डी.आर. घिमिरे
राजनीतिमा “प्रचार“ भनेको पार्टीको, नीति, कार्यक्रम वा विचारलाई जनतामाझ व्यापक रूपमा फैलाउने कार्य हो ।
प्रचारको उद्देश्य जनताको समर्थन प्राप्त गर्नु, आफ्नो विचारधारा वा योजनाबारे जानकारी दिनु, र चुनावको समयमा भोट सुनिश्चित गर्नु हो । प्रचार विभिन्न माध्यमहरू जस्तै भाषण, सभा, मिडिया, सामाजिक सञ्जाल, पर्चा वितरण र अन्य सञ्जालमार्फत गरिन्छ ।
हुनपनि जनमत कायम गर्ने मूख्य आधार सूचना हो । त्यसैले भन्न सकिन्छ सूचनाको खेती अहिले ज्यादै फस्टाएको छ । कुनैवेला सूचनालाई ज्ञान र सञ्चारको रुपमा लिइन्थ्यो भने अहिले त्योभन्दा फरक सम्पत्तिका रुपमा लिन थालिएको छ । निश्चयनै प्रयोग गर्न जान्दा सूचना सम्पत्ति हो । बिश्वका सवैभन्दा धनी ब्यक्तिको सूचि बनाउने हो भने सूचना र सञ्चारको व्यापार गर्नेनै अगाडि छन् ।
राजनीतिमा त सूचनाको उपयोग ज्यादै धेरै हुने गर्छ । सन् १९७० यता सूचना र सञ्चारको प्रयोगबाट दुनियाँनै बदलिएको छ । अहिलेको डिजिटाइज दुनियाँले भौतिक सीमा समाप्त गरेको छ । जसलाई डिजिटल क्रान्ति अर्थात् चौथो औद्योगिक क्रान्ति भनिन्छ ।
गत वर्ष सन् २०२४ मा युवल नोह हरारीद्वारा प्रकाशित ‘नेक्सस’ (ढुंगे युगदेखि एआईसम्म सूचना–संजालको संक्षिप्त इतिहास) नामक पुस्तकले सूचना, सञ्चार र समग्रतामा यसले पारेको प्रभावकाबारेमा विशद चर्चा गरेको छ । यसले परिवर्तित अवस्थामा इतिहास, दर्शन, प्रविधि र राजनीतिमा परेको प्रभावबारे पनि धेरैहदसम्म चर्चा गर्दै भविष्यमा आइपर्ने समस्या तथा चुनौतिकाबारेमा एकप्रकारको आँकलन गरेको छ ।
यद्यपि हामीले देखेभोगेको आधारमा पनि केही चुनौतिको अनुमान गर्न सक्छौ ।
हालै प्रकाशनमा आएको समाचार अनुसार मेटाका प्रमुख कार्यकारी अधिकृत मार्क जुकरबर्गले यही (सन् २०२५) वर्ष मेटाबाट झन्डै ५ प्रतिशत कर्मचारीलाई बिदा गर्ने तयारी गरेका छन् ।
सेल्सफोर्सले सन् २०२५ मा एकजना पनि नयाँ सफ्टवेयर इन्जिनियर भर्ती नगर्ने घोषणा गरेको छ ।
एआई प्रविधिको प्रयोगबाट सेल्स, मार्केटिङ, ग्राहक सेवासम्बन्धी जनशक्तिलाई प्रतिस्थापन गर्दै लाने योजना छ ।
गोल्डम्यान स्याक्सको एक अध्ययन प्रतिवेदनअनुसार सन् २०३० सम्ममा झन्डै ३० करोड मानव श्रमशक्तीलाई एआईले विस्थापन गर्दै छ ।
ब्लुमबर्गको पछिल्लो रिपोर्टअनुसार न्यु योर्क वाल स्ट्रिटका ठूला बैंकहरूमा एआईको प्रयोगका कारण करिब २ लाख रोजगारी कटौती हुनसक्ने अनुमान गरिएको छ ।
सन् २०२८ सम्ममा विश्वभर झन्डै डेढ करोड नयाँ रोजगारी सिर्जना हुने देखाएको छ ।
