• Breaking News

    पर्यटन विकासमा मिडियाको भूमिका

    डी.आर.घिमिरे


    पृष्ठभूमिः

    पर्यटन भनेको विदेशी तथा स्थानीय पर्यटकहरूको यात्रा, भ्रमण र अनुभवलाई बुझाउँछ । व्यापार, मनोरञ्जन वा रमाइलोका लागि गरिने यात्रालाई पर्यटन भनिन्छ । विश्व पर्यटन सङ्गठनको परिभाषा अनुसार पर्यटकले “आफ्नो सामान्य परिवृत्ति बाहिर, चौबीस घण्टाभन्दा बढी तर एक क्रमागत वर्षभन्दा कम समय, मनोरञ्जन, व्यापार र त्यस ठाउँमा आयश्रोत हुने क्रियाकलाप बाहेक अरू उद्देश्यका लागि यात्रा गरी बस्ने” मान्छेलाई जनाउँछ ।

     विश्व समाजमा पर्यटन एक लोकप्रिय फुर्सदको मनोरञ्जनात्मक क्रियाकलाप भएको छ  भन्न सकिन्छ । 

    आधुनिक पर्यटनको शुरूआतअघि यात्रा भनेकै धार्मिक, सांस्कृतिक क्रियाकलापसँग सम्बन्धित थिए । हिन्दू धर्ममा मठमन्दिरको दर्शन र पूजापाठका लागि टाढा टाढासम्म तीर्थ यात्रा गरिन्छ । बौद्ध धर्मावलम्बी गुम्बा र चैत्य धाइरहन्छन् । साउदी अरबको मक्का र मदीना शहर मुस्लिम समुदायका लागि पवित्र मानिन्छ । 

    इस्वी संवत्को १४औं शताब्दीमा अंग्रेजी शब्द ‘ट्राभल’ प्रयोगमा आएको थियो । यस शब्दको उत्पत्ति फ्रान्सेली भाषाको शब्द ‘ट्राभाइल’ बाट भएको मानिन्छ, जसको अर्थ हुन्छ ‘काम’ । तर कामका लागि नभएर फुर्सदमा रमाउन यात्रामा निस्किने प्रचलन भने रोमबाट शुरू भएको मानिन्छ । धनीमानी रोमनहरू रमाइलोका लागि ग्रीष्मकालमा भिल्लामा बस्न जान्थे ।

    ‘पर्यटन’ शब्द संस्कृत भाषाको आगन्तुक शब्द हो । ‘पर्यटन’ भन्नाले ‘परि+अट+अन’ शब्दहरुको समायोजनमा बनेको ‘पर्यटन’ शब्द संस्कृत धातु ‘अट’ ले ‘धुम्ने फिर्ने’ भन्ने अर्थ लाग्छ । 

    हामीले वोलिचालिमा भन्दै आएको ‘देशाटन’ (अर्थ आर्जन गर्न अरु देशमा जानु) र ‘तीर्थाटन’ (धार्मिक महत्वका स्थानहरुमा धर्म संञ्चयका खातिर जानु) भनेर पनि पर्यटनको विविध पक्षलाई उल्लेख गरेको पाइन्छ ।  यसवाहेक ‘पर्यटन’ आनन्द र ज्ञान हासिल गर्नको लागि गरिने यात्रा पनि हो ।

     आधुनिक अर्थमा संयुक्त राष्ट्रसंघले पर्यटनलाई यसरी परिभाषित गरेको छ–

    A tourist is a temporary visitor to a country other than the one in which he usually resides for any reason other than fallowing an occupation remunerated from within the country visitedÚ .

    अंग्रेजीमा Tourism भन्नाले पर्यटकका लागि यात्रा, आवास, खाना, मनोरञ्जन उपलब्ध गराउने व्यवसाय वुझिन्छ ।

    यसरी हेर्दा ‘पर्यटन’ भन्नाले ऐतिहासिक, दर्शनीय र महत्वपूर्ण स्थानहरु हेर्न, मनोरञ्जन लिन, अनुभव प्राप्त गर्नका निम्ति देश विदेशमा गरिने भ्रमण वा यात्रा भन्ने बुझिन्छ । देश विदेशबाट मन बहलाउन वा ऐतिहासिक स्थलहरु र महत्वपूर्ण स्थानहरु अवलोकन गर्न आउने व्यक्तिहरुको सुविधाको लागि स्थापना गरिने होटल वा दृश्यालोकनका साधनहरु एवम् त्यसबाट हुने विदेशी मुद्राको आर्जन सम्बन्धि उद्योगलाई ‘पर्यटन उद्योग’ भनिन्छ । पर्यटन सम्बन्धी दृश्यालोकन गर्ने खालका मुख्य ठाउँलाई ’पर्यटन केन्द्र’ भनिन्छ ।

