डी.आर.घिमिरे
मलेसियामा चिनियाँ प्रभावः
मलेसिया वास्तवमै चीनको रहेछ । चीनको यस अर्थमा कि त्यहाँको अर्थतन्त्र उनीहरुकै कब्जामा छ । चिनियाँ बिनाको आधुनिक मलेसिया कल्पना गर्न पनि सकिन्न । ९० प्रतिशत उद्योग, व्यापार चिनियाँकै छ । ठूला रोजगारदाता चिनियाँ हुन् । ठूला होटल, व्यापारिक मल, पर्यटकीय क्षेत्र चिनियाँले नै सञ्चालन गरेका छन् । चिनियाँ नहुने हो भने मलेहरु भोकै बस्नुपर्ने अवस्था आउँछ । हामी बसेको होटल चिनिया नागरिकको, हामीले बजार गरेको ६० तले टाइम स्क्वायर मल चिनियाँकै रहेछ । हामीले एक दिन पूरै हेरेको ‘सन वे लगुन पार्क’ चिनियाँकै रहेछ । यो पार्कभित्र ५ वटा विशाल पार्कहरु छन् । चिडियाखाना छ । युनिभर्सिटी छ । अस्पताल छ । के छैन त्यहाँ । घुम्दै जाँदा एकजना नेपाली भाइ भेटिए । उनलाई मैले सोधे– भाइ यसको साहु कहाँ बस्छ ? एक दुई महिनामा एक पटक आउने रहेछ । त्यहाँ जानुपर्ने रहेछ स्वीमिड्ड ड्रेसमा । तर हामी ठाँटसित पाइन्ट र कमिज लगाएर गयौं । त्यहाँबाट लिनुपर्ने खास मजा लिन पाएनौं ।
मैले एक आध वर्षअघि मलेसियामा २२ वर्ष प्रधानमन्त्री बनेका आधुनिक मलेसियाको जग बसालेका मलेसियाको चौथो प्रधानमन्त्री महाविर बिन मुहमदको मले द्विविधा नामक पुस्तक पढेको थिएँ । मलेसियाबाट फर्केपछि फेरि सो पुस्तक पढ्दै छु । वास्तवमा मलेहरु कसरी पछि परेर चिनियाँहरुले कसरी व्यापारको माध्यमबाट मलेसियाको अर्थतन्त्र हातमा लिए भन्ने कुरा आकर्षक ढंगले प्रस्तुत गरिएको छ ।
चिनियाले त्यहाँ आएर व्यापार मात्र गरेनन् मलेसियाको उत्पादन चीनसम पु¥याए । पहिला पहिला निश्चित सीमाभित्र रहनुपर्ने चिनियाँहरुले भारदारी सभासम्मको पहुँचका कारण व्यापारका सबै तहमा अनुमति पाउन थाले र स्वतन्त्रपूर्वक जहाँ पनि व्यापार गर्न थाले ।
आप्रबासीहरु बेरोकतोक आएपछि के हुन्छ भन्ने कुरा जान्न मलेसियाले नेपालीलाई पनि सहयोग पु¥याउँछ । सुरुमा दक्ष शिल्पीहरुमात्र आएका चिनियाँहरु पछि कुल्ली समेत आए र सहरबजारका महँगा जग्गा घर सबै किने । त्यहाँका स्थानीय रैथानीहरु क्रमशः गाउँ पस्नुपर्ने बाध्यता आई पुग्यो । समय क्रममा चिनियाँहरुलाई राजनीतिक अधिकार पनि दिने कि भनेर छलफलहरु नभएका हैनन् तर, चिनियाँहरुले प्राप्त गरेको आर्थिक शक्तिमा राजनीतिक शक्ति समेत थपि दिने हो भने मलेहरु बिल्कुलै असहाय हुनेछन् र चिनियाँहरुको कृपामा बाँच्नुपर्ने हुन्छ भन्ने आत्मबोध भएपछि त्यसो हुन दिइएन ।