आगामी केही वर्षमा फिलिपिन्सका झन्डै ५० लाख कर्मचारीहरू एआई क्षेत्रको उभारका कारण विस्थापित वा प्रभावित हुने देखाएको छ ।
अमेरिकाका झन्डै ८० प्रतिशत कामदारको कार्यक्षेत्रमा एआईले सानो वा ठूलो रूपमा असर गर्ने ब्लुमबर्गको अध्ययन छ भने झन्डै ४ करोड रोजगारीलाई यही वर्ष आंशिक वा पूर्णरूपमा असर गर्ने दाबी गरिएको छ ।
माइक्रोसफ्टको सर्वेक्षणले सूचना प्रविधिको क्षेत्रमा आश्रित भारतको ठूलो युवा जनशक्तिमध्ये झन्डै ७४ प्रतिशतलाई एआईका कारण रोजगारी गुम्ने चिन्ता रहेको देखाएको छ ।
विश्व आर्थिक मञ्चको प्रतिवेदन अनुसार सन् २०३० सम्म एआईका कारण लगभग १७ करोड नयाँ रोजगारीका अवसर सिर्जना हुने र झन्डै १० करोड अहिलेको रोजगारीलाई पूर्णतया प्रतिस्थापन गर्ने प्रक्षेपण छ ।
भर्खरै काठमाण्डौको एक होटलले एआईको माध्यमबाट पाँच तले भवनको कोठामासमेत सर्भिस प्रदान गर्न थालिएको छ ।
निश्चयनै अटोमेसन (यान्त्रिक स्वचालन जस्तैः रोबोटिक्स, कृत्रिम बौद्धिकता (एआई), कामलाई स्वचालित बनाउने सफ्टवेयर) जस्ता प्रविधि र तिनको ज्ञानले मानिस मेशिनीकरण भएको छ । पहिले मानिसले मेशिन चलाउँथ्यो, अहिले मेशिनले मान्छे चलाइरहेको छ । सामाजिक सञ्जालको दायराले परम्परागत सञ्चारका मूल्य मान्यता र प्रविधिलाई भत्काउँदै लगेको छ ।
हिजो पार्टी निर्माण गर्दा बिचार र संगठन चाहिन्थ्यो भने बिस्तारै खुकुरी लिएर संगठन गरेका उदाहरण पनि हाम्रा अगाडि ताजै छन् । तर आज कोठामा बसेर विचार प्रवाह गर्ने र आक्रमण गर्ने काम हुदै छ ।
जुनसुकै काम छिटो र प्रभावकारी रूपमा सम्पन्न गर्नु, मानिसबाट हुने सम्भावित गल्तीहरू कम हुनु, उत्पादनशीलता वृद्धि हुनु, श्रम लागत कम हुनु र जोखिमपूर्ण कामबाट बँचाउनु स्वचालित प्रणालीका विशेषता हुन् भने मानिसको रोजगारी गुम्न सक्ने, सुरुआती लागत ज्यादा हुने, कतिपय जटिल र परिवर्तनशील काम गर्न कठिन हुने यसका चुनौति हुन् ।
हिजो जग्गाजमिन र धनलाई सम्पत्ति मानिन्थ्यो । आज सम्पत्ति भनेको ज्ञान, डेटा, उर्जा र मानवीय स्रोत भयो भने उत्पादन भनेको डेटा, ज्ञान र सेवा भयो । भनिन्छ विकसित देशको २ प्रतिशतको हातमा ९० प्रतिशत सम्पत्ती पुग्यो । यसरी हेर्दा प्रविधिले धनी र गरिवको खाडल तुलनै गर्न नसकिने गरी बढायो ।
आज माथिको अवस्थाले निम्न प्रश्न उठाएको छ ।
प्रविधि सवै कुराको निर्णायक माध्यम हो ?
अब सूचना र सञ्चारलाई कसरी व्यवस्थित गर्ने ?
अबको रोजगारीको दुनियाँको अवस्था कस्तो होला ?
प्रविधिले मानव सभ्यतामा के असर गर्ला ?
अबको राजनीतिमा प्रचारप्रसारको प्रभावकारिता कसरी होला ?
आजको ज्ञान भोलिका लागि काम लाग्ला ?
मान्छेमा अब कस्ता सीप आवश्यक पर्ला ?