    नेपालमा पदयात्राको शुरूआत स्वीस भूगर्भविद् टोनी हागनले गरेको मानिन्छ । राणाशासनको वेला सुनखानीबारे अध्ययन गर्न स्वीस सरकारले पठाएको प्राविधिक टोलीको सदस्यका रूपमा उनी पहिलो पटक सन् १९५० मा नेपाल आएका थिए । 

    ग्रामीण भेग घुम्दा यो ठाउँलाई अझै नियाल्ने भोक बढ्यो र दोश्रो पटक संयुक्त राष्ट्रसंघको विज्ञका रूपमा सन् १९५२ जनवरीमा आएपछि उनले नौ वर्ष नेपालका हिमाल, पहाड र तराईका १४ हजार किलोमिटर पैदल यात्रा गरे । त्यस वेलासम्म नेपालमा हिमाल आरोहण गर्न प्रतिबन्ध थियो । त्यस यता पर्यटनवारे धेरैखाले अनुभवका साथै व्यावहारिक काम हुँदै आएका छन् ।

    पर्यटनमा गाउँको महत्वः  पर्यटनभन्दा साथ ठूला र असम्भवजस्ता विषय हुन् कि भन्ने मानसिकताले घर गरिरहेको पाइन्छ । तर नेपालको सन्दर्भमा ग्रामीण भेगनै पर्यटनमा आधारस्तम्भ हुन् । गाउँ घुम्दा जनजीवन, रहनसहन र सामाजिक अवस्था बुझ्न सकिन्छ । जसले सामाजिक भावना पैदा हुन्छ ।  

    गाउँतिर घुम्दा ग्रामीण अर्थतन्त्रमा पनि सुधार आउँछ । शहरबाट धेरथोर पैसा गाउँमा पुग्छ । स्थानीय उत्पादनले बजार पाउँछ । होटलमा थोरै भएपनि चहलपहल वढ्छ । कलाकार तथा अन्य प्रतिभाले प्रस्फुटन हुने मौका पाउँछन् । सुन्दा यो कुरा सामान्य लाग्न सक्छ तर यसले धेरै ठूलो अर्थ राख्छ र स्थानीय बासिन्दाको जीवनमा धेरै फरक पार्दछ ।

    भनिन्छ जापानीहरू घुमफिरमा निस्किंदा विशेष गरेर शहरबाट गाउँघरतिर जान्छन् । जापानी टाइम्सका अनुसार सन् २०२२ मा देशभित्रै घुमफिर गर्दा कम्तीमा एक रात बस्ने आन्तरिक पर्यटकको संख्या ४५ करोड ३० लाख थियो । जबकि जापानको जनसंख्या १२ करोड ५१ लाख मात्रै छ । यसको अर्थ जापानी नागरिक कम्तिमा वर्षमा चार पटक घुमफिरमा निस्कन्छन् ।

    पर्यटनको अर्थ धार्मिक मठ मन्दिर वा रोमाञ्चक तथा साहसी खेल मात्र हैनन्, हाम्रा दैनिकीलाई पनि पर्यटनको विषय वनाउन सकिन्छ । यसका लागि केवल ब्राण्डिङ र रोमाञ्चक तरिकाले प्रस्तुति मात्र गर्दा हुन्छ ।

    भारतको मेघालय चेरापुंजीमा स्थानीय संस्कृति, खाना, र संगीतलाई प्रवद्र्धन गर्दै पर्यटन महोत्सव मनाइन्छ । जहाँ स्थानिय हस्तकलाको प्रदर्शन र स्थानिय पर्यटन गन्तव्यहरूको प्रवद्र्धन गरिन्छ ।

    इन्डोनेसियामा बालीमा विभिन्न प्रकारका परम्परागत नृत्य, संगीत, नाटक, र कला प्रदर्शनीसहितको कला महोत्सवले त्याहाको सांस्कृतिक सम्पदालाई विश्वसामु प्रस्तुत गरेको छ । आज बालीको पर्यटन संसारभरी चर्चित मानिन्छ ।

    जापानको क्योटो सहरमा परम्परागत परेड, संस्कृति झल्काउने झाँकी, र स्थानीय समुदायको सहभागितामा जापानी संस्कृति र परम्परालाई संरक्षण तथा प्रचारप्रसार गर्ने गरिन्छ ।

    स्पेनको बुनोलमा हरेक वर्ष आयोजना हुने यो टमाटर फेस्टिवलले पर्यटकहरूको ठूलो भीडलाई आकर्षित गर्दै स्थानिय अर्थतन्त्रलाई बढावा दिने गरेको छ । यसैले पर्यटनलाई कुनै विषयभित्र कैद गर्न जरुरी छैन । 

    पर्यटन नेपालका लागि सबै भन्दा ठूलो उद्योग हो । यो विदेशी मुद्रा र राजस्वको प्रमुख स्रोत हो । संसारको दश उच्चतम हिमाल नेपालमा छन् । यस अर्थमा पर्वतारोहण र रक आरोहीका लागि प्रमुख गन्तव्य हो । त्यसवाहेक विविध धार्मिक स्थल, र साँस्कृतिक, भौगोलिक तथा प्राकृतिक एवं वातावरणीय विविधता यहाँका प्रमुख आकर्षक हुन ।

    संसारको सबै भन्दा गहीरो गल्छी बनाएर बग्ने कालीगण्डकी नदी र समुद्र सतहबाट ६१ मिटरदेखि सबैभन्दा अग्लो हिमाल सगरमाथा (८८४८ मी.), र संसारमा शान्तिको ज्योति छर्ने शान्तिका अग्रदूत महामानव गौतम बुद्धको जन्मका कारण नेपाल संसारभभरि प्रख्यात् छ ।

    नेपालको पृथक भौगोलिक बनावट छ । हरेक पाँच सात किलोमिटरमा फरक वातावरणको अनुभव गर्न सकिन्छ । हिउँले ढाकिएका श्रृंखलावद्ध हिमालहरु छन् । झरना, पाखा, पखेरा, टार, हरिया जङ्गल, झाडी, नागवेली परेका नदीनाला, देखि संसारकै उच्च स्थानमा रहेका हिमताल, प्राकृतिक जडीबुटीले नेपाललाई अलग पहिचान दिन सकेको छ । 

    नेपालमा १२५ जातजातिको बसोबास, १२३ भाषाको प्रयोग र विभिन्न भेषभूषा, संस्कार र चाडवाडले पनि रोमाञ्चक अनुभव गर्न सकिन्छ । 

    संसारमा पाइने २ लाख ४८ हजार ४२८ वनस्पति मध्ये ७ हजार वनस्पति र संसारमा पाइने ४ हजार स्तानधारी जीवजन्तु मध्ये १७५ स्तनधारीहरु नेपालमा नै पाइन्छन् । विभिन्न धार्मिक स्थल एवंम् साँस्कृतिक सम्पदाहरु मध्ये विश्व सम्पदा सूचीमा सूचिकृत पशुपतिनाथ  मन्दिर, चाँगुनारायण मन्दिर, लुम्विनी, स्वयम्भू, बौद्ध, काठमाडौं, भक्तपुर र ललितपुर दरवार स्क्वायर छन् । संसारभरमा रहेका चौधओटा आठ हजार मिटर भन्दा अग्ला हिमालमध्ये आठओटा हिमाल नेपालमै छन् । 

    लुम्विनी प्रदेशकै कुरा गर्दा महामानव गौतम बुद्धको जन्मस्थल लुम्विनी हाम्रो गौरव हो । इसाई धर्मावलम्वीका लागि इजरायलको जेरुसेलम्, ईस्लाम धर्मको लागि साउदी अरेवियाको मक्का मदिना जस्तै विश्वका बौद्धमार्गीहरुका प्रेरणाका श्रोत महामानव गौतम बुद्धको जन्मस्थल लुम्बिनी बौद्धमार्गीहरुको तीर्थस्थल हो । यसवाट मात्र नेपालले लाखौं धार्मिक पर्यटकहरु भित्राउन सक्छ । कपिलवस्तु कनकमुनि बुद्व र क्रकुच्छन्द बुद्वको जन्मथलो हो । जहाँ जगदीशपुर, तिलौराकोट, कपिल ऋषिको तपस्या स्थल जस्ता दर्जनौं ऐतिहासिक–पुरातात्विक स्थल छन् ।

    अहिले आमी जुन ठाउँमा छौं यो पाणिनि ऋषिको तपस्या स्थल हो । महान व्याकरणविद् तथा भाषाविद् पाणिनिले हिमालय पर्वतको नजिक बसेर भगवान् शिवको तपस्या गरे र तिनकै प्रेरणाबाट व्याकरणका सूत्रहरू तयार पारेको वताइन्छ । उनै पाणिनिले शास्त्रीय वैदिक र लौकिक संस्कृत भाषालाई समेटेको सुरुमा १४ सूत्र र पछि ३९९५ सूत्र भएको आठ अध्यायको प्रसिद्ध ग्रन्थ “अष्टाध्यायी”को लिपिबद्ध गरेका थिए । जसलाई संस्कृत भाषाको सबैभन्दा प्रभावशाली व्याकरणशास्त्री मानिन्छ । 

