डी.आर.घिमिरे
नेपालमा दयाराम सिंखडा शैक्षिक क्षेत्रको परिचित नाम हो । उनले लेखन गरेका गणित विषयका पुस्तक अधिकांश बिद्यार्थीका लागि रुचिकर लाग्छन् । यसको कारण उनको सरल तरिकाले बुझाउन सक्ने कलानै हो । हरेक विषयलाई कविता, कथा वा आकर्षक हुने कुनै तरिकालाई प्रयोग गरेर बुझाउने उनको शैली मौलिक तरिकाको छ ।
यही शैलीले उनलाई अष्ट्रेलियामा पनि शिक्षण पेशामै जमाएको छ । नेपालमा आदर्श बहुमुखी क्याम्पससहित विभिन्न स्कूलमा १० वर्ष अध्यापन गरेका सिंखडा नयाँ नयाँ खोज र अनुसन्धानमा रुचि राख्छन् । यद्यपि उनको भनाई छ– अव कसैले कुनै कुरा जानेको छु भनेर घमण्ड गर्नु पर्दैन मात्र प्रस्तुति कलामा निपूर्ण र नविनता भए पुग्छ ।
गणित, जनसंख्या र विज्ञानका शिक्षक सिंखडा काठमाडौंस्थित ग्रामीण आदर्श बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख तथा मानसिङ धर्म माध्यमिक विद्यालयका शिक्षक थिए । बोर्डिङ् स्कूलका लागि गणित विषयका पुस्तक लेखकको परिचय वनाएका उनी हाल अष्ट्रेलियास्थित सिड्नीमा प्राध्यापन पेशामै रमाएका छन् । १४ वर्ष अघि यहाँ आएका उनले अष्ट्रेलियन, चाइनिज र नेपालीले सञ्चालनमा ल्याएका आधा दर्जन कलेजमा शिक्षणको अनुभव लिएका छन् । नेपालमा गणितका शिक्षक अहिले व्यवस्थापन र नेतृत्व विषयको शिक्षकमा रुपान्तरण भएका छन् ।
यस क्रममा उनले अष्ट्रेलाइजेशन इन्टरनेशनल एकेडेमी, ग्लोबल कलेज, हार्बरसाइड इन्टरनेशनल एकेडेमी, अस्ट्रेलियन एकेडेमी अफ हस्पिटालिी एण्ड म्यानेजमेन्ट,वेलोसिटी कलेज, सिड्नी मेट्रोपोलिटन इन्टरनेशनल कलेज आदिमा अध्यापन गरिसकेका छन् । नेपालमा विज्ञानमा स्नातक हुँदै उनले जनसंख्या विषयबाट स्नातकोत्तर उपाधि लिएका थिए ।
जव उनी अष्ट्रेलिया आए पुनः व्यवस्थापन र लेखामा स्नातकोत्तर गरे । अनुसन्धानमा विशेष रुचि राख्ने उनको स्वभावनै छ । अहिले पनि उनले समग्र रुपले मानव स्वास्थ्य र कल्याण, नवप्रवर्तन र उद्यमशीलता, कला, संस्कृति र साहित्य, नेतृत्व र समृद्धि, प्राविधिक र व्यावसायिक शिक्षामा निरन्तर अनुसन्धान गरिरहेका छन् ।
नेपाल किन बनेन ?