आजभोलि जान्नेलाई छान्ने नारा वडो लगाउने गरिन्छ । तर प्रविधिले कोही पनि नजान्ने रहेन । शर्त यो कि कम्तिमा प्रविधिको प्रयोग गर्न जान्नु पर्यो । यसरी हेर्दा परम्परागत मिडियाहरु धेरै ढिला हुने अवस्था आयो । जसका कारण ती मिडियाहरुको हालत धेरै हदसम्म गिर्दै गएको छ । तत्कालको अवस्था हेर्दा सामाजिक सञ्जालका माध्यमले ‘एल्गोरिदमवाद’को विकास गरेको छ । हुँदा हुँदा राजनीति गर्ने, धान्ने र मान्ने कुरानै सञ्जालका आधारमा हुने भएको छ । यद्यपि नागरिकसँग नपुग्ने राजनीति कति टिकाउ होला वा नहोला ? त्यसवारे पछि बिमर्स गरौला । तर तत्कालको संकट हामी सवैका अगाडि यसरीनै तेर्सिएर आएको छ ।
हरारीले भनेका छन्, नयाँ शताब्दीमा ‘एल्गोरिदमवाद’को शासन चल्नेछ । हुनपनि आर्टिफिसियल इन्टेलिजेन्स (एआई) ले मानिसका व्यवहारलाई प्रभाव पार्ने शक्तिको विकास गरेको छ । यसो गर्दा मानिसको निर्णय क्षमता, प्राथमिकता, र व्यवहारलाई प्रभाव पार्ने तरिकाबाट हामी सवै प्रभावित भइसकेका छौं ।
आखिरी के हो एल्गोरिदम ?
सामाजिक सञ्जाल फेसबुक, इन्स्टाग्राम र टिकटकजस्ता प्लेटफर्महरूले मानिसको मनपर्ने विषय, हेर्ने समय र प्रतिक्रियाको आधारमा खोजेको र चाहेको सामग्री पस्केको अनुभव हामीले गरेकै छौं । जसले गर्दा समय वितेको पत्तोनै हुँदैन । कुरो यति मात्र हैन उसले हामीलाई विज्ञापनमा पनि पकड जमाएको छ । त्यसैलेत विज्ञापनको वजारले पनि परम्परागत मिडियालाई धक्का लगाउन थालेको छ ।
यसवाहेक मानिसको भावनामा खेल्ने अर्थात् खुसी, क्रोध वा चिन्तित बनाउने र फेक न्यूज (भ्रामक जानकारी) फैलाउने, ब्यक्तिको छनोट प्रक्रियालाई स्वतन्त्र हुन नदिई एल्गोरिदममा निर्भर बनाउने र मानिसलाई आवश्यकभन्दा धेरै सहजता प्रदान गर्ने काम हातबाटै हुनुलाई एल्गोरिदम भन्न सकिन्छ ।
यही कारण हो कि सूचना प्रविधिका लगानीकर्ताहरुनै विश्वका धनी हुन थालेका छन् । यसर्थ हरारीले ठिकै भनेका छन् कि अवको दुनियामा मानिसले कृत्रिम बौद्धिकतामा बढीभन्दा बढी लगानी गर्नेछन् र नयाँ शताब्दीमा मानिस आँकडा र गणनाहरूको भयानक पंजामा फस्नेछन् । ‘एल्गोरिदम’ को शासन चल्नेछ ।
उनले प्रियतावादवारे पनि व्यापक चर्चा गरेका छन् । जसको अनुभव हामी नेपालीले गरेकै छौं । सामाजिक सञ्जालले कुन ठिक हो र कुन वेठिक हो भन्नेनै थाहा पाउन छाडेको छ । एउटा सानो उदाहरणः भैरहवाको गौतमवुद्व अन्तर्राराष्ट्रिय विमानस्थल भिजिविलिटीका कारण चल्न समस्या पर्यो र सोको व्यवस्था गर्नुपर्ने कुरा जोडदार रुपले उठ्यो । जव भूउपग्रहमा आधारित अवतरण विधि ‘च्भत्रगष्चभम ल्बखष्नबतष्यल एभचायचmबलअभ( ब्गतजयचष्शबतष्यल च्भत्रगष्चभम च्ल्ए(ब्च्’ प्रविधि लागू भयो र ९०० मिटर भिजिबिलिटीमै जहाज अवतरण गर्न सकिने व्यवस्था भयो, त्यसपछि एकजनाले लेखे–कमिशन आउने भएपछि सो संयन्त्र जोडियो ।
पूर्वाग्रहको यो भन्दा भद्वा अभिब्यक्ति अरु के हुन सक्छ ?