    पणिनि नेपाल भूमिमा आएर तपस्या गरेको तथ्य इतिहासमा पाईन्छ । पर्वतशिखर , गूफा र नदीका तटहरु खोज्दै जाँदा देबघाट, त्रिवेणी, परासी वाणगंगा, कपिलधाम, सोमतिर्थ तथा दुर्वासेश्वर क्षेत्रमा पुगेका देखिन्छन् । 

    अहिलेको पणेनालाई त्यतिबेला गोपर्वत भनेको पाईन्छ । जहाँ पाणिनिले शिवको तपस्या गरे । यही ठाँउमा बसेर अष्टाध्यायीको रचना गर्ने पाणिनि शब्द संङकलनका लागि रुरुक्षेत्र रिडी,  गलेश्वर, मुक्तिनाथ, चाराङग, सिञ्जा, त्रिगत(कांगडा )सम्म पुगेका थिए । त्यसपश्चात् पोखरा, तनहुँ सांङकाश्य हुदै विदेह कौशिकी क्षेत्र र किरात प्रदेशसम्म पुगेको पाईन्छ । यी सबै ठाँउमा घुमेर मात्र उनले शब्द संङकलन गरेका थिए । 

    नेपालको हिमालय पर्वतश्रृङ्खला शैव सस्कृतिको उद्गमस्थल हो । योग दर्शनको उद्गमभूमि र साधनाभूमि हो । आदिमहर्षि कपिल र उनको साँख्य दर्शन, विश्व शान्तिका अग्रदूत गौतमवुद्यको वौद्य दर्शन, महर्षि पतञ्जलीको योग दर्शन, पछिल्लो कालखण्डमा जोशमनी सन्तपरम्पराका प्रवर्तक स्वामी शशिधर र अन्य विशिष्ट दार्शनिकहरुको उद्गमभूमि हो ।

    समग्रमा डेढ अर्व हिन्दू, एक अर्व बौद्वमार्गी, डेढ करोड जैन र विश्वभर फैलिएका किरात धर्मावलम्बीलाई ती धर्मको उत्पत्ति नेपालमै भएको भन्ने बुझाउन सकेमात्रै पर्यटनमा क्रान्ति आउनेछ । रामायण लेख्ने बाल्मिकी र महाभारत लेख्ने  वेदव्यास दुवै नेपालकै हुन् भनेर स्थापित गर्दा पनि पर्यटन व्यवसायमा उथलपुथल हुने देखिन्छ । 

    नेपालले असाध्यै विक्री गर्न सक्ने कुरा ध्यान हो । यसमा केही परिवर्तन भने जरुरी छ । किनकि भारतले योगलाई आफ्नो बनाईसकेको छ । त्यसैले हामीले वुद्वलाई जोडेर ध्यानलाई प्राथमिकता दिने हो भने अझै अवसर छ । तर ढिला भने भइसकेको छ ।

    भनिन्छ अवको दश वर्षमा मानसिक रोगीको संख्या कैयौं गुना बढ्नेवाला छ । जसको उपचार विधि भनेको मेडिटेशन हो र यो नेपालका लागि अवसर हो । यस्ता विषयमा अध्ययन, अनुसन्धान र छोटो तथा लामो तालिम दिएर जनशक्ति तयार गर्नुपर्ने देखिन्छ । यसले रोजगारीका अनेक सम्भावनाहरुको मार्ग प्रसस्त गर्छ ।  

    लुम्विनी प्रदेशको पर्यटन विकास परिषदले पहिलो चरणमा यस प्रदेशका १ शय गन्तब्यलाई पर्यटकीय स्थलको रुपमा निर्धारण गरेको छ ।  अर्घाखाँचीमा सुपा देउराली, सिद्वेश्वर गुफा, मालारानी मन्दिर, जलकाँडा लेकजस्ता कैयन् ठाउँ छन् । रुपन्देहीका लुम्विनीवाहेक जितगढी किल्ला, मणिमुकुन्दसेन उद्यान, देवदह, सिद्वबाबाधाम, सैनामैना, गजेडी र गैडहवा ताल ।

     पाल्पामा रानीमहल, तानसेन दरवार, ऋषिकेश तथा भैरवस्थान मन्दिर, गुल्मीमा रिडी, रेसु¨ा भृगु ऋषिको तपस्यास्थल, शालिग्राम शिला, कालीगण्डकी, प्युठानमा स्वर्गद्वारी मन्दिर, पूर्वी रुकुममा सिस्ने र पुथा हिमाल, कमल दह ।