नेपाल किन बनेन भनेर देश भित्र जति चिन्ता र चासो भइरहेको हुन्छ, त्यो भन्दा कम चिन्ता र चासो बिदेशमा पनि हुँदैन । अर्थात् विदेशमा रहनेले पनि नेपाल कसरी बन्न सक्छ भनेर चिन्तन गरिरहेकै हुन्छन् । हो कतिपय ब्यक्ति छन् जसले गालीवाहेक अरु केही जान्दैनन् ।
अष्ट्रेलियाको सिड्नीमा शैक्षिक कर्ममा रमाइरहेका सिंखडा एकजना त्यस्तै चिन्तन गर्ने ब्यक्तिमा पर्छन् । उनले नेपालका ७६ वटै जिल्लामा कहाँ के गरेर समृद्वि प्राप्त गर्न सकिन्छ भनेर एकसरो अध्ययन गरेका छन् । त्यसैले त उनी भन्छन् १० लाखलाई रोजगारी दिने कुरा कुनै ठूलो विषय हैन ।
जसरी अष्ट्रेलियाले विविधतामा गर्व गर्छ, त्यसरीनै हामीले पनि आफ्नो सन्दर्भलाई वुझ्न जरुरी छ । सिंखडा रोजगारी सिर्जनाका लागि हाम्रो सन्दर्भ, हामीसंग रहेको श्रोत र प्रतिवद्वतालाई चिन्न सक्नुपर्छ भन्छन् । यसलाई उनले यसरी स्पष्ट गर्छन्ः
कालिगण्डकीको शालिग्रामलाई हामीले प्रयोग गर्न नजानेर आम्दानी गर्न सकिएको छैन । भारतवाट ल्याएको गंगा जल वजारमा विक्री हुन्छ तर, शालिग्राम पानीमा डुवाएर पानीको ब्राण्डिङ गर्दै पिउनयोग्य पानी बेच्न हामीले जानेनौ । त्यसो गर्दा हाम्रो पानी निर्यात हुन सक्थ्यो । शालिग्राम पूजा गरेर राख्ने मात्र हैन, त्यसलाई डुवाएर पानी खाने हो । शालिग्राम डुवाएको पानी पिउँदा शरीरको रोगप्रतिरोधात्मक क्षमता बढ्ने बताइन्छ ।
संसारका धेरै देशमा नेपाली विभिन्न ओहोदामा पुगेका छन् । स्वस्थ्य क्षेत्रमा पनि उल्लेख्य रहेका छन् । उनीहरुमार्फत् पनि यस्ता श्रोतको ब्राण्डिङ गर्न सकिन्थ्यो ।
धार्मिक रुपले शालिग्रामको आफ्नो महत्व होला तर म विज्ञानको विद्यार्थी भएकोले यसबाट मानसिक र शारीरिक लाभ प्रदान गर्न सक्ने कुरा प्रमाणित भइसकेको छ । यसले पानीलाई शुद्ध र सकारात्मक ऊर्जा प्रदान गर्छ । यसको कारण यो हो कि शालिग्राम जैविक र खनिज गुणहरूले युक्त मानिन्छ ।
यसैले अन्यत्र नभएका कैयन् वस्तु छन् जसको व्यापार गरेर नाफा कमाउन सकिन्छ । उनको चिन्ता छ– नेपालको आवश्यकता र वातावरण पहिचान गरी उत्पादन वा व्यावसायमा ध्यान दिनेतर्फ हामीकहाँ छलफलनै भएन ।
हरेक जिल्लालाई फरक फरक तरिकाले चिनाउन र तदनुसारको उत्पादन गरेर नेपालको आवश्यकता पूरा गर्ने मात्र हैन, निर्यात गर्ने वातावरण बनाएर रोजगार सृजना गर्दै मनग्गे आम्दानी गर्न सकिन्छ ।
उनले मोवाइल खोलेर आफ्नो अध्ययनको संक्षिप्त सार देखाउँदै भने– इलाम र अर्घाखाँचीमा चीया, ताप्लेजुङ, तेह्रथुममा अलैची, गुल्मी, पाल्पा र रसुवामा कफी, म्याग्दी र संखुभासभामा रुद्राक्ष उत्पादन तथा लाली गुरासको खेतीवाट चिया बनाउने, दोलखा र नुवाकोटमा किवी, चितवन र नवलपरासीमा केरा, कुलेखानी, बेगनास ताल र त्रिशुलीमा माछा, बझाङ र बाजुरामा अखरोट, गोर्खा र लुम्जुङमा रिठा र जैतून, धनकुटा र सिन्धुपाल्चोकमा एभोकाडो, बजाङ, मुगु र हुम्लामा जैतुन, धादिङमा चिउरी खेतीलाई व्यावसायिक तरिकाले उत्पादन गर्नुपर्छ ।
