• Breaking News

    क्वीन्सटाउन ः खानी क्षेत्र र ‘नो ड्याम्स’ अभियान

     डी.आर. घिमिरे



    क्वीन्सटाउन अस्ट्रेलियाको तास्मानिया टापुको पश्चिम क्षेत्रमा अवस्थित एक शहर हो । यो पश्चिमी तट श्रृंखलामा माउन्ट ओवेनको पश्चिमी ढलानमा एक घाटीमा छ । 

    अष्ट्रेलिया त्यसै पनि खानीका लागि प्रख्यातनै छ । यहाँको अर्थतन्त्र मुख्यतः खानी र विदेशी विद्यार्थीको शुल्कबाट धानिएको छ । बक्साइट( यो मुख्यतया एल्युमिनियम–असर खनिजहरू मिलेर बनेको चट्टान हो), कालो कोइला, तामा, सुन, फलाम अयस्क र औद्योगिक हीराका लागि विश्वको शीर्ष छ देशहरू मध्ये अष्ट्रेलिया पनि एक हो । मलाई अलिकता चासो ती खनिज कहाँ होलान् भन्ने पनि थियो ।

    आखिर क्वीन्सटाउन लामो समयदेखि खानी उद्योगसँग जोडिएर रहेको ठाउँ रहेछ । यो हिमाली क्षेत्रको पहिलो अन्वेषण सन् १८६२ मा गरिएको रहेछ । त्यसको धेरै समयपछि माउन्ट लाइल नामक पहाडमा सुन फेला परेपछि सन् १८८१ मा ‘माउन्ट लाइल गोल्ड माइनिङ कम्पनी’ गठन भयो र सन् १८९२ मा खानीले तामाको खोजी सुरु गरÞ्यो । माउन्ट लाइल कम्पनीको अन्तिम नाम ‘माउन्ट लाइल माइनिङ एण्ड रेलवे कम्पनी’ थियो ।

    सन् १९०२ देखि सुरु भएको क्विन्सटाउन पोस्ट अफिस पनि बिश्व सम्पदा सूचिमा सूचीबद्ध छ । सन् १९०० को दशकमा क्विन्सटाउन ‘माउन्ट लाइल माइनिङ’को केन्द्र थियो । 

    माउन्ट लाइल कम्पनीको समाप्ति पछि यस सहरमा होटल, थिएटर, चर्च र स्कूलहरूको संग्रह थियो जुन धेरै हदसम्म लोप भएका छन् । शायद यसैले पनि संग्रालयमा ती सवै हेर्न सकिन्छ ।

    सन् १९८० को दशकमा हाइड्रोले नजिकैका थुप्रै बाँधहरू निर्माण गरेर समृद्धिमा केही वृद्धि गरेको थियो । डार्विन र क्रोटी बाँधहरू जुन लेक बर्बरी (एक लोकप्रिय माछा मार्ने र मनोरञ्जन स्थल) समावेश गर्दछ यस अवधिमा निर्माण गरिएको थियो । सन् १९८३ मा वातावरणविद्हरूले चलाएको ‘नो ड्याम्स’ अभियान पछि गोर्डन–तल–फ्रैंकलिन बाँध रद्द गरिएको थियो ।



    क्विन्सटाउन वरपरका पहाडहरूमा असामान्य गुलाबी र खैरो रङहरू छन् जुन दुई सबैभन्दा नजिकका पर्वतहरू – माउन्ट लाइल र माउन्ट ओवेनमा समूह चट्टानहरूबाट आउँदछ । क्विन्सटाउन वरपरका पहाडहरू प्रायः जाडोमा हिउँले ढाकिएका हुन्छन् । 

    सन् १९९५ देखि १९ को बीचमा तास्मानियाको तामा खानी स्वतन्त्र रूपमा सञ्चालन भएको थियो र त्यसपछि यो एक भारतीय कम्पनी समूहको हिस्सा बनेको थियो । यसका केन्द्रहरू प्रशोधनका लागि भारत पठाइएको थियो । सन् २०२१ मा भारतीय खानी कम्पनी वेदान्त लिमिटेडले क्विन्सटाउनमा आफ्नो तामा खानीको गतिविधिलाई वन्द गरेको थियो । 

    थप आर्थिक खनिज भण्डारको लागि सो क्षेत्र भित्र अन्वेषण जारी छ, र भूविज्ञानको जटिलताको कारण, त्यहाँ सँधै नयाँ खानीहरू खुल्ने सम्भावना छ । १९९० मा सुन खानी पनि सञ्चालनमा आएको पहाड अहिले पनि पहेलाजस्तो देखिन्छ । जसलाई पछि पारेर हामीले फोटो शेसन पनि गर्यौं ।

    सो ठाउँको इतिहास पढ्दा थाहा पाइन्छ– खानी सञ्चालन गर्दा विषाक्त ग्यास पहेंलो धुवाँको रुपमा निस्कदा त्यसले हावा नै बन्द गर्यो । जुन सल्फर डाइअक्साइड थियो । यो धुवाँले गर्दा कैयौं मानिस हताहत भए । यसले स्थानीय मौसममा पनि परिवर्तन ल्यायो । भनिन्छ कि कतिपय अवस्थामा कुहिरो पनि पहेँलो निस्कन्छ । केही वर्ष माउन्ट ओवेन, माउन्ट लिएल र तिनको वरपरका पहाडहरू पनि वनस्पतिविहीन थिए । 

    भनिदो के रहेछ भने पहाडको ठुलो क्षेत्र र वरपरका राम्रा पहाडहरू आउने पुस्ताका लागि खाली नै रहनेछन् ।  

    सन् १९१२ अक्टोबर १२ मा माउन्ट लायल खानीमा भिषण आगो लाग्दा आगोले काठमा धुवाँ मात्र निस्केन बरु थोरै मात्रामा धुवाँ तर ठूलो मात्रामा घातक कार्बन डाइअक्साइड उत्पादन गर्यो । जसका कारण कतिको मृत्यु भयो भन्ने नै थाहा भएन । एक पटक ७ शय शवहरू फेला परेको जानकारीसम्म छ । यस्ता कति धेरै हराए होलान् । जुन आगो किन र कसरी सुरु भयो भन्ने बिषय विवादास्पद छ । 

    सो हृदय विदारक कथाको बारेमा क्वीन्सटाउन ग्याली संग्रहालयमा उद्धार प्रयासहरूमा भूमिका खेलेका धेरै वस्तुहरू हेरेर अनुमान लगाउन सकिन्छ ।

    हामीले सो संग्रहालयको अवलोकन गर्यौं । जहाँ क्वीन्सटाउनको इतिहास बताउने ऐतिