डी.आर. घिमिरे
लामो समयको अन्तरालमा बुटवलका पर्यटन व्यवसायी हिराध्वज शाहसंग २०८१ भदौको दोश्रो साता भेट भयो । बीटीआईको कम्पाउण्डभित्र होटल गरेका शाहजी सो ठाउँको म्याद नवढेपछि नहरपुरस्थित आफ्नो निजी जग्गामा सामान लगेर होटल शुरु गरेका छन् । कुनै समय मिनरल वाटरको कम्पनी संयुक्त रुपमा सञ्चालन गरेकाले पारिवारिक कुरा थाहै थियो । सन्तानको रुपमा दुई छोरा र एक छोरी रहे पनि एउटा छोरा सपरिवार लण्डन, अर्को काठमाण्डौमा अध्यापनसहित पत्रकारिता, बुहारी अष्ट्रेलिया र छोरी भर्खरै विश्व स्वास्थ्य संघ अन्तर्गत ब्रसेल्स र ज्वाई प्रहरीको उच्च अधिकृत रहेकोले नेपालमै कार्यरत छन् ।
एउटा परिवार कसरी वैश्वीकरणको प्रभावमा परेको छ भन्ने कुराको यो उदाहरण मात्र हो । गुल्मीमा जन्मेर धेरै दुःख गरी बुटवलको लक्ष्मीनगरमा स्थायी वसोवास गर्न सफल उनका लागि यो सानो सफलता हैन । यो एक प्रकारको वैभव त हो । तर, मनमा शान्ति छैन । मानिस खुशी हुनका लागि सुखले मात्र हुने रहेनछ । खुशी र सुखी हुनु फरक विषय हो ।
रित्तो हात बुटवल आएका हुन् उनी । अहिले फर्साटिकरमा दुई विगाहा जग्गा, नहरपुर १० कठ्ठा जग्गामा होटल, लक्ष्मीनगरमा आवश्यक परे होटल चलाउन सकिने दुई कठ्ठा जग्गा र घर । यति सम्म मैले देखेको हो । अरु केही पो छ कि मैले सोधेको छैन ।
२०७९÷०८० मा उनी लण्डन गए छोरा बुहारी र नातिलाई भेट गर्न । सो अवसरमा संयोगवस एकजना नुवाकोट घर भई सचिवबाट निवृत्त भएका ब्यक्तिसंग भेट भएछ । छोराबुहारी, नातिनातिना सवै उतै रहेछन् । यता नुवाकोट छोडेर काठमाण्डौमा १० रोपनी जग्गामा केही टहरा र घर रहेछ । बेलाबेला भाडा उठाउन छोरा आउने रहेछन् । आफुले एक्लो जीवन विताउन किन जाने भनेर आउँदा रहेनछन् ।
सरकारी जागीर खाएर राम्रै सम्पत्ति जोडको पाइयो । कसरी जोडे उनैले जानुन् । मैले भन्न खोजेको यस्ता नेपाली विश्वभरी कति होलान् ? जो नेपालको घर सम्पत्ति छोडेर विदेशिएका छन् । कुरा आजको दिनको मात्र हैन, अवको दश वर्षपछि के अवस्था आउला ?
