• Breaking News

    मलेको राज्यमा चीनको व्यापार



    डी.आर.घिमिरे
    क्वालालम्पुरस्थित होटल सेन्ट्रल पुदुभित्र छिरेपछि कतै नेपाली भेटिन्छन् कि भन्ने अपेक्षाले हाम्रा आँखा चारैतिर घुमे । टु स्टारको होटल भनेर हामीलाई बुक गराइएकोले त्यसको विश्वसनीयता बारे पनि सोधपुछ गर्ने विचार थियो मेरो । ट्राभल्स कम्पनीमार्फत् हाम्रो भ्रमण  भएकाले आफू कहाँ कहाँ ठगियो भनेर जान्नु बुझ्नु पनि हाम्रो कत्र्तव्य नै थियो ।
    मलेसिया नेपालीको आकर्षक गन्तव्य स्थल भनेर बुझेका कारणले पनि मलेसियाको सम्भावनाबारे जान्न खोज्नु स्वभाविकै थियो । हामी चार जोडीहरु म र रीता , कृष्ण बहादुर कुँवर र मधुकला , तिलक भूसाल र सीता,  तारा विष्ट र माया दसैं तिहारको बिदा मनाउने उद्देश्यले एक हप्ते भ्रमणमा निस्केका थियौं । सिंगापुरबाट बस चढेर क्वालालम्पुर आउँदा करिब ४ बजेको थियो । ट्राभल कम्पनीले सम्पूर्ण व्यवस्था मिलाएकोले कहाँ जाने, के बाट जाने, कहाँ बस्ने, कसरी बस्ने, के खाने वा कही कतै ठगिन्छ कि भन्ने चिन्ता हामीलाई थिएन । लगेका ठाउँमा निस्फ्रिकी तालले घुम्ने, आनन्द लिने, त्यहाँको रहन सहन, नेपालीको अवस्था, आदिबारे सामान्य जानकारी सम्म लिने र हल्का फुल्का बजार गर्नु बाहेक अरु उद्देश्य हाम्रो थिएन ।
    सात समुद्र पारी गएपनि नेपालीले नेपालीलाई देख्दा अपनत्व महशुस हुन्छ । यस प्रकारको भावनात्मक सम्बन्ध नेपालीहरुमा अलि बढी नै हुन्छ । त्यसैले होटलभित्र छिर्दा पनि नेपाली अनुहार कतै देखिन्छ कि भनेर हेर्नैपर्ने हुन्थ्यो । ५ घण्टाको बस यात्राबाट सिंगापुरदेखि आएका कारण कोठामा पुगेर हातमुख धोएपछि मात्र हामी ‘फ्रेस’ हुन सक्थ्यौं । त्यसैले पहिले नै बुक भई सकेका आ–आफ्ना कोठामा छिरी हाल्यौं ।
    कोठाभित्र आधा लिटरका २ बोतल पानी, २ कप चीया, २ कप कफी उपलब्ध थियो । कफी खाइवरी बाहिर निस्केर छैठौं तलाबाट ग्राउण्ड फ्लरमा पुग्यौं । अरु साथीहरुलाई कोठामै छोडी तिलकजी र म बाहिर निस्कदा दुई जना नेपाली भेटिए । सेक्युरिटी ड्रेसमा रहेका उनीहरु हामी बसेकै होटलका स्टाफ रहेछन् । अनुहारले गर्दा हामीले तपाई को हो भनेनौं । बरु सिधै भाइको घर कता हो भनेर सोध्यौं । उनीहरु पूर्व झापा र ताप्लेजङका रहेछन् । उनीहरुले पनि हामीप्रति अपनत्व प्रदर्शन गरे । तर हामी घुम्न आएको भन्दा चाँहि उनीहरुलाई पत्याउन हम्मे हम्मे प¥यो । नेपाली पनि यसरी घुम्न हिंड्छन् र भन्ने अभिव्यक्ति उनीहरुले निकाले । एक जना भाइले थोरै व्यंग्य पनि गरे । उनले भने– आफू त बिहानदेखि रातीसम्म काम गर्न आएको, घुम्ने कुरा त कल्पना नै गरिन्न । हामीलाई व्यंग्य जस्तो लागे पनि यो कुरा सत्य नै थियो । यो