• Breaking News

    खामबन्दीले ल्याएको विचलन



    डी.आर.घिमिरे

    प्रायः गैह्र सरकारी संस्थाहरुले समाचार लेखाए वापत पत्रकारहरुलाई खामबन्दी दिने गर्छन् । उनीहरुलाई मिडियामा समाचार आओस् भन्ने चाहना हुनु स्वभाविक हो । तर, उनीहरुको भाव भंगीमा पत्रकारहरुले समाचार लेख्दैनन् । त्यसैले खामबन्दी गरी समाचार लेखाउने प्रचलन शुरु भयो । रुपन्देहीमा शायद पहिलोपटक नेपाल परिवार नियोजन संघले यसलाई संस्थागत रुप दिएको हो । फिल्डमा पत्रकारलाई लैजाने र सामान्य समाचारलाई पनि प्राथमिकतापूर्वक छपाउने उद्देश्यबाट यस्तो कर्म गरिएको पाइन्छ ।
    वि.सं.२०७१ सालमा रुपन्देहीको ग्रामीण क्षेत्रमा किसानले छरेको मकै खेतीमा घोंगा लागेन । कृषि विकास कार्यालयले सम्बन्धित किसानलाई पत्रकारमार्फत् समाचार बनाउन सल्लाह दिए । उनले बुटवलबाट केही थान पत्रकारहरु लगे । आफ्नो पीडा बताएपछि उनको मन हल्का त भयो तर हल्का मन धेरै बेर अडिन पाएन । विदा हुने समयमा खामबन्दी नपाएपछि एक आध जनाले मुखै फोरेर भने । पत्रकारहरुबाट राहत पाउने विश्वासमा रहेका किसानहरुले उल्टै रातो पिरो अनुहार बनाए । यो कुरा उनले कृषि विकास कार्यालयकै हाकीमलाई जानकारी गराएपछि उनी पनि तीन छक परे ।
    २०७२ साल पुसतिरको कुरा हो, बुटवलको एउटा पार्टी प्यालेसमा कुनै एउटा संस्थाले गरेको कार्यक्रममा पत्रकारहरु पनि आमन्त्रित थिए । आयोजकले दिउसो १ बजे दिवा भोजको अर्डर गरेका थिए । एकजना पत्रकारलाई छिट्टै घर जानुपर्ने रहेछ । अर्थात् उनी खाना खान मात्र छोटो समय लिएर गएका रहेछन् ।  १० बजे नै खाना नपाएपछि  रिसले चुर चुर भए । आयोजकलाई भनेर एक प्लेट मम खाएर गए । त्यही झोकमा दुई दिनपछि तथानाम गाली गर्दै पत्रिकामा समाचार आयो । आफ्नो समयमा खाना खान नपाएको झोंक उनले समाचरा लेखेर पोखे ।
    यस्ता अनगिन्ती गुनासाहरु आउने गर्छन् आजभोलि । कुनै संस्थाले नियमानुसार भत्ताको व्यवस्था गरेको रहेछ र त्यो भत्ता भरपाई गरेर दिन्छ भनेपनि लिनु हुँदैन भन्छ पत्रकार आचार संहिताले । तर विना भरपाई लिफामा हालेर सुटुक्क रकम नदिएसम्म समाचार आउँदैन भन्ने धारणा उत्पन्न हुनु सुखद कुरा हैन । संचार गृहहरुले पर्याप्त पारिश्रमिक नदिनु र यातायात खर्च उपलब्ध नगराउनु जस्ता कारणहरुले यी र यस्ता खाले विकृतिहरु जन्मेका हुन् शायद । तथापि पत्रकारलाई किनेर समाचार सम्प्रेषण गर्ने रोग बढेको छ आजभोलि रुपन्देहीको पत्रकारितामा ।

