• Breaking News

    खाना पर्यटन र रैथाने उत्पादन



    डी.आर. घिमिरे


    परम्परागत खाना अहिले आकर्षणका विषय बनेका छन् । आधुनिकताको नाममा पिज्जा, वर्गर, मम, चाउचाउ, चाउमिन लगायतको वाढी आइरहेकै वखत परम्परागत खाना स्वास्थ्यका हिसावले उपयोगी भएपनि तिनको खोजी र उपयोग हुन सकेको थिएन । अहिले यी र यस्ता खाद्यपदार्थको उत्पादन पनि कम हुँदै गएको छ । यस्तो अवस्थामा गाउँको उत्पादन सहरमा, रैथाने खाना घरघरमा भनेर रैथाने उत्पादनको अभियान चलाउनु आफैमा चुनौतिपूर्ण काम हो । 

    यही चुनौतिपूर्ण काम गर्न तिलक ढकालसमेतको समुह सक्रिय छ । उनीसंग मोवाइल, म्यासेन्जर आदिमा वेलावखत कुरा भइरहे पनि प्रत्यक्ष भेटेर कुरा गर्ने अवसर यो पटक एक हप्ते काठमाण्डौ बसाईका अवसरमा जुर्यो । तथापि यस विषयमा मलाई अलि रुचि भएकै कारण यस अघि पनि म उनको रैथाने एग्री प्रोडक्टमा गएको थिएँ । 

    आजभोलि मकैको आटो, फापर÷कोदोको रोटी, मकै र कोदोको ढेंडो, स्थानीय तरकारी आदि खोजी खोजी खाने गरिन्छ । यी र यस्ता चिजको स्वादमै फरक हुनाले पनि तिनको आकर्षण बढेको हो । खासमा सहरमा बस्नेहरु धेरैमा यस्तो पाइन्छ । केही पत्रकारहरुसहित एक दशक अघि गुल्मीको तम्घास जाँदा ठूला पात गरेको काउलीको तरकारीमा कागती निचोरेर खाएको स्वाद मैले कहिल्यै विर्सन सकेको छैन । 

    हालै अर्घाखाँची जाँदा सन्धिखर्कस्थित साथी होटलबाट ब्रोकाउली र काँक्रो ल्याएको थिएँ, जसलाई एक हप्तासम्म पुर्याई पुर्याई खाएका थियौ । यसरी रुचिपूर्वक खाने खानालाई संरक्षण गर्न किन सकिएको छैन ? पहिला बुवा आमाले घरको छानामा कपडाको टालोमा बाँधेर विभिन्न तरकारीका बीउपल राखेको भर्खरै जस्तो लाग्छ । जसलाई सिजन आएपछि निकालेर रोप्ने गरिन्थ्यो । यसरीनै वीउको संरक्षण हुने गरेको थियो । त्यतिवेला हरेक  घरपरिवार बिउको संरक्षणमा लागेको हुन्थ्यो ।

    तर, अहिले भेटनरी पसलमा गएर हाईब्रीड अर्थात् विकासी बिउ किनेर ल्याउने चलन छ । जुन बीउ एक सिजनका लागि मात्र हुन्छ । कुनै जमाना थियो– विदेशी, धेरै फल्ने र विकासे भनेर निःशुल्क वीउ पाउँदा  प्रायः किसानहरु खुशी हुन्थे । अहिले आफुले उत्पादन गरेको तरकारी वा फलफुल कसैको पनि बीउ कामै लाग्दैन ।

    यस्तो अवस्थामा रैथाने एग्री प्रोडक्ट डटेर लागेको छ । निजी क्षेत्रबाट यति रणनीतिक र दीर्घकालिन काम यसले गरेको छ जसले नेपालको मौलिक कृषि उपजको संरक्षण, सम्वद्र्घन, उत्पादन र बजारीकरण संगसंगै भएको छ ।

