• Breaking News

    पत्रकारितामा उपहार तथा बधाई संस्कृति



    डी=आर= घिमिरे
    नेपाली पत्रकारितामा पत्रकारहरुलाई उपहार तथा बधाई दिने प्रवृतिले संस्कृतिको रुप लिदंै गएको छ । संस्कृति भनेको एउटा परम्परा हो । यसको कुनै कानुनी हैसियत र मान्यता हुँदैन । गर्नैपर्ने बाध्यता पनि हुँदैन । तर व्यवहारमा त्यसले एक प्रकारको अनिवार्य रुप लिएको हुन्छ । यस्ता कुरा हरेक क्षेत्रमा हुन्छन् । जब कुनै चीजले संस्कृतिको रुप धारणा गर्छ,त्यसपछि त्यसलाई कुनै नियम कानुनले पनि प्रभाव पार्न छोड्छ । मूल्य मान्यतामा आधारित संस्कृति स्वभाविक हुन्छ भने केबल परम्परा अथवा उसले गरेको कारणले मैले पनि गर्नुपर्छ भन्ने चिन्तनबाट विकसित संस्कार वा घुमाउरो पारामा चाकडीको रुपमा बसालिने अथवा बस्ने संस्कार अस्वभाविक हुन्छ । समकालीन नेपाली पत्रकारितामा पनि यसले यस्तै विकृत रुप ल्याएको छ ।

    रुपन्देही जिल्ला र समग्रमा नेपाल अधिराज्य भर नै कतिपय गैर सरकारी संस्था वा कम्पनी, उद्योग र व्यवसायीले पत्रकारहरुलाई आफ्नो समाचार राम्रो ढंगले मिडियामा आओस् भन्नका लागि स्थलगत भ्रमण गराई उपहार दिने चलन छ । कुनै पत्रकारले सामान्य पुरस्कार पायो वा कुनै पद धारण ग¥यो भने त्यसलाई बधाई दिने चलन पनि छ । आफ्नो नजिकको मित्र जो कोहीले पनि कुनै काममा सफलता पायो भने त्यसलाई बधाई दिनु अस्वभाविक नहोला । संबद्ध संस्थाले आफ्नो सदस्यलाई सफलता मिल्दा बधाई दिन पनि सक्छ तर यहाँ त साइनो नै नभएकाहरुले वर्षभरि बधाई छापेर लज्जास्पद काम गरेको अवस्था छ । कहिलेकाहीं त पुरस्कृत गर्ने संस्थालाई पनि लाज लाग्दो हो कि मैले सामान्य रुपमा गरेको सम्मान उसकालागि कति ठूलो भएछ भनेर ।

    केही यस्ता संस्थाहरु छन् जसका सामान्य भन्दा सामान्य समाचार पनि अखबारका प्रथम पृष्ठमा छापिन्छन् । भ“गेरे अक्षरमा छापिने ती समाचारले समाजलाई कति प्रभाव पार्छ, त्यो फरक कुरा भयो । तर उसका निरस, निस्प्रभावी र पढ्न पनि अल्छी लाग्ने विषयले स्थान पाइरहेको हुन्छ । आखिरी यस्तो किन हुन्छ त ? यसमा मुलतः दुईवटा पक्षले काम गरेको हुन्छ । प्रथम विशेष प्रकारको भोज गरेर गरिने पत्रकार सम्मेलन र दोस्रो स्थलगत भ्रमण गराई बिदा हुने समयमा लिफा दिने प्रवृति । लिफा बुझ्नेअवस्थामा एउटा पत्रकारले त्यो समाचारको उपादेयता, उपयोगिता, वजन र सिंगो समाजलाई पार्ने प्रभावका सम्बन्धमा कुनै वास्ता गर्दैन । किनकि उसले एकजनालाई खुसी गराउनु पर्ने भएकोले ऊ कसरी खुसी होला भन्ने आशयका साथ मात्र समाचार लेख्छ र सम्प्रेषण गर्छ । त्यसो त एकजना कुशल सम्पादकले यो प्रायोजित समाचार हो हैन भन्ने कुरा सहजै छुट्टाउने हैसियत राख्छ तर सम्वाददातालाई असन्तुष्टि बनाउन ऊ चाहँदैन । सम्पादकले विभिन्न कारणले संवाददातालाई असन्तुष्ट पार्दैन । प्रथम उसले संवाददातालाई न्यूनतम पारिश्रमिक पनि भुक्तानी दिएको हुँदैन । दोस्रो कसैगरी उपलब्ध गराएको रहेछ भने पनि समयमै भुक्तानी दिएको हुदैन । तेस्रो बजारमा जनशक्तिको अभाव छ । राम्रो जनशक्तिले नै त्यस्तो गरेको रहेछ भने उसलाई निकाल्दा अर्काे त्यस्तै जनशक्ति नपाइने खतरा हुन्छ । त्यस अर्थमा प्रकाशक, सम्पादक पनि निरिह भएको पाइन्छ ।