    ठेकेदारी प्रथा विकृतिको कारणः

    आजभोलि पत्रकार सम्मेलन वा समाचार सम्प्रेषणमा ठेकेदारी प्रथा छ । कुनै संस्था वा कम्पनीले एक जनालाई पत्रकार सम्मेलनको लागि खबर गर्ने जिम्मा दिन्छ । उसले खबर गरे वापत दुखसो पाउनु स्वभाविक होला । किनकी उसले परिश्रम गरेको हुन्छ । समय व्यतित गर्छ । फोन खर्च हुन्छ । एक पटक हैन दुई तीन पटकसम्म खबर गर्छ ।  तर यस वापत उसले नै पत्रकारहरुलाई समेत लिफा दिनका लागि प्रेरित गर्छ । यो यसकारणले पनि गर्नुपर्छ कि यदि लिफामा केही पाएन भने आगामी दिनमा त्यसरी पत्रकारलाई ल्याउन सकिन्न ।
    कसैले सहयोग मागेपछि सहयोग गर्नु जसका लागि पनि कर्तब्य हुन आउछ । तर सहयोग सिमा र क्षेत्रभित्र रहेर गर्नुपर्छ । पत्रकारहरुको फोन, मोबाइल, मेल आइडी दिएर पनि सहयोग गर्न सकिन्छ । आयोजकले कमसेकम आफै पत्र पु¥याओस् । मोबाइलमा सन्देश आफै पठाओस् वा आफै  मोबाइल गरोस् । सूचना दिने यो वा त्यो कुनै विधि अपनाउन सक्छ । तर यसो गरिदैन । सम्पूर्ण जिम्मा पत्रकारलाई दिन्छ । अथवा पत्रकारलाई राम्रो कारिन्दा बनाउँछ र आफ्नो काम गराउँछ । यस प्रकारको ठेकेदारी प्रथा तोड्नु जरुरी छ ।
    आश्चर्यको कुरा यो छ कि पारिश्रमिक दिने भए पछि त्यस्तो कार्यक्रममा पत्रकारहरुको हुल नै पुग्छ । बोलाए भन्दा बढी नै हुन्छन् । अरु बेला खबर नपाएसम्म समाचार लेखिदैन भन्नेहरु लिफा आउने भएपछि विना खबर पुगेका हुन्छन् । परिणाम के हुन्छ भने एउटै मिडियाबाट २।३ या ४ जना सम्मको उपस्थिति हुन्छ । समाचारको महत्वका हिसाबले दुई या तीन जनासम्म पनि जान सकिएला तर त्यो हिसावले चाहीं हैन ।

    पत्रकार सम्मेलनको अवमूल्यनः

    पत्रकार सम्मेलन कस्तो अवस्थामा गर्ने भन्ने कुराको पनि कुनै मापदण्ड छैन । प्रायः आयोजकहरुले कार्यक्रमको सूचना सम्प्रेषण गर्नका लागि पत्रकार सम्मेलन गर्छन् । यसो गर्दा विज्ञापन गर्नु जरुरी भएन । जबकि कुनै कार्यक्रमको सूचना सम्प्रेषण गर्ने माध्यम विज्ञापन हो । पत्रकार आचार संहिताले विज्ञापनलाई समाचारको विषयवस्तु बनाउन पाइदैन भन्छ । तर व्यवहारमा यसको ठीक उल्टो छ । यसको अर्थ पत्रकार सम्मेलन गर्नै नहुने विषय हैन । आम नागरिकलाई प्रभावित पार्न सक्ने निर्णयलाई सार्वजनिक गर्न पनि पत्रकार सम्मेलन गर्न सकिन्छ । आवश्यकता अनुसार विज्ञप्ति निकालेर मिडिया हाउसमा पु¥याउन सकिन्छ। प्रेस नोट भनेर अनौपचारिक ढंगले सूचना पठाउन पनि सकिन्छ । तर, प्रायः त्यसो गरिदैन । जस्तोसुकै अवस्थामा पनि पत्रकार सम्मेलन गर्ने विकृतिले घर गरेको छ । कार्यक्रम सम्पन्न भइसकेपछि त्यसले गर्ने निर्णय जनस्तरमा पु¥याउनै पर्ने विषय हुन सक्छन् र हुन्छन् । तर, आयोजकहरुमा के भ्रम छ भने कार्यक्रम पूर्वको हुने भनिएको र उद्घाटन शत्रमा वक्ताहरुले बोलेको भाषण आयो भने आयोजकहरु खुशी हुने गर्छन् । पत्रकारहरु पनि सूचनामूलक विज्ञापनलाई  समाचार बनाउन जति उत्साहित हुन्छन्, कार्यक्रम सकिएपछिको निर्णयलाई समाचार बनाउने आवश्यकता देख्दैनन् । विज्ञापनलाई समाचारको रुपमा प्रस्तुत गर्न हुँदैन भन्ने पत्रकार आचारसंहिताको खिल्ली उडाउनु दैनिकी जस्तै बनेको छ ।
    कार्यक्रमको बन्द शत्रमा प्रस्तुत हुने प्रतिवेदन, आर्थिक प्रतिवेदन र कार्यक्रमले गर्ने निर्णय जतिसुकै महत्वका भएपनि त्यसता कुराले समाचारमा स्थान नपाउनु आचारसंहिता विपरीतको कुरा हो ।