     दाङमा महामृत्युञ्जय गोरखनाथ, रिहार बाबा, रत्ननाथलगायत विभिन्न मन्दिरहरु, बाँकेको वागेश्वरी माता मन्दिर, गवर भेली होम स्टे, वर्दियामा राष्ट्रिय निकुञ्ज, डल्ला गाउँ हाम स्टे, ठाकुबाबा मन्दिर, गोहीलगायत ।

    पर्यटनबाट हुने फाइदाः

    १. आर्थिक लाभः पर्यटनबाट विदेशी मुद्रा आर्जन गर्न सकिन्छ । जसले राष्ट्रिय अर्थतन्त्रलाई मजबूत बनाउँछ । यसले होटल, यातायात, खानपान र सांस्कृतिक सेवाजस्ता क्षेत्रमा रोजगारी सिर्जना गर्छ ।

    २. रोजगारीः पर्यटनले प्रत्यक्ष र अप्रत्यक्ष रूपमा धेरै मानिसहरूलाई रोजगारी दिन्छ, जस्तै गाइड, होटल कर्मचारी, यातायात सेवा र स्थानीय उत्पादन तथा हस्तशिल्पीहरू ।

    ३. पूर्वाधार विकासः पर्यटकीय स्थलहरूमा सडक, होटल, हवाईअड्डा, र स्वास्थ्य सेवा जस्ता पूर्वाधारका विकास हुन्छन् ।

    ४. सांस्कृतिक आदानप्रदानः पर्यटकहरूले नेपाली संस्कृति, परम्परा, र प्राकृतिक सुन्दरताको अनुभव गर्छन् भने नेपाल पनि अन्तर्राष्ट्रिय संस्कृतिसंग जोडिन्छ ।

    ५. प्राकृतिक संरक्षणः पर्यटनले राष्ट्रिय निकुञ्ज, संरक्षित क्षेत्र, र ऐतिहासिक स्थलहरूको संरक्षणमा जनचेतना बढाउँछ ।

    ६. अन्तर्राष्ट्रिय पहिचानः पर्यटनले नेपाललाई विश्वमा प्राकृतिक र सांस्कृतिक गन्तव्यको रूपमा प्रचार गर्छ, जसले देशको इमेज मजबूत बनाउँछ । 

    तर हामीले प्रायः स्थानीय समुदायलाई जोड्न सकेका छैनौं । स्थानीय कारीगर, कला र हस्तशिल्पको बिक्री गर्नका लागि बजारहरू खोल्ने र स्थानीय परिकार एवं संस्कृति प्रर्दशनका लागि सांस्कृतिक कार्यक्रमहरूको आयोजना गर्ने काम हुन सकेको छैन । जसले  पर्यटनको अनुभवलाई आकर्षक बनाउँथ्यो र स्थानिय समुदायलाई आर्थिक फाइदा हुन सक्थ्यो ।

    चुनौतिः 

    यसको अर्थ यसका केही चुनौतिहरु पनि छन् भन्ने कुरा हामीले भुल्नु हुँदैन ।

    जस्तैः – अत्यधिक पर्यटनले प्रदूषण वा प्राकृतिक क्षति गर्न सक्छ ।  

    – सांस्कृतिक अपभ्रंश (संस्कृति व्यवसायीकरण) हुन सक्छ ।  

    त्यसैले, हामीले टिकाउ पर्यटन (Sustainable Tourism) लाई प्राथमिकता दिनुपर्छ ।  नेपालको हिमालय, तराई, ऐतिहासिक स्थल, र साहसिक पर्यटन (ट्रेकिंग, राफ्टिंग) जस्ता विविधताले यसलाई विश्वभर आकर्षक बनाउँछ ।

    जहाँसम्म पर्यटन विकासमा मिडियाको भूमिकाको सन्दर्भ छ, यसवारे निम्न विषयमा छलफल गर्न आवश्यक छ । 

    पर्यटन र मिडियाको सम्वन्धः  

    पर्यटनको विकासमा मिडियाको उल्लेख्य भूमिका रहेको कुरामा शंका छैन । मिडियाबिनाको पर्यटन कल्पना गर्न सकिदैन । त्यसैले मिडियावारे संक्षेपमा केही विषय राख्नै पर्छ ।

    आखिरी के हो मिडिया ?

