डी.आर. घिमिरे
ऐतिहासिक पुरातात्विक महत्वका वस्तुहरु यत्रतत्र छरिएको र तिनको संरक्षण तथा संवद्र्घनमा बेवास्ता गरिएको बुटवलस्थित वडा नं. १२ अन्तर्गत् चारपाला सामुदायिक वन क्षेत्रको जोगिडाँडामा प्राप्त ‘पद्मपाणि’को मूर्तिले यसको खोज र संरक्षणमा विशेष जोड दिनुपर्ने सन्देश दिएको छ ।
चारपाला सामुदायिक वन क्षेत्र खुला संग्राहालय हो । यहाँ जति खोज्न सक्यो त्यति सम्पदा भेटिन्छन् । २०६३ साल माघ २३ गतेको कुरा हो, बौराहा खोलामा गिट्टी संकलन गर्ने क्रममा एउटा मूर्ति भेटियो । अग्लो डाँडो वर्षामा पहिरो जाने भएकोले त्यस्तो ठाउँमा ढुंगा गिट्टी ज्यादा भेटिने भएकोले जीविकोपार्जनका लागि ढुंगा संकलन गर्नेका लागि आकर्षण हुनेनै भयो । पहिरोले लतपतिएको मूर्ति भेटिएपछि धन्न उनीहरुले फोरेर ट्याक्टरमा हालेनन् । एक दुई जनाले हेरेपछि त्यसलाई अलग गरे ।
यो कुरा एक कान दुई कान हुँदै स्थानीय रामप्रसाद भट्टराई र माओवादी नेता भक्ति पाण्डेको कानमा पुग्यो । उहाँ लगायत स्थानीय समाजसेवीको अगुवाईमा तिनलाई सुरक्षित गर्ने काम भयो । सो मूर्ति अलिकता चर्केको छ । एकाएक भेटिएपछि भगवान भनेर हल्ला त भयो तर, तत्क्षण फोरेर ढुंगासंग फाल्न खोज्नुलाई अन्यथा भन्न मिलेन । जे होस् अन्ततः भगवानको मूर्ति भनेर सुरक्षित गरेको पाइन्छ । सो मूर्ति देखाउँदा साथ पुरातत्व तथा सस्कृतिविद्हरुले अवलोकेतोश्वरको मूर्ति भनेर भनेको अहिले पनि रामप्रसाद भट्टराईलाई स्मरणमा छ ।
हिन्दू धर्मावलम्बीले ऐतिहासिक सन्त गुरु करुणामयको रूपमा पुज्ने मछिन्द्रनाथ र बौद्ध धर्मावलम्बीले पञ्चबुद्ध मध्येका चौथो बुद्धका रूपमा पूजा गर्ने ‘पद्मपाणि’ एउटै हुन् । ‘पद्मपाणि’ हठ योगका प्रवर्तक हुन् । बौद्ध धर्मावलम्बी माझ श्री करुणामय वंगद्यः पद्मपाणि आर्यावलोकितेश्वर, लोकनाथ आदि नामले पुकारिन्छ ।
नाथ सम्प्रदायका भगवान् मानिन्छन् मच्छिन्द्रनाथ ः
सहकालका देवताका रूपमा मानिने मच्छिन्द्रनाथ हिन्दू धर्मवलम्बी मध्ये शैव धर्मावलम्बीका नाथ सम्प्रदायका भगवान् हुन् । मत्स्येन्द्रनाथलाई नाथ सम्प्रदायका प्रमुख देवता भनिए पनि यिनी सबै धर्मावलम्बीद्वारा समान रूपले पूजित रही एउटै परब्रहृमाको रूपमा मानिएका छन् । नवनाथ र चौरासी सिद्धमध्ये एक सिद्ध रहेका मच्छिन्द्रनाथका शिष्य गुरू गोरखनाथ हुन् ।
मच्छिन्द्रनाथलाई वर्षा र सहकालका देवता भन्नुको कारण भने यस्तो छ– करिब १४ सय वर्षपहिले राजा नरेन्द्रदेवका पालामा मुलुकमा लामो खडेरी परेको तथा भोकमरी र महामारीबाट जनता अकालमा मरेपछि त्यसलाई रोक्न काठमाडौँ, ललितपुर र भक्तपुरका तान्त्रिकले भारतको कामरूप कामाक्षाबाट मच्छिन्द्रनाथलाई नेपाल भित्राइएको बताइन्छ ।