    बढी भए पुरस्कारः

    पत्रकारिता सम्बन्धि पुरस्कार बढ्नु आफैमा सुखद कुरा हो । पुरस्कारले प्रोत्साहन र उत्साहित बनाउँछ । जिम्मेवार बनाउँछ । तर पुरस्कार राख्ने प्रतिस्पर्धा हुनु त्यति राम्रो कुरा हैन । बढीमा दुई या तीन वटासम्म आकर्षक पुरस्कार स्वभाविक हुन्छ । तर रुपन्देहीमा दर्जनौ पुरस्कार भईसके । पत्रकारिता क्षेत्रमा पुरस्कार राखेर निजी क्षेत्रले सहानुभूति बटुल्ने प्रयत्न गरेको छ । पत्रकारिता क्षेत्रमा योगदान गरेको तथ्य पनि प्रस्तुत गर्न खोजेको छ । र उनीहरु आफ्नो उद्देश्यमा सफल पनि छन् । तर पत्रकारिताको सिद्धान्त र मान्यताको हिसाबले यो गलत हो । यसको सट्टा लेखनवृत्ति पहिले नै दिएर अनुसन्धानमूलक समाचार लेखाउनु वा तद्नुसारको वातावरण बनाउनु उपयुक्त हुन्छ । कुनै विधामा पटक्कै लेख्ने अभ्यास छैन भने  विधागत पुरस्कार राखेर त्यसतर्फ आकर्षण गर्न भने सकिन्छ।
    पुरस्कार स्थापना गर्नेहरुमा त्यसको मुल भावना के हुनुपर्ने हो भन्ने कुरामा शंका छ । उनीहरुले पुरस्कारलाई खामबन्दी पत्रकारिताकै अर्को रुप सम्झन्छन् । समाजसेवी भइने, सामाजिक उत्तरदायित्व निर्वाह गरिने र परोक्ष ढंगले पत्रकारिताको स्वत्व माथि प्रभुत्व जमाउने माध्यमको रुपमा पनि कतिपयले लिन खोज्छन् । यद्यपि सबैको धारणा यस्तो छैन । वर्षभरी आफू वा आप्mनो संस्थाका कति समाचार लेखिए वा लेखाउन सकियो भन्ने कुरालाई आधार मानेर पुरस्कार दिन खोज्ने संकेत पनि यदाकदा पाइन्छ । पुरस्कारका लागि फोन गरेर प्रभावमा पार्ने प्रयत्न पनि हुने गर्छन् । कतिपय अवस्थामा आफूले लेखेका विषयलाई स्पष्ट पार्ने कुरा ठीकै हुन सक्छ । तर, पुरस्कार प्राप्तिका लागि दवाव र प्रभावमा पार्ने कुराले पुरस्कारको गरिमा र महत्व बढाउँदैन भन्ने कुरा बुझ्नुपर्छ । थोरै लेखे पनि ओजपूर्ण छ, मेहनतका साथ लेखिएको छ, सन्तुलित लेखाई छ र त्यसबाट केही सकारात्मक परिणाम पनि देखा परेको छ भने त्यस्तो अवस्थामा पुरस्कार दिनु उचित  हुन्छ ।
    पत्रकार आचारसंहिताले कुनै उपहार वा पुरस्कार लिन परेमा वा दिनपरेमा मिडिया हाउससँग स्वीकृति लिनुपर्छ । नाजायज सम्बन्ध नहोस् भन्ने उद्देश्यले यस प्रकारको व्यवस्था गरिएको हो । तर यी कुनै पनि कुरालाई व्यवहारमा अवलम्बन गरिदैन । सिद्धान्त वा नीति व्यवहारमा कार्यान्वयनका लागि हुनु पर्ने हो, जुन सिद्धान्त व्यवहारमा लागू नै गरिदैन त्यसको के अर्थ हुन्छ ? कुनै पनि मिडियाको आफ्नो समाचार हुँदैन भने त्यसको औचित्य के हुन्छ ? कहीबाट आएका समाचार कपि पेष्ट मात्र गर्ने हो र समाचार एजेन्सीका मात्र समाचार प्रकाशन र प्रशारण गर्ने हो भने त्यस्तो मिडियाले संपादक वा पत्रकार भनेर राख्नै पर्दैन । व्यवस्थापकले पत्रिका चलाउँछ । अहिलेका प्रायः मिडियाहरुका ८० प्रतिशत सामाग्री यसै कोटीमा पर्छन् । यसो गर्दा पत्रकारिताको उत्थान हुन्छ कि पतन ? उत्तर खोज्नै पर्छ र यसको उत्तर अरु कसैले हैन हामी स्वयं पत्रकारले नै खोज्नुपर्छ ।