बरु यो कुरा अर्कै हो कि यो सङ्गै श्रम कार्यालय र भिसा सेन्टर अत्यावश्यक छ । निश्चयनै कतिपय सकारात्मक अभिब्यक्तिको रुपमा यस्ता विषय पनि उठेका थिए ।
गत वर्षको फागुन १२ गते राजधानीमा सेन्टर फर मिडिया रिसर्च नेपालले आयोजना गरेको ‘सूचनाको चलखेल र लोकतन्त्र’ विषयक कार्यक्रममा पूर्वप्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले प्रस्तुत गरेको कार्यपत्रमा सामाजिक सञ्जालमा बन्दै गरेको भाष्यलाई सात खालको प्रवृत्तिका रुपमा चित्रण गरेका थिए । उनले निकालेका ७ वूँदा यसप्रकार थिए ।
१) सबैभन्दा बेसी प्रहार २०७२ सालको संविधान र यसबाट प्राप्त उपलब्धिका विरुद्ध नै केन्द्रित छ । अझ जे कुरामा पनि व्यङ्ग्य गर्नुपर्दा वा असहमत जाहेर गर्दा ‘गणतन्त्र’उपर आक्षेप लगाएकै हुन्छ,
२) भैरहेका वा यो परिवर्तन ल्याउन मूल भूमिका निर्वाह गरेका दल वा नेतृत्वलाई जसरी पनि डिस्क्रेडिट गर्नमा जोड छ ।
३) गणतन्त्रका आधार स्तम्भहरुलाई कमजोर पार्ने वा डिस्क्रेडिट गरिने प्रयास छ ।
४) २०७२ को संविधानले जुन जुन कुरालाई उपलब्धिको रुपमा लियो, तीमाथिको प्रहार केन्द्रित छ ।
५) सरकार डेलिभरी दिन र शासन गर्न अयोग्य छ भन्ने देखाउने प्रवृत्ति छ ।
६) नागरिक हिरो वा पपुलिष्ट नेतृत्वको सपोर्टमा छ भन्ने देखाउन खोजिएको छ र
७) समाजमा भएका सकारात्मक उपलब्धि र प्रयासका कुरालाई नगण्य ठाउँ दिएको छ ।
शायद यीनै कुराले वाक्क दिक्क भएर होला सामाजिक सञ्जालमा नियमित उपस्थिति जनाउने घनश्याम कोइरालाले यही माघ १२ गतेका दिन लेखे–
पुल बन्यो, गाली । सुरुङमार्ग बन्यो, गाली । रङ्गशालाको टेन्डर भयो, गाली । बहुउद्देश्यीय टावर बन्यो, गाली । वैदेशिक सम्बन्धमा सुधार आयो, गाली । गार्हस्थ उत्पादन बढ्यो, गाली । बिरामी परियो, गाली । सञ्चो लाग्यो, गाली । प्रहरी प्रशासन सक्रिय भयो, गाली । प्रहरी प्रशासनको ध्यान पुग्न भ्याएन, गाली । विदेश जान दियो, गाली । भिसा लाग्न अलिकति ढिलो भयो, गाली । प्राकृतिक प्रकोपमा गाली । दुर्घटनामा गाली । शिशुपालले कृष्णलाई बेस्सरी गाली गथ्र्याे, कृष्णले शिशुपालको सय गाली सहने भनेका थिए । एकसय एक गालीपछि शिशुपालको अन्त्य भएको थियोे । नकारात्मकताको अन्त्य अवश्यम्भावी छ ।
गत मंसीरमा प्रधानमन्त्री केपी शर्मा ओलीले चिन भ्रमणका क्रममा चिनियाँ प्रधानमन्त्री लि छिआङ र राष्ट्रपति सि चिनफिङसँगको भेटमा चिनियाँ शहरहरुसँग पोखरा र लुम्बिनी सीधा हवाई उडानका लागि प्रस्ताव गर्नुभएको समाचार प्रकाशित भयो । लगत्तै बुटवलकै एकजना पत्रकारले लेखे–चीनले कोरोला नाका लगायतका नाकाहरु पुर्ण रुपमा सुचारु गरे हुन्छ । उडानले भन्दा गुडानले हामी जस्ता भुइँ मान्छेहरुको हित हुन्छ । जवकि केरुङ–काठमाडौं रेलको सम्भाब्ता अध्ययनलाई तीव्रता दिने कुरा आएकै थियो । आखिर चिनबाट जहाज त आएकै छन् कुरा भैरहवा र पोखराको न हो ।
