• Breaking News

    वामदेव प्रकरणमा चुकेको नेकपा

    डी.आर.घिमिरे
    सत्तारुढ नेकपाको गत बुधबार बसेको सचिवालय बैठकको निर्णयले उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभामा लैजाने निर्णय गरेपछि सो पार्टी झण्डै विघटनको अवस्थामा पुगेर पुनः यथास्थितिमा आइपुगेको छ ।
     वामदेव प्रकरण जसरी नेकपाभित्र चुनौति वनेर आयो यसले थुप्रै नैतिक र प्राविधिक प्रश्नहरु उठाएको छ । खासगरि प्रधानमन्त्री हुनैपर्ने गौतमको माग नैतिक स्खलनको पराकाष्टा हो भने यसैलाई प्रचण्डले जसरी शक्ति सन्तुलन र स्वार्थपूर्ति गर्ने हतकण्डा वनाए त्यो अर्को अराजनीतिक वितण्डाजस्तो भयो ।
    पछिल्लो घटनाक्रमले नेकपा तत्कालका लागि संकटमुक्त भएको छ । तर, यसलाई संकट मुक्त हैन संकटको प्रारम्भका रुपमा वुझ्नु अतिसयोक्ति हुने छैन । किनकि यो घटनालाई एउटा प्रवृत्तिका रुपमा वुझ्नुपर्छ । यसरी हेर्दा नेकपाभित्र कसैलाई पद चाहियो भने नैतिक अनैतिक हर प्रकारका खेल हुँदा रहेछन् भन्ने कुरा स्थापित भएको छ । आज गौतमको कुरा आयो भोलि अरु कसैको आउला । आज केन्द्रमा आयो भोलि प्रदेश र स्थानीय तहमा आउला । के यसो भयो भने यो पार्टी टिक्छ ?
    निर्वाचनवाट पराजित ब्यक्तिलाई चोर वाटोवाट संसदमा पुर्याउने प्रक्रियानै गलत छ । राजनीतिमा जसले पर्खन सक्दैन त्यो अस्थिर हो । यद्यपि गौतम नेपाली राजनीतिमा विकृतिका सम्वाहक हुन् भन्दा अन्यथा हुने छैन । धेरै पुराना कुरा छाडौं गत निर्वाचन यता विकसित भएका केही घटनाक्रमलेनै यसलाई पुष्टि गर्दछ ।
     निर्वाचनमा पराजित भएपछि उनले एक पटक हैन पटक पटक सत्तारोहणको प्रयास गरे । २०७५ को साउनमा उनले डोल्पाका सांसद धनबहादुर बुढालाई राजीनामा गर्न लगाएर सांसद हुने चाहना प्रकट गरे । त्यो योजना असफल भएपछि दैलेखका रवीन्द्रराज शर्मा, बाँकेका नन्दलाल रोकाय र प्युठानकी दुर्गा पौडेललाई राजीनामा गराउने प्रयास भयो । यतिले पनि उनलाई पुगेन । त्यसपछि काठमाडौं क्षेत्र नं.७ का रामवीर मानन्धरलाई राजीनामा दिन लगाउने प्रयास वाहिर आयो । यस प्रकरणमा पनि जनस्तरवाट ब्यापक विरोध भयो ।
    त्यसपछि उनले राष्ट्रिय गौरवका आयोजनाको कमान्ड गर्ने गरी राष्ट्रिय विकास प्राधिकरणको अवधारणा ल्याए । यसमा पनि उनी असफल भए । हरेक असफलताले उनलाई विकल्प खोजिरहन प्रेरित गर्यो । यसैवीच कास्कीवाट निर्वाचित पर्यटनमन्त्री रवीन्द्र अधिकारीको निधन भयो । सो ठाउँमा पनि उम्मेदवार वन्ने चर्चा भयो । पराजितलाई उम्मेदवार वनाउँदा जनताले हराइदिन्छन् भन्ने कुरा ब्यापक भयो र उनी फेरि पछि हटे ।
    यसपछि उनले प्रधानमन्त्री हुने शर्तमा राष्ट्रिय सभामा जाने कोशिस गरे । यो यति कंसियो कि झण्डै पार्टी विघटन वा मध्यावधि निर्वाचन भन्ने अवस्थामा आइपुग्यो । उनी खुरुक्क राष्ट्रिय सभामा जान चाहेको भए पहिलो लटमै जान्थे । यसै वीचमा पार्टीभित्र शक्ति सन्तुलनको लडाई भयो । जसको फाइदा प्रचण्ड र गौतम दुवैले लिन चाहे । अर्थात् गौतमको महत्वाकांक्षालाई पूरा गरिदिने लोभ देखाएर प्रचण्ड शक्तिशाली वन्ने प्रयासमा लागे । त्यसैको परिणाम गौतमलाई प्रधानमन्त्रीको आश्वासन दिइयो । यसले गौतमको ब्यक्तित्व र नेकपाको शाख अथवा ख्यातिमानै धमिरा लाग्यो । 
