• Breaking News

    बुटवलको मृत्यु हावा जसरी फैलियो, लकडाउनमा चरम लापरवाही


    डी.आर. घिमिरे

    आज करिव ४ किलोमिटर यात्रा भयो । विहान ५.३० वजे विनोद पहाडीसहित हिड्दै जितगढीसम्मको यात्रा गर्यौं । ठिकै जस्तो लागेको थियो । घर आएर नित्य कर्म गरिसकेपछि ल्यवटपमा यसो समाचार हेर्दै थिएं । आरम्भ रिसोर्टका अध्यक्ष बाबुराम महतको फेन आयो । अकनवहादुर थापाका वुवाको देहवसान भएको पाँच दिन भइसकेछ । समवेदना दिनका लागि गयौं ।
    फर्केर आउँदा मकै किनेर ल्याएँ । त्योपनि अकनजीको घरमा मकै लगेको देखेपछि थाहा लाग्यो नयागाउँमा एकजनाले मकै वेच्छन् । म उनको घरमै गएर मकैका घोंगा किनेर ल्याउँ । यस्तो वेलामा पनि प्रति घोंगा २० रुपैयाामा ।
    घर आउँदा १०.४० वजेको थियो । खाना खाएपछि निद्रा लाग्यो । उठ्दा २ वजेछ । एक गिलास पानी र एउटा सुन्तला खाएँ । यसैवीच बुटवलमा एकजनाको मृत्यु भएको खवर सामाजिक सञ्जालहरुमा फेला पारें । घटना यस्तो रहेछ ।
    बुटवलमा एकको मृत्यु र आशंका ः
    बुटवलको धागो कारखानामा रहेको क्वारेन्टाइनमा राखिएका एकजना ३४ वर्षिय विरामी बाबुराम थापाको आज मृत्यु भयो । सैनामैना वडा नं. ४ सिसौ डाँडामा डेरा गरि वस्ने  उनी दुवइवाट आएका रहेछन् । पाल्पा निवासी उनको श्रीमति सोही ठाउँमा पाउरोटी उद्योगमा काम गर्दै दुइ वच्चाहरुलाई पढाउने गर्दथिन् । यसवारेमा मेरा मित्र तेजेन्दै केसीले सैनामैनाका मेयर चित्रवहादुर केसीलाई फोन गर्नुभएको रहेछ । मेयर केसीका अनुसार विरामी पाल्पा रिब्दीकोटका रहेछन् ।
    सैनामैनाका राजनीतिकर्मी खुशीराम चौधरीका अनुसार ८ चैतमा दुवइवाट आएका उनलाई ज्वरो रुघा खोकी आएपछि स्थानीय मेडिकलहरुवाट टाइफाइडको आशंका गरिएको थियो । छिमेकीहरुले कवारेन्टाइनमा वस्न अनुरोध गर्दा मलाई केही भएको छैन भनेर उनले त हेलचेक्राई गरेने । घरवेटीले समेत केही भएको छैन भन्दै क्वारेन्टाइनमा वसाल्न खोज्नेलाई गाली गरे । मुर्गियामा ज्वरने नाप्दा सामान्य देखाएकोले पनि उनीहरुलाई केही हैन र छैन भन्नका लागि आधार वन्यो । उनलाई १३ गतेमात्र अस्पताल पुर्याइएको रहेछ । संयोगको कुरा आजै विहान मात्र छिमेकीलाई फोन गरेर विरामीले आफुलाई ठिक हुँदै गएकोले डिष्चार्ज हुनसक्ने वताएका थिए ।