    एउटा सानो उदाहरण अर्घाखाँची नरपानीको चुनढुंगा उत्खनन् प्रकरणलाई लिऊँ । त्यस स्थानको उत्खननले स्थानीय जनतामा व्यापक कुप्रभाव पा¥यो । पानीका मूल सुके । धू“वा धूलोेले बच्चा, महिला, पुरुष सबैको स्वास्थ्यमा नराम्रो प्रभाव प¥यो । खासगरी सुत्केरी हुने महिलामा झन बढी प्रभाव प¥यो । स्थानीय मिडियाले व्यापक खोजी गरी अनुसन्धानमूलक समाचार प्रकाशन गरे । स्थानीय जनता र  लुम्बिनी अञ्चलका मिडियाले व्यापक कुरा उठाएपछि उद्योगीहरुलाई असर परेको पनि होला । उद्योगीले भनेको कुरालाई जब स्थानीय मिडियाले प्राथमिकता दिएन, त्यसपछि राजधानीबाट ब्रोडसिट अखबारका सिनियर रिपोर्टरहरु जहाज चढेर भैरहवा आए । एक दिन भैरहवाकै राम्रा र स्तरीय होटलमा बसेपछि अर्काे दिन नरपानी गए । पत्रकार भनेपछि जनताका कुरा सुन्न आएका होलान् भनेर मख्ख परेका स्थानीय जनता त्यतिबेला आश्चर्यमा परे, जति बेला पत्रकारहरुले प्रतिक्रिया लिँदा पनि उद्योगीको पक्षमा पार्ने गरी लिए । यो कुराको संकेत पाए पछि उनीहरुले आफूलाई कडा रुपमा प्रस्तुत गरेर बडो कठिनपूर्वक पत्रकारहरु त्यहाँबाट फुत्के । काठमाडौंबाट हवाइ टिकट काटेर अर्घाखाँचीसम्म पु¥याउनु भित्र केही न केही लाभको अर्थ छ भनेर विश्वास गरियो । संयोग उनीहरु काठमाडौं फर्केपछि उद्योगीकै पक्षमा समाचार आए । यस्ता अनगिन्ती उदाहरण हाम्रा सामु छन् ।

    आज भोलि बुटवलमा प्रायः हरेकजसो संस्थाले वार्षिकोत्सव, साधारणसभा यस्तै कार्यक्रममा पत्रकारहरुलाई सम्मान गर्ने प्रचलन पनि छ । पत्रकारको काम नै समाचार लेख्ने हो भने समाचार लेखे वापत सम्मान गर्नु जरुरी छैन । यदि यसरी नै सम्मान गर्ने हो भने प्रहरी, निजामति कर्मचारी, संस्थान कर्मचारी, दलका प्रतिनिधि सबैलाई सम्मान गरे हुने हो । ५ हजारको चेकसहित एउटा पत्रकारलाई सम्मान गर्दा सम्मान गर्नेले धेरै कुरा प्राप्त गर्छ । जस्तो कि उसका विरुद्धमा समाचार आउँदैनन् । समाचार आउ“दैछ भन्ने कुरा पहिले नै थाहा पाउँछ र आवश्यक उपचार गर्न सक्छ । उसका साना साना कुराले पनि मिडियामा पर्याप्त स्थान पाउँछन् । अथवा विज्ञापन गर्ने आवश्यकता उसलाई  हुँदैन । विज्ञापन गर्दा दशौं हजार रुपैयाँको लगानी हुन्थ्यो । एउटामा दिया,े अर्काेले दुःख दिने अवस्था आउँथ्यो । विज्ञापन सबैमा दिन सक्दैनथ्यो तर समाचार आउँदा ऊ खुसी हुन्छ । त्यस मानेमा उसले मिडियाको अत्यधिक दोहन गर्न सक्छ । वर्षको ५।१० हजारको पुरस्कार र सय रुपैयाँका खादा ८।१० जनालाई ओढाए पनि नोक्सानी हुँदैन । एउटा श्रमजीवी पत्रकारलाई पनि कार्यालयले पैसा नदिएर वा थोरै पैसामा काम गराएको झोंकमा यस्तै गरेर चित्त बुझाउँछ । यसो गरेर उसले चित्त मात्र बुझाउँदैन भोलिका लागि बधाई खाने बाटो समेत खन्छ । त्यसैले सम्मान, बधाई वा उपहार संस्कृति मौलाउँदै गएको छ र यसले सिंगो पत्रकारितालाई बदनाम गरिरहेको छ ।