    सूचना, समाचार, विचार, मनोरञ्जन, र सन्देश आदान–प्रदान गर्ने माध्यमलाई “मिडिया” भनिन्छ । यसले व्यक्ति, समाज, र सरकारबीच सञ्चारको माध्यमबाट पुलको काम गर्छ । मिडियाले सूचना प्रवाह गराउने, जनचेतना जगाउने, मनोरञ्जन दिने, शिक्षा प्रदान गर्ने र सत्ता तथा समाजमा निगरानी राख्ने (“धबतअजमयन”)को काम गर्छन् ।

    मिडियाका प्रमुख प्रकारहरूः

    प्रिन्ट मिडिया (Print Media)ः पत्रपत्रिका (जस्तैः दैनिक, साप्ताहिक पत्रिका), पुस्तिका, किताबहरू ।

    इलेक्ट्रोनिक मिडिया (Electronic Media)ः टेलिभिजन, रेडियो, चलचित्रहरू, डिजिटल÷ अनलाइन मिडिया÷वेबसाइटहरू ÷सामाजिक सञ्जाल (Facebook, YouTube, Tik Tok आदि)

    अनलाइन समाचार पोर्टलहरूः नयाँ मिडिया (New Media), ब्लग, पोडकास्ट, मोबाइल एप्स, इमेल, म्यासेजिङ प्लेटफर्महरू (जस्तैः WhatsApp, Viber)

     मिडियालाई परम्परागत, डिजिटल र साँस्कृतिक भनेर पनि चर्चा गर्न सकिन्छ । जस्तैः

    – परम्परागत मिडिया भन्नाले टेलिभिजन, रेडियो, पत्रपत्रिकालाई लिन सकिन्छ । 

    – डिजिटल मिडिया भन्नाले सोशल मिडिया (Facebook, Instagram, YouTube), ब्लग, इ–मार्केटिंगलाई लिन सकिन्छ । सोशल मिडियाका प्लेटफर्महरू, जस्तै फेसबुक, इन्स्टाग्राम र ट्विटर, मिडियाको प्रभावका मुख्य हतियार बन्नुका साथै पर्यटकहरूको अनुभव, फोटो र भिडियोहरू शेयर गरेर अन्य व्यक्तिहरूलाई आकर्षित गर्ने माध्यम बनेका छन् । 

    – सांस्कृतिक मिडिया भन्नाले चलचित्र, वृत्तचित्रलाई लिन सकिन्छ । 

    वेवसाईट, व्रोसर र जानकारीमूलक पुस्तिकाको अभावः 

    हाम्रा पर्यटकीय स्थलको जानकारी दिन वा प्रचारप्रसारका लागि वेबसाइट, ब्रोसर, र जानकारीमूलक पुस्तिकाको समेत अभाव देखिन्छ । जवकि यी आधारभूत विषय हुन् । आजको नयाँ पुस्ताले कुनै पनि कुरा सुनेका भरमा हेर्दैन र देख्दैन । उसले डिजिटल जानकारी लिन खोज्छ । यसका लागि वेवसाइट अनिवार्य शर्त हो । 

    कसैकसैले वेवसाइट बनाएको पाइन्छ तर नियमित अद्यावधिक गर्ने, पहुँचयोग्य बनाउने र उपयोगिता भए नभएको वास्तै गर्दैनन् ।   

    वेबसाइट व्यवस्थापनः

    आजभोलि सामग्री व्यवस्थापन प्रणाली (CMS) को सहज व्यवस्थापन गर्न सकिने अवस्था छ । जसको प्रयोगले सामग्री अद्यावधिक गर्न, नयाँ पृष्ठहरू सिर्जना गर्न र वेबसाइटको संरचना परिमार्जन गर्न सजिलो बनाउँछ ।

    ब्रोसर व्यवस्थापनः 

    ब्रोसरलाई आकर्षक र व्यावसायिक बनाउनका लागि राम्रो डिजाइन र आकर्षक सामग्रीको प्रयोग गर्नु पर्छ । दृश्यात्मक रूपमा स्पष्ट र सुसंगत डिजाइनले नै ग्राहकको ध्यान आकर्षित गर्न सक्छ । यसमा प्रयोग गरिने सामाग्री सरल र विभिन्न भाषामा हुनुपर्छ । सामाग्रीमा एक रुपता हुन जरुरी छ । लक्षित समुदायमा पुग्ने हुनुपर्छ ।

    जानकारीमूलक पुस्तिकाको व्यवस्थापनः

    कतिपय ब्यक्तिहरु अलि धेरै जान्न र वुझ्न खोज्ने हुन्छन् । उनीहरुका लागि सन्दर्भ सामाग्रीसहित प्रकाशित पुस्तिका उपयोगी हुन सक्छ ।

    आवश्यकता अनुसार ग्राफिक डिजाइन गरी चित्र, चार्ट, र इन्फोग्राफिक्सको प्रयोग गरिएका  सामग्री बनाई जटिल जानकारीलाई सरल र बुझ्न योग्य बनाउन सके राम्रो हुन्छ । 

