डि.आर.घिमिरे
२०४७ सालपछि तत्कालिन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले काठमाडौंलाई सिंगापुर बनाउने उद्घोष गरेपछि विकासको, सुन्दरताको र राम्रो मुलुकको पर्यायवाची बनेको सिंगापुरलाई हेर्ने र देख्ने कौतुहल जाग्नु स्वभाविक हो । अझै त्यहाँ गएर आउने कतिपय निकटतम साथीहरुका कुरा सुनेपछि म पनि त्यसको अपवाद थिइन । तर समय नआई केही नह’ने रहेछ । यो पटकको भ्रमणले मलाई साँच्चिनै आँखा खोलि दिएको छ । विहान उज्यालो हुँदा क्वालालम्पुर पुगेका हामीहरु ५ घण्टाको बस यात्रापछि सिंगापुर पुग्दा एक हिसाबले रुल्ल र टुल्लको अवस्थामा पुगेका थियौं ।
सिंगापुरका घरहरु फोटोमा देख्दा ती हैनन् कि जस्तो लाग्थ्यो । ठूला घर जहाँ पनि बनेका छन् । म आफैले पनि थाइल्याण्ड, चीन, उत्तर कोरिया जस्ता देशमा आफ्नै आँखाले देखेको थिएँ । तर सिंगापुरको विशेषता भनेको घरहरु नक्सा जस्ता मात्र देखिने । पातलो साइजका, सिर्लिक्क माथि गएका, सामान्य भुइचालोले पनि ढालि हाल्छन् कि जसतो लाग्ने । मलेसियाकै घरहरु देख्दा त्यस खालका देखिदैनथे । ती घरहरु लौरो जस्तै ठिड्ड उभिएको देख्दा त्यहाँ मान्छे बस्छन् कि शो पिस मात्र हुन भन्ने लाग्ने । तर त्यस्तै खाले होटलमा गएर बसेपछि विश्वास गर्नैप¥यो । साँच्चिकै सिंगापुर विछट्टैको रहेछ । सडक किनारका विरुवा वा फूलहरु, यसो हातले छुँदा पनि धुलो नदेखिने । हातमा धुलो नलाग्ने, सडकमा माटोको कण पनि नभेटिने । कस्तो विचित्र । कसरी त्यसको व्यवस्थापन भए होला । जतिसुकै बेला पनि कुनै पसल, मन्दिर, होटल, सार्वजनिक स्थल जहाँ गए पनि सफाईकर्मीहरु निरन्तर पोचा लगाएको अवस्थामा देखिने । तिनीहरुले कहिलेकाही हड्ताल गर्छन् कि गर्दैनन् होला ? काममा अल्छी गर्छन् कि गर्दैनन् होला ? दंगदासनै पर्नुपर्ने । दुई दिन दौडेको दौडे गर्दा पनि जुतामा धुलो नलाग्ने । हाम्रो जस्तो अराजकता त्यहाँ भएको भए के यो संभव थियो र ?