      प्रकृति संरक्षण कोष (डब्लु डब्लु एफ) मा लामो समय सेवा गरेका तिलक ढकाल, राजवहादुर राईसमेत उपेन्द्र कुइकेल, शंकर गौतम, कल्पना राई समेत ४५ जनाले यो काममा लगानी र सक्रियता देखाएका छन् । उनीहरुसंग एउटा विश्व प्रकृति संरक्षण नेपाल (डब्लु डब्लु नेपाल) नामक गैर सरकारी सस्था पनि छ ।

    कम्पनीले कृषि बाली, शिप र प्रविधिको संरक्षण, प्रवद्र्घन र बजारीकरण गर्छ भने डब्लु डब्लु नेपालले अनुसन्धान, खोज र जागरणको क्षेत्रमा काम गर्छ । जस्तो कि नेपालका होम स्टेमा स्थानीय वस्तुको प्रयोग गर्नुपर्नेमा त्यसो गरिएको पाइदैन भने यस बारेमा अनुसन्धान गरी त्यसको कारण र उपाय पत्ता लगाई निराकरण गर्न सहयोग गर्छ । 

    यस वीचमा नेपालीको मुख पनि विग्रेको सत्य हाृे । नेपाली मुखले कोदो, फापर, मकैको आटो, गिठा, तरुल, सखरखण्ड आदि मन पार्न छोड्यो । यसको साटो मम, पिज्जा, बर्गर, चाउचाउ, चाउमिननै मिठो लाग्न थाल्यो ।

     कोरोना महामारीको समयमा धेरै हदसम्म हाम्रा मौलिक खाना ठिक थिए भन्ने कुरा एक हदसम्म पुष्टि भयो । तर खोज्दा बजारमा नपाइने अवस्था आयो । त्यसैले यो रैथाने एग्रीले किसानलाई वा होमस्टे सञ्चालन गर्दै आएकालाई भन्न थाल्यो कि तँपाईहरु हाम्रा मौलिक र रैथाने उत्पादन गरेर खुवाउनुस् । यदि बिक्री भएन भने त्यसलाई खरिद गर्ने जिम्मा हामी लिन्छौं ।

    यसो गर्दा किसानहरुमा बिश्वास जागेको छ र नेपाली होटल, रेष्टुरेन्टमा पनि यस प्रकारका मेन्यु थपिन थालेका छन् । नेपाली उत्पादनको विकास र आत्मनिर्भर अर्थतन्त्रको निर्माण नगरेसम्म समाजवाद आउँदैन भन्ने ढकालको निष्कर्ष छ । यो पटक सरकारले ल्याएको बजेटमा विद्यालयमा दिइने दिवा खाजामा रैथाने शब्द प्रयोगमा आएको छ । यसका लागि उनीहरुले गरेको पैरवीले काम गरेकोमा खुशी त छन् तर, तिनै उत्पादन आयात गरेर ब्यापारीले बजारमा ल्याउने उत्तिकै खतरा पनि छ । किनकि ब्यापारीको धर्म जसरी पनि पैसा कमाउने हो ।

    खासमा नेपाली उत्पादन बढोस् भनेर यो शब्दको प्रयोग गरिएको हो । यद्यपि स्थानीय तहहरुले चाहने हो भने यस्ता विकृति रोक्न सकिन्छ भन्ने कुरा अहिले पूर्वी रुकुमको भूमे गाउँपालिका र मकवानपुर जिल्लाको मकवानपुरगढी गाउँपालिकाले प्रमाणित गरेको छ । 

    के गर्छ भूमेले ? 

    यो पालिका आत्मनिर्भर हुने प्रयासमा छ । गाउँको उत्पादनलाई प्रयोगमा ल्याउने गरेको छ । यसको उदाहरण एउटा विद्यालय कार्यक्रमबाट पाउन सकिन्छ । बिद्यालयको दिवा खाजा कार्यक्रम अन्तर्गत सहकारी वजार, विद्यालय र पालिकाबीचमा त्रिपक्षीय सम्झौता छ । जस अनुसार सहकारीले खाद्य पदार्थ उपलब्ध गराउँछ । पालिकाले नगद अनुदान दिन्छ र विद्यालयले तरकारीको व्यवस्थापनका साथै पालिकाको मेन्यु अनुसार खाजा बनाएर विद्यार्थीलाई खुवाउँछन् । प्रायः विद्यालयका आफ्नै करेसावारी भएकोले तरकारी उत्पादनमा जोड दिन्छन् । अन्यथा किसानको उत्पादन खरिद गर्छन् ।