    यसवाहेक माथि उल्लेखित सवै प्रकारका सामाग्री आजको युगमा डिजिटल र प्रिन्ट दुवै रूपमा उपलब्ध गराउनु उचित हुन्छ । डिजिटल संस्करण  वेबसाइटमा उपलब्ध गराउन सकिन्छ र प्रिन्ट संस्करणलाई व्यापारिक क्षेत्रहरूमा वितरण गर्न सकिन्छ ।

    यस्तै वेबसाइट, ब्रोसर र पुस्तिकाको प्रभावकारिता मूल्याङ्कन गर्नका लागि प्रतिक्रिया र सर्वेक्षणहरू वारम्वार प्रयोग गर्न सकिन्छ । यसले ग्राहकको आवश्यकताबारे जानकारी दिन्छ र त्यस्का आधारमा सामग्रीलाई परिमार्जन गर्न सकिन्छ ।

    प्रमुख विषय हरेक गन्तब्यका कथा बनाऊ

    यी सवै तयार गर्नका लागि मुख्य कुरा सवै ठाउँका कथालाई लिपिवद्ध गर्न जरुरी छ । कथा भनेको हरेक स्थानको इतिहास, संस्कृति, र परम्परासँग जोडिएका सम्बन्ध हुन् । यिनलाई प्रभावकारी ढंगले प्रस्तुत गर्दा मानिसमा विश्वास र आकर्षण उत्पन्न गर्न सकिन्छ । यस्ता कथाहरु लिपिवद्ध गर्दा तिनीहरूको सत्यता र प्रमाणमा ध्यान दिनु पर्छ । कथाहरूको ऐतिहासिक र सांस्कृतिक पृष्ठभूमि सुनिश्चित गर्नु पर्छ । कथालाई वास्तविकता, प्रमाण र प्रमाणिक स्रोतबाट पुष्टि गर्न सक्दा दर्शकमा विश्वास र सम्मान उत्पन्न हुन सक्छ ।

    प्रायः हरेक ठाउँका कथा मनमौजी तरिकाले व्याख्या गरेको पाइन्छ । यो सवैभन्दा ठूलो घातक हो । पर्यटन विकास परिषदले सवै गन्तब्यको कथा वनाएर प्रचार गर्नमा सहयोग पुर्याउन जरुरी छ । साथै यस्ता कथाहरुलाई भिडियो, चित्र, र इनफोग्राफिक्सको माध्यमबाट दृश्यात्मक तरिकाले प्रस्तुत गर्दा प्रभावकारी हुन सक्छन् । 

    कथालाई जीवित बनाउन, दर्शकलाई वास्तविकता महसुस गराउन, स्थानीय संस्कृति, परम्परा र संवेदनशीलतालाई सम्मान गर्नेतर्फ ध्यान जानु जरुरी छ । भ्रामक, अपमानजनक वा गलत जानकारी राख्दा स्थानीय समुदायको विश्वास जित्न सकिदैन । 

    के गर्ने मिडियाले 

    यति भइसकेपछि मिडियाले सहज तरिकाले प्रचार प्रसार गर्न सक्छन् । प्रायः मिडियाले सकारात्मक प्रचार गरेनन् भनेर कतै कतै गुनासो गरेको पाइन्छ । तर हामीले गर्नुपर्ने आधारभूत कामनै गर्न सकेका छैनौ. । सञ्चारमाध्यम अनुसन्धाता हैनन् । खोजकर्ता पनि हैनन् । भएका र सहज तरिकाले पाइने विवरणलाई सरोकारवालासंग पुर्याउने माध्यम हुन् । यस अर्थमा माथि उल्लेखित सामाग्री उपलब्ध गराउन सकियो भने मिडियाबाट निम्न काम गर्न सकिन्छ ।

    गन्तव्यको ब्रान्डिङः मिडिया नेपालका विविध पर्यटकीय स्थलहरू, सांस्कृतिक धरोहर र प्राकृतिक सम्पदाबारे जनचेतना फैलाउन महत्वपूर्ण माध्यम हो । विभिन्न प्लेटफर्महरूमा समाचार, रेकमन्डेसन, र पर्यटनसम्बन्धी सामग्रीहरू प्रकाशित गरेर मिडियाले पर्यटकहरूको आकर्षण बढाउँछ ।

    सकारात्मक इमेज निर्माणः – नेपालमा रहेको सुरक्षा, होटल तथा गाइडसमेतका सुविधाहरू र आकर्षक गन्तव्यहरूको बारेमा सही जानकारी प्रदान गरेर मिडियाले नेपाललाई एक सुरक्षित र आकर्षक गन्तव्यको रूपमा प्रस्तुत गर्न सक्छ । यसले विदेशी पर्यटकहरूको विश्वास बढाउँछ ।