एक फेरो मारेपछि आधुनिक सिंगापुरका जननी प्रधानमन्त्री ली क्वानलाई सम्झें । उनले कसरी यस्तो प्रणाली बसाले होलान् । मैले सुने अनुसार उनी एक प्रकारले निरंकुश शासक नै हुन् । शायद त्यति नगरेको भए यस प्रकारको अवस्था नै आउने थिएन । हुन पनि म भन्दा अघि जानु भएको विष्णु पंथीसंग एकपटक कुरा गर्दा उहाँ सबैभन्दा बढी प्रभावित भएको विषय नै त्यहाँको कानूनी व्यवस्था रहेछ । सेना नभएको राज्य अर्थात् पुलिसले मात्र चलाएको देश सिंगापुर रहेछ । आखिरी सेना नभए पनि राज्य व्यवस्थाको प्रणाली राम्रो भयो भन े अनुशासन कायम हुँदो रहेछ । काठमाडौं उपत्याका अथवा रुपन्देही जत्रो जम्मा ६३९ वर्ग कि.मि. मा फैलिएको सिंगापुरमा नेपाल अधिराज्य भरी जति सवारी साधन छन् त्यसभन्दा बढी छन् तर आश्चर्यको कुरा त्यहाँ कहिल्यै ट्राफिक जाम हुँदैन । सिंगापुरको आकारको कुरा गर्दा महाथिरको यो भनाइ आकर्षक छ । सन् १९७१ मा ब्रिटिसहरुले छोडेपछि केही लडाकु जेट विमान ल्याउन सिंगापुरले चाहन्थ्यो । ती विमान प्रति मिनेट २२ माइल उड्ने अथवा सिंगापुरलाई छिचोल्न १ मिनेट पनि नलाग्ने । उड्ने वित्तिकै मलेसियाको आकासमा पुग्ने । सडक, आकासे पुल,मेट्रो आदिको संयोजन यसरी भएको छ कि गाडी कही पनि रोकिनु पर्दैन । मलाई यस कुराको हेक्का थिएन । फिर्ता भए पछि विष्णुजीले नै भन्नुभयो– ट्याक्सी चढेर नठगिने कुराको ग्यारेण्टी नै रहेछ । कसैगरी भुलेर लामो र घुमाउरो सडकबाट लग्यो भने उल्टै बढी भएको पैसा चालकले नै फिर्ता गर्छ रे । कुनै ठाउँमा गाडी पार्किड्ड गर्नु प¥यो र चालक अलमलियो भने कहाँ खाली छ त्यसको सूचना गाडीमै आई पुग्छ रे । आखिरी यो भन्दा रामराज्य अरु के होला ?
किन ठग्दैनन् ट्याक्सी वालाले ?
यससको सिधा उत्तर छ– यदि कसैले आफू ठगिएको उजुरी ग¥यो र त्यो प्रमाणित भयो भने उसको लाइसेन्स खारेज हुन्छ । यस प्रकारको कडा दण्ड सजायका कारण ठग्ने कुरा कसैले कल्पना पनि गर्न सक्दैन । हामी मलेसियाबाट सिंगापुर प्रवेश गर्दा नै पासपोर्टमा भिसा लगाई सकेपछि एउटा अलग पर्चा थियो । जसमा लेखिएको थियो– दुव्र्यसनको कारोबार गर्नेलाई मृत्युदण्डको सजाय दिइन्छ । त्यही कुराले नै त्यहाँको दण्ड सजाय र कानून कति बलियो रहेछ भन्ने कुरालाई स्पष्ट गर्दछ ।
ट्याक्सी चढ्ने पनि गजबको तरिका हुँदो रहेछ । बुटवल फर्केपछि प्रसंगवस पश्चिमाञ्चल डेभलपमेण्ट बैंकका प्रमुख कार्यकारी अधिकृत केशव आचार्यसंग कुरा हुँदा थाहा भयो । सडकमा जहाँ पायो त्यही ट्याक्सी रोक्न हुने रहेनछ । खास खास स्टपहरु जो मुख्य सडकभन्दा थोरै भित्र खाली जग्गा हुने रहेछन् । त्यही गएर उभिएपछि खाली रिक्सा स्वभावैले त्यहाँ जाने रहेछन् । सडकमा ट्याक्सी रोक्दा पछाडीबाट आउनेलाई असर पर्ने भएर होला । हामी कहाँ जस्तो जहाँ मन लाग्यो त्यही रोक्ने हो भने कति धेरै दुर्घटना हुने थिए होलान् ?