बाँदर लाग्ने पहाडी जिल्लामा पिडालु, सखरखण्ड, कागतिको खेती गर्न सकिन्छ । सल्यान–सिन्धुलीमा–भोजपुरमा सल्लोबाट खोटो उत्पादन गर्न सकिन्छ ।
त्यस्तै काभ्रेपलाञ्चोक र गोरखामा च्याउ, गोरखा, धादिङ र डोटीमा अमला, डोल्पा, हुम्ला र मुगुमा यार्सागुम्बा, चार कोसे झाडी, कपिलवस्तु, बर्दिया, बाँके र कञ्चनपुरमा साल, दाङ र कपिलवस्तुमा ड्रागन, मकवानपुरको चित्लाङ र काभ्रेपलाञ्चोकमा आलु, तनहुँ, लमजुङ र सल्यानमा बाख्रा, अछाम, सुनसरी र कैलालीमा गाई, जनकपुर, रौतहट र चितवनमा भैंसी पालन तथा आँप खेती, पाल्पा र संखुभासभा तेजपत्ता, जुम्ला, मनाङ र मुस्ताङमा स्याउ, सोलुखुम्बु, मनाङ र रसुवामा चौरी गाई पालेर छुर्पी उत्पादन, नुवाकोट, धादिङ र गोरखामा पिडालु, तराई क्षेत्रमा चामल र गहुँ, पहाडी क्षेत्रमा बाजरा, हिमालयन क्षेत्रमा कोदो र फापर लगायतको खेती गरेर मनग्गे फाइदा लिन सकिन्छ ।
त्यस्तै नवलपरासी, धादिङ र उदयपुर कुखुरा पालन, रुकुम र रोल्पामा गाँजा र उदयपुरर तथा सुनसरीमा न्युरो खेती पनि गर्न सकिन्छ । उनी भन्छन्–औषधिजन्य खाद्य र जडिवुटीमा जोड दिने हो भने त्यसबाट आम्दानी ज्यादा हुन सक्छ ।
माथि उल्लेखित विषयलाई थप अध्ययन गराएर नवीनतम धारणा वा योजना बनाउन पनि सकिन्छ । मुख्य कुरा प्रतिवद्वता हो ।
हुनपनि क्यानडामा रहेका खाद्य वैज्ञानिक नारायण घिमिरेले बारम्वार लेख्ने गर्छन् कि–
सजिलै उम्रने र हुर्कने आयुर्वेदिक, मेडिसिनल, सेनिटरी क्लिनर, एरोमेटिक फुड, फुड सप्लिमेन्ट र अन्य एस्सेसरिज बोयोप्रडक्टको सम्भावना बोकेका वनस्पति र जीवाणुहरूको भ्यालु पहिचान, प्रशोधन र व्यावसायिकीकरण मार्फत राष्ट्रलाई धनी बनाउन सक्ने अवसरको स्वर्ण धर्ती हो नेपाल । उनले नेपाललाई भविष्यको मेडिसिनल (औषधिजन्य वनस्पति) र एरोमेटिक (राम्रो सुगन्ध आउने फूल, तेल वा मसाला) को पकेट क्षेत्र मानेका छन् ।
उनको विचारमा सरकारको उचित सहयोग र ध्यान पुग्ने हो भने पाँच सात वर्ष भित्रै नेपालको हालको प्रशोधित ७५५ कृषि जडिबुटि, आयुर्वेद र खाद्यपदार्थ आयात प्रतिस्थापन गर्न सकिन्छ । नेपालमा पाइने लेउ, झ्याउ र किरा लगायत हर्बलको स्वर्ण बजार चीन हो ।
उत्पादित वस्तु विक्री नभएका गुनासाका सन्दर्भमा सिंखडाको भनाई छ– हामीले फरक तरिकाले बजारीकरण गर्नुपर्यो । संसारभरी मधुमेहको समस्या छ भने हामीले उनीहरुलाई पिडालु र सखरखण्डको महत्व बुझाउनु पर्यो र प्रशोधित वस्तु पठाउने वातावरण बनाउनु पर्यो । यस्ता धेरै सम्भावनायुक्त विषयमा उनले मसिनो अध्ययन गरेका छन् ।
