डि.आर. घिमिरे
लुम्विनी महामानव गौतमवुद्वको जन्मस्थल हो । विश्व सम्पदा सूचिमा सूचिकृत स्थान हो । वुद्वका चारधाम मध्ये एउटा महत्वपूर्ण धाम लुम्विनी हुनुको कारण विश्वभरिका डेढ अर्व वौद्यमार्गीहरुको लागि यो आकर्षक तीर्थस्थल हो । ऐतिहासिक, पुरातात्विक र साँस्कृतिक हिसावले पनि यो स्थान पर्यटकहरुका लागि उत्तिकै महत्वपूर्ण छ । जीवनमा एक पटक बुद्धको पावन जन्मभूमिमा पुग्ने आकांक्षा बोकेका दुनियाँभरिका डेढ अर्व बुद्धमार्गीहरुलाई लुम्बिनी र नेपालको भ्रमणमा आकर्षित गरेर नेपालको पर्यटन विकासमा छलाङ्ग मार्न सकिने प्रसस्त सम्भावना छ । यसबाट नेपालको पर्यटन उद्योगमा विल्कुलै नयाँ अवस्था सिर्जना हुने निश्चित छ ।
यहाँनिर हामीले बुझ्नुपर्ने के छ भने लुम्विनी भन्नाले गौतमवुद्वसंग जोडिएका कपिलवस्तु, रामग्राम, देवदह र तिनको वरपरको क्षेत्रसमेतलाई जनाउँछ ।
लुम्विनीको महत्वकावारेमा धेरै छलफल गर्न जरुरी छैन । नवुझेकालाई वुझाउने हो वुझेकालाई इसारा काफी छ । यहाँ उपस्थित प्रवुद्घ वर्ग, जनताका प्रतिनिधि सवैलाई केही गर्न पाए हुन्थ्यो भन्ने हुटहुटी त्यसै पनि लागेको छ । भर्खरै प्रदेश सरकारले लुम्विनी भ्रमण वर्ष मनाउँदै छ जसको माध्यमवाट लुम्विनीमा पर्यटक भित्राउने लक्ष्य राखिएको छ । यस प्रसंगमा स्थानीय तहहरु अधिकारसम्पन्न भएकाले उनीहरु आफैले मात्र पनि कैयौं काम प्रभावकारी ढंगले गर्न सक्छन् । तथापि माथिवाट दिने र तलकाले थाप्ने मनोविज्ञानले अझैपनि काम गरेकाले स्वायत्त ढंगले योजना वनाउने काम हुन सकेको छैन ।
पछिल्लो रणनीति
संस्कृति तथा पर्यटन मन्त्रालयले लुम्बिनीको पर्यटन विकासका लागि पाँच वर्षे कार्ययोजना र १० वर्षे भिजन सहितको ‘लुम्विनी पर्यटन प्रबर्द्धन योजना’ बनाएको छ । लुम्विनीलाई केन्द्रमा राखेर पर्यटन प्रबद्र्धनका असिमीत सम्भावना रहेको ठहर गर्दै लुम्विनी आउने पर्यटकलाई पाल्पा, पोखरा, चितवन, मुस्ताङ्, जोमसोम, ढोरपाटन, स्वर्गद्धारी, बर्दिया, राराताल तथा कैलाश मानसरोवरसम्म पुर्याउने र त्यहां आउने पर्यटकहरुलाई लुम्विनीसम्म ल्याउने उपायहरुको खोजी समेत गरेको छ । कार्ययोजनामा लुम्विनी र यसका क्षेत्रहरुमा पुग्ने सडक,खानेपानी,विद्युत लगायतका पूर्वाधार विकास, सुरक्षा, उर्जा, होटल, होमस्टे तथा पर्यटकका लागि आवश्यक पर्ने खाद्य विविधताको समेत योजना बनाइएको छ ।