    समाचार एकद्धार प्रणालीः

    एक जनाले समाचार लेखेर सबै मिडियामा पु¥याउनु र त्यही समाचार छापिएर आउनु तथा रेडियो टेलिभिजनमा वाचन गरिनुलाई स्वभाविक मान्न थालिएको छ । सबैमा उही समाचार शब्दसः आउनु भनेको कपि पेस्ट पत्रकारिता हो । यसलाई कपि पेस्ट मात्र भनिन्न । समाचारको एकद्धार प्रणाली पनि भनिन्छ । संवद्ध संस्था, कम्पनी वा व्यक्तिले एकजना पत्रकारलाई बोलाएर समाचार लेख्न लगाउँछ र उसैको माध्यमबाट मिडियामा पु¥याउँछ । भोलि अक्षरसः त्यही समाचार पढिन्छ र छापिन्छ । कुनै माध्यमबाट प्राप्त समाचारलाई फरक शैलीमा प्रस्तुत गर्ने, थप सूचनाका लागि फोन संपर्क गरेर एउटै भए पनि नयाँ सूचना थप्नु पत्रकारको दायित्व हो । कमसेकम आफूले लेखेको समाचार फरक होस् भन्नका लागि , अन्य मिडियामा र आफ्नोमा फरक होस् भन्नका लागि पनि सम्पादन गर्नु जरुरी छ । समाचार एजेन्सीबाट प्राप्त भएको हो भने श्रोत सहित दिनुपर्ने हुन्छ ,अन्यथा एउटा  श्रोतबाट प्राप्त समाचार अलग अलग मिडियामा आउनु किमार्थ सुहाउने कुरा हैन ।
    भनिन्छ पत्रकारहरु जिज्ञासु हुनुपर्छ । नयाँ नयाँ खोज र अनुसन्धानका लागि प्रयत्नशील हुनुपर्छ । आफ्ना मिडियाका लक्षित पाठक वा श्रोताको पहिचान गर्नुपर्छ । अरुको भन्दा फरक कसरी बनाउने, आकर्षक र सूरचीपूर्ण लेखन कसरी हुन्छ भनेर घोत्लीनु पर्नेमा त्यसप्रकारको संवेदनशीलता नहुनु पत्रकारिताको धर्म र मर्मलाइृ नबुझ्नु हो । यसको परिणाम एकद्धार प्रणालीले पत्रकारितामा राम्रो स्थान बनाएको छ । एउटै विषय वा कार्यक्रमलाई विभिन्न कोणबाट लेख्न सकिन्छ । तर त्यस्तो कोण के होला भनेर खोजी गर्ने काम नहुँदा एकद्धार प्रणालीलाई प्रोत्साहन मिलेको छ ।
    समाचार एकद्धार प्रणालीबाटै आएपनि इच्छा र जाँगर हुने हो भने त्यसरी प्राप्त समाचारलाई प्राथमिक सूचना मानेर थप खोजमा लाग्न सकिन्छ । समाचारको मसिनो गरी अध्ययन गर्ने हो भने समाचार भित्रको समाचार खोज्ने बाटो पत्ता लगाउन सकिन्छ । तर यसो गर्दा मेहनत लाग्छ । समय खर्चनुपर्छ । दौडधुप गर्नुपर्छ । यस खालका समाचार दिनदिनै लेख्नुपर्छ भन्ने हैन । कम्तिमा महिना दुई महिनामा एउटा सम्म भए पनि लेख्दा हुन्छ । यसले ल्याउने जागरण फरक हुन्छ । आखिरी यसतो किन हुन्न ? यसको कारण पनि खामबन्दी पत्रकारिता हो ।