दयारामको विचारमा नेपाल २० वर्ष भित्र मलेसिया र थाइलैण्डको स्तरमा सहजै लैजान सकिन्छ । उनले माथि भनेजस्तै १० लाख रोजगारी सृजना गर्नका लागि व्यावसायिक शिक्षा र तालिमलाई भने सही तरिकाले लैजान सक्नुपर्छ । “मेरो पृष्ठभूमि शैक्षिक हुनुका साथै यहाँ पनि सोही पेशामा संलग्न भएकोले म यति भन्न सक्छु कि हाम्रो पठन–पाठनको पद्धति गलत छ र यसलाई सुधार गर्नुपर्ने छ ।”
अष्ट्रेलियामा शिक्षाः
अष्ट्रेलियाको शिक्षा प्रणाली हेर्दा सम्पूर्ण रुपले व्यावसायिक छ । यहाँ हाइस्कुलको शिक्षा प्राप्त गरेपछि ८० प्रतिशत रोजगारीमा जान्छन् र जानुपर्छ । सामान्यतः उच्च शिक्षा अध्ययन गर्नेको संख्या २० प्रतिशत भन्दा वढी हुँदैन । यहाँ व्यावसायिक शिक्षालाई उच्च प्राथमिकता दिइन्छ । जुन शिक्षाले विद्यार्थीहरूलाई विशेषतः व्यावहारिक सीप र दक्षता प्रदान गर्छन् र उनीहरुलाई रोजगारीका लागि योग्य बनाउँछन् । यस्ता कार्यक्रमहरु सञ्चालन गर्नका लागि प्राविधिक शिक्षण सस्थाहरु, तालिम प्रदायक सस्थाहरु र केही कलेजहरू हुन्छन् । सिंखडाको अनुमानमा यस्ता शिपमूलक तालिम दिनका लागि यहाँ ४ हजार ३ शयभन्दा बढी व्यावसायिक संस्थाहरू छन्
ती सस्थाहरुले आधारभूतदेखि उन्नत स्तरका सीप विकास, विशेष क्षेत्रमा गहन ज्ञान र सीप विकास तथा काम गर्दा सिकाइ प्रक्रियामा आधारित व्यावसायिक तालिम दिने गर्छन् । जसलाई सर्टिफिकेट, डिप्लोमा र एडभान्स डिप्लोमा भनिन्छ ।
यस्ता तालिमहरु उद्योगको माग अनुसार डिजाइन गरिएको हुन्छ । जसले गर्दा विद्यार्थीहरू तुरुन्त रोजगारीका लागि योग्य हुन्छन् । अझ महत्वपूर्ण कुरा त यो छ कि यसरी तालिम प्राप्त ८० प्रतिशत जनशक्ति सम्पूर्ण रुपले खपत हुन्छन् । “व्यावसायिक परीक्षा उत्तीर्ण गरेपछि ६ महिनाभित्र उनीहरु काममा लाग्नुपर्छ अन्यथा शिक्षकलाई कारवाही हुन्छ”, सिंखडाले भने ।
आगामी बर्ष अष्ट्रेलियामा ६ लाख बिद्यार्थीले १२ कक्षा उत्तीर्ण गर्दैछन् जसमध्ये ८० प्रतिशतलाई राज्यले रोजगारी दिनैपर्छ । यतिले पनि जनशक्ति आपूर्ति भएन भने अन्य मुलुकबाट विद्यार्थीको नाममा योग्यतम जनशक्ति ल्याउने गरिन्छ ।
कतिपय उच्च शिक्षा प्राप्त र अत्यधिक माग हुने सीप र पेशा भएका व्यक्तिका लागि अष्ट्रेलियाले सोझै स्थायी बसोवास (पीआर) दिएर पनि ल्याउने गर्छ । खासगरी नर्स, मेडिकल विशेषज्ञ, स्वास्थ्य व्यवस्थापक, सिभिल, मेकानिकल र इलेक्ट्रिकल इञ्जिनियर, प्रारम्भिक तहका शिक्षक र विद्यालयका प्राचार्य हुन योग्य ब्यक्ति, सूचना प्रविधि अन्तर्गत् सफ्टवेयर विकासकर्ता, सिस्टम विश्लेषक तथा वित्त क्षेत्रका विज्ञ, व्यवस्थापक र परियोजना व्यवस्थापकलाई त्यस्तो सुविधा दिइन्छ । यसो गर्दा उमेर, शिक्षा, अनुभव र भाषालाई करिव समान प्रकारले महत्व दिइन्छ ।
सिंखडाको बिचारमा नेपाललाई एक समृद्ध राष्ट्र बनाउनका लागि शैक्षिक र स्वास्थ्य प्रणालीमा आमूल सुधारको आवश्यकता छ ।
२०८१ मंसीर १२ नेपालप्रेस

No comments:
Post a Comment