लुम्विनी क्षेत्र विस्तृत पर्यटन प्रबद्र्धन योजना —२०७२ ले बुटवल आसपासका चुरे पर्वतहरुबाट प्याराग्लाइडिङ् गर्ने, दोभान लगायतका क्षेत्रमा साइकल राइडिङ् गर्ने, तिनाउ र रिडीमा बन्जि जम्पको ब्यवस्था मिलाउने, बुटवल आसपासमा अन्तरराष्ट्रिय क्रिकेट मैदान निर्माण गर्नुपर्ने, बसन्तपुर र नुवाकोटमा ट्रेकिङ् गर्ने, केवुलकार राख्न नीजि क्षेत्रलाई प्रोत्साहित गर्ने, पाल्पाको तानसेन आसपासका क्षेत्रमा थप पर्यटनको सम्भावना खोज्ने, शाक्य र कोलिय राज्यको सीमाना रोहिणी नदीमा ड्याम बनाएर बोटिङ्को ब्यवस्था मिलाउने लगायतका कार्यक्रम पनि समावेश छन् ।
स्थानीय तहका प्रयास
नेपालको संविधानले संघीय लोकतान्त्रिक गणतन्त्रलाई नेपालको मूल संरचना मानेको छ । जस अनुसार संघ, प्रदेश र स्थानीय तहले आ–आफ्ना अधिकारको प्रयोग गर्न पाउने छन् । स्थानीय तहको अधिकार संविधानको अनुसूची–८ मा उल्लिखित विषयमा निहित रहनेछ र त्यस्तो अधिकारको प्रयोग गाउँसभा वा नगरसभाले बनाएको कानुन बमोजिम हुने भनिएको छ । कानुन वनाउने सम्मको अधिकार भएकोले स्थानीय तहहरु आफ्नो ठाउँको विकासका लागि कसैलाई कुर्न पर्दैन । तथापि एकल अधिकार नभएको हकमा समन्वय भने गर्नैपर्छ ।यही आधारमा स्थानीय तहहरुले पनि आ–आफ्ना ठाउँमा आ–आफ्नो क्षेत्रको विकासका लागि विभिन्न योजनाहरु वनाएको देखिन्छ । बुटवल उपमहानगरपालिकाले हिलपार्कलाई बुद्ध पार्कका रुपमा विकास गर्ने योजना वनाएको छ । राम्रो पर्यटकीय गन्तव्यका रुपमा हिलापार्कलाई विकास गर्नका लागि यस प्रकारको योजना वनाइएको हो । प्रस्तावित बुद्धपार्कमा बेसमेन्टसहित ४२ मिटर अग्लो बुद्धको मुर्ती, एकपटक तीन सय जनाले मेडिटेशन गर्न मिल्न मेडिटेशन हल, बौद्ध अध्येताहरुका लागि एकै पटक ३० जना अट्ने शान्त स्थानको आवास केन्द्र, भिक्षुका लागि आवास कक्ष, क्याफ्टेरिया, फलफूलको बगँैंचा, पानीको फोहोरा बनाइने योजना छ ।
सिद्घार्थ नगरपालिकाले नगरभित्रका सवै घरमा एउटै कलर लगाएर वौद्यमार्गीहरुलाई आकर्षण गर्न खोजेको छ ।
तिलोत्तमा नगरपालिकाले ६ लेन सडकको मध्यभागको डिभाईडरमा दुई तीन सय मिटर दुरीको फरकमा बुद्धका विभिन्न उमेरका मूर्ति, मायाँदेवी, यशोधरा, राजा शुद्धोधन लगायतका बुद्धका मूर्तिहरु स्थापना गर्ने काम शुरु गरेको छ । सिद्घार्थ राजमार्ग अन्तर्गत् सबैभन्दा धेरै क्षेत्र ओगटेको तिलोत्तमा नगरपालिकाले योगिकुटीदेखि मंगलापुरसम्मको करिब ७ किलोमिटरको दूरीमा २० वटा बुद्ध जिवनीसँग सम्बन्धित विभिन्न मूर्तिहरु निर्माण यसै वर्षको बुद्व पूर्णिमासम्म गरी सक्ने घोषणा गरेको छ ।