    यस पालिकामा अर्गानिक उत्पादन गर्न पनि अनिवार्य छ । माटो परीक्षण गरेर किसानलाई सहयोग गर्ने काम पनि पालिकाले गरेको छ । उत्पादित वस्तुको वजारीकरणका लागि कृषि एम्वुलेन्स सञ्चालित छ । जसले किसानलाई चाहिने बीउ वा अन्य सामाग्री घर घरमा पुर्याउँछ र उत्पादित वस्तु वजारसम्म ल्याईदिन्छ । यसरी एउटा पालिकाले ध्यान दिने हो भने किसानलाई खुशी पार्न, उत्पादनमा प्रेरित गर्न र वजारीकरणमा सहयोग गर्न सक्दा रहेछन् ।

    ठिक यस्तै प्रकारको काम मकवानपुर गढीले पनि गरेको छ । फरक यो छ कि यसले घट्ट मिल आफै राखेको छ र प्याकेजि¨ तथा ब्राण्डि¨ र वजारीकरणमा सहयोग गर्छ । उनीहरुले होम स्टेमा स्थानीय उत्पादन राख्न पनि दवाव दिन्छन् । यसरी नै पालिकाभित्र रहेका होटलहरुलाई खानाको मेन्यु पनि दिन सक्ने हो भने रैथानेले वजार पाउन कुनै अफ्टेरो पर्दैन ।

    रैथाने एग्री प्रोडक्टले धानवाहेक हाइब्रीड बिउ प्रयोग गरिएको उत्पादनलाई पनि बजारीकरण गर्दैन । किनकि उसले खास रैथाने बिउको संरक्षण गर्नुपर्छ भन्ने मान्यता राख्दै आएको छ । हुनपनि बिउमा बहुराष्ट्रिय कम्पनीको एकाधिकार हुँदासाथ हाम्रो अर्थतन्त्र विदेशीको हातमै जाने हो । अहिले ५० हजार किसानसंग सहकार्य गरिरहेको रैथानेले आफ्नो अभियानलाई आक्रामक ढंगले नै अगाडि वढाएको छ ।

    अहिले रैथानेले खानालाई पर्यटनको विषय वनाएर लगिएको छ । अर्थात् खाना पर्यटन । स्थानीय खानाको वजारीकरण गर्ने यो उत्तम उपाय हो । नेपालमा १४२ जाति मानिस वस्छन् । प्रायः सवैका केही न केही परिकार छन्, जसलाई महोत्सव मार्फत् प्रचार गर्न सकिन्छ । 

    यसै प्रसंगमा केही वर्षदेखि यो पंक्तिकारले बुटवलको वडा नं. १३ मा वेलवास महोत्सव गर्ने योजना बनाएको छ । जस अन्तर्गत् मगर, गुरु¨, थारु र बाहुन क्षेत्रीका खाना, सस्कृति र अन्य कतिपय विषयलाई विशेष ढंगले पस्कन सकिएला भन्ने लागेको थियो । रैथानेको अभियानले यसलाई थप उत्साहित वनाएको महसुस भयो ।

    भविष्यमा खाद्य संकट आउनसक्ने संभावना अहिले संसारभरी देखिएको छ । यदि यसबाट बच्ने हो भने खाद्य विविधतामा जोड दिनैपर्छ । यो अभियानलाई केही हदसम्म माघ १ गते मनाउन थालिएको कृषि जैविक विविधता दिवसले साथ दिन खोजेको छ । 