अव अलिकता फरक प्रसंगः
२०८१ भदौ १५ गतेका अधिकांश मिडियामा जापानमा बर्षको पहिलो ६ महिनामा ४० हजार जना मानिस घरमै एक्लै मृत फेला परेको कुरा सार्वजनिक भयो । उनीहरुको मृत्यु एक्लोपनका कारण भएको थियो । मृतक मध्ये ७० प्रतिशतभन्दा बढी ६५ वर्ष माथिका रहेछन् ।
यसमध्ये पनि करिब ४ हजार मानिसको शव एक महिनापछि फेला परेको थियो भने १ सय ३० जनाको शव करिब एक वर्षसम्म पनि थाहा हुन सकेको थिएन ।
यो तथ्यांकले के संकेत गर्छ ? विकसित देशको हालत यस्तो छ भने हामीले खोज्ने विकास के हुन सक्ला ? गंभीर प्रश्न उठेको छ ।
जापान सबैभन्दा बढी वृद्ध वर्गको जनसंख्या हुने मुलुक हो । शायद यही कारण हो कि एक्लोपनको गम्भीर समस्या देखा परेको छ ।
जापानले १८५४ मा पहिलो पटक पश्चिमी देशहरूसँग व्यापार सम्बन्ध स्थापित गरेपछि आधुनिक काल शुरु भयो र करिव एक शय वर्ष पछि सन् १९४५ मा हिरोशिमा तथा नागासाकीमा अमेरिकाले परमाणु बम खसालेपछि तहस नहस भयो ।
यसरी उठेको जापानले आफुलाई आर्थिक शक्तिको रूपमा सुदृढ गर्दै अब्बल मुलुक कहलियो । विकासको नमुना सुन्न जापानको कुरा गर्नु पर्दथ्यो । तर आज यस प्रकारको अवस्था आई पुगेको छ । यो एकल परिवारको परिणाम पनि हो ।
तै पनि जापान यो अवस्थमा आइपुग्न साठी सत्तरी वर्ष लाग्यो । तर नेपाल त्यो अवस्थामा पुग्न यतिका वर्ष कुर्नुपर्ने छैन । किनकि अत्यन्तै तीव्र गतिमा हामी रुपान्तरण हुने गरेका छौं । प्रारम्भमा नुवाकोटे सचिवको जो मैले उल्लेख गरें, त्यो त उदाहरण मात्र हो । हजारौं हैन, लाखौंको संख्यामा त्यो अवस्था होला । हिराध्वज शाहमा जुन असन्तुष्ठि देखिदैछ, त्यो पनि लाखौं नेपालीको प्रतिनिधिमूलक घटना हो ।
गत दश वर्षको बीचमा पहाडी क्षेत्रमा विकासका संरचना यति तीव्र रुपमा बनेका छन् कि तिनको उपयोगिताकावारेमा धेरै प्रश्न गर्न सकिन्छ । कुरा पहाडको मात्र हैन अहिले सहर पनि खाली हुने क्रम चलेको छ ।
नेपालबाट जसरी युवा पलायन भइरहेको छ, अन्ततः त्यसको परिणाम के होला भनेर धेरै दिमागी माथापिच्छी गर्नुपर्दैन । हरेक गाउँ र सहरको उपर्युक्त तथ्य प्राप्त हुने गरी जनसाँख्यिक विवरण संकलन गरे पुग्छ । मुलुकमा केही नभएर विदेश जानेले भन्ने गरेको रोजगारीको अभावले मात्र यो समस्या सृजना भएको हो कि अरु पनि कुनै कारण होला ?