देवदह बुद्धको मावली स्थान हो । यहाँ देवदहका अतिरिक्त भवानीपुर, वैरिमाई, कन्यामाईजस्ता स्थानहरु छन् । बुद्धलाई जोडेर पर्यटनको विकासमा यस क्षेत्रले धेरै थोक गर्न सक्छ । केही समय अँघि ड्रिम देवदह युनिटी फर चेन्ज नामक अभियानले कोलीय सभयतालाई सम्झाउने गरि काष्ठकलाको प्रदर्शनी गर्ने योजना सार्वजनिक गरेको छ भने आगामी वर्ष मूर्तिकला कार्यशाला गर्ने भएको छ । जनस्तरवाट गरिएको यो सकारात्मक पक्ष हो । त्यस्तै बुद्ध सामुदायिक वन उपभोक्ता समूहले ८ हे. क्षेत्रफलमा गौतमवद्ध राष्ट्रिय उद्यान अर्थात् पार्क वनाउँदैछ । यही वर्ष यहाँका पार्कहरुले पार्क सम्मेलननै गरे । सवै पार्कलाई वुद्धमय वनाउने र यो ठाउँमा आउँदा वुद्धको मावली आएको अनुभूति गराउने परिकल्पना गरिएको पाइन्छ ।
देवदह नगरपालिकाले पर्यटन गुरुयोजना वनाउने कार्य अन्तिम अवस्थामा पुर्याएको छ । मायाँदेवी, यसोधरा, प्रजापतिसंग जोडिएको यो नगरलाई विशिष्टीकृत गरि गौतमवुद्वसंग जोड्ने प्रयास भएको छ । पुरातात्विक क्षेत्रलाई लुम्विनी विकास कोष र पुरातत्व विभागको सहमति विना केही गर्न नपाइने भएकोले अन्य स्थानमा योजना वनाइदैछ । भवानीपुरमा ३० देखि ४० विगाहामा वुद्वमायाँ अन्तर्रा्ष्ट्रिय शान्ति उद्यान एवं संग्राहालय वनाइदैछ । यस ठाउँलाई १०÷१२ वटा मुलुकले विहार वनाउन सक्ने गरि डीपीआर वनाइने भएको छ ।
देवदह क्षेत्रमा यसोधरा पार्क वनाइदैछ । राजमार्गसंग जोडिएको सार्वजनिक स्थानमा भिक्षुणी संघमार्फत् यसोधरा अन्तर्रा्ष्ट्रिय भिक्षुणी विहार वनाइदैछ । करिव ५० करोडको लागतमा निर्माण हुने यो विहारमा एकैपटक ५ शयले ध्यान गर्न सक्नेछन् भने भिक्षुणीहरुले धर्मशालाको रुपमा प्रयोग गर्नेछन् ।
देवदहले मुख्यतः मातृ शक्तिलाई विशिष्टकृत गरि योजना वनाएको छ । यसो गर्दा छुट्टै पहिचान वनाउन सकिने विश्वास नगरप्रमुख हिरा केसीको छ । सवै पार्कहरुलाई फरक फरक विशेतायुक्त वनाउने गरि योजना वनाइनु आफैमा सकारात्मक पक्ष हो ।
नवलपरासीको रामग्राम नगरपालिकाले पनि कतिपय महत्वाकांक्षी योजना वनाउँदै छ । रामग्राम क्षेत्रमा अष्टधातु रहेको स्तुपाको संरक्षण सवैभन्दा महत्वपूर्ण विषय भएपनि त्यसका लागि संघीय सरकारलेनै ध्यान दिन जरुरी छ । त्याँहा जानेले कम्तिमा एकछिन भएपनि आनन्द प्राप्त गर्ने वातावरण हुनुपर्यो । ऐतिहासिक सम्पदाको सुन्दरीकरण गरि पर्यटकलाई आकर्षण गर्ने र न्यूनतम भौतिक पूर्वाधार वन्न नसकेकोले त्यस ठाउँमा पर्यटकहरु जान पनि संकोच मान्ने अवस्था छ ।
अहिले नगरपालिकाले ५० लाखको लागतमा एउटा विश्रामगृह वनाउँदैछ । जसवाट कम्तिमा त्याँहा जानेले सुस्ताउने अवसर पाउने छन् । यद्यपि केन्द्र मातहत रहेका यस्ता पुरातात्विक, ऐतिहासिक स्थलको सुरक्षा र विकासमा स्थानीय सरकारको पनि भूमिका चाहियो भन्ने गुनासो नगरप्रमुख नरेन्द्रकुमार गुप्ताको छ । रामग्राममा विभिन्न देशका विहार वनाउने उद्वेश्य भएपनि अधिकार क्षेत्रको कारणले सकिएको छैन ।