पाटनको रातो मत्स्येन्द्रनाथ र काठमाडौँको सेतो मच्छिन्द्रनाथ प्रसिद्ध छन् । रातो मच्छिन्द्रनाथमा दोलखा र किर्तीपुर चोभारको मच्छिन्द्रनाथ पनि पर्दछन् ।
पाटन, दोलखा र काठमाडौंका मच्छिन्द्रनाथहरूलाई परम्परागत रूपमा रथमा विराजमान गराई सहर परिक्रमा गराउने गर्दछन् । चोभारको रथ यात्रा गराइँदैन । अन्य मच्छिन्द्रनाथको दाँजोमा पाटनको मच्छिन्द्रनाथको १२ वर्षे जात्रा गरिने हुनाले यो जात्राले आधिकारिकता र विशिष्टता प्राप्त गरेको छ ।
हिन्दू धर्मावलम्बी र बौद्ध धर्मावलम्बीलाई धार्मिक समन्वय गरी समाजमा मिलेर बस्न र शान्ति स्थापनाका लागि यो जात्राले ठूलो भूमिका खेलेको छ । बाँच्नका लागि सबै प्राणीलाई चाहिने सहकालका देवता भएका हुनाले यी देव सबैका आराध्यदेव भएका छन् ।
नाथ सम्प्रदायका एक सिद्ध योगीका रूपमा रहेका मत्स्येन्द्रनाथलाई महिला र पुरुष दुवै देवको रूपमा मानिन्छ । पुरुषलाई गरिने कर्मकाण्ड र महिलालाई गरिने कर्मकाण्ड इही गुफा राख्ने जस्ता कार्य पनि गरिन्छ ।
जोगिडाँडामा भग्नावशेषको थुप्रो ः
पद्मपाणिको प्रस्तर भेटिएको जोगीडाँडाको आसपासमा सवैभन्दा अग्लो ठाउँ छ, जहाँ दरवार थियो कि भनेर अनुमान लगाउन सकिने अवस्था छ । निश्चित क्षेत्रमा इटाको जग रहेको अहिले पनि देखिन्छ । त्यसको अलि पर मन्दिर हो कि भनेर अनुमान लगाउने अवस्था देखिन्छ । अर्थात् त्याहाँ भग्नावशेषका रुपमा इटाका टुक्रा, छानोको रुपमा प्रयोग भएका खपटा, विभिन्न आकारप्रकारका मूर्ति, दरवारमा प्रयोग गरिएका हुनसक्ने ढुंगाका सँगारपाटी आदि छन् ।
स्थानक मुद्रामा अवस्थित सो मूर्तिका दुई हात वरद मुद्रामा देखिन्छ भने वायाँ हातले पद्मपुष्पको नाल समातेको देखाइएको छ । पुष्ठ छाती, छिनेको कम्मर, फुकेको जाँघ आदि स्पष्ट देख्न सकिन्छ । घाँटीमा एक तहको माला, उत्तरीय बस्त्र, कम्मरवन्ध, धोतीजस्ता वस्त्रभूषण लगाइएको छ ।
सो ठाउँमा पद्मपाणिका मूर्ति भेटिएपछि तिनलाई अहिले सैनामैना ठूलो कुवामा राखिएको छ । काठमाण्डौ लगेर जानकारहरुलाई देखाउँदा सो मूर्ति पद्मपाणिको भएको भनिएको छ ।
सैनामैना नगरपालिकाले प्रकाशन गरेको सैनामैना दर्पणमा पनि यसवारे केही ब्याख्या गरिएको छ । जसमा भनिएको छ–
निलो कालो पत्थरको यो मूर्ति यस क्षेत्रको नमुनाको रुपमा रहेको छ । यो अवलोकितेश्वरको प्रतिमा स्थानक मुद्रामा रहेको छ । यसको दायाँ हात वरद मुद्रामा रहेको प्रतित हुने गर्दछ किनकि हाल पूर्ण अवस्थामा देखिन्न । वायाँ वाहुले पद्मपुष्पका डाँठ पक्रेको छ । यसको शिरोभागमा अभिताभको आकृति अंकित छ ।