प्रायः शहरका घर किन खाली भइरहेका छन् ? व्यापार नभएर हो कि उपभोग गर्ने व्यक्ति नभएर हो ? प्रश्न यहाँनिर पनि छ । उपभोक्ता कसरी वढ्छन् ? अहिले परिवारको संख्या घटेको छ । एक परिवार पाँच सदस्य हाम्रो परम्परागत मान्यता भत्कदैछ । अव औसतमा एक परिवार चार वा तीन सदस्यको अवस्था होला । त्यो पनि प्रायः घरमा बुढाबुढी मात्र रहने अवस्था विद्यमान छ ।
अर्थात् प्रकारान्तरले हामी जापानकै बाटोमा छौं । मैले सुन्दै छु अव दक्षिण कोरियाले पनि स्थायी बसोवासको प्रवन्ध गर्दैछ । संसारमै सवैभन्दा थोरै बच्चा पाउने मुलुक यतिवेला दक्षिण कोरिया हो । उनीहरु विवाह गर्न मान्दैनन् रे । किनकि विवाह गरेर संगै बस्ने र वच्चा जन्माउने फुर्सद हुन छाड्यो । यही कारण हो उसले स्थायी बसोवासका लागि विदेशबाट जाने वातावरण बनाउँदैछ । अन्यथा श्रम बजारमा मानिसको खाँचो पर्ने छ र अहिले सञ्चालनमा आएका उद्योग धन्धा वा खेतीपाती ठप्प हुने छन् ।
कतिपय कुरा सुन्दा लाग्छ, यी सवै सपना मात्र हुन् कि ? तर हैन ।
अव फेरि अर्को पक्षबाट हेरौंः
नेपालमा यतिवेला वहसको अर्को बिषय पैसा कहाँ गयो भन्ने पनि छ । व्यापार उद्योग नचलेपछि पैसा कतै गयो होला । म अहिले त्यसवारे चर्चा गर्दिन । तर बेफ्वाँकमा पैसा खर्चेर हामीले अनावश्यक दुःख वेसाइरहेका त छैनौं ? यसवारे मलाई लागेको एउटा पक्ष यस्तो छ ।
बिसं २०५२ सालको कुरा हो । मेरो वुवा बुटवलमै हुनुहुन्थ्यो । सानो कोठा भाडामा लिएर वसेको थिएं । घर वनाउने उपाय थिएन । जिन्दगी कहाँ पुग्छ त्यो पनि थाहा थिएन । आमाको निधन भइसकेकोले वुवाका लागि एक्लो जीवन थियो । पहाडबाट कपिलवस्तुको विजयनगर, वाणगंगा, रुपन्देहीको रामापुर हुँदै बुटवलको आदर्शनगरस्थित एउटा कोठामा सिमित हुनु चानेचुने कुरा थिएन । बेलवासमा कच्ची जग्गामा घडेरी त थियो । घर वनाउने उपाय थिएन । एक दिन वुवाले घर नबनाउने भए देवघाटतिर गएर बस्छु भन्नुभयो ।
वुवाको चिन्ता कसैगरी आफ्नो मृत्यु भयो भने अर्कैको घरमा वसेर कसरी काजक्रिया हुन्छ ? अहिलेजस्तो त्यतिवेला क्रिया घर पनि बनेका थिएनन् । त्यतिवेला श्रीसगरमाथा दैनिकमा काम गर्थें । विज्ञापन आदि उठाएर विशेषांक प्रकाशन गरेकाले एकै पटक ३० हजार रुपैयाँ प्राप्त भयो र मैले बेलवासमा आएर घर बनाएँ । वुवा एक हदसम्म खुशी हुनुभयो ।
अर्थात् हरेक नेपालीको सपना एउटा घर बनाउने हुन्छ । दुई अढाई तले घर बनाउँदा कम्तिमा ६० देखि ९० लाख सम्म खर्च आउँछ । एक तलाको घर बनाउँदा पनि सिमेन्ट, इँटा, डण्डी, गिट्टी–वालुवा, झ्याल–ढोका, पाइप, ट्याँकी, भान्सा, बाथरुम, टायल–सिंगमर, बिजुली जडान, रंगरोगनसमेत गर्दा कम्तिमा ४० लाख खर्च हुन्छ । भूकम्प प्रतिरोधीको नाममा सिमेन्ट र छडको सत्यनाश भइरहेको छ ।