    यहाँनिर व्यवस्थापन पक्षले नबुझेको कुरा के हो भने उसका लागि के समाचार हुन् र के हैनन् भन्ने बारेमा आफ्ना रिपोर्टरहरुलाई बुझाउन सकेको छैन । विज्ञापनले समाचारको रुप लिँदा पनि व्यवस्थापनले थाहा पाउँदैन । अथवा थाहा पाए पनि उसले स्पष्ट निर्देशन गर्न सक्दैन । यसबाट मिडिया हाउस र पत्रकार दुबै मर्कामा परेको अवस्था छ । मिडिया हाउसको विज्ञापन कमजोर भएको छ भने पत्रकार आफ्नो हाउसप्रति भन्दा अरु कसैप्रति उत्तरदायी बन्नु परेको छ ।

    पत्रकारले यो वा त्यो सुविधा राज्यबाट प्राप्त गर्न सकेको भए त्यो राम्रो हुने थियो । जस्तो कि छिमेकी मुलुक भारतमा खासगरी उत्तर प्रदेशमा सवारी साधनदेखि घर किन्दासम्म विशेष सुविधा छ । कैयौं ठाउँमा पत्रकार कलोनीहरु छन् । तर त्यहाँ पनि उपहार संस्कृतिको भद्धा रुप भने पर्याप्त छ । उत्तर प्रदेशमा मुख्यमन्त्री मुलायम सिंहले दुई वर्षको विवेकाधीन कोषबाट ४० करोड ३४ लाख रुपैयाँ बाँडेका थिए । ३० लाख भन्दा बढी खर्च गर्न नपाउने कानुनी व्यवस्थालाई धज्जी उडाउ“दै   उनले यति ठूलो रकम खर्च गरेका थिए । भनिन्छ त्यसबाट पत्रकारहरुलाई विद्यालय खोल्न, विदेश यात्रा गर्न, अखबार चलाउन, उपचार गर्न, विभिन्न प्रेस क्लब सञ्चालन गर्न, मिडिया सेन्टर बनाउन, घर बनाउन आदि आदि कामका लागि ४० करोड बाँडिएको थियो । यसरी पत्रकारहरुलाई आफ्नो काबुमा पार्न राज्य शक्तिको चरम दुरुपयोग गरेको पाइन्छ । सायद यही संस्कृति हामी कहाँ प्रवेश गरेको हो कि ? यसको अर्थ सबै पत्रकारले यस्तै सुविधा पाउँछन् भन्ने हैन । तर थोरैका कारण सबैको बदनाम भने भइरहेको छ ।

    २०७० सालको कुनै एक महिनाको कुरा हो, बुटवलमा श्रेष्ठ टेलरिङ्गले एक महिने विशेष अफर सञ्चालन ग¥यो । व्यवसायमा यसलाई सामान्य नै मान्नु पर्छ । तर कुरा के भयो भने यो अफरको विज्ञापन उसले पत्रपत्रिकामा गरेन । किनकि एउटा पत्रकार सम्मेलन भयो । त्यहाँ जानेलाई डेढ दुई सय रुपैयाँ लिफामा दियो र सबै अखबार तथा रेडियोहरुले उसको समाचार सम्प्रेषण गरे । स्थानीय एक टेलिभिजनले त उसको अन्तर्वार्ता नै लियो । उसको आवश्यकता कति थियो त्यो आफ्नो ठाउँमा छ । यसरी पूरै विज्ञापनको पैसा बचत भयो । यसबाट सायद मिडिया हाउसलाई घाटा भयो । पत्रकार आचारसंहिताले पनि विज्ञापनजन्य सामग्रीलाई समाचार नबनाउनु भन्छ । यहाँ बनाउनु भने जस्तो भयो । कुनै विद्यालयले वार्षिकोत्सव गर्दा पत्रकार सम्मेलन गर्छ । कुनै संघ संस्थाले सामान्य कार्यक्रम गर्नुपूर्व पत्रकार सम्मेलन गर्छ र आज यस्तो कार्यक्रम छ भनेर समाचार लेख्न लगाउँछ । यहाँसम्म कि समाचारको अन्त्यमा सरोकारवाला सबैलाई उपस्थितिका लागि अनुरोध गरेको छ भनेर समेत लेख्न लगाउँछ र लेख्छन् पनि । यसको मुख्य कारण सम्मान र बधाई संस्कृति हो भनेर भन्दा फरक पर्दैन ।