आजभोलि बनेको कुरा भन्दा बिग्रेको कुरालाईनै ज्यादा प्रोपोगण्डा गरिन्छ । नेपालीहरु विदेशिएको सन्दर्भमा यहाँ धेरैले नकारात्मक टिप्पणी गर्ने गर्छन् । यसमा केही हदसम्म सत्यता पनि होला । तर बसाईसराई भन्ने कुरा आजको विषयमात्र हैन र हुने छैन । मुलुक पूर्णरुपले विकसित हुँदा र यो हदको वेरोजगारी नहुँदा पनि यो क्रम रोकिने छैन भन्ने कुरा दुनियाको इतिहास हेर्दानै थाहा हुन्छ ।
प्रतिब्यक्ति आयका हिसावले भूटान अग्रपंक्तिमै छ । अर्थात् नेपालीको भन्दा साढे दुई गुणा वढी ३७०० डलर छ । शिक्षा, स्वास्थ्य, सुशासनका साथै राजनीतिक स्थिरताका हिसावले पनि ऊ माथिनै छ । तर विदेशिने क्रम त्याहाँ पनि बढेको छ ।
पूर्वी युरोपको आम्दानी पनि साढे दुई गुणा धेरै छ । तर उनीहरु रोमेनिया गइरहेका छन् भने २० प्रतिशत रोमेनियन जहाँको प्रतिब्यक्ति आय १८ हजार ४५० डलर छ । उनीहरु पनि विदेशिएका छन् ।
विगत ३० वर्षमा नेपालको अर्थतन्त्र सात गुणा र प्रतिब्यक्ति आय ३.७ गुणाले वढेको छ । अर्थात् ६.२ प्रतिशतले । दक्षिण एशियाका अन्य मुलुकको अवस्था हेर्दा भारत, वंगलादेश, भूटान, पाकिस्तान, श्रीलंका र माल्दिभ्सको क्रमसः ६.२, ७.४, ८.३, ७.७, ३.९, ७.८ र ९.८ ले वृद्धि भएको छ । यसरी हेर्दा हाम्रो अवस्था कमजोर त छ तर धेरै कमजोर देखिदैन ।
यो आँकडा हेर्दा हाम्रो अवस्था सारै कमजोर त हैन तथापि माओवादी जनयुद्ध, राजा ज्ञानेन्द्रको कु, संविधान निर्माणमा ढिलाई, भूकम्पको पिडा आदिलाई हेर्दा चाहेजति नभए पनि धेरै नराम्रो अवश्य हैन ।
बरु नेपालले तत्काल गर्न सकिने कुरा के हो भने विदेश गएर राम्रो कमाएका र शिप, योग्यता तथा क्षमता भएकाहरु नेपालमा योगदान गर्न पाए सन्तुष्ठ हुनेवाला छन् । किनकि उनीहरुको भावनात्मक सम्वन्ध नेपालतिरै छ । दोश्रो तेश्रो पुस्तामा गएपछि यो अवस्था रहँदैन । त्यसैले उनीहरुलाई नेपालमा आएर लगानी गर्न तथा रोजगारी सृजना गर्नका लागि प्रोत्साहनको खाँचो छ । उनीहरुको धेरै ठूलो माग पनि छैन । यस्ता विषयमा सवै दलहरुले साझा धारणा बनाउन जरुरी छ ।
हामीले के कुरा भुल्नु हुँदैन भने आजको युवा आकाक्षी छ । आकाक्षी मात्र छैन, डिजिटल युगले संसारको वाटो, सम्भावना र प्रतिपष्र्धालाई खुला गरेको छ । यो वैश्वीकरणको प्रभावलाई अरु केही वर्ष रोक्न सकिने अवस्था छैन ।
प्रियतावाद र आजको प्रचार