यो पैसाको पनि करिव ५० प्रतिशत विदेश जान्छ । केही समय अघिसम्म भाडामा लगाएर वुढेसकालमा जीवन गुजार्ने मानसिकता थियो । तर अहिले अवस्थामा वदलाव आयो । घर सफाई गर्नसमेत मान्छे खोज्नुपर्ने अवस्था आउँदैछ ।
अब प्रश्न उठ्छ, आवासका लागि त्यति धेरै खर्च गर्नु उचित हो ? मेरो विचारमा यो सर्वथा अनुचित हो ।
प्रायः विदेशतिर सवै घर आरसीसी बन्दैनन् । स्थानीय कच्चा पदार्थमा आधारित सुविधासम्पन्न घर बनेका हुन्छन् । यसो गर्दा नेपालमा पनि कम्तिमा ३३ प्रतिशत बचत हुन्छ । त्यो पैसा पेशा व्यवसायमा लगानी गर्दा पैसा देश भित्रै रहने थियो । हाम्रो ध्यान यस तर्फ गएन । अर्थात् कुनै पनि सरकारले यस प्रकारको नीतिगत व्यवस्था गरेनन् । अनुसन्धानकर्ताहरुले मानिसलाई चाहिने यस्ता विषयमा अनुसन्धान गर्दैनन् ।
खासमा ब्यावसायिक घर र ठूला आवास घर (अपार्टमेन्ट) बाहेक अन्यको हकमा आरसीसी हुन नपर्ने वा नपाइने व्यवस्था राज्यले गरिदिने हो भने यति धेरै पैसा सकिने थिएन ।
यस्ता धेरै उदाहरण छन् । दुई चार घरलाई सडक, बिद्युत लगायत भौतिक संरचनामा हुने खर्च त्यत्तिकै डर लाग्दो छ । के हामीले यस्ता ससाना विषयमा लगानीको अनुपातमा हुने लाभको हिसाव गरेर नवीन ढंगले काम गर्न सक्दैनौ ? स्थानीय तहमध्ये देशभरीबाट कुनै एउटा पालिकाले पनि यस्ता विषयमा चिन्तन किन गर्दैनन् ?
गत वर्ष जापानकै सन्दर्भमा सार्वजनिक भएको एउटा समाचारमा ५ लाख घर खाली रहेको तथ्य प्रकाशमा आएको थियो । घर खाली, गाडी वेवारिस, मान्छेका शव कैयौं दिनसम्म हराउने जस्ता यावत् समस्या संसारब्यापीनै हुने देखिन्छ ।
कुरा जापानको मात्र हैन, नेपालमा पनि अवको १० वर्षमा ३० प्रतिशत घर खाली हुन सक्ने देखिन्छ । किनकि पहाडमा अहिले पनि सो संख्याभन्दा वढी खालीनै छन् । वास्तवमा अहिले घरहरुमा गरेको लगानी माटोमा विलिन हुने अवस्था हामीले कुरेर बसेका छौं । यसै पनि हेर्दा के देखिन्छ भने पहिलो पुस्ता बसेको घरमा दोश्रो पुस्ता र दोश्रो पुस्ता बसेको घरमा तेश्रो पुस्ता नवस्ने अवस्था देखिदै गयो । त्यसैले हरेक नागरिकले आवासका लागि वनाउँदा आफ्नो कार्यकालका लागि मात्र घर बनाउनुपर्यो ।
कसैले ब्यावसायिक वा अपार्टमेन्टमा लगानी गरेर व्यवसाय गर्छ भने त्यसलाई सरकारले प्राथमिकता दिन जरुरी छ ।
प्रश्न के हो भने यस्ता विषयमा कसले जानकारी गराउने ? जनतालाई कसरी वुझाउने ? मेरो सम्पत्ति जे गर्न पनि पाउँछु भनेर खर्च गर्न दिने कि सही व्यवस्थापन गर्ने ?
यस्ता अनेक पक्षमाथि मसिनो गरी केलाउँदै जाने हो भने अरवौं रुपैया बचत हुन सक्छ र वचत पैसा हाइड्रोपावर, पर्यटनका पूर्वाधार वा अन्य आम्दानी हुने क्षेत्रमा लगानी गराउन सकिन्छ ।
सार्वजनिक क्षेत्रमा कम्पनीमार्फत् समयावधि तोकेर लगानीको वातावरण वनाउँदा त्यसबाट प्राप्त मुनाफाले जीवनको उत्तरार्ध सुखी र खुशी हुन सक्छ । यसो गर्दा राज्यको बोझ पनि कम हुन सक्छ ।
२०८१ भदौ २७

No comments:
Post a Comment