अष्ठधातु राखिएकै ठाउँमा केही गर्न नसके पनि रामग्रामले उजैनी गाउँलाई स्मार्ट वनाउँदै छ । पर्यटकहरु यही गाउँ भएर रामग्राम जानेछन् । रामग्राम चोकमा वुद्वको प्रतिमा राख्ने योजना छ । परासीमा वन्ने प्यागोडा शैलीको क्लव टावरको डीपीआर वन्ने अवस्थामा छ । झरही खोलालाई “रिभर टे«किङ्ग”को रुपमा १०÷१२ अर्वको परियोजना तयारी हुँदैछ । वीचमा नदी, वारपार “टे«किङ्ग” रुट, आकर्षक हरियाली क्षेत्र र फूलहरु रोपेर सुन्दरीकरण गर्ने साथै एक–एक शय मिटरमा वुद्वको धून वजाई रामग्राम जानेलाई पैदलै हिड्ने वातावरण वनाउँदा आनन्दित वनाउने अवस्था सृजना हुने छ । स्तुपादेखि ३ शय मिटर पूर्व तीन विगाहा क्षेत्रमा विपष्यना केन्द्रसमेत वनाइदैछ ।
नगर प्रमुखको विचारमा यो एक शान्त र खुला ठाउँ भएकोले हामी निकट भविष्यमै धेरै आकर्षक स्थान वनाउने छौं । यसका लागि केन्द्र र प्रदेशले सहयोग गर्नुपर्छ ।
रामग्रामको १८ नं वार्ड पण्डितपुर जसलाई देवदहकै क्षेत्रको रुपमा लिइन्छ । त्यस अर्थमा यो वुद्वको मावली क्षेत्र हो भन्ने विश्वास छ । यसको विकासमा पनि नगरपालिकाले विशेष ध्यान दिएको छ । यस ठाउँमा ८०÷९० विगाहा सार्वजनिक जग्गा हुनु यसको सवैभन्दा सकारात्मक पक्ष हो । देवदह, रामग्राम यी सवै ठाउँ कोलीय गणराज्यनै भएकोले तत्कालीन समयमा फरक फरक ठाउँमा अनेकन संरचना वनेका हुन सक्छन् ।
सैनामैना नगरपालिकामा वुद्वकालिन इतिहासका प्रसस्त भग्नावशेषहरु छन् । यद्यपि तिनको संरक्षणमा पर्याप्त ध्यान गएको छैन । पछिल्लोपटक नगरपालिकाले पुराना वस्तु इटा, मूर्ति जे भेटिन्छ तिनको संकलन गरि संरक्षण गर्ने नीति वनाएको छ । वाडं नं. १ मा रहेको रानीकुवा संग्रहालयलाई शहरी विकास मन्त्रालयमार्फत् आधुनिक विपष्यना केन्द्रसहित आवासीय सुविधासहितको आधुनिक संग्रहालय वनाउने गरि विस्तृत परियोजना प्रतिवेदन तयार हुँदै गरेको छ ।
सैनामैना पदमपाणी लोकेश्वरको आश्रमको रुपमा पनि चर्चित छ । रानीकुवाको नगिचै वौराहा खोलाको वगरमा पदमपाणी लोकेश्वरका एक दर्जन योग आसनका मुर्ति भेटिका छन् । हिन्दू वौद्य दुवैले उत्तिकै श्रद्वापूर्वक यिनलाई सम्मान गर्छन् । हठ योगका प्रवर्तकको रुपमा पनि यिनलाई लिइन्छ । जस अन्तर्गत प्राणायम, षटकर्म र अन्य आसनहरु पर्छन् । यिनले आफ्ना चेलासंग मिलेर योगको विद्यापिठनै सञ्चालन गरेको इतिहास पनि भेटिएको छ ।