सयौं वर्षदेखि मलेसियामा बस्ने चिनियाँ मूलका नागरिकलाई अहिले पनि राजनीतिक अधिकार पूर्ण रुपले दिइएको छैन । जस्तो कि राजा, सुल्तान, प्रधानमन्त्री र मन्त्रीहरुमा मलेबाहेक अरुलाई अनुमति छैन । यहाँसम्म कि कुनै कम्पनी दर्ता गरी व्यवसाय सञ्चालन गर्न पनि चिनियाँ वा भारतीय मूलका नागरिकलाई दिइने रहेनछ । त्यसैले कम्तीमा केही प्रतिशत मलेलाई राखेर मात्र व्यवसाय सञ्चालन गर्नुपर्ने रहेछ । यसका कारण मलेहरु आर्थिक रुपमा सबल हुँदै गए र सँगसँगै अल्छी पनि भए । किनकि बसी बसी आर्थिक व्यवस्था भयो । स्वास्थ्योपचार, शिक्षाका लागि राज्यले उपलब्ध गराउँछ । एकजना नेपाली भाइ हामीलाई सुनाउँदै थिए– मलेहरु बिरामी भएमा १ रुपैयाँको टिकट लिन्छन् र सबै उपचार निःशुल्क हुन्छ । हामी जाँदा ३० रुपैयाँको रसिद काट्नु पर्छ ।
चिनियाँहरुको विशेषता भनेकै व्यापार रहेछ । महाथिर बिन मोहम्मदले यो कुरालाई आफ्नो पुस्तकमा प्रभावकारी ढंगले प्रस्तुत गरेका छन् । सन् १९५७ मा मलेसिया स्वतन्त्र भएपछि बृटिसहरुको एकाधिकार तोडियो र त्यसको सम्पूर्ण फाइदा चिनियाँहरुले नै लिए । मलाया स्वतन्त्र भएपछि मलायाकरण गर्ने क्रममा मलेहरुलाई उच्च प्राथमिकता दिइयो । निर्माण, आपूर्ति र मुनाफा मूलक ठेक्काहरु मलेहरुलाई बिर्ता जसरी नै बाँडियो । तर यसको फाइदा चिनियाँले नै लिए । भारतीय र अरबीहरु राजाका भाइ भारदारहरुसँग वैवाहिक नाता गाँसेर बलिया भए भने चिनियाँहरु आफ्नो क्षमता, व्यापारिक सुझबुझ र कुशलताका कारण बलिया भए । चिनियाँहरुको व्यापार गर्ने तरिका आफ्नै खालको रहेछ । व्यापारमा हात हालेपछि उनी आफै पनि कामदारसरी काम गर्छन् । रोजीरोटी चलाउने बाहेक व्यापारको पैसा अन्यत्र लगाउँदैनन् । कसको कति तलब हुन्छ त्यो पनि थाहा नहुने, व्यक्तिगत अपेक्षा र महत्वाकांक्षा नराख्ने बरु पसल बढाउँदै जाने मुनाफा अत्यधिक भएपछि फुटकरबाट थोकमा जाने गर्दा रहेछन् । कुन सामानको मूल्य कति हो थाहै नहुने, मूल्य घटाएर दिने तर नाप र तौलबाट उठाउने जस्ता काम चिनियाँहरुले गर्दा रहेछन् ।