यसवारेमा सुशिलकुमार गौतमले आफ्नो २०६५ सालमा लेखेको शोधपत्रमा दीनेशचन्द्र रेग्मीको २००७ अगस्त २६ मा हिमालयटाइम्स दैनिकमा प्रकाशित ‘हिडन ट्रेजर्स अफ नेपाल्स मधेस’ शीर्षकको लेखको अंशलाई उदृत गरेका छन् । जसमा सो मूर्तिको शैली बघोरटप्पाको सूर्य मूर्तिसंग मिल्दोजुल्दो भनी लेखेका छन् । उनको अनुमान छ– ती दुवै सिम्रौनगढको तिरु हुते राजवंशले अपनाएको पालसेन कलाशैलीको विमार हो ।
स्थानीयको भनाइ उदृत गर्दै गौतमले त्यसको आकारप्रकारवारे पनि लेखेका छन्– ११५ सेमी लम्वाई र ७० सेमी चौडाईमा उभिएका, घाँटी र कम्मर केही ब¨ाएर उभिएका छन् । शिरमा कलात्मक मुकुट बनाइएको छ । कम्मरबाट तल घुँडासम्म पट्याएको धोती लगाएका छन् । यिनको नाक, कान र घाँटीमा भब्य गहनाको प्रयोग भएको छ । पूरा बनेको फूल (कमल) देवताको बायाँ कानको स्तरमा प्रतित हुन्छ । किनकि यो भाग केही क्षतिग्रस्त छ ।
गौतमले थप भनेका छन्–
मूर्तिको शिरको दायाँबायाँ हात्तिको टाउको र बाँदर कुदिएका छन् । देवताको नितम्वस्तरदेखि तलतिर दुवैतर्फ नारी र पुरुषका आकृतिहरु छन् । ती आकारमा साना छन् । दायाँपट्टीको नारी मूर्तिको तल रहेको पुरुषमुर्ति नमस्कार मुद्रामा रहेको छ । बायाँपट्टी पनि माथिल्लो भागमा नारीमूर्ति र तल पुरुषमूर्ति बनाइएका छन् । त्यस पुरुषमूर्तिले आफू माथिको नारीमूर्तिको स्तन स्पर्श गरिरहेको प्रतित हुन्छ ।
सैनामैना दर्पणमा उल्लेख गरिएको विवरणमा यसरी वर्णन गरिएको छ –
पञ्चध्यानी बुद्घमध्ये पश्चिमपट्टी अवस्थित अभिताभको भएकोले उनको आकृति अंकित गरिनु प्रतिमा विज्ञानको प्रविधि हो । पद्मपुष्प फक्रिएको अवस्थामा छ । शिरमुकुट लाम्चो आकारको छ । ह्ष्टपुष्ट छाती, लचकदार शरीर, ह्ष्ठपुष्ट बाहु र तिघ्रा यसका मौलिक विशेषता हुन् । यसमा आकर्षक मुकुट लगाइएको छ । कानमा वोझिला कुण्डल, घाटीमा कण्ठहार, कम्मरवन्ध, बैजन्तीमाला तथा धोती लगाइएका छन् । यसको दायाँपट्टी बुद्घ परिवारका दुइवटा सदस्य स्थानक मुद्रामा रहेका छन् । सम्भवतः यी तारादेवीका मूर्ति हुन् । वायाँपट्टी भने अर्को देवीको आकृति छ । यिनको शारीरिक संरचनाले शक्ति भएको पुष्टि हुने गर्दछन् । यी कलात्मक आकृतिहरुपनि विभिन्न बस्त्र र गरगहनाले सजिसजाउ अवस्थामा देखिन्छन् । यसको शारीरिक संरचना, सादा प्रभामण्डल, पारदर्शी बस्त्र, आंगिक अनुपात मिलेको जस्ता लक्षणको आधारमा यो मूर्ति प्रचीन कला प्रविधि र शैलीमा आधारित देखिन्छ । यसको प्रतिमा लक्षण निष्पन्नयोगावली र धर्मकोश संग्रहको विवरणसँग मिल्दो छ । अवलोकितेश्वर वोधिसत्वले पद्मपुष्प ग्रहण गरेको अवस्थामा यसलाई पद्मपाणि अवलोकितेश्वर भनिन्छ ।
चारपाला बाघनाथ बाबाको क्षेत्र ः