सुन्दा साथ तिलकजीले नेपालमा हामी १४ घण्टा मरेर काम गर्छौं । तपाईहरु फर्केर जाँदा आनन्दसित घुम्नुहुन्छ । कुरा यति हो भनी सकेपछि बल्ल हाम्रो कुरा अघि बढ्यो । एकसरो कुरा तिनै भाइहरुबाट हामीले सुन्यौं । झापाका विक्रम दाहाल अलि चलाख रहेछन् । ५ मिनेटमै आफ्नो कुरा सरर राखे । दिनभरि होटलमा, राती अर्को एक घरमा कुर्ने जागिर । दुई ठाउँबाट २ हजार ६ सय रिंगेट अर्थात् नेपाली ७८ हजार रुपैयाँ कमाई हुँदो रहेछ । उनको कुरा सुन्दा उनले अरु केही पनि गर्छन् भन्ने लागेको थियो । तर धेरै कुरा गर्दा कोठामै छोडिएका साथीहरुलाई कहाँ गए भन्ने पर्ला भनेर राती अबेरसम्म कुरा गर्ने गरी हामी कोठामा फक्र्यौं ।
    कोठामा गई सकेपछि म्याडमहरुलाई त्यही छोडेर हामी चारैजना खानाको बन्दोबस्त गर्न गयौं । खासमा हल्का फुल्का सफ्ट वा हार्ड ड्रिंक इच्छा अनुसार गर्ने सुर हाम्रो थियो । खोज्दै जाँदा स्वाद मिल्ने एउटा अफगानीले चलाएको होटल फेला प¥यो । अफगानी कवाफ र सिंगो माछो निकालेर उसले बनायो । सिंगापुरको महँगीबाट आएकाले हुन सक्छ, हामीलाई त्यहाँ सस्तो लाग्यो । तिलकजी कुरा गर्न अलि फुर्तीफार्ती नै हुनुहुन्छ । उहाँले दाइ–भाइको नाता लगाएर उसलाई फुर्काउनु भयो । त्यसपछि त के चाहियो उसले तीन थान रोटी सित्तैमा दियो । १०।१५ रिंगेट पनि छुट ग¥यो । १ सय ५० मलेसियन रिंगेट हामीले ति¥यौं । ५ जनाको खुराक बियर, जुस, कवाफ, माछा आदि समेत । १ सय ५० भन्नुको अर्थ नेपाली रुपैयाँ ४ हजार ५ सय रुपैयाँ । बियरमा बरफ राखेर खानु पर्ने अवस्था आयो त्यहाँ । किनकि सायद अल्कोहलको मात्रा बढी भएर होला । होटलवालाले बरफ ल्याएपछि हामीले पनि स्थानीय स्वाद भनेर खायौं ।
    कोठामा फर्केपछि राती विक्रम भाइसँग गफ गर्ने प्रतिबद्धता थियो । तर थकाई लागेछ क्यारे सुतियो । उनीसँग अर्को दिन साँझ मात्र कुरा भयो । मलेसियामा गई सकेपछि नेपाली म्यानपावरवालाले भने अनुसारको सुविधा नपाएपछि पासपोर्ट च्यातेर लुकी लुकी काम गर्छन् भन्ने मैले सुनेको थिएँ । उनीसँग के रहेछ भनेर जान्न खोजेको त उनी स्वयंले नै त्यसरी भागेकाहरुलाई जागीर लगाउँदा रहेछन् । दुई अढाई सय त्यस्ता भगौडाहरुलाई जागीरको बन्दोवस्त गरे वापत प्रति व्यक्ति प्रति महिना ५० रिंगेट आम्दानी पनि हुने रहेछ । यसरी उनको कमाई त प्रति महिना ४ हजार अर्थात् नेपाली रुपैयाँ एक लाख बीस हजार हुने रहेछ । मलाई लाग्छ उनले यो भन्दा अरु धेरै कमाई पनि सायद गर्छन् ।
    नेपालीले अझै बढी कमाउन सक्छन् ः