जो सुकैलाई झट्ट विश्वास नगर्ने उनीहरुको विशेषता हो । उनीहरु पहिलो प्राथमिकता परिवार, दोस्रो थर, गोत्री, तेस्रो प्रान्तीय र भाषिक सामीप्यता र चौथोमा जातीय सामीप्यतालाई मान्दछन् । चिनियाँहरुको इतिहास प्राकृतिक विपदहरुबाट प्रभावित भएकोले उनीहरुको जीवन भनेकै अस्तित्वका लागि संघर्ष रहेछ । प्राकृतिक विपदबाट पीडित चिनियाँहरु बाहिर निस्कन तयार भए । अन्य आप्रबासीहरु आफ्नै जातिसँग टाँसिएर बस्ने गर्थे भने उनीहरु एक्लै र अरुसँग पनि बस्ने, राम्रो जिन्दगीका लागि जहाँ जान पनि तयार हुने दृढ निश्चयी स्वभावका थिए । खतरासँग जुध्न र खेल्न तयार हुनु उनीहरुको सफलताको अर्को कडी हो । बृटिसहरु पनि चिनियाँहरु जस्तै मलेसिया आए तर उनीहरुले बढी भन्दा बढी पैसा कमाउने र फिर्ता हुने । जागीर खाने उनीहरुको सोचाई नै भएन । भनिन्छ, उनीहरुले जागीर खाएको भए मलेहरुको अवस्था अझै खराब हुने थियो ।
मलेहरुलाई विशेषाधिकारः
मलेहरु त्यहाँका आदिबासी हुन् । उनीहरुको विशेषाधिकार भएन भने आप्रवासीकै दवदवा हुन्छ । यही कुरालाई हेक्का राखेर मलेसियामा उनीहरुलाई विशेष संरक्षणको व्यवस्था छ । नयाँ उद्योगहरुमा निश्चित प्रतिशत कामदार मले हुनैपर्ने कम्पनी स्थापना गर्दा मलेको शेयर हुनुपर्ने व्यवस्था त भयो नै त्यसबाहेक सहरी क्षेत्रको सरकारी नियन्त्रणको जमिनमा समेत बोल कबोलका आधारमा बढाबढमा दिनुपर्ने जग्गा समेत चिनियाँ र युरोपेलीहरुलाई नदिने नीति बन्यो । मलेहरुलाई गच्छे अनुसार मूल्य तिरेर किस्ताबन्दीमा समेत लिने व्यवस्था गरिएको छ । भनिन्छ के भने यदि मलेहरुलाई निश्चित प्रतिशत राख्ने व्यवस्था नगरेको भए मलेहरुले विकास गर्न पाउने थिएनन् ।
तर मलेहरु को हुन त ? अथवा आदिबासी हुनलाई कस्तो व्यवस्था हुनुपर्ने भन्ने कुरामा हाम्रो देशको जस्तो सनकको भरमा निर्णय गरिएन । महाविर बिन मोहम्मदले आफ्नो पुस्तकमा लेखेका छन्–साँच्चिकै आदिबासी हुनलाई जाति विशेषको अन्य कुनै जातिसँग जातीय सम्बन्ध हुनुहुँदैन र कुनै एक खास देशसँग सम्बन्धित हुनुपर्छ । कसैको जातीय मूल अर्को देशको जातीय मूलसँग मिल्छ र त्यो देशलाई स्वीकार्य पनि हुनछ भने उसलाई आदिबासी भन्न सकिन्न र उसले आफूले नयाँ बसोबास गरेको देशलाई आप्mनो भनेर हकदावी पनि गर्न पाउँदैन । यस आधारमा मात्र जानजातिको परिभाषा गरिएकोले जबर्जस्त सुविधा लिन सक्ने सम्भावना सायद भएन । कुनै निर्णय गर्नुपूर्व नीति बनाएर त्यसभित्र को–को वा के–के पर्छ भनेर खोज्ने हो भने विवाद कम हुन्छ । जबकि हामीकहाँ ठीक उल्टो छ ।
पार्कहरुको संगम सन वे लगअन
मलेसियामा घुमेर हेर्ने र समय बिताउने भनेकै सन वे लगअन हो । यो भनेको पूरै मनोरञ्जन गर्ने स्थल हो । यस स्थालमा ५ वटा पार्कहरु छन् । एउटै ठाउँमा ५ वटा पार्क अनि दिनभरिको समय दिनुपर्ने भनेपछि हामीलाई दिक्क नै लाग्यो । गेटबाट प्रवेश गर्दा यहाँ केहीछिन बाहिर कतै जानु पाए हुन्थ्यो भन्ने पनि लागेको थियो । अधिकांश केटाकेटीहरुको भीड भएकोले यो हाम्रा लागि हैन कि भन्ने पनि नलागेको हैन तर भित्र पसेपछि त्यस्तो भएन । बरु निस्कने कसरी र कतिबेला भन्ने भयो ।
हामीले जति पैसा तिरेका थियौं सो अनुसारको स्वाद लिन सकिएन । किनकी हामी जानुपर्ने थियो स्वीमिड्ड ड्रेसमा । हाम्रो गाइडले अघिल्लो दिननै त्यसो भनेको भए सायद त्यही गर्ने थियौं । तर अब जानेहरुलाई के सल्लाह दिन सकिन्छ भने सामान्य चप्पल, टिसर्ट, हाफ पाइन्ट मात्र लगाएर जानुपर्छ । त्यसो भयो भने मात्र त्यहाँको खास मजा लिन सकिन्छ ।
गेटबाट छिर्दा साथ विकसित खालको एउटा रोटेपिड्ड थियो । सबैजाना भकाभक त्यहाँ गएपछि हामीहरु पनि जानुनै प¥यो । काठमाडौंबाट सहभागी अशोक श्रेष्ठ बालबच्चा लिएर जानु भएकोले उहाँ त्यस्ता कुरामा बढी चासो राख्नु हुन्थ्यो । उहाँले नै यो खेल्नुपर्छ भनेपछि सबैजना गयौं र सिटमा बस्यौं । अघिपछि चरप्प कसेपछि चल्न डग्न नसकिने भइयो । अबत के होला भनेर शुरु भएको खेल अन्तमा पसिना पसिना भयौं । मुटु रोगीलाई नआउन भनेका थिए । म र रीतासँगै थियौं । कृष्णजी र मधुकला अलग–अलग हुनुहुन्थ्यो । कृष्णजी कुनैबेला मुटुको सामान्य रोगी भएकोले मधु मेडम चिन्तित हुनुहँदो रहेछ । तर उहाँ र हामी संगै भएकोले चिन्ता भगाउनका लागि पनि हुइँ हुइँ गर्दै गयौं । स्थिति त यस्तो आयो कि टुप्पोमा लगेर छर्लप्प उल्टायो । अर्थात् पूरे राउण्ड लगायौं । वास्तवमै त्यो डर लाग्दो थियो । तर एकले अर्कालाई प्रोत्साहन गर्नुपर्छ भन्ने नाममा अरुले थाहा पाउने गरी डराउन पनि भएन । पछि ओर्लेपछि मलाई लाग्यो– यदि सो पिड्ड खेलेको पहिले नै देखेको भए हामी कोही पनि खेल्ने थिएनौं ।
त्यसपछि हाम्रो घुमाई शुरु भयो । हामी कुन पार्कमा गयौं भन्ने कुरा नै हामीलाई थाहा नहुने स्थिति थियो । तथापि वाटर पार्क र म्युजियम खासमा विल्डलाइफ पार्क भने सहजै थाहा हुन्थ्यो । बुटवल–१५को जबई चौरमा एउटा सानो पोखरी छ, हामीलाई त्यसैलाई वाटर पार्क भन्छौं । तर मलेसियाको वाटर पार्क देखेपछि मैले त चित खाएँ । यस पार्क भित्र ४१ वटा नामाकरण गरिएका