माथि भोजराज पोख्रेलले निकालेका निष्कर्षलाई आधार मान्ने हो भने अहिलेको खास समस्या पपुलिजम अर्थात् प्रियतावाद हो । हामीले कुनै ब्यक्तिको हैन प्रवृत्ति र दर्शनको कुरा गर्ने हो भने प्रियतावाद उत्तरआधुनिक राजनीतिक छाल हो । उनीहरुसंग कुनै राजनीतिक सिद्वान्त, दर्शन त हुँदैननै पुग्ने ठाउँ पनि हुँदैन । राजनीतिमा समाजवाद, उदारवाद, पूँजिवाद केही त हुन्छ भनेर मान्ने हो भने उनीहरुसंग केही पनि हुँदैन । सवैको मिश्रण खिचडीवाद हुन्छ । उनीहरु ब्यक्तिलाई हेरेर नीति वनाउँछन् र तत्कालको संकटलाई नाटकीय ढङ्गले उठान गर्दै त्यस्तो संकटको समाधान त्यहि व्यक्तिसँगमात्रै रहेको प्रचार गर्छन् ।
मूलधारका मिडियालाई गाली गर्नु, मिडियासंग टाढा रहनु, सामाजिक सञ्जालको माध्यमबाट नागरिकसंग जोडिनु उनीहरुका चरित्र हुन्छन् । उनीहरुसंग ऐतिहासिक विरासत नहुने भएकोले स्थापित दल, विचार तथा सिद्वान्त र सस्थाहरुको विरोध गर्दै निराशाको खेती गरेर जनता आकर्षित गर्नु उनीहरुको एकमात्र विकल्प रहेको हुन्छ ।
के गर्ने त हामीले ः
हामीले डिजिटल युगलाई आत्मसात गर्नैपर्छ र कार्यकर्ता तथा आम नागरिकको मनोविज्ञानलाई बुझेर प्रचार कार्यलाई उच्च प्राथमिकता दिनुपर्छ । आधुनिक प्रविधिलाई आत्मसात नगर्नु डाइनोसरमा रुपान्तर हुनुनै हो । वाह्य हावालाई हेरेर आत्तिने र मात्तिने दुवै गर्नु भएन । दुनियामा बेलावखत आउने यस्ता हावादारी विषय किमार्थ टिकाउ हुँदैनन् । आजको समस्या मानसिक रुपमा बेचैन, संवेगात्मक रुपमा आक्रामक, सामाजिक रुपमा अराजक, राजनीतिक रुपमा असंगठित हुनु हो ।
‘संघौ शक्ति कलौ युगे’ भनेजस्तै संगठन नभई एउटा ब्यक्तिले दुनिया बदल्न र देश वनाउन सक्दैन । जनता जगाउनका लागि छोंटा र तथ्यमूलक सामाग्री पस्कने काम निरन्तर गरिरहनुपर्छ । कसैले सामाजिक सञ्जालमा गाली गरेकै कारण आफ्ना मान्यता र सिद्वान्तलाई प्रवाह गर्न छाड्नु हँदेन । सस्तो लोकप्रियताका लागि गलत सूचनालाई टुलुटुलु हेर पनि वस्नु हुँदैन ।
र अन्तमा भूराजनीतिको प्रभावले हाम्रो राजनीति पनि अछुतो छैन । छिमेकी मुलुक भारत नेपालको चुच्चे नक्सा प्रकाशन गरेका कारण खासगरी नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीप्रति अत्यन्तै रुष्ट र क्षुब्ध छ । उसले चाहन्छ एमालेभित्रै बरु वैकल्पिक नेतृत्व स्थापित होस् र ओलीमाथि कारवाही गर्न पाइयोस् । उता अमेरिकाको स्वार्थ छ– नेपाललाई माध्यम बनाएर चिनलाई तर्साउन पाइयोस् । नेकपा (एमाले) चिनसंग अलि निकट भएको महसूस अमेरिकाले गरेको छ । यी सवैको घेरावन्दीमा नेकपा (एमाले) यस कारण परेको छ कि एमालेलाई कसैले पनि प्रयोग गर्न नपाइने निष्कर्षमा उनीहरु पुगेका छन् ।
यी र यस्तै विषयले नेकपा (एमाले) लाई विभिन्न गुटको नाममा अन्तरविरोध गराउने र एकीकृत शक्तिलाई छिन्नभिन्न पार्ने दाउमा अनेक शक्तिकेन्द्रहरु लागेका छन् । जसलाई चिर्ने, फोर्ने र सम्माउने काममा प्रचारको अत्यन्तै महत्व छ ।
२०८१ माघ १२ प्रेस चौतारी रुपन्देहीको स्मारिका ०८१ मा प्रकाशित

No comments:
Post a Comment