    यद्यपि मानिसको मृत्युपश्चात् धेरै कुरा त्यसै पनि उठ्ने गर्नु हाम्रो समाजको नियति हो । यी सवै हुँदा हुँदै पनि क्वारेन्टाइनमा वस्नुलाई हेय दृष्टिले हेर्छन् कि भन्ने मनोभावना कतै न कतै पाइन्छ । जवकि हुनुपर्ने यसको उल्टो हो । जो क्वारेन्टाइनमा वस्न खोज्छ उ जिम्मेवार नागरिक हो ।
    मृत्यु नहुनु थियो भयो । यसलाई दुःखद घटना मान्नुपर्छ । यसको कारण भोलि साँझ वा पर्सी विहानसम्म आइपुग्ने कुरा मलाई लुम्विनी प्रादेशिक अस्पतालका अध्यक्ष सूर्य भट्टराइले वताउनु भएको छ । आशा गरौं कोरोनाको संक्रमण नदेखियोस् । देखियो भने नेपालमा अहिलेसम्म जे नियति देखिएको छ त्यसमै पुनरावलोकन भएको मान्नुपर्ने छ । अर्थात् वाहिरी मुलुकवाट आएकै नागरिकमा संक्रमित देखिएको मान्नुपर्नेछ ।
    विडम्वना के छ भने निजको मृत्यु पश्चात् लाश अस्पतालमा छ । लास कुर्नका लागि श्रीमतिवाहेक कोही छैन । घरपरिवारवाटै अन्य सदस्य आउन सकेका छैनन् । अस्पतालले घरपरिवार, निजको वसोवासस्थल सैनामैना नगर र वुटवल उपमहानगरपालिकालाई खवर भएपनि कोही जान नसकेको विवरण रुपन्देही पत्रकार महासंघका अध्यक्ष यानेन्द्र जीसीले राख्नु भएको छ ।
    यो घटना पश्चात् मेरो दिमागमा उठेको कुरा के हो भने मृतकलाई ज्वरो आएपछि राम्रोगरि उपचार भएन कि ? अथवा यहाँ निको हुने सम्भावना थिएन भने अन्यत्र रिफर गर्नुपर्ने थियो कि ? अथवा रिफर गर्नुपर्ने अवस्थानै थिएन कि ? 
    यी कुरा गरिरहँदा मलाई के कुराको हेक्का छ हामीले जवसम्म डाक्टरलाई सुरक्षित हुने मार्ग प्रसस्त गर्न सक्दैनौं तवसम्म यो समस्या जहाँको तँही रहन्छ । त्यसैले पीपीइको ब्यवस्था यथाशीघ्र गर्नुपर्छ ।
    मलाई लाग्छ यतिवेला निजी क्षेत्रका अस्पताललाई गाली गर्नुको पनि त्यति धेरै अर्थ छैन । किनकि त्याँहा पनि सुरक्षित हुने उपाय शायद छैन । अर्थात् पीपीइको ब्यवस्था छैन । आज मैले यसवारेमा थोरै कुरा जनस्वास्थ्यविद् डा. सुरेन्द्र गिरीसंग कुरा गरें । उहाँले भारत सुरतको उदाहरण प्रस्तुत गर्दै सन् १९८४ मा प्लेगको महामारीमा पनि नीजि अस्पतालहरु वन्द भएको वताउनुभयो ।
    परिणामस्वरुप तत्पश्चत् सरकारलेनै स्वास्थ्य क्षेत्रमा लगानी वढायो । सरकारले सुविधासम्पन्न अस्पतालहरु वढाउँदै गएपछि निजी क्षेत्रले त्यसवाट हात झिक्दै जान्छ । यसो भनिरहँदा निजी क्षेत्रले गर्ने लगानी भनेको नाफाकै लागि हो । नाफा हुँदैन भने उसले किन झन्झट ब्यहोर्नु ?