    खलवलिदै छ सामाजिक सद्भावः

    ०६२।०६३ को आन्दोलनपछि सामाजिक सम्बन्धहरु खलवलिएका छन् । एउटा समुदायले अर्को समुदायलाई, एउटा जातले अर्को जातलाई, एउटा धर्मले अर्को धर्मलाई जतिसुकै गाली गरे  पनि त्यस्ता कुरालाई सञ्चारमाध्यमले स्थान नदिनु पर्ने हो । तर, स्थिति त्यस्तो छैन । मधेसी समुदायलाई धोती र पहाडे समुदायलाई पाहाडे, खस, आर्यनहरु भनेर तुच्छ टिप्पणी गरिन्छ । मधेसका एक आध वा केही सामन्तहरुलाई देखाएर सबैलाई सामन्ती देख्ने र पहाडी समुदायका केही व्यक्तिहरुलाई देखाएर सम्पूर्ण समुदायनै खराब भन्नु यसकै नतिजा हो । कोही पहाडे भएर जन्मनु, मधेसी भएर जन्मनु, दलित वा जनजाति भएर जन्मनु अपराध हैन । तर अहिले कोही कुनै भएर जन्मनु नै अपराध हो जस्तो गरी प्रचार गरिएको पाईन्छ । कसैले कसैलाई हेपेको छ भन्नुको अर्थ आफूले पनि हेप्न पाउनुपर्छ भन्नु युक्तिसंगत हुन्न । विभिन्न जात, जाति, धर्म, सम्प्रदाय र क्षेत्रका बीच वैमनस्य, फाटो र हिंसा बढाउने समाचार र विचारलाई स्थान दिनु हुँदैन भनेर पत्रकार आचारसंहिताले भन्दै आएको छ । तथनपि यस्ता कुरालाई जबर्जस्ती लागू गर्ने हैन । कसैले नमानेमा कारवाही पनि हुँदैन । तर, स्वधर्मको रुपमा पत्रकारहरु आफैले मनन गर्नुपर्ने कुरा हुन् ।
    आजभोलि सामाजिक सञ्जालले सबै सीमालाई नाघेको छ । जेसुकै भन्ने र जेसुकै गर्ने स्वतन्त्रता दिएको छ । ब्लग बनाएर मन लागी सम्प्रेषण गर्ने अधिकार दिएको छ । शरीर क्षत विक्षत भएका रगताम्य घटना र घृणित दृश्यहरु जनिने फोटा ेर भिडियो अपलोड गरेर सार्वजनिक गर्नु सामान्य भएको छ । जनयुद्ध काल भारी पनि यी सबै कुरा मान्य भए । यस्ता समाचार वा दृश्य सार्वजनिक गरेर आपराधिक मनोवृत्तिलाई प्रश्रय दिने काम यो वा त्यो ढंगले भइरहेको छ । पत्रकारहरु कहिल्यै पनि आवेगमा आउनु हुन्न । तर आवेगमा आएर मनलागी लेख्ने कुराले पत्रकारिता प्रतिको आस्था कमजोर भएको छ ।
    वि.सं.२०७२ माघ महिनाको कुरा हो । इलाका प्रहरी कार्यालय बुटवलले आफ्नै लोग्नेको हत्या अभियोगमा एक जना महिलालाई पक्राउ गरी मुद्दा चलाउने प्रक्रियामा थियो । प्रहरीले पत्रकार सम्मेलन ग¥यो र ती महिलालाई सार्वजनिक ग¥यो । रुपन्देही पत्रकार महासंघका अध्यक्ष शेर बहादुर केसीले यो फोटोलाई नछाप्नु पर्ने सल्लाह दिए । सबै पत्रकारले नछाप्ने वचनबद्धता प्रकट गरे । तर तुरुन्तै एउटा अनलाईनले फोटोसहितको समाचार छाप्यो । प्रहरीका अनुसार ती महिलाले कसै मार्फत् हत्या गराएको कुरा स्वीकारेकी थिइन् । पत्रकारका अगाडि ल्याएर ती महिलाको फोटो खिचाइयो । पत्रकार कसैले पनि एउटै प्रश्न गरेनन् । उनलाई उभ्याउनु र प्रहरीले उनी नभएको समयमा दिएको वयानका आधारमा फोटो  सहितको समाचार बन्यो । प्रहरीले मुद्दा चलाएर अदालतले फैसला नगरुन्जेल उनी अभियुक्त मात्र हुन् । अभियुक्तलाई हत्यारा भनेर फोटो नै सार्वजनिक गर्नुले पत्रकारहरुमा संवेदनशीलता हराएको कुरालाई नै संकेत गर्छ ।