स्थल छन् । त्यो पनि पछि ब्रोसर हेर्दा मात्र थाहा भयो । केटाकेटी, युवायुवती र वृद्धवृद्धाहरु सबै उत्तिकै रमाएका देखन्छन यस पार्कमा । पानीका फोटोहरु स्वीमिड्ड पुल, पानी बग्ने ढुंग्रा जसमा केटाकेटीहरु सिलित्त बगेका हुन्छन् । किसिम किसिमका पानीका फोहोरहरु निलो सफा पानी । अचम्मै लाग्दो दृश्य छ त्यहाँ । त्यो हेर्दा कस्तो लाग्छ भने मानव निर्मित पोखरीका रुपहरु पनि यस्ता हुने रहेछन् । कसरी व्यवस्थापन भइरहेको होला, तिनको सरसफाई कसरी भएको होला ? हामीले कल्पना गरेर पनि उत्तर दिन सक्दैनौं ।
अर्को पार्क हो एक्स्ट्रीम पार्क । यो पार्क पनि अचम्मैको रहेछ । यहाँको बन्जी खेल हामीले आँट गर्ने कुरै भएन । तर हेर्न चाही राम्रो गरी हेरियो । केटाकेटीले जस्तै बन्दुक समाएर सुट गर्नेदेखि फ्लाइड्ड फक्ससम्मका खेलमा हामीनै सहभागी भयौं । ११ वटा खेलहरु यस पार्कमा थिए । एकआध बाहेक सबैको पैसा काठमाडौंबाटै हामीले तिरेको भएपनि मुस्किलले ३।४ वटामा मात्र हामी सहभागी भयौं । आँखा झिमिक्क नगरिकन हेर्दा पनि के–के न छुटे जस्तो लाग्ने अवस्थामा हामीहरु थियौं । तीनवटा पार्कमध्ये स्किम पार्क, एम्युसमेन्ट पार्क र वाइल्ड लाइफ पार्क थिए । वाइल्ड लाइफ पार्कमा जंगली जनावर भने पनि घरेलु जनावर पनि थिए । हामीले जानेको लोकल कुखुरादेखि मुसा, बिराला, बाघ, भालु, चराचुरुड्डी सबै चिजहरु यसमा थिए । कति ठूलो क्षेत्रमा फैलिएको कत्रो व्यवस्थापन, सरसफाई कही पनि गुनासो गर्नैै नपर्ने विचित्र अवस्था हामीले देख्यौं । अरु दुईवटा पार्क आँखाले हेरियो तर तिनको नाम के हो भन्ने नै थाहा भएन । गाइड नभएका कारणले पनि हामीलाई समस्या थियो एकातिर भने अर्कोतिर समयको व्यवस्थापन गर्नु जरुरी थियो ।
शुरुमा सबै कुरा जान्न खोजियो तर पछि कसरी डुलेर सक्ने भन्ने लाग्यो । कुन पार्कमा पर्छ त्यो थाहा भएन । तर हामी असाध्यै रोमाञ्चित एको कृत्रिम नहरमा एक प्रकारको बोटिड्ड । अलि अलि भिजेरै भएपनि मैले यसलाई मुभी क्यामरामा खिचें र अर्को जता गयो उतै भूत भन्नुपर्ने । आखिरी मानिसकै कमाल त हो तर साँच्चिकै मानिस डराउने अवस्था थियो । अन्धकारै अन्धकार । एउटा कुनाबाट छिरेको करिब ४५ मिनेटसम्म हामीहरु हरायौं । सबै एकै पटक लाइन लागे पनि हामी भित्र गएपछि छुट्टियौं । धन्न सबैका बुढाबुढी छुट्टिनु परेन । शायद त्यो भएको भए रुवाबासी हुने थियो कि ?