     ठूला किसानले मौलकता जोगाउँदैनन् ।

    तिलक ढकालको अनुभवमा ठूला किसानले मौलिकता बँचाउन सक्दैनन् । उनीहरु धेरै उत्पादन गरेर धेरै पैसा कमाउने काममा लाग्छन् । त्यसैले उनीहरु हाईब्रिड बिउनै खोज्छन् । यसले मौलिक बिउको संरक्षण गर्दैनन् । हाइब्रिड र स्थानीय बिउमा के फरक छ भने हाइब्रिडमा खास गन्ध हुँदैन । त्यसको स्वाद र मिठासमा भिन्नता हुँदैन । तर स्थानीय बिउमा स्वाद, मिठास फरक हुन्छ । त्यसैले हाम्रो स्वादमा पर्यटक आकर्षित र आनन्दित हुन्छन् । शिप र प्रविधिले पर्यटकलाई आकर्षण गर्न सक्छ । यसरी उत्पादन भएको वस्तुको मूल्यनै फरक हुन्छ । अब पेट भर्ने मात्र हैन पहिचान, स्वाद र मिठासलाई पनि ब्राण्डि¨ गर्ने हो ।

    कपिलवस्तु, नवलपरासी र रुपन्देहीमा हुने कालानमक चामललाई बुद्घकालिन भनेर ब्रण्डि¨ गर्न सकिने भएको छ । लुम्विनी विकास कोषका उपाध्यक्ष भिक्षु मैत्तय (अवधेश कुमार त्रिपाठी) ले २५६७ औं वुद्घजयन्तीको अवसरमा २०८० बैशाख १९ मे २ तारिखमा कम्वोडियामा भएको अन्तर्राष्ट्रिय वुद्घजयन्तीका अवसरमा त्याहाँका प्रधानमन्त्री हुन सेनलाई उपहारस्वरुप  कालानमक चामल उपहार लगेका थिए । चामल त्याहाँ नभएर उपहार लगेको हैन, बरु बुद्घकालिन भनेर लगिएको हो । संसारमा चिन, जापान, भियतनामजस्ता कैयौं मुलुकमा यो चामललाई महंगो मूल्यमा विक्री गर्न सकिने रहेछ भन्ने त यसलेनै देखायो । यसैले स्थानीय प्रजातिका बिउ विशेष हुन सक्छन् । तर, धेरै लोप भइसके ।

    ढकालले विद्यालयमा विज्ञान र कम्प्युटर मात्र हैन नयाँ प्रकारको सामाजिक ल्याव राख्ने प्रस्ताव अघि सारेका छन् । यसमा समाज झल्कनुपर्छ । उनीहरुको रहनसहन परम्परा देखिनुपर्छ । ढिकी, जाँतो, ठेकी, गुन्द्री, ना¨लो, हुक्का, भेषभुषा अर्थात् मौलिक वस्तु झल्कने आदि देखिनुपर्छ । काठमाण्डौमा दुई वटा विद्यालयले यस्तो अवधारणालाई कार्यान्वयनमा ल्याउँदै छन् भन्ने कुरा सुन्दा मलाई पनि खुशी लाग्यो ।

    यसरी हेर्दा रैथाने केवल खाना मात्र हैन, परम्परा, सस्कार, सस्कृति सवैतिर हुन सक्ने देखिन्छ । वजार, लत्ताकपडा आदिलाई पनि रैथानेको रुपमा पर्यटनको माध्यम वनाउन सकिन्छ कि ? पर्यटन भनेको ठूला घर, होटल, विदेशी खाना मात्र हैन । प्रकृतिदेखि सस्कृतिसम्म, सस्कारदेखि परम्परा र रैथानेसम्म आउन सक्दा रहेछन् । समाजवादी अर्थतन्त्रका लागि आत्मनिर्भर अर्थतन्त्र, आत्मनिर्भर अर्थतन्त्रका लागि स्वदेशी वस्तुको उत्पादन, मौलिक खानपानमा जोड, पहिचानयुक्त सस्कृति र सस्कारको अवलम्वन नै अवको विकल्प हो । यो काम सरकारले मात्र हैन नागरिकस्तरवाट शुरु गरिनुपर्छ र मात्र राज्यले सुन्छ ।

    २०८० जेठ ३२


    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Travel