दाङ्को गोवरडिहा–८ स्थित जङ्गलको बीचमा सिद्घ बाघनाथ बाबाधामको मन्दिर छ । सो मन्दिरको पृष्ठभूमि बाबा भुवनेश्वरनाथ थारुसंग जोडिएको बताइन्छ । वि.सं. १८७९ मा बाबा भुवनेश्वरनाथले स्थापना गरेको कुटीलाईनै अहिले सिद्घ बाघनाथ बाबाधाम भनेर भनिएको हो । बाघमा सवार भएर गाउँ डुल्ने भएकोले बाघनाथ भनिएको बताइन्छ । उहाँ बाबा बुटवलको चारपाला क्षेत्रबाट आएको भनी गाउँलेलाई बताउनु भएको आधारमा लेख्ने जान्ने र बुझ्ने गरिन्छ ।
त्यतिवेलाको सन्दर्भमा चारपाला क्षेत्र कहाँ थियो भनेर खोजविन गर्नु उत्तिकै जरुरी देखिन्छ । (पहिचान खोज्दै बाघनाथ बाबा (जङ्गल कुटी) ( ज्बmबच एबजगचब¬)
भनिन्छ बाबा भुवनेश्वरनाथ शिव भगवानका परम भक्त हुनुहुन्थ्यो । नाम भुवनेश्वरनाथ भएपनि उहाँलाई गाउँमा बाबाको नामले जानिन्थ्यो । उहाँ एक कुशल बैद्य हुनुहुन्थ्यो । गाउँका मानिस विरामी पर्दा, दुःख संकट आइपर्दा तिनै बाबाले जडीबुटी र झारफुँकले उपचार गर्नुहुन्थ्यो । गाउँलेहरुलाई सहयोग गर्ने भएपछि उहाँको मान वढ्दै जाँदा देवताकोरुपमा मान्न थालेको भनेर भनिएको छ ।
गत वर्ष यसवारेमा अध्येता युवराज कणेंलले सामाजिक सञ्जालमार्फत् भुवनेश्वर को हुन सक्छन् भन्ने प्रश्न गर्दै भनेका थिए– राणाकालको मध्यसम्म स्थानीय प्रशासनिक इकाईलाई “पाल”भनिदो रैछ । पछि बुटवल “चारटप्पा” भनिने यो क्षेत्रनै बुटवल चारपाला हुनसक्छ । बुटवलबाट गएको मान्छे÷सिद्घ पुरुषनै भुवनेश्वर हुन सक्छन् । अंग्रेजको भत्ता खाएर पाल्पा हान्न सघाउन आएका सेनराजका प्रमुख सचिव कनकनिधि तिवारी बुटवलमा अंग्रेजको हार भएपछि सन् १८१४ मा बुटवलबाट वेपत्ता भएका थिए । भारतमा अंग्रेजको र नेपालमा बस्दा गोर्खालीले मार्ने डर भएकोले उनी चुरेको फेद हुदै देउखेरी पुगेर नाम वदलेर “बाबा” बनेर वसेको हुनसक्छ ।
उनले अर्को सम्भावनातर्फ पनि अनुमान गरेका छन्– सन् १८५७ को भारतीय सिपाही विद्रोह असफल भएपछि थुप्रै विद्रोहीहरु शरणको लागि नेपाल पसेका थिए । ती मध्ये एक प्रभावशाली ब्यक्ति पेशवा नाना साहेव थिए । केही प्रभावशाली विद्रोहीहरुलाई जंगवहादुरले शरण दिएपनि नानालाई उनले शरण दिएनन् र सुपुर्दगी पनि गरेनन् । बरु उनलाई नेपालमै लुकेर वस्न सहयोग गरे । उनलाई देउखुरीको जंगलमा कुटी वनाएर वसेको अवस्थामा आफुले भेटेको र पछि ज्वरोले उनको मृत्यु भएको तथा स्थानीयले दाहसस्कार गरेको कुरा उनकी वहिनीले एउटा पुस्तकमा उल्लेख गरेकी थिइन् । आखिरी बाबा भुवनेश्वर को थिए ? कनकनिधि वा नाना साहेव ? चारपाला कुटी कहा थियो ? खोजी गर्ने कि ?
अव विषय इतिहासकारतिर सोझिएको छ । अध्येताहरुले पनि खोज गर्न सक्छन् ? यी र यस्ता अमुल्य सम्पदा हुन् । यिनको खोजले इतिहासको सम्मान त हुन्छनै, पर्यटनको विकास पनि हुन्छ । त्यस अर्थमा उपमहानगर पालिकाले पनि अनुसन्धानकर्तालाई अनुरोध गरेर टुंगो लगाउनु आवश्यक देखिन्छ ।
No comments:
Post a Comment