राष्ट्र बैंकमा रहँदा १० दिने तालिममा सिंगापुर जाँदा उहाँले धेरै कुरा बुझ्नु भएको रहेछ । कसैले कसैलाई ठग्ने कुरा कल्पनै गर्दैन सिंगापुरमा । राज्यप्रति पनि उनीहरु उत्तिकै वफादार छन् । करिब २० वर्ष अघि एकजना नेपालीले इलेक्ट्रिक सम्बन्धी केही सामानको भाउताउ गरेछन् । अन्त्यमा बील आफूलाइ नचाहिने बरु अझै केही मूल्य घटाउन अनुरोध गरेछन् । तर व्यापारीले सो कुरालाई इन्कार गरी केही रुपैयाँ घटाइदिने तर बील नकाटी नदिने भनेछन् । सरकारले हामीलाई माया गर्छ भने हामीले पनि माया गर्नु पर्छ भन्ने भावना उनीहरुमा जागेको रहेछ । गैह्र कानूनी काम अथवा कानूनको उल्लंघन कसैले कल्पना पनि गर्न सक्दैन । यसप्रकारको कानूनको सर्वोच्चता नेपालमा कहिलेसम्म स्थापना होला ?
सिंगापुरमा सन् ६५ सम्म व्यापक गरिबी थियो । अर्थात् ५० वर्ष अघिसम्म नेपाल, द.कोरिया, सिंगापुर जस्ता देशको प्रति व्यक्ति आम्दानी वराबर जस्तै थियो । सिंगापुरेहरु गोठमा बस्थें । आधा गोठमा बंगुर पाल्थे र आधामा आफूहरु बस्थें । अहिले नेपालको स्थिति कहाँ छ ? सिंगापुर वा द.कोरिया कहाँ पुगे ? वार्षिक प्रति व्यक्ति आम्दानी झण्डै ३५ हजार डलर पु¥याएको छ सिंगापुरले । यसको तुलनानै के गर्नु । ५० वर्ष मध्ये ३० वर्ष त ली क्वानले सत्ता चलाए । यसको अर्थ स्थायित्व हो । जबसम्म स्थायित्व हुँदैन जबसम्म ५।१० वर्षसम्म ढुक्कसित सत्ता चलाउने कुराको ग्यारेण्टी हुँदैन । तबसम्म परिणाम देखिने गरी काम हुन सक्ने रहेनछ । राजनीतिक स्थायित्व भएपछि लगानीका सम्भावना बढ्छन् । नेपालको अहिलेको समस्या भनेकै लगानीलाई आकर्षण नगर्नु हो । कुन सरकार कति बेला आउँछ र त्यसले कस्तो अर्थ नीति बनाउँछ भन्ने कुराको कुनै ग्यारेण्टी नै भएन । राजनीतिक रुपमा तलमाथि भएपनि अर्थ नीति, वैदेशिक नीति र सुरक्षा नीतिमा एकरुपता हुने हो भने पनि लगानीको समस्या हुने थिएन ।
ली क्वानले एकछत्र सत्ता चलाए । त्यस बीचमा उनले पूँजी र शिक्षालाई उच्च प्राथमिकता दिए । पूँजीलाई आमन्त्रण गरे । भूमिको प्रयोग गरी जसलाई पनि कमाउने अवसर दिए । त्यसो भएपछि त्यसैपनि समुद्रको किनार आवागमनको सहजता जसले गर्दा लगानी आयो । यद्यपि त्यही भूमिमा गर्ने काम थोरै थियो । हाम्रो जस्तो प्राकृतिक सुन्दरता भएको भए के–के हुने थियो होला ? हामीले कल्पना मात्र गर्न सक्छौं । ली क्वानले जोड दिएको अर्को पक्ष शिक्षा । देश विदेशका राम्रा विश्वविद्यालयमा शिक्षा आर्जन गर्न आफ्ना नागरिकलाई प्रोत्साहन गरे । त्यसको परिणाम योग्य, शिक्षित र प्राज्ञिक व्यक्ति बनेर उनीहरु विदेशी पूँजी लगानी भएका कम्पनीमा जागिरे बनें । अर्थात् दक्ष जनशक्ति बाहिरबाट ल्याउनु परेन । यो सूत्रले सिंगापुर अहिलेको अवस्थामा आयो । भनिन्छ अहिले पनि छोटो र लामो तालिम तथा शिक्षामा सिंगापुरले व्यापक खर्च गर्छ । राजनीतिक व्यवस्थापनको हिसाबले पनि गजबको व्यवस्था रहेछ । आप्रवासीहरुको बाहुल्यता भएकोले सोको व्यवस्थापनको लागि प्रधानमन्त्री हुन चिनीया मुलको नागरिक हुनुपर्ने, राष्ट्रपति हुन भारतीय मुलको हुनुपर्ने र सभामुख हुन मले अर्थात् मलेसीयन मुलको हुनुपर्ने व्यवस्था रहेछ ।
जनसंख्या किन कम ?
