर, सो क्षेत्रका अगुवा, सामुदायिक वनका पदाधिकारी, राजनीतिकर्मी, सांस्कृतिककर्मीलगायत सबैको कर्तव्य यो हुनुपर्छ कि जुन ठाउँमा सम्पदाहरु भेटिन्छन्, तिनको सोही ठाउँमा व्यवस्थापन गरिनुपर्छ । त्यसो त सरकारले नै यो काम गर्नुपर्ने हो । तर, तीनै तहका सरकारमा त्यस प्रकारको संवेदनशीलता देखिँदैन । यस अर्थमा स्थानीयले नै दबाव, प्रभाव र अगुवाइ गर्नु जरुरी हुन्छ ।
हाल लुम्बिनीमा रहेका बुद्धको भूमि स्पर्स मुद्राको मूर्ति, जैमाला देब्या १२६२ मन्दिरको आमलक शिला भारतीय पुरातत्वविद् सीपी मुखर्जीले पत्ता लगाएका थिए । संगारपाटीभन्दा माथिको भाग पनि त्यही छ । अर्को गजुर अडाउने चक्राकारको शिला पनि छ । त्यसक्रममा भेटिएको ३ फिट अग्लो तथा २ फिट १ इन्च चौडा ध्यानी बुद्घको प्रस्तर प्रतिमा ध्यान मुद्रामा रहेको छ । बायाँ हात र शिरोभाग टुटेको छ । यो प्राचीन कलासँग मिल्दो रहेको जानकारहरु बताउँछन् ।
त्यस्तै सो ठाउँमा भेटिएको श्री महाराज पुर्ण्ये मल्ल १३५३ लेखिएको प्रस्तरस्तम्भ अर्थात् शिला स्थानीय अगुवा रामप्रसाद भट्टराईले २०७५ सालको अन्त्यतिर पत्ता लगाएका हुन् । हाल यो प्राकृतिक चिकित्सालयको उत्तर पश्चिम प्रस्तावित संग्रहालयमा राखिएको छ । कर्णाली प्रदेशका खस मल्ल राजा रिपु मल्ल पनि लुम्बिनी यात्रामा आएका थिए भन्ने एउटा प्रमाण यो अशोक स्तम्भ रहेको छ । स्तम्भमा उनले प्रचलित नेपाल लिपिमा ‘श्री रिपु मल्लस्य चिरंजयतुु १२३४’ भनेर कुँद्न लगाएका छन् । यिनको पनि केही सम्बन्ध हुनसक्छ ।
यसबारेमा गौतमले आफ्नो शोधपत्रमा पीसी मुखर्जीले लेखेको ए रिपोर्ट अन ए टुर अफ एक्स्प्लोरेशन अफ द एण्टिक्विटिज अफ कपिलवस्तु, तराई अफ नेपालमा उल्लेखित अंश उद्धृत गर्दै त्यसलाई प्रमाणित गर्ने प्रयास गरेका छन् । जसमा लेखिएको छ–
बुद्घको मूर्ति नजिकै हात्तीमाथि सिंह र त्यसमाथि मानिस चढेको मूर्ति फलक पनि मुखर्जीले देखेका थिए । तर, यो भेटिएको छैन । उनको वर्णनअनुसार १’–८” ह् १’–२” को सो फलक दुई भागमा विभक्त थियो । एक भागमा माथि भनिए जस्तो मूर्ति संयोजन गरिएको थियो र अर्कोमा गहना उत्कीर्ण थियो ।
तर, गौतमले भने २०६५ सालमा घुम्दा कतै नदेखेको उल्लेख गरेका छन् । जैमालादेब्या लेखिएको शिलाको सम्बन्धलाई पूर्णदास मानन्धरले मध्यकालीन खसमल्ल राजाहरुसँग रहेको भनी मधुपर्क वर्ष १९ अंक ४, २०४३ मा लेखेका छन् ।
यसरी जोगीडाँडा वरिपरि भेटिएका पद्मपाणिको मूर्ति, जैमाला देब्या १२६२ र श्री महाराज पुण्र्ये मल्ल १३५३ लेखिएका दुई शिला र ध्यानी बुद्धको प्रस्तर प्रतिमाले यो ठाउँ केही न केही हो भन्ने नै देखाउँछ । तथापि यिनको थप अध्ययन अनुसन्धान हुन जरुरी छ । शिलाको बारेमा खासै अध्ययन भएको पाइँदैन । त्यसको अध्ययन पनि आवश्यक छ ।
सो क्षेत्रको भ्रमण गर्दा कतिपय ठूला र लामा खाँचासहितका ढुंगा भेटिन्छन्, जसलाई ढोका राख्न सँगारपाटीको रुपमा प्रयोग गरिएको अनुमान गर्न सकिन्छ । कतिपय स्थानीयका अनुसार बीचबीचमा खाल्डा खनेर केही वस्तु भेटिन्छन् कि भनेर हेर्ने र खोज्ने चलन केही वर्ष अघिसम्म रहेको थियो । ती खाल्डा अहिले देख्न र हेर्न सकिन्छ ।
यसरी हेर्दा किल्लाका लागि हुनुपर्ने सबै पूर्वाधार सो ठाउँमा देख्न सकिन्छ । यो क्षेत्र अलि ठूलै छ । ठूलो प्लेट (ठूलो पठार) र सानो प्लेट (सानो पठार) सम्मको क्षेत्र पुरातात्विक महत्वको देखिन्छ । समतल जमिन क्षेत्र भएकाले बसोबासका लागि पनि उपयुक्त थियो भनेर पनि भन्न सकिने अवस्था छ । कुँदेर राखिएका कलात्मक ढुंगा अनगिन्ती भेटिन्छन् । कतिपयमा केही लेखेको पनि देखिन्छ ।
यिनलाई सैनामैना नगरपालिकाले धेरै हदसम्म संरक्षण गर्ने प्रयत्न गरेको छ । जोगीडाँडाको एक ठाउँमा किटको थुप्रो भेटिन्छ । सो थुप्रो हेर्दा तत्कालीन समयमा हतियार बनाउन प्रयोग गरिएको ठाउँ हुनसक्ने अनुमान गर्न सकिन्छ । यसअघि चित्रबहादुर केसी नगर प्रमुख हुँदा एउटा संग्रहालय नै बनाउने भनेर जग्गा छुट्याइएको थियो । तर, पछिल्ला दिनमा तदनुसारको सक्रियता पाइँदैन ।
२०८० मंसिर २३ गते
No comments:
Post a Comment