    कतिपय पत्रकारहरु आफैलाई बधाई दिन अनुरोध गर्दै विज्ञापन असुल्छन् । बधाई दिनेको चाहना के छ भन्ने कुराको पत्तो नपाइकन यसरी बधाइका लागि दबाब दिनु र त्यसलाई स्वीकार गर्नु बाध्यता जस्तै भएको छ । स्थिति कस्तोसम्म आइसकेको छ भने जब बधाई दिने उपयुक्त समय आउँछ त्यतिबेला सम्भावित विज्ञापनदाताले फोन नै उठाउँदैनन् । संस्थाहरु र कर्पाेरेट हाउसहरुलाई पनि एउटा बाध्यता के छ भने उनीहरुका सबै समाचार आउनु पर्छ । त्यसरी आउनका लागि पत्रकारहरुलाई रिझाउनुपर्छ । रिझाउने एउटा तरिका बधाई, सम्मान र पुरस्कार हो । प्रारम्भमा पुरस्कारहरु नभएको अवस्थामा आवश्यकताले पत्रकारितामा उत्साह जगाउन, प्रोत्साहन गर्न, कतिपय विषयको उठान गर्नकै लागि पनि पुरस्कार स्थापना भए र गरियो । तर पछि तिनमा विकृति देखा परे । पुरस्कृत गर्ने संस्थाले खोजेको मुद्दा उठाए कि उठाएनन् भन्नेतर्फ विचारै नगरी केवल संस्थाको प्रोफाइल छापेका भरमा, संस्थाका प्रमुखको अन्तरर्वार्ता छापेको भरमा वा समाचारमा तत् तत् संस्था र व्यक्तिको कोड गरेको भारमा मूल्याङ्कन गर्ने परिपाटी बस्यो ।

    निश्चय नै कुनै बेला राजनीतिक समाचारले पाना भर्ने अवस्थामा अर्थ समाचार आउन् भन्नका लागि आर्थिक क्षेत्रमा कलम चलाउनेलाई पुरस्कृत गर्नु पर्ने अवस्था थियो । प्रारम्भमा अर्थ जगतका मुद्दाहरु उठाउनु नै ठूलो कुरा भयो । शुरु शुरुमा मुद्दाका आधारमा पुरस्कार पनि दिइयो । तर समय क्रममा यस्ता विषयका पुरस्कार यति धेरै भए कि जसको मूल्याङ्कन हुने स्थिति रहेन । मन लागेको व्यक्तिलाई पुरस्कार दिनु प¥यो भने दुई चार महिना अघिदेखि समाचार लेख्न लगाउने र पुरस्कृत गर्ने संस्कृति बस्दैछ । यो विडम्बना नै हो । यदि यस कुरालाई सच्चाउने हो भने खुद्रा पुरस्कार हैन सबैलाई एउटै डालोमा राखेर पुरस्कृत गर्ने प्रबन्ध गर्नुपर्छ । यसका लागि एउटा छुटै स्वतन्त्र निकाय बनाएर त्यसलाई सञ्चालन गर्ने विधान, निर्देशिका पनि सायद बनाउन सकिन्छ । मिडिया हाउसले विज्ञापनलाई समाचारको रुपमा नछाप्ने प्रतिबद्धता जनाउनु पर्छ । एउटा कार्यक्रममा एउटा संस्थाको एकजना मात्र रिपोर्टर जाने प्रबन्ध मिलाउनु पर्छ र कसैको प्रोफाइललाई पुरस्कारको आाधार नबनाई स्थानीय र राष्ट्रिय महत्व राख्ने नयाँ विषय के उठायो र त्यसले के प्रभाव पा¥यो भन्ने आधारमा मूल्याङ्कनको परिपाटी बसाल्नु पर्छ ।