सिंगापुरमा जनसंख्या किन कम हुन्छ त ? यो सबैलाई खसखस लाग्ने विषय हो । यसको मुख्य कारण विवाह ढिला गर्नु । उस्तै परे विवाह नै नगर्नु । विवाह छिटो गर्नुपर्ने एउटा कारण काम वासना हो । जुन वासना सहजै बाहिरबाट आपूर्ति हुन्छ भने विवाहको आवश्यकता नै परेन । विवाह नगरेपछि बच्चाबच्ची हुने भएनन् । बरु उनीहरु आफै लामो समयसम्म बाँच्न सक्छन् । सफा सुग्घर, औषधोपचारको व्यवस्था भएपछि जसको पनि सरदर आयु बढ्ने नै भयो । जसरी अहिले जापानीहरुको बढेको छ । त्यसैले उनीहरुको जनसंख्या वृद्धि दर अत्यन्तै कम छ ।
भ्रष्टाचार शून्यः
सिंगापुरमा भ्रष्टाचार शून्य छ । कमाएको पैसा कहाँ खर्च गर्ने भन्ने समस्या भएकोले भ्रष्टाचार हुने कुरै भएन । हामीकहाँ जस्तो घर जग्गा जोड्ने प्रचलन त्यहाँ छैन । कुनै व्यक्ति जागिरे भयो भने पनि उसले सरकारी फल्याट किन्न अप्ठेरो पर्दैन । तलबमा २० प्रतिशत कट्टा गरिदियो अनि २० प्रतिशत थपेर खातामा राखिदिने । त्यही पैसाबाट पूरा हुने गरी सरकारले नै बनाएका फल्याटमा बस्न पाएपछि अरु के नै चाहियो ? सम्पत्ति थुपारेर राख्ने प्रवृत्ति जुनसुकै राष्ट्रका लागि पनि घातक हुने रहेछ । जमिनको स्वामित्व व्यक्तिमा रहने प्रक्रिया जहिलेसम्म रहन्छ तहिलेसम्म यस प्रकारको समस्या आइनै रहन्छ ।
कानून बलियो भएकोले पनि अनुशासन कायम भएको मान्नुपर्छ । कानूनका अगाडि सबै बराबर हुन्छन् । कसैले कमजोरी ग¥यो भने कोर्रा हान्ने चलन समेत छ भन्ने सुन्दा मलाई अचम्मै लाग्यो । कोर्रा मूलतः शारीरिक रुपमा दिइने सजाय हो । इस्लामिक देशहरुमा यसको बढी प्रचलन छ । सिंगापुरमा पनि रहेछ । यसको मान्यता के रहेछ भने कोर्रा हानेपछि उसको शरीरमा कहिल्यै नजाने गरी डामिएको हुन्छ । जति हान्यो त्यतिवटा डाम । सधैभरी ऊ दोषी हो भन्ने परिचय दिने भएकोले यस्ता व्यक्तिहरु उपर विशेष निगरानी हुने रहेछ । त्यसैले कसैले पनि कानून तोड्दैन । यसरी हेर्दा सिंगापुरको कानूनी व्यवस्था पनि अनुशासनको आधार रहेछ । अनुशासन हुँदा साथ स्वतः देशको विकास हुने भयो ।
सिंगापुरको गजब के रहेछ भने कानूनको उल्लंघन गर्न चाहानेलाई विशेष ठाउँको व्यवस्था रहेछ । मुस्तफा बजारको आसपासमा लिटिल इण्डिया भन्ने ठाउँ रहेछ । यद्यपि हामीहरु त्यस ठाउँमा गएनौं । त्यहाँ गएपछि फोहोर जता पनि फाल्न पाइने । युवतीसंग जिस्कन पाइने । लभ पार्क भनेपनि हुने जस्तो । सीमित क्षेत्रमा त्यो सब गर्न पाइने रहेछ ।