    नेपालीलाई अहिले कम्तीमा ९ सय रिंगेट दिनुपर्ने व्यवस्था रहेछ । ५।६ सयमा काम गर्नेले न्यूनतम यो रकम पाउनु आफैमा नराम्रो हैन । तर धेरै रकम कमिशनमै जाने रहेछ । सप्लायर्स कम्पनीहरुले मोटो रकम कमिशन बापत लिने भएकोले ५।७ सय रिंगेट प्रति महिना घाटा पर्ने रहेछ । नेपाल सरकारले मलेसियन सरकारसँग वार्ता गरी सिधा  जाने व्यवस्था मात्र मिलाउने हो भने १६।१७ सयदेखि २ हजार २५ सयसम्म कमाउने वातावरण बन्ने रहेछ । ३ हजार ८ सयदेखि चार हजारसम्म हाम्रो नाममा तलव आउँछ तर हामीले पाउने १२, १४ सय मात्र हो भन्दा त म छक्क परें ।
    सेक्युरिटीमा काम गर्नका लागि नेपालीलाई प्राथमिकता नै रहेछ । मले बाहेक विदेशीहरुमध्येबाट नेपालीले मात्र यो काम पाउने रहेछन् । खासगरी दोस्रो विश्वयुद्धमा मलायाको लडाईंमा नेपालीले गरेको योगदानका कारण अहिले पनि प्राथमिकतामा पर्दो रहेछन् नेपालीहरु । विक्रम भाइका अनुसार सामान्य लेखपढ गर्न जान्ने अदक्ष सुरक्षाकर्मीले पनि १४ सय पाउँछन् । भिआईपीलाई सुरक्षा दिने भूपू आर्मी वा पुलिसले २ हजारदेखि २५ सय सम्म र भीभीआईपीको सुरक्षामा खटिनेले ५ हजार रिंगेटसम्म पाउँछन् । यो रकमलाई मोटो नै मान्नुपर्छ तर कमिशनका कारण आधा भन्दा कम पाउँछन् ।
    मलेसिया नेपालीको उत्कृष्ट रोजाइमा पर्ने भएकोले पनि सरकारले विशेष ध्यान दिनु जरुरी देखिन्छ । हुन त राजदूतहरुले गर्ने काम यस्तै नै हो तर उनीहरुले कति गर्छन्, कति गर्दैनन् भन्ने कुरा बेलाबखतमा मिडियामा आउने समाचारले नै स्पष्ट गर्छ । नेपाल फर्केर तिहार पछिको एउटा अखबारमा लेखिएको थियो– ४१ प्रतिशत नेपालीको रोजाई मलेसिया हुने रहेछ । १०९ मुलुकमध्ये ४१ प्रतिशतले मलेसिया रोज्नुको अर्थ त्यहाँ केही सहज छ भन्ने पनि हो । खासगरी उपयुक्त हावापानी, खुला समाज र कामको अवसर बढी भएकोले नेपालीको रोजाई मलेसिया हुने रहेछ । अहिले पनि ७ लाख नेपाली मलेसियामा छन् । त्यसैले उनीहरुबाट कसरी बढी भन्दा बढी रेमिट्यान्स आउन सक्छ भनेर सोंच्नुपर्ने दायित्व सरकारकै हो ।
    खुला समाजको विकृतिः

    खासगरी  मुस्लिम देशहरुमा अलि बढी नै कडा हुन्छ । त्यहाँको समाज खुल्ला नभई बन्द हुन्छ । कतार, कुवेत जस्ता मुलुकमा मदिरा पिएमा मारिनुनै पर्छ । धार्मिक ग्रन्थ कुरानले सबैलाई निर्देशित गर्छ । त्यसो त मलेसियालाई पनि कुरानले निर्देशित गर्छ तर त्यहाँको समाज खुल्ला छ । खासगरी पर्यटनको माध्यमबाट देश विकास गर्ने उद्देश्यले हुनुपर्छ त्यहाँ खुला अवस्था छ । अन्य देशका मुसलमानहरु समेत मनोरञ्जनका लागि र छुट्टी मनाउन मलेसिया आउने गर्छन् । किनकी त्यहाँ खुला रुपले मदिरा विक्री हुन्छ र खान पाइन्छ ।