    प्रचण्डले वेलावेलामा विभिन्न कम्युनिष्ट पार्टीहरु विघटन गर्दै आएकोमा गौरव गर्छन् र फेरि पनि नेकपालाई त्यही स्थितिमा लैजान सक्ने उद्घोष गर्छन् । अर्थात् युद्वकालिन नीति अनुसार महाविपत्ति सृजना गर्दै फड्को मार्ने कुरा गरिरहन्छन् । यो उनको विशेषता हो भन्दा हुन्छ । शायद अहिले पनि नेकपालाई विघटन गरेर नयाँ अवस्था सृजना गर्ने र त्यसवाट नेकपालाई  आफ्नो पकडमा ल्याउने मनोविज्ञानले काम गरेको छ कि ? यस्तो अनुमान लगाउनु अन्यथा हुने छैन । अहिले धेरै पूर्व एमाले कार्यकर्ताको अनुमान यस्तै छ ।
    संविधान संसोधन गर्ने अपरिपक्क निर्णय ः 
    नेकपाको सचिवालयले संविधान संशोधनको लागि माधव नेपालको संयोजकत्वमा कानुनविद् सुभाष नेम्वाङ्ग र खिमलाल देवकोटा सदस्य रहेको तीन सदस्यीय समिति गठन गर्यो । यसको गठननै अदुरदर्शिताको उदाहरण वन्यो ।
    संविधान संशोधनको बारेमा लामो समयदेखि छलफल चलेपनि र मधेसी दलका साथै  समाजवादी, राजपा, दलित, जनजाति धेरैको यो माग भएपनि सामान्य अवस्थामा संशोधन गर्ने परम्परा वसाल्न नहुने राष्ट्रिय भावनालाई आत्मसात गर्दै नेकपा र सरकार  अनुदार दखिदै आएका थिए । शायद यही कारणले हुनुपर्छ यो निर्णयप्रति असन्तुष्टि देखाउँदै ईश्वर पोख्रेल र प्रदिप ज्ञवालीले तत्काल प्रतिक्रिया दिए । तर, यस विषयमा आम नेपालीलेनै असहमति जनाए भन्दा हुन्छ । त्यस अर्थमा माधव नेपालले यस्तो विषयको संयोजक हुन स्वीकार्नुनै गलत भयो । वास्तवमा संविधान संशोधनको विषय ख्याल ठट्टाको विषय थिएन । त्यसमा पनि एकजना ब्यक्तिलाई प्रधानमन्त्री वनाउनका लागि । यो नैतिक प्रश्न मात्र नभएर कानुनी प्रश्न समेत थियो र लोकतान्त्रिक दृष्टिकोणले अनुपयुक्त थियो ।
    संविधानको धारा ७८(१) अनुसार राष्ट्रपतिले प्रधानमन्त्रीको सिफारिसमा संघीय संसदको सदस्य नभएको कुनै ब्यक्तिलाई मन्त्री पदमा नियुक्त गर्न सक्ने र उपधारा (१) वमोजिम नियुक्त मन्त्रीले शपथग्रहण गरेको मितिले छ महिनाभित्र संघीय संसदको सदस्यता प्राप्त गर्नुपर्ने प्रावधान छ । सोही धाराको (४) मा तत्काल कायम रहेको प्रतिनिधिसभाको निर्वाचनमा पराजित भएको ब्यक्ति त्यस्तो प्रतिनिधिसभाको कार्यकालमा मन्त्री पदमा नियुक्तिका लागि योग्य नहुने प्रावधान छ । यस अर्थमा गौतमलाई प्रधानमन्त्री वनाउने कशरतमा लाग्नुनै गैर संवैधानिक विषय थियो । प्रचलित कानुनभन्दा वाहिर गएर निर्णय लिन खोज्नु पदको दुरुपयोग पनि हो ।
    एकजना ब्यक्तिलाई फोटो झुण्डाउनका लागि गरिएका यी हरकतहरु नेपालको इतिहासमा सुनौला अक्षरले लेखिने छैनन् । यो नेकपाको लागि गौरव गर्ने विषय पनि हैन । पछिल्लो पटक गौतमलाई सांसद वनाउने तहसम्म सर्वसम्मत भएको समाचार वाहिर आएको छ । निर्णय मान्नुपर्ने भएकोले सवैजना चुप लागेजस्तो देखिएको छ । यसको कार्यान्वयन पनि होला ।  तर, यसको धेरै ठूलो मूल्य चुकाउनुपर्ने हुन सक्छ । यो यस अर्थमा कि गौतमको राजनीतिक उचाईको ग्राफ स्वाट्टै तल झरेको छ । उनीप्रति वँचेखुचेको आस्था, विश्वास र भरोसा समाप्त भएको छ । सत्य कुरा वोल्ने हो भने अहिले उनी देशैभरिका वडावाट उठ्दा पनि पराजित हुने माहौल वनेको छ । वामदेवको ब्यक्तित्व गिर्नु सिङ्गै नेकपाका लागि नोक्सानी हो ।