अन्यत्र कडा नियम भएपछि त्यसभित्र बस्न नसक्नेलाई शायद त्यस्तो ठाउँ बनाइ दिएको होला । लिटिल इण्डिया भनेर नामाकरण किन भए होला मलाई आश्चर्य यसले पनि बनायो । भारतमा प्रायः यस्तै फोहोर र अस्त व्यस्तता हुने भएकोले त्यसैको प्रतिनिधी नाम पो हो कि ? धन्न लिटिल नेपाल भनिएनछ ।
१२ घण्टाको एक दिन ः
त्यसो त २४ घण्टाको एक दिन हुन्छ तर सिंगापुरको अर्थ बजारमा १२ घण्टाको एक दिन हुने रहेछ । यो पनि मैले केशव आचार्यबाटै थाहा पाएको । त्यहाँको शेयर बजारमा पूर्व र पश्चिम भनिने रहेछ । सिंगापुरमा रात परेपछि त्यत्तिकै फ्रिज हुने पैसा युरोप र अमेरिकी बजारमा पठाइदिने र उज्यालो हुँदासम्म केही कमाएर फेरि त्यही ल्याउने । यसलाई अफ शोर बैंकिड्ड भनिदो रहेछ । यसरी २४ घण्टामा दुई पटक क्रय विक्रय हुने भएकोले आर्थिक क्षेत्रमा १२ घण्टाको एक दिन भने पनि हुने रहेछ । हामीकहाँ रातभर पैसा निष्क्रिय हुन्छ भने सिंगापुरमा रातीमा पनि सक्रिय हुने रहेछ । यस्तै प्रणाली मलेसियामा पनि रहेछ ।
बसमा मसाजः
सेवा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत महेश काफ्ले र सिद्धार्थनगर नगरपालिकाका इन्जिनियर जीवन अर्यालले बसमा मसाज हुने बारेमा रोचक टिप्पणी गर्नु भएको थियो । मैले पनि साथीहरुलाई यस्तै कुरा सुनाएको थिएँ । सिटमा बसेपछि इलेक्ट्रिक मसाज भइरहन्छ भन्ने सुनेकोमा क्वालाम्पुरबाट सिंगापुर जादा त्यस्तो महसुस गर्न पाइएन । त्यसले गर्दा बसको गुणस्तरमा ठगिएछ भन्ने शंका लागेको थियो मलाई । बुटवल फर्केर के भन्ने होला भन्ने चिन्ता पनि थियो एकहिसाबले । सिंगापुरबाट फर्कंदा त्यस्तो अवसर जुट्छ कि भन्ने विश्वास भने थियोे । तर, फर्कदा पनि त्यस्तो अनुभव भएन । बीचमा बसको सिट मिलाउनु प¥यो भनेर यताउता हेर्दा स्वीचहरु रहेछन् । संगीतका माध्यम पो हुन् कि भनेर थिचेको त मसाज नै रहेछ । बल्ल होस् खुल्यो । अनि सबै साथीहरुले थाहा नपाउने गरी स्वीच थिचिदिएको त उहाँहरु दंग । ढाडमा हल्का मसाजको अनुभव क्वालालम्पुर आउन्जेल सम्मनै मैले गरिरहें । पटक–पटक स्वीच दबाई रहनुपर्ने भएपनि मलाई अल्छी लागेन । किनकी त्यसपछि यस्तो अनुभव गर्न पाइने थिएन ।