    यस बाहेक मलेसिया यौनको मामलामा पनि खुला छ । हामीले विक्रम भाइलाई जिस्काउने ढंगले जागिर खोज्नुप¥यो भन्यौं । पहिले नै हाम्रो परिचय पाई सकेका उनले विश्वास गर्ने कुरा त भएन । तर आफन्तीहरुलाई पठाउनु पाए हुन्थ्यो भनेपछि उनले भरसक नपठाउने भन्दै थिए । घरप्रति असाध्यै  चिन्ता गर्नेहरु छन् भने पठाउनुस् अन्यथा नपठाउनुस् भने । यसको कारण के रहेछ भने मलेसियामा फिलिपिन्स, इण्डोनेसिया, भियतनाम र बंगलादेश जस्ता देशहरुबाट प्रशस्तै मात्रामा युवतीहरु काम गर्न आउँदा रहेछन् । उनीहरु नेपाली युवाहरुसँग खोजी खोजी यौन सम्बन्ध राख्ने र भए गरेको पैसा लुट्ने रहेछन् । लुट्नु भनेको फकाएर लिनु भन्ने अर्थमा । धेरै नेपालीले घर बिर्सने र त्यही घरजम गरेर बस्ने गर्दा रहेछन् । बालबच्चा जन्माउँदा रहेछन् । एउटै व्यक्तिले जतिसुकै संख्यामा बिहे गरेपनि कानुनी कारवाही नहुने भएकोले कमाउन्जेल उनीहरुलाई पालन पोषण गर्ने र उमेर घर्केपछि छोडेर नेपाल फर्कने पनि गर्ने रहेछन् । यसरी हेर्दा बाबुको टुंगो नलागेका प्रशस्तै बालबालिकाहरु मलेसियामा पाइने रहेछन् ।
    युवतीहरुलाई फिटिक्कै पठाउनु हुन्न भने उनले । हुन त यो कुरा गर्दा महिलालाई विभेद गरेको भन्ने अर्थ लाग्छ । पुरुषले मनपरी गर्छ भने महिलाले किन नगर्ने भनेर तर्क गर्न पनि सकिन्छ । तर विक्रम भाइले आफूले बुझेको आधारमा हामीलाई भने– यहाँ महिलाहरु आउने हो भने यौन व्यवसायतर्फ आकर्षित हुने सम्भावना बढ्छ । उनको तर्क थियो– महिनाभरी काम गर्दा एक हजार रिंगेट कमाई हुन्छ । यौन व्यवसाय गर्दा एक रातमै ३ सय कमाइन्छ । आखिरी पैसा नै कमाउन आएपछि त्यसो किन नगर्ने भन्ने कुरा स्वभाविक हुन्छ । उनले यो सम्भावना तर्फ संकेत गरे । यी सबै आधारमा मलेसिया खुला समाज हो भन्ने कुरालाई नै देखाउँछ । क्वालालम्पुरमा  खुलारुपले वेश्यावृति चल्दो रहेछ । बोर्ड टाँगेरै यस्तो धन्दा गर्नेहरु प्रायःविदेशीहरु नै हुन्छन् । होटलको नाममा नै यस्ता धन्दाहरु भए पनि त्यसलाई पुलिसले नियन्त्रण गर्दो रहेनछ । कतिपय सडकमा युवतीहरु लाइन लाएर उभिने र केही युवाहरु भेटिए र उनीहरुले इच्छा गरेभने आफ्नै कोठामा लगेर यौन धन्दा गर्दो रहेछन् ।
    सम्भावना पनि र असुरक्षा पनि ः
    मलेसियामा प्रशस्त सम्भावना छन् भन्ने कुरा माथिकै दृष्टान्तले बुझ्न सकिन्छ । खासगरी इन्डोरअन्तर्गत उद्योग, कलकारखाना, होटल आदिमा प्रशस्तै काम पाउने अवस्था छ । जबकि खाडीमा प्रायः आउटडोरको काम गर्नुपर्छ । मलेसियाको पुलिस अत्यन्तै घूसखोरी रहेछ र सुरक्षा भन्ने कुरासँग मतलब नै रहेनछ । स्थानीय मले जाति बाहेक अरुलाई आँखै अघि कसैले पिटे वा लुटे पनि केही गर्दैन भनेपछि हामीलाई पनि रातीमा बाहिर निस्कन डर लाग्यो । उनीहरुले नेपाली पुलिसको त व्यापक प्रशंसा गरें । यस अघि सिंगापुर घुमेर फर्केका हामीले त्यहाँको जनजीवन र मलेसियाको जनजीवनमा अकास जमिनको अन्तर देख्यौं । सिंगापुरमा रातभर हिंड्न डुल्न सकिने तर मलेसियामा नसकिने रहेछ । हामी बसेको होटलमा रहेका ४।५ जना भाइहरु सबैले हामीलाई राती अबेर नगर्न सल्लाह दिए । हुने  के  रहेछ भने कतिपय अवस्थामा लुटिन सकिने र त्यसपछि न्याय निसाफ नपाइने ।