    त्यसैले गौतमको राजनीतिक उचाइलाई वँचाउने हो र उनका खास शुभचिन्तक हुने हो भने अहिले उनलाई राष्ट्रियसभामा नजाने सल्लाह दिनुपर्छ । यसका लागि गौतमले वुद्विमतापूर्वक आफै पछाडि हटेको घोषणा गर्नुनै उचित हुन्छ ।
    चुके ओली ः
    वामदेव गौतमलाई पार्टीको उपाध्यक्ष वनाउनका लागि पार्टीको विधाननै परिवर्तन गर्ने जुन काम भयो त्यो गलत थियो । जुन कुरा ढिलो चाँडोे पुष्टि भयो । यो  अदुरदर्शिताको उदाहरण हो । यद्यपि त्यतिवेला पनि गौतमले प्रचण्डको साथ लिएर शक्ति आर्जन गर्न खोजेका थिए । गौतम प्रचण्डको पछि नलागुन् भनेर उपाध्यक्ष वनाएइको थियो शायद । तर, उपाध्यक्ष वनेपछि उनले प्रधानमन्त्रीकै आकांक्षा राखे । शायद यसका पछाडि प्रचण्डको हात छ । उनले किन यसो गरे ? यसको जवाफ आगामी दिनमा खुल्दै जाला ।
    पार्टी एकीकरण हुँदा आधा आधा कार्यकाल प्रधानमन्त्री हुने समझदारी भएको कुरा वेलावखत उठेकै हो । तर, यसवारेमा आलोचना वढ्दै गएपछि कार्यकारी अध्यक्षसंग साटफेर गरिएको थियो । आवरणमा यस कुरामा प्रचण्ड सहमत भएपनि उनको मनले मान्न सकेको थिएन कि ? कतै त्यही असन्तुष्ठि अहिले पोखिएको हो कि ? यदि यसो हो भने पनि उनले एउटा मट्यांग्राले दुइवटा चरा मार्ने काममा गौतमलाई प्रयोग गरेका छन् । गौतम सजिला ब्यक्ति यसकारणले हुन् कि उनी असाध्यै पदका भोका छन् । प्रधानमन्त्रीको लोभ देखाएपछि एकाएक राष्ट्रियसभा सदस्यलाई प्रधानमन्त्री वनाउन सकिने गरि संविधान संसोधन गर्ने तहमानै उनी पुगे ।
     एकातिर माधव नेपालको वरियतामा घटुवा हुनु, अर्कोतिर प्रचण्ड ओलीवाट टाढिनु र गौतमलाई प्रधानमन्त्रीको लोभ देखाएर ओलीवाट टाढा हुने परिस्थिति सृजना हुनु ओलीका लागि प्रतिकुल भयो ।   
    यद्यपि वामदेवलाई अस्थिर र पदका भोका भनिरहँदा अध्यक्ष प्रचण्डलाई के भन्ने ? उनकै नेतृत्वमा यति सारो अलोकप्रिय निर्णय भएको छ । आखिरी यसो गर्नुको औचित्य के हो ? पार्टी विग्रन थाल्दा सच्चाउने कि थप विगार्ने ? वामदेव पार्टीलाई काँध थाप्न उपाध्यक्ष भएका हुन् कि आफ्नो स्वार्थपूर्तिका लागि गुटवन्दी गरेर पार्टीलाइ तहस नहस पार्न ? यस्ता अनगिन्ती प्रश्नहरु उठेका छन् ।
    अन्तमा राष्ट्रियसभा भनेको विभिन्न क्षेत्रमा ख्याती प्राप्त गरेका, विश्लेषकहरु, पार्टीभन्दा बाहिर रहेका वा भित्रका विचारकहरुलाई पठाउने स्थान हो । प्रतिनिधिसभामा गल्ती भएका विधेयकहरु राष्ट्रियसभामा सच्याउन सकियोस् भन्ने अपेक्षा गरिएको हुन्छ । तर, हामीकहाँ उल्टो भएको छ । संघीय वा स्थानीय निर्वाचन हारेका ब्यक्तिलाई राष्ट्रियसभामा पठाउने हो भने दुइ सदनात्मक ब्यवस्थानै किन चाहियो ?

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Travel