जम्मा ५० लाख जनसंख्या भएको सिंगापुरमा वार्षिक १ करोड २० लाख पर्यटकको ओइरो लाग्छ । गजबको कुरा के छ भने सिंगापुरमा जाने पर्यटक भनेका बढी खर्च गर्न सक्ने हैसियतका छन् । झण्डै अमेरिकी डलरसँग तुलना हुने सिंगापुर डलरको पानी खान पनि हामी जस्तालाई सोच्नुपर्ने ठाउँमा सामान्य ल्याकतको मानिस जाने कुरै भएन । विश्वका सबै जसो बहुराष्ट्रिय कम्पनीका अफिस सिंगापुरमा छन् । एशियामा बजार गर्ने भनेकै सिंगापुरबाट हो । सिंगापुर यस कारणले पनि उपयोगी छ कि उक्त ठाउँ ६ सय बन्दरगाहसँग जोडिएको छ । सामरिक हिसाबले सिंगापुरलाई महत्वपूर्ण मानिन्छ । मलेसियामा आयात गरिने सामानहरुको सबै भन्दा सस्तो प्रवेशद्वार पनि सिंगापुर हो । पछि दुई देशको तनावपूर्ण सम्बन्धका कारण मलेसियाले आफ्नो मुख्य पश्चिमी किनाराको बन्दरगाहका रुपमा स्वतैनहटाम बन्दरगाहको निर्माण गर्न बाध्य भयो ।
सिंगापुर जोहोर राज्यको एउटा भाग रहेछ पहिले । स्टाम्फोर्ड राफल्स नाम गरेको अंग्रेजले जोहोर राज्यमा कठपुतली सरकार बनाई सिंगापुरलाई भाडामा लिने षड्यन्त्र गरेको रहेछ । यद्यपि पछि त्यहाँ चिनियाकै प्रभुत्व भयो । हामीलाई बसमा घुमिरहँदा हाम्रो गाइडले भनेको थियो– ब्रिटिशले यो लिंदा प्राकृतिक स्रोत केही नभएको सबै कुरा निर्माण गरी बनाउन सकिने भनेरै लिएको थियो रे । अहिले पनि सिंगापुरले उत्पादन केही गर्दैन । केवल व्यापार गर्छ । सिंगापुर समुद्रले घेरिएको टापु हो । बाहिरबाट माटो लगेर मात्र त्यसको विकास भएको हो । त्यहाँ जे जति चीज छन् ती सबै मानव निर्मित हुन् । सिंगापुरमा हेर्नुपर्ने र देख्नुपर्ने धेरै कुरा छन् । हामी जस्ता पहिलो पटक गएकाहरुले त्यो सबै छिचोल्ने कुरै भएन । प्याकेजमा गएकाले दुई रात भन्दा बढी बस्ने कुरा भएन । त्यसमा पनि खास घुमेको त डेढ दिन मात्र हो । जबकि सन्तोसा स्टेशनमै घुमेर पूरै दिन रमाउन सक्ने हो भने मात्र आनन्दको अनुभूति गर्न सकिन्छ ।
हामीले सिंगापुर फ्लायरको अनुभूति ग¥यौं । गजबको रोटे पिड्ड जस्तो लाग्ने तर विस्तारै घुमि–घुमि पूरै सिंगापुर दृश्यावलोकन गर्ने यो पिड्ड (मैले राखेको नाम) मा चढ्न २५ डलर तिर्नु प¥यो । यसबाट हामीले किसिम–किसिमका फोटा खिच्यौं । १६५ मिटर उचाई सम्म पुगेर तल झर्दा २ घण्टा भन्दा बढी लागे होला । न चढेको थाहा पाइने, न झरेको । गगनचुम्बी महल, समुद्र माथिका घर, पानी जहाज, विभिन्न पार्कहरु सबै कुरा गजबसंग देखिने रहेछ यसबाट ।
२०७१।०८।०५



No comments:
Post a Comment