    नेपाल औषधी ब्यवसायी संघका पूर्व अध्यक्ष मेरा निकटतम मित्र बाबुराम भट्टराई आफु औषधी र अस्पतालको क्षेत्रमा लगानीकर्ता भएपनि उहाँले भन्नुहुन्छ— हामी अयोग्य सरकारका कारण यो पेशामा छौं । यदि योग्य सरकार वन्यो र कुनै दिन सरकारले  स्वास्थ्य क्षेत्रलाई ग्यारेन्टी गर्ने अवस्था ल्यायो भने वहादुरीका साथ पछाडि फर्कनुपर्छ ।
    यद्यपि यो सिकाई विकसित र ठूला मुलुकलाइनै पहिलोपटक हुँदैछ भने हामीले के कुरा गर्नु ? हामी त प्रारम्भिक चरणमा छौं । तर, अहिले महत्वपूर्ण सिकाइ भएको छ । अथवा समयमै हामीले आँखा देखेका छौं । अव कम्तिमा हरेक स्थानीय तहहरुले सुविधासम्पन्न अस्पताल वनाउन जोड दिनेछन् । वर्षको एकजनासम्म डाक्टर आफ्नै गाउँ टोलवाट उत्पादन गरि त्यस्तो जनशक्तिलाई गाउँमा वसने वातावरण वनाउने छन् । शायद यसो भयो भने दश वर्षमा पाँचजना डाक्टर पालिकालेनै उत्पादन गर्नेछन् । संघीय सरकारले त गरेकै छ । प्रदेश सरकारले पनि गर्लान् ।
    लकडाउनमा लापरवाही ः
    बुटवलमा लकडाउनको ज्यादै उल्लंघन भयो । तरकारी किन्ने भिड हेर्दा त्यस्तो महसूस हुन्छ । पुरानो वसपार्कमा रहेको सब्जीमण्डीमा ज्यादै लापरवाही भएको गुनासो आएपछि आज मैले सञ्जालमा यो कुरा उठाएं ।
    यो विषय उठेको दुइ घण्टा भित्र नब्बेजनाले यसवारे जानकारी लिए । कान्तिपुरका दीपेन्द्र वडवाल, नेटीभीका हरिश ढकाल, रेडियो लुम्विनीका पूर्व स्टेसनम्यानेजर इन्दिरा अर्याललगायत मन्जु भुषाल वस्नेत, हुमकान्त पाठक, कृष्ण वेल्वासे, ओशो निरन्जन, कृष्ण रणपाल, इश्वर पोख्रेल, पुरुषोत्तम अर्याल लगायतले तार्किक सुझाव दिनुभएको छ ।।
    रामप्रसाद पाण्डेले भिडको फोटो खिचेरै पठाउनु भयो । भरत पोख्रेलले मेयरसावसंग तँपाइको दोस्तीनै छ भनेर ब्यङ्ग ठोक्नु भयो । कृष्ण कुँवरले घरमा जे छ त्यही खाने हो भन्नुभयो । भैरहवावाट कुलमणिले डण्डा लगाउने सिफारिस गर्नुभयो ।
    वजारमा मात्र हैन ट्राफिक चौकमा पनि त्यस्तै देखिएको प्रत्यक्ष विवरण मलाई लुम्विनी वौद्य विश्विद्यालयका रजिष्ट्रर मेरो मित्र तिलक आचार्यले गराउनुभयो । घरको छतवाट पचास साठी जना गनेरै भन्न सकिने अवस्था रहेछ । खासगरि विहान र साँझमा यस्तो भिड वढी भएको पाइयो ।
    यसप्रति नेकपाका नगर अध्यक्ष बाबुराम पन्थीले पनि चिन्ता प्रकट गर्दै नगर प्रमुखलाइृ हिँजोनै जानकारी गराएको वातउनुभयो । दुइ तीनवटा गाडीमा माइकिङ्ग गरेर भिडलाई हतोत्साही गर्नु उपयुक्त हुने सल्लाहलाई कसले लागु गर्ने ? यो प्रश्न उठेको छ । यसका लागि पालिका, प्रहरी र प्रदेश सरकारले समन्वय गरि एउटा संयन्त्र वनाउन आवश्यक छ ।
    र अन्त्यमा अवस्था खासै विग्रन नसक्ला तर, क्रमसः भयावह हुनसक्छ भनेर तयारी गर्नैपर्छ । सूचनालाई एकद्वार प्रणालीवाट ब्यवस्थापन गर्ने योजना वनाउने । सूचना प्रवाह गर्न डाक्टरलाई भन्दा अरु ब्यक्तिलाई जिम्मा दिने । खाद्यान्नको हकमा भारतवाट आउने तरकारी आदिलाई रोक्ने र नेपाली उत्पादन खेर गइरहेको छ जसको उपयोग गर्ने ब्यवस्था मिलाउने । रगत परिक्षणका लागि नेपालगंज र दाङ्गमा जस्तै बुटवलमा पनि तत्काल ब्यवस्था गर्ने । शायद प्रादेशिक अस्पतालले यो ब्यवस्था गर्दैछ  ।
    चैत्र १६ २०७६ 

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Travel