    समीक्षा र सुझावहरूः मिडियामार्फत् पृष्टपोषण (फिडब्याक) र समीक्षाहरूको माध्यमबाट, पर्यटकहरूले विभिन्न गन्तव्यहरूको बारेमा जानकारी लिन सक्छन् । यसले अन्य पर्यटकलाई यात्रा निर्णय गर्नमा मद्दत पुर्याउँछ ।

    समस्या र समाधानको प्रस्तुतिः मिडियाले पर्यटन क्षेत्रमा भएका समस्याहरू (जस्तै, अप्ठ्यारो यातायात, अधुरो पूर्वाधार) र तिनीहरूको समाधानका उपायहरूलाई पनि उठाउन सक्छ ।  यसले नीति निर्माताहरूलाई उचित सुधार गर्न प्रेरित गर्न सक्छ ।

    यस प्रकार, मिडिया पर्यटनको विकासमा महत्वपूर्ण भूमिका निभाउँछ ।

    चुनौतीः 

    गलत सूचनाः अतिशयोक्ति वा फेक न्यूजले पर्यटकको विश्वास घटाउने । सुपा देउरालीवारे केही समय अघि भएको प्रचार । 

    सांस्कृतिक व्यवसायीकरणः मिडियाले सांस्कृतिक परम्परालाई गलत तरिकाले प्रस्तुत गर्दा अतिक्रमणको चपेटामा पर्न सक्छ ।  

    डिजिटल असमानताः इन्टरनेट पहुँच नभएका क्षेत्रमा मिडियाको सीमित भूमिका हुन सक्छ ।  

    अन्तमा आज जुन ठाउँमा कार्यक्रम गर्दैछौं यस ठाउँका लागि मेरो एउटा मात्र सुझाव छ । यो सृजनाको थलो हो । यहाँको मौसम, यहाँ प्राप्त हुने सकारात्मक उर्जा र एकान्तप्रेमीका लागि केही दिन बसेर लेखन, सम्पादन, समिक्षा, नयाँ चिन्तन गर्ने थलोका रुपमा विका गर्न सक्दा यसको सान्दर्भिकता धेरै महत्वको हुन सक्छ । 

    रकफेलर फाउन्डेशनद्वारा सञ्चालित इटालीको बेलाजियो सेन्टर, जसले ६० वर्षभन्दा बढी समयदेखि विश्वभरका विद्वान्, कलाकार, नीति निर्माता र कार्यकर्ताहरूलाई एकत्रित गर्दै रेसिडेन्सी र कन्भिनिङ कार्यक्रम गर्दै आएको छ । 

    रेसिडेन्सी कार्यक्रम अन्तर्गत् प्रत्येक वर्ष करिब १ शय जना नेताहरूलाई चार हप्ताको लागि आमन्त्रण गरि उनीहरूका आफ्नै नवीन परियोजनाहरूमा केन्द्रित भएर विविध पृष्ठभूमिका सहभागीहरूसँग अन्तरक्रिया गरी विचारहरू आदान–प्रदान गर्न सक्छन् । जहाँ नोबेल पुरस्कार विजेता, विख्यात् लेखक, न्यायामूर्ति जस्ता प्रतिष्ठित व्यक्तित्वहरू आइसकेका छन्। 

    कन्भिनिङ कार्यक्रम अन्तर्गत् वार्षिक रुपमा करिब ६० वटा एक हप्ते बैठक आयोजना गरी  विश्वका ठूला चुनौतीहरूको समाधान खोज्न सहकार्य गर्छन् । यीनै बैठकहरूबाट ग्लोबल एनर्जी, एलायन्स फर पिपल एण्ड प्लानेट, ग्लोबल एलायन्स फर भ्याक्सिन्स एण्ड इम्युनाइजेशन -GAVI_, र ग्लोबल इम्प्याक्ट इन्भेस्टिङ नेटवर्क  (GIIN) जस्ता महत्वपूर्ण पहलहरू सुरु भएका हुन् । 

    हामीले पनि विविध क्षेत्रका अग्रणी व्यक्तिहरू विभिन्न देश र क्षेत्रका विशेषज्ञ, नीति निर्माता, समाजसेवी, उद्यमी वा अन्य सरोकारवालाहरूलाई एकत्रित गरी मानव कल्याणमा सकारात्मक प्रभाव पार्न सक्ने नवीन विचारहरूलाई कार्यान्वयनमा ल्याउने वातावरण सिर्जना गर्न सक्छौं ।  

    (२०८१ चैत्र २७ र २८ गते पाणिनि सम्मेलनका अवसरमा आयोजित मिडिया सम्मेलनमा प्रस्तुत अवधारणा)


    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Travel