डी. आर. घिमिरे
साहित्यका पारखी प्रायः साहित्यकारनै हुने गर्छन् भन्ने मान्यतालाई प्रवासी नेपाली संघ भारतले नयाँ दिल्लीमा पहिलोपटक आयोजना गरेको नेपाल र भारतको नेपाली साहित्यको अन्तरसम्बन्ध विषयक गोष्ठीले खण्डित गरेको छ । गत शनिवार झण्डै चार घण्टा उनीहरुले कथा कविता त सुनेनन् तर, साहित्यमा नेपाल– भारतको अन्तरसम्वन्ध तथा बाल साहित्यवारेमा गरिएका विवेचनालाई धैर्यतापूर्वक सुने ।
यसको आयोजक कुनै साहित्यिक सस्था थिएन । थियो त एउटा राजनीतिक संगठन र श्रोता पनि सोही संगठनका अर्थात् राजनीतिक कार्यकर्ता । कार्यपत्र प्रस्तोता र टिप्पणीकारहरु साहित्यकार थिए भने सो शेसनको अध्यक्षता गरेका थिए नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले । साहित्यमा शितविन्दुका रुपमा परिचित ज्ञवालीलाई पूर्व परराष्ट्रमन्त्रीको रुपमा सम्वोधन गरिएको थियो ।
श्रष्टाहरुको उपस्थिति कम भएपनि असल र गुणस्तरीय श्रोताले भरिएको हलमा बडो गजवले साहित्य महोत्सवको पहिलो दिन सम्पन्न भयो । प्रस्तोताहरु यस अर्थमा खुशी थिए कि सम्भवतः यस प्रकारको कार्यक्रम पहिलो पटक हुँदै थियो ।
आयोजक सस्था प्रवासी संघका अध्यक्ष नारायण हुमागाई भने राजनीतिक तथा साहित्य दुवैमा स्थापित छन् र उनका केही कृतिहरु पनि प्रकाशित छन् । त्यसैले त उनले प्रवासमा बस्ने र पढ्ने युवा तथा बालबालिकावारे चिन्ता गर्दै भनेका थिए– उनीहरूले भाषा, साहित्य र सस्कृति नविर्सुन् भन्नका लागि यो कार्यक्रम राखिएको हो ।
नयाँ दिल्लीस्थत हरिसिंह किशन सुरजित सिंह भवनमा आयोजित नेपाल–भारतको नेपाली साहित्यको अन्तरसम्बन्ध समारोहमा नेपालका स्थापित साहित्यकार द्वय प्रा.डा. कपिल लामीछाने र प्रा.डा.देवी नेपाल तथा काशी विश्वविद्यालयका नेपाली भाषाका विभागीय प्रमुख प्रा.डा.दीवाकर प्रधानको प्रस्तुति थियो ।
कार्यक्रमको खास उद्वेश्य साहित्यको माध्यमबाट दुवै देशवीच सम्वन्ध सेतु कायम गर्नु, प्रवासी नेपालीका बालबालिकालाई नेपाली भाषा, साहित्य र सस्कृतिप्रति आकर्षण वढाउनु र प्रवासी नेपालीलाई विभिन्न क्षेत्रमा स्थापित गर्नु थियो ।
प्रारम्भमा डा.देवी नेपालले प्रस्तुत गरेको ‘नेपाल र भारतको नेपाली साहित्यको अन्तरसम्बन्ध सेतु’ विषयक कार्यपत्रमा भारतमा जन्मेर नेपाली साहित्यमा योगदान पुर्याउने साहित्यकारहरुको लामो फेहरिस्त प्रस्तुत गर्दै वर्तमानमा नेपाली भाषा विश्वभाषाको रुपमा र नेपाली जाति महाजातिको रुपमा स्थापित हुँदै गएको सन्दर्भ उल्लेख गरे । उनको भनाई थियो–नेपाल र भारत भौगोलिक रूपमा मात्र नभएर सामाजिक, सांस्कृतिक, भाषिक तथा जीवन शैलीका दृष्टिले पनि अत्यन्त निकटवर्ती देश हुन् ।
भारतमा भूगोलसँगै विभाजित आदिवासी नेपाली, नेपालबाट आएका प्रवासी नेपाली र अध्ययन, जिम्मेवारी र कामका लागि आएका गरी तीन प्रकृतिका नेपालीको उपस्थिति रहेकोमा नेपाली तथा भारतका नेपाली भाषीहरू सिर्जनात्मक तथा गुणात्मक हिसावले सामीप्य रहेको देखिन्छ, डा. नेपालले भने ।
अक्षरहरुको वंश परम्परालाई रक्तवंश र शब्दवंशमा व्याख्या गर्दै प्रस्तोता नेपालले रक्तवंश खुम्चिँदै र शब्दवंश फैलिँदै जाने भएकोले भारतीय भूमिसँग जोडिएको नेपाली भूमिको अन्तरसम्बन्ध विगतदेखि वर्तमानसम्म निरन्तर रहेको मानेका छन् । सो अवसरका उनले भने– विशाल हिमवत्खण्डमा सिर्जना भएका अनगिन्ती ज्ञानगौरवको वर्तमानसम्मको निरन्तरता नै नेपाली साहित्य हो र भारतीय साहित्य पनि हो ।