    समाचारमा लगानी छैनः

    निश्चय नै एउटा राम्रो  समाचारका लागि लगानी गर्नुपर्छ । खामबन्दी पत्रकारितालाई मुक्त गर्नका लागि संख्यामा हैन गुणस्तरमा मूल्यांकन गर्ने परिपाटी हुनुपर्छ । समाचार खोजेर, समाचारको अनुसन्धान गरेर अथवा समाचारको गहिराइमा पुगेर लेख्ने अभ्यास पत्रकारितामा अनिवार्य छ । यसका लागि मिडिया हाउसले समाचारको खोजीका लागि लगानी गर्नु जरुरी हुन्छ । यो परिपाटी मोफसलमा छैन नै भन्दा हुन्छ । समाचार संकलन गर्न र लेख्नका लागि लगानी हुन्छ भएको छ । तर समाचारको गहिराइमा पुग्ने श्रोत छैन  । मिडिया सञ्चालकहरु यसप्रति संवेदनशील छैनन् । पत्रिका एक दिन मात्र कमजोर भयो भने त्यसको नकारात्मक सन्देश बजारमा जाने गर्छ । एकपटकको गल्ती सच्चाउन धेरै मेहनत गर्नुपर्छ ।
    यसको अर्थ मिडिया सञ्चालकहरुले यस क्षेत्रमा एकै पटक धेरै लगानी गर्नुपर्छ भन्ने हैन । व्यवस्थापकीय हिसाबले त्यसो गर्दा दुर्घटना हुन पनि सक्छ । त्यस अर्थमा थोरै अंश भए पनि खोजी समाचारका लागि लगानी गर्नैपर्छ । मिडिया हाउसले वर्षमा २।४ वटासम्म स्टोरीलाई लगानी गर्ने हो भने बाहिर र भित्र दुवै क्षेत्रबाट राम्रा स्टोरी आउन सक्छन् । यसो गर्दा सम्बन्धित मिडियाले आफ्नो स्टाफको क्षमतालाई पनि जाँच्ने मौका पाउँछ र तद्नुसारको जिम्मा हाउसकै तर्फबाट लगाउन सक्छ । हरेक व्यक्तिमा केही न केही विशिष्ट क्षमता हुन्छ । त्यस्तो क्षमतालाई प्रस्फुटन गराउने विभिन्न उपायहरु हुन सक्छन् । जसमध्ये एउटा उपाय खोज र अनुसन्धानका लागि लगानी गर्ने हो । हाउसहरुले यस्ता विषयलाई गंभीर भएर सोंच्न आवश्यक छ ।

    2 comments:

    Fashion

    Beauty

    Travel