त्यसै बीचमा भयानक पानी आयो । करिब २ घण्टा बसेरै समय बिताउनु प¥यो । पछि बाहिर निस्केर सन वे पिरामिड शपिड्ड मलमा गएपछि पछुतो लाग्यो । त्यहाँ अत्यन्तै सस्तो सामान पाइने रहेछ । अघिल्लो दिन ४० रिंगेट परेको सामान त्यहाँ १६ मा पाइने । यो कुरा हामीलाई कसैले भनेन । तर अब जानेहरुलाई मेरो सुझाव छ यो ठाउँमा गएर बजार गर्न भुल्नु हुँदैन है ।
हामीहरु राष्ट्रिय संग्रालयमा गयौं । दरबारको बाहिर बसेर फोटाहरु खिच्यौं । सहिद पार्कमा गयौं । भारतभन्दा १० वर्ष पछाडि स्वतन्त्र भएको मुलुकले गरेको प्रगति राम्रै छ । सिंगापुर गइसकेपछि मलेसिया फिक्का लाग्छ । तर जुन ढंगले पूर्वधार बनाउँदैछ त्यो बेजोडको छ । क्वालालम्पुर एयर पोर्टदेखिनै ८।१० लेनका सडक, हरियाली, बस्ती विकास, २० देखि ५०।६० तलाका घरहरु सबै चीज हेर्दा झलमली आफ्नै देशको याद आउँदो रहेछ । मानव निर्मित चीज बनाएर त पर्यटकको ओइरो लागेको छ भने हामीले प्रकृति प्रदत्त चीजको मात्र व्यवस्था गर्ने हो भने नेपाल कति छिट्टै सम्पन्न मुलुक बन्ने थियो होला । देशको विकास गर्न राज्यले लगानीको वातावरण मात्र बनाइदिए पुग्ने रहेछ । आखिरी मलेसियाको विकास चिनियाँले नै त गरेका छन् । निजी क्षेत्रलाई प्रोत्साहन गर्ने लगानीको सुनिश्चित राज्यले गर्ने हो भने धेरै समय लाग्ला जस्तो लाग्दैन ।
क्वालालम्पुरबाट सिंगापुर जाँदै गर्दा म अत्यन्तै प्रभावित भएका दुई तीनवटा कुरा थिए । पहिलो सडक, सडकमा पनि ढिकढाकबाट पानी आउँदा पहिरो जाला भनेर सामान्य ठाउँमा पनि स–साना कुलेसा । कुलेसा पनि सिमेन्टले प्लस्टर गरेका खुलुल्ल पानी बग्ने व्यवस्था । कही जमिन घस्केको रहेछ भने त्यसलाई ढुंगाले छोपेर संरक्षण गरी हाल्ने र त्यसो गर्ने समय नभएको भए प्लास्टिकले छोपेर त्यहाँ पानी पर्न नदिने ताकि झन् ठूलो खाडल नपरोस् । सडकका किनारमा वृक्षारोपण, तिनीहरुको व्यवस्थापन, जंगललाई ताखारले घेरेको अवस्था । सायद जनावरले नोक्सान नगरुन भनेर होला । तर सडक र जंगलको किनार कतै पनि मैले गाई, भैंसी वा भेडा बाख्रा केही पनि देखिन । बस्ती बसाल्नका लागि बीच–बीचमा जंगल फाँडेर व्यवस्थित ढंगले सहरीकरण गर्दै गरेका स्थान पनि ठाउँ–ठाउँमा देखिन्थे । बस यात्रामा जंगल र स–साना पहाडी क्षेत्र प्रशस्तै देखियो । बुटवलका तमाम पसलमा मलेसियाबाट आएका ढोका भनेर विक्री गर्न राखेको प्रशस्तै देखेको र सुनेको थिएं । त्यो हिसाबले जंगलतिर– मेरो ध्यान अलि बढी नै जान्थ्यो । वास्तवमा प्रत्यक्ष देखेपछि मलाई लाग्यो कि मलेसियामा घना जंगल छ ।
यस अघिनै हामीहरु सिंगापुर गएका थियौं । प्राकृतिक स्रोत बिनाको सिंगापुर कसरी आजको अवस्थामा आइपुग्यो होला त्यसको लेखाजोखा त अहिले गरिएको छैन । तर आफूले जे देखियो त्यसको संक्षेपीकरण भने गर्नैपर्छ ।




No comments:
Post a Comment