    पुलिसलाई २।४ सय दिएपछि जस्तासुकै अपराध गरेपनि कारवाही नै नगर्ने रहेछ । नेपालीहरु कम्पनी छोडेर लुकेर काम गर्नु पनि यही कारण रहेछ । नियमित रुपमा एक आधा सय रुपैयाँ दिएपछि उन्मुक्ति मिल्ने रहेछ । यस मामलामा विक्रम भाइको आफ्नै अनुभव पनि थियो । किनकी उनी आफैले दुई अढाई सय नेपालीलाई भगाएर अन्यत्र जागीर लगाएका थिए । पुलिसले लखेटेपछि पैसा नै नभए एक खिल्ली चुरोट भएपनि खुवाएर मुक्ति पाइने रहेछ । त्यसैले सुरक्षाको हिसाबले चुनौतिपूर्ण छ मलेसिया । आफ्नो स्थिति नेपालीले नै बिगारेकोमा कतिपय नेपाली युवाहरु चिन्तित भेटिए । कुनैबेला नेपाली भनेपछि पुलिसले केही गर्ने आँट नै गर्दैनथ्यो तर पछिल्लो समयमा नेपालीहरुले आफ्नो शाख गुमाएका रहेछन् । मदिरा खाएर हलखरिने, उस्तै परे कुटपिट र लडभिड गर्ने, भागेर लुकी लुकी काम गर्ने जस्ता कारणले नेपालीको शाख झरेको रहेछ । भारतीय तमिलहरुबाट नेपालीहरु अलि बढी नै पीडित रहेछन् । धेरै जसो आफ्नै कारणले बिग्रेका छन् भनेर नेपाली युवाहरुले स्वीकार्छन् । जुवाबाट पनि धेरै नेपालीले पैसा बचाउन सकेका रहेनछन् । सरकारले नै लाटरी खेलाउने र त्यसमा सहभागी हुनुको कारणले दुःख गरी कमाएको पैसा हावामा उड्दो रहेछ । त्यसैले त्यहाँ जाने नेपालीलाई नैतिक शिक्षाको खाँचो छ ।
    जान नसकेको नेपाली गाउँः
    क्वालालम्पुरबाट ३।४ घण्टादेखि ५।६ घण्टासम्मको बस यात्राबाट पुगिने पेनानको रावाड्ड,  जोर, सिगैबेतानी जस्ता ठाउँमा नेपाली बस्ती रहेछ । रावाड्डमा गोर्खा काम्पोड्ड (गाउँ) भनेपछि जान सकिने रहेछ । मलाई नेपालबाट हिंडेदेखि नै सो ठाउँमा जाने इच्छा थियो । तर समय व्यवस्थापन गर्न सकिएन । नेपाली ट्राभल्स कम्पनीले केही घण्टाको यात्रा सो ठाउँमा समेत गराउने गरी प्याकेज मिलाउने हो भने राम्रो हुने थियो ।
    नेपालीहरुको आफ्नो संस्कृति, सभ्यता र रीतिरिवाज लोप नहोस् भन्ने उद्देश्यले मलेसियन सरकारले नै नेपाली मुलका नागरिकलाई अलग र एकै ठाउँमा राखेको रहेछ । पछिल्लो पटक जंगल फाँडेर व्यवस्थित ढंगले सहर नै बसालेर नेपालीलाई राख्ने काम भइरहेको कुरा विक्रम भाइले नै सुनाए । सरकारले आफै घर बनाएर व्यक्ति व्यक्तिलाई किस्ताबन्दीमा रकम तिर्ने गरी राख्ने योजना बनाएको रहेछ । सन् २०२० सम्म गरिबीलाई समाप्त गर्ने मलेसियन सरकारको उद्देश्य अनुसार व्यवस्थित बसोबास स्थल बनाइँदै रहेछ । यसोगर्दा जमिनको पैसा तिर्नुपर्ने रहेनछ । अर्थात् जग्गा सरकारकै स्वामित्वमा रहने र घर व्यक्तिको हुने रहेछ । यसो गर्दा केही कसैगरी भोलिका दिनमा सरकारले जग्गा प्राप्ति गर्नुप¥यो भने घर अर्को ठाउँमा बनाइदिने गरी जग्गा लिन सक्ने रहेछ । यो कुरा नीतिगत हिसाबले ठीकै लाग्यो । यसको अर्थ भने हामी काठमाडौं उत्रेर बुटवल आउँदा मात्र पायौं हामीले ।