भट्टराइका अनुसार यिनका चेला गुरु गोरखनाथ हुन् । हिन्दूले रातो मच्छिन्द्रनाथ र विष्णु अवतारको रुपमा तथा वौद्यले अवलोकेश्वरको रुपमा पनि यिनलाई श्रद्वा गरिन्छ । जे होस् सैनामैना धार्मिक, पुरातात्विक र ऐतिहासिक हिसावले महत्वपूर्ण छ भन्ने कुरामा कुनै शंका छैन ।
नेपाल सरकारले पर्यटनका लागि एक शयवटा गन्तब्य स्थान तोक्दा यसलाई पनि समावेश गरिकोले संघीय सरकारले पनि चासो प्रकट गरेको देखिन्छ । यतिवेला नगरपालिकाले सवै पुरातात्विक स्थलको तारवार गर्ने र संरक्षण गर्ने नीति वनाएको छ ।
२५ औं बुद्ध क्रकुच्छन्द र २६ औं बुद्ध कनकमणि कपिलबस्तुको गोटीहवा र अरोराकोटमा जन्मेका हुन् । वौद्य संस्कृति र सभ्यताको हिसावले कपिलवस्तु खुला संग्राहालयनै हो । यस अर्थमा कपिलवस्तुले धेरै थोक गर्न सक्छ । तर, कपिलवस्तु नगरपालिकाले ठोस योजना वनाउन सकेको छैन ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विमलराज आचार्यका अनुसार अधिकार क्षेत्रको कारणले हात वाँधिएका छन् । कोष र पुरातत्व विभागसंग वैठक वसेर केही गरौं भन्दा पनि वैठक वस्न सकेन । अरुत के कुरा सामान्य तिलौराकोटको वाहिरपट्टी शौचालयसमेत वनाउन अनुमति छैन । यद्यपि सरसफाई, संरक्षण, सौन्दर्यीकरण, होडिङ्ग वोर्ड राख्ने र गाइड उत्पादन गर्ने काम नगरपालिकाले गरेको छ । स्थानीय युवाहरुलाई कपिलवस्तुको महत्व वुझाउने प्रयत्न पनि भएको छ । योजना वनाउन पाए श्रोत जुटाउन सकिन्थ्यो भन्ने लागेको छ आचार्यलाई पनि ।
वीआरआइसंग जोड्ने अवसर
बेल्ट एन्ड रोड इनिसिएटिभ (बिआरआइ) (एक बाटो एक पाटो) चिनको महत्वाकांक्षी परियोजना हो । प्राचीन कालमा चिनका ब्यापारी जसले कलात्मक माटाका भाँडा र रेशमको ब्यापार घोँडा वा उँटमा लादेर वा आफै वोकेर एशिया, यूरोप, अमेरिका वा सर्वत्र पुगेर ब्यापार गर्थे । अहिले त्यही पदचापलाई अनुसरण गर्दै चिनका राष्ट्रपति सी जिनपिङ्गले अहस्तक्षेप र पञ्चशीलका नीतिका आधारमा आफू र विश्वलाइनै समृद्व वनाउने अभियानको नेतृत्व गर्दैछन् ।भर्खरै नेपालका राष्ट्रपतिको चिन भ्रमणका अवसरमा राष्ट्रपतिको उपस्थितिमा सात सम्झौतामा हस्ताक्षर भएको छ । यीमध्ये नेपालका लागि यातायात तथा पारवहन सम्बन्धी प्रोटोकल महत्वपूर्ण छ ।
यसवाट चीनको रेल नेपाल आइपुग्ने बाटो खुल्नुका साथै नेपाल–चीन सीमाको अन्य ६ नाका ओलाङचुङ्गोला (टिपताला), किमाथांका (लेङ्दुप), लामाबगर (लाप्ची), लार्के (लज्याङ), मुस्ताङ (कोराला) र हुम्ला (हिल्सा) बाट व्यापार वाणिज्य हुनेछ । त्यतिमात्र हैन नेपालले चीनको ४ सामुद्रिक बन्दरगाह (त्यानजिन, लियान युनकाङ, चानचियाङ, सेनचेन) र ३ सुक्खा बन्दरगाह (लानचो, सिगात्से, ल्हासा) उपयोग गर्न पाउने भएको छ ।