नेपाली र भारतीय नेपाली भाषीवीच भौगोलिक सीमा रहे पनि भाषिक सीमा र भावनात्मक सीमा कतै पनि नदेखिने प्रसंग उल्लेख गर्दै प्रस्तोता नेपालले राष्ट्रिय पहिचान वा नागरिकताका कारण फरक फरक राष्ट्रका नागरिकहरू भएपनि तिनीहरूबाट सिर्जित साहित्य भने साझा हुने दावी गरे ।
अध्ययन, अनुसन्धान तथा विद्यालय तथा विश्वविद्यालयमा हुने पठनपाठनका तहमा पनि दुवै देशमा दुवै देशका स्रष्टाका रचनाहरू समावेश हुनुले क्षेत्रीय वा भेगीय वीभेद नरहेको देखाउँछ, उनले थपे ।
दोश्रो कार्यपत्र प्रस्तुत गर्दै प्रा.डा.कपिलदेव लामिछानेले ‘नेपाल र भारतको नेपाली बालकविताः दुई देशको सम्बन्ध’ विषयक कार्यपत्रमा नेपाल र भारतको नेपाली बालकविताका प्रवृत्ति र विशेषता उस्तै उस्तै रहेको र नेपाली बालकवितालाई अझ विकसित र समृद्ध तुल्याउन रहेका समस्या पनि समान रहेको धारणा ब्यक्त गरे ।
बालकविताको सिर्जना प्रवद्र्धन गर्न र सिर्जना भएका कवितालाई स्तरीय रूपमा प्रकाशन गर्न तथा डिजिटल डिभाइसमा पहुँच पु¥याउन सके बालकविताले भारत–नेपालको सशक्त सम्बन्ध स्थापित गर्न सक्ने धारणा प्रस्तोता लामिछानेको छ ।
डा. लामिछानेले साठीको दशकयता भारत र नेपाल दुवैतर्फ गुणात्मक र स्तरयुक्त लेखन र छपाइमा बढोत्तरी देखिए पनि विक्रीप्रवद्र्धनमा खासै अन्तर आउन नसकेकोमा असन्तुष्ठि व्यक्त गरे ।
दार्जिलिङका पादरी गङ्गाप्रसाद प्रधान र मिस गोलेनले हान्स एन्डरसनका बालकथाहरूको अनुवादबाट भारतीय नेपाली बालसाहित्यको प्रारम्भ भएपनि सुरुका दिनमा नेपाली भाषाले भारतमा संवैधानिक मान्यता नपाएकाले नेपाली भाषामा साहित्य, बालसाहित्य र बालकविताको सिर्जना पछि पर्न गएको अनुमान पनि लामिछानेले गरेका छन् ।
सो अवसरमा काशी विश्वविद्यालयका नेपाली भाषाका विभागीय प्रमुख डा.दीवाकर प्रधानले भारतमा नेपाली भाषाको पठन पाठनको आरम्भ र विकास कसरी भयो भन्नेवारेमा प्रस्तुति दिएका थिए ।
कार्यपत्रमाथि पुरक टिप्पणी गर्दै वरिष्ठ पत्रकार डी.आर.घिमिरेले भाषा, साहित्य, सस्कृति र सस्कार हस्तान्तरण गर्ने सशक्त माध्यम बाल साहित्य हुने भएकोले यसको विशिष्ट भूमिका रहन्छ भने । उनको भनाई थियो– बालबालिकालाई सानै उमेरदेखि सुनाइने किस्सा, कथा, सस्कार आदिले उनीहरुको भावना, जिज्ञासामात्र पूरा गर्दैन, ज्ञानसमेत हस्तान्तरण हुन्छ ।
नेपालबाहिर बस्ने अभिभावकहरुले नेपाली भाषा, साहित्य र सस्कृति नविर्सुन् भन्नका लागि हरेक देशमा यस प्रकारका कार्यक्रम गरिएको स्मरण गर्दै उनले प्रवासी संघको यो कार्यक्रमले सोही भावनाको प्रतिनिधित्व गरेकोमा खुशी प्रकट गरे ।
अर्का टिप्पणीकार विष्णु गुरूङ्, जो अल ईण्डिया रेडियोको नेपाली भाषामा कार्यक्रम सञ्चालन, समाचार वाचन, अनुवादक र ईन्चार्जका रूपमा २४ वर्ष सेवा गरेर हाल निवृत्त भएका थिए । मलेसियामा जन्मेका तर स्याङ्जा घर भएका गुरूङ् अध्यनका शिलशिलामा दिल्ली पुगेपछि रेडियोमा कार्यक्रम चलाउँदै गर्दा भाषाशाष्त्री बनेका थिए । उनले नेपाली भाषाको कुरा गर्दा सवै धर्मका ग्रन्थहरुको माध्यबाट पनि नेपाली भाषाको विकासमा सहयोग पुगेको टिप्पणी गरे ।
यस्तै दार्जिलिङ्का साहित्यकार जेके वराईलीले संगीतका विषय पनि कार्यपत्रमा आउँदा अझ प्रभावकारी हुने आशय ब्यक्त गरे ।
कार्यपत्र शत्रको अध्यक्षता गर्नु भएका शितविन्दु अर्थात् नेकपा(एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले अक्षरको वंश परम्पराले नै नेपालीलाई जोड्ने सन्दर्भ उल्लेख गर्दै कार्यक्रममा प्रस्तुत कार्यपत्रहरूले विषद क्षेत्रको प्रतिनिधित्व गर्न सकेको अनुभव सुनाउनु भयो ।
२०८१ पुस ०९

No comments:
Post a Comment