    काठमाडौंबाट रिजर्व गरेको गाडीको ड्राइभर पहिले मलेसिया बसेर होटल चलाएका रहेछन् । प्रति महिना २।३ लाख सजिलै गरी कमाउने पनि रहेछन् । तर कमाई राम्रो  हुन थालेपछि नेपालीले नै अप्ठेरोमा पारेर फर्केका रहेछन् । गाडी मालिकसमेत आफै रहेका उनी म्याग्दीका हुन् । सडकमा हिंड्दै गर्दा मलेसियाका चौडा सडकको कुरा भयो । नेपालमा यस्तो अवस्था कहिले आउला भनेर हामीले कल्पनामात्र गरेका थियौं तर उनले त्यसलाई ठाडै अस्वीकार गरे । उनको तर्क थियो सडक किनारको सबै जग्गा व्यक्तिको छ । व्यक्तिलाई क्षतिपूर्ति दिएर यो सरकारले सडक बनाउन सक्दैन । व्यक्तिको सम्पत्ति हडप्ने अधिकार पनि सरकारलाई हुन्न । उनले थपे– मलेसियामा त जग्गा सरकारको हो । सरकारको भएपछि उसले जे गर्न पनि पाउँछ । वास्तवमा यो कुरामा दम थियो । उनको तर्क सुनेर हामीलाई चित्त बुझ्यो ।
    जहाँसम्म नेपाली गाउँको कुरा हो । उनीहरु मलायामा लड्दालड्दै कोही जंगलमा छोडिएर, कोही घाइते भई हिंड्न नसकेर त्यही बसेका हुन् भन्ने कुरा मैले मेरै बुवाबाट पनि सुनेको थिएँ । किंवदन्ती जस्तै लाग्ने त्यो कुरा सत्य रहेछ । उनीहरु छोडिए पछि त्यही बसे र कालान्तरमा मलेसियाका नागरिक बने । मैले सुने अनुसार उनीहरुलाई नेपालप्रति, नेपालीप्रति अगाध माया छ, विश्वास छ । भाषा संस्कृतिको संरक्षण गर्नुपर्छ भन्ने पनि छ । तर २।३ पुस्ता भई सकेकाले बोल्न सक्छन् र लेख्न सक्दैनन् । वास्तवमा त्यतिबेला लडाइँमा जानेहरु पनि अशिक्षित नै हुन्थे । त्यसैले भाषा हस्तान्तरण भयो लिपि हस्तान्तरण भएन । भाषा भुलिन्छ कि भन्ने डरले उनीहरु नेपालमा आएर विवाह गरी लैजाने गर्छन् भन्ने पनि सुनियो । त्यो सुन्दर नेपाली बस्ती र उनीहरुको रहन सहन, उनीहरुका भावना र पीडा अनुभूति गर्न नपाएकोमा मलाई भ्रमण नै अपुरो भए जस्तो लागेको छ । सम्भव छ कुनैबेला मौका प¥यो भने म सिंधै त्यो ठाउँमा पुग्नेछु । मैले सुने अनुसार त्यही नेपाली बस्तीका कतिपयले सेक्युरिटी कम्पनी  खोलेका छन् र उनीहरु नेपालीलाई नै लैजाने गर्दछन् । मलेसियाले नेपाली गाउँ मात्र हैन लिटिल इण्डिया, मजिद इण्डिया भनेर पूरै भारतीयको बसोबास  क्षेत्र पनि बनाएको छ । चाइना टाउन बजार गर्नेकालागि सुप्रसिद्ध स्थलनै रहेछ । 

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Travel