अव मुस्ताङ (कोराला) नाका हुँदै काठमाण्डौ, पोखरा र लुम्विनी जोडिने छ । यो हाम्रा लागि अर्को ठूलो अवसर हो । अवसर यस अर्थमा कि उनीहरु लुम्विनीलाई पवित्र स्थल मान्छन् ।
स्थानीय समुदायमा अपनत्व जगाउनुपर्छ
लुम्विनी आसपासका नागरिकलाई लुम्विनीप्रति अपनत्व जगाउने दुइ तरिका हुन सक्छन् । पहिलो धार्मिक विश्वास र आस्था । दोश्रो आर्थिक लाभका हिसावले । पहिलो तरिकावाट अत्यन्तै कम संभव छ । यस क्षेत्रमा वौद्यमार्गीको संख्या सारै थोरै छ । त्यसैले दोश्रो तरिकानै हामीले अपनाउन जरुरी छ ।यसका लागि पनि दुइवटा तरिका अपनाउन जरुरी हुन्छ । पहिलो उनीहरु आफैले अवसरको सृजना गर्न सक्छन् । होटल, रिसोर्ट, रेष्टुरा वा अन्य उद्यमशीलताको माध्यमवाट आय आर्जन गर्ने वातावरण सृजना गर्न सक्नेले यो तरिका अपनाउन सक्छन् । दोश्रो गरिव वा शीप विहिन ब्यक्ति जसलाई वातावरण वनाइदिनुपर्छ । उनीहरुलाई शिप सिकाउनु पर्छ । ब्यावसायिक योजना वनाइदिनुपर्छ । सम्भावनाको खोजी गरिदिनु पर्छ । उस्तै परे वजारीकरणको ब्यवस्थासमेत मिलाइदिनुपर्छ ।
अवको ६ वर्षपछि विदेशी पर्यटक १० लाख र स्वदेशी ३० लाख आउँदा त्याहाँ धेरै ठूलो ब्यापार हुनेछ । प्राय ः हरेक ब्यक्तिले लुम्विनीको उपहार लैजान खोज्नुलाई स्वभाविकनै मान्नुपर्छ । यस्ता वस्तु धेरै ठूला हैन सामान्य भएपनि हुन्छ । भित्र पूजाआजा गर्नेहरुलाई पूजा सामाग्रीको आवश्यक हुन सक्छ । लुम्विनीमा निर्माण हुने हस्तकलाका सामाग्री आकर्षक हुन सक्छन् । गौतमवुद्वको नामवाट थान्का, टिसर्ट, सर्ट, माटाका भाँडा, पाला, ब्याग, रुमाल आदि उत्पादन गर्न सकिने सम्भावना हुन्छ । स्थानीय कृषि उत्पादन अर्गा्निक वनाउन सक्दा पनि त्यसको ठूलो अर्थ रहन्छ । अर्गा्निक खानपानसहित होम स्टे, स्थानीय सस्कृतिको प्रदर्शनले पनि पर्यटकलाई आकर्षित गर्दछ । यस्ता सम्भावनातर्फ स्थानीयलाई प्रेरित गर्ने हो भने उनीहरुको जीविका चल्न थाल्छ र अपनत्व जाग्न सक्छ । लुम्विनी भएकोले हाम्रो जीविका चलेको छ भन्ने महसूस गर्दा त्यसले ठूलै प्रभाव पार्ने देखिन्छ । यो काम लुम्विनीको ५÷७ किमिको क्षेत्रमा त अनिवार्यनै छ त्यसवाहेक प्रस्तावित वृहत्तर लुम्विनी क्षेत्रमा पनि सम्भावनाको खोजी गर्न सकिन्छ ।
कतिपय स्थानीय तहले वौद्यकालिन सस्कार र परम्पराको अनुभूत गर्ने कार्यक्रम वनाउन सक्छन् । यसले एक खालको आनन्द प्राप्ति हुन्छ । यस्तो आनन्द त्यतिवेलाका कला प्रदर्शन वा भिडियो मार्फत पनि हुन सक्छ । विभिन्न भाषाका गाइडको तालिम दिएर स्वरोजगार सृजना गर्ने सम्भावना पनि उत्तिकै हुन्छ ।