    यहाँनिर अर्काे विडम्बना पनि छ । त्यो हो दलीय भागबण्डा । पत्रकारिता जस्तो गहन विषयमा पुरस्कृत गर्दा वा सम्मान गर्दा हरेक दललाई एक एकजना भाग लगाउने कुरा पनि आफैमा उदेकलाग्दो छ । पछिल्लोपटक पत्रकार महासंघले घोषणा गर्ने प्रेस स्वतन्त्रता सेनानी वा सञ्चार मन्त्रालयले दिने पुरस्कार वा प्रेस काउन्सिलले दिने पुरस्कार प्रायः सबैमा भागबण्डा गर्ने परम्परा छ र यसले त्यस्तै संस्कृतिको रुप लिँदै छ ।

    विकल्प के त ?

    उपर्युक्त यावत विकृतिको समाधान कसरी गर्न सकिएला ? यसका लागि विभिन्न क्षेत्रमा पत्रकार, मिडिया सञ्चालक, उद्योगी, व्यापारी, समाजका लब्ध प्रतिष्ठित व्यक्ति सबै एकै ठाउँमा बसेर कार्यशाला गोष्ठी गरी समकालीन परिस्थितिमा के गर्ने र के नगर्ने भनेर मात्र निष्कर्षमा पुग्न सकिन्छ । आचार संहितामा धेरै कुरा छन् । कतिपय मूर्त र अमूर्त पनि छन् । अमूर्तलाई मूर्त बनाउने र आवश्यकता अनुसार थपघट गर्नेगरी प्रेस काउन्सिल नेपालले नै यो अभियान चलाउदा राम्रो हुन्छ । तर पनि सुझावको रुपमा निम्न कुरालाई हेक्का राख्नु सामयिक हुन्छ भन्ने यो पंक्तिकारलाई लागेको छ ।

    १. आचार संहिताले उपहार लिन निषेध गरेको छ । तर व्यवहारमा लागू भएको  छैन । त्यसैले यसको कार्यान्वयन कसरी हुन सक्छ भनेर बहस चलाउनु पर्छ । अब कुरा गर्दा उपहारको मात्र कुरा भएन पुरस्कार, मान सम्मान वा बधाई जस्ता कुरामा पनि स्पष्ट धारणा बनाउनु पर्छ । यदि यो विषयलाई आम रुपमा लागू गर्न सम्भव छैन भने हरेक मिडिया हाउसले यसलाई नियमन गर्नु पर्छ ।

    २. संघ संस्था, कर्पाेरेट हाउस वा ठूलासाना औद्योगिक धरानाले प्रेस सल्लाहकारको व्यवस्था गर्ने र कुनै विषयमा सार्वजनिक धारणा बनाउनु परे सो मार्फत विज्ञप्ति निकाल्ने ।

    ३. पत्रकार सम्मेलन गर्ने विषय हो कि हैन भन्ने बारेमा पत्रकार नै सचेत हुनुपर्छ । प्रायः पत्रकारहरुसँगकै सल्लाहमा पत्रकार सम्मेलनको आयोजना हुने भएकोले पत्रकारले ठीक ठीक सल्लाह दिनु पर्छ । सामान्य सूचनामूलक कुरालाई प्रेस विज्ञप्तिको माध्यमबाट सञ्चार माध्यममा पु¥याउने ।

    ४. एउटा कार्यक्रममा एउटै संस्थाका दुई वा दुई भन्दा बढी पत्रकार सहभागी नहुने व्यवस्था मिडिया हाउसले नै गर्ने ।

    ५. प्रायोजित समाचार नदिने । दिनै परे प्राप्त समाचारलाई सामान्य स्रोतको रुपमा प्रयोग गर्दै त्यस्तो समाचारलाई पूर्ण बनाएर मात्र दिने ।

    ६. पत्रकारहरुसँग डराउनु पर्छ भन्ने मानसिकताको अन्त्य गर्ने । पत्रकारले नै दबाब र प्रभावमा पार्न खोजेमा त्यसलाई सार्वजनिक गर्ने हिम्मत गर्नका लागि आवश्यक वातावरण बनाउने ।

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Travel