सुझावहरु ः
- पुरातत्व विभाग, लुम्विनी विकास कोषसंग समन्वय गरि तत् तत् स्थानको सुन्दरीकरण गर्ने, आकर्षक वनाउने, न्यूनतम भौतिक संरचना वनाउने, स्थानीय जनताको अपनत्व सृजना गर्ने, स्थानीय उत्पादनलाई प्रमोशन गर्ने जस्ता काम गर्न सकिन्छ ।
- उत्खनन गरिएका वस्तुको प्रदर्शन गर्ने, एउटा राम्रो कोठामा वृतचित्रमार्फत् प्रस्तुति दिने, सांस्कृतिक कार्यक्रमको प्रस्तुति, एकछिन सुस्ताउने ठाउँ वनाउने, एकछिन ध्यान गर्ने वातानुकुलित कोठाको ब्यवस्था गर्ने, खानपानका लागि नगिचै होटलको ब्यवस्था गर्ने काम गर्न संघीय वा प्रादेशिक सरकार कुर्नु पर्दैन । शान्त वातावरणमा वस्ने, आनन्द लिने परिस्थिति सृजना गरि अन्वेषक, विद्वान अनुसन्धानकर्ता, साहित्यकार, राजनीतिज्ञ, प्रशासक सवैलाई वुद्वकालिन समयको अनुभूति गराउन सकिन्छ । वृत्तचित्र वनाउँदा तत्कालिन समयको अनुभूति हुन जरुरी छ । जस्तो कि महाभारत, रामायण आदि छन् ।
- कम्तिमा हरेक ठाउँमा दुइचार जना गाइडको ब्यवस्था गरेर एक डेढ घण्टाको समय ब्यतित गराउन पनि त्यति कठिन छैन ।
- पर्यटनका लागि पूर्वाधार असाध्यै जरुरी छ । संगसंगै स्थानीय तहहरुको समन्वयमा टुर प्याकेज तयार गरि पर्यटकको वसाइ अवधि लम्वाउने उपाय निकाल्न जरुरी छ ।
- कपिलवस्तु नगरपालिका र रामग्राम नगरपालिकाले विशेष कार्यक्रम वनाएर अँघि वढ्न सक्छन् । २५ औं बुद्ध क्रकुच्छन्द र २६ औं बुद्ध कनकमणि कपिलबस्तुको गोटीहवा र अरोराकोटमा जन्मेका हुन् । त्यस अर्थमा यिनको प्रचार प्रसारलाई ब्यापक वनाउन लुम्विनी विकास कोषलाई मात्र कुर्नु पर्दैन । रामग्राम अस्थिधातु भएको ठाउँ भएकोले यी दुवै स्थान अन्तर्राराष्ट्रिय महत्वका हुन् । लुविकोषसंग समन्वय गरि स्थानीय तवरमा विकास समितिनै गठन गरि निरन्तर रुपमा प्रचार गर्ने, योजना वनाउने, लुविकोषसंग संयुक्त योजना वनाउने, स्वायत्त ढंगले अन्तर्राराष्ट्रिय सहयोग जुटाउने काम गर्न सक्छन् ।
- वृहत् लुम्विनी क्षेत्र अन्तर्गत्का सवै साइटहरुलाई समेटेर बौद्ध परिपथको रुपमा पर्यटकीय प्याकेज गराउने कार्यक्रम नीजि क्षेत्रसंग समन्वय गरेर गर्न सकिन्छ ।
- सडक सञ्जाल वनेपनि लुम्विनी जानका लागि यातायातको सुगमता हुन सकेको छैन । सैनामैनाको मुर्गिया, रामापुर, वाँसगढी, कपिलवस्तुको पिपरा लगायतका क्षेत्रवाट सवारी साधनको अभाव छ । अव ढिलो नगरि सवारी साधन चल्ने वातावरण वनाउन अन्तर पालिकाको समन्वयमा काम अँघि वढाउनुपर्छ ।
(लुम्विनीमा आयोजित गोष्ठिमा प्रस्तुत कार्यपत्र ३१ बैशाख २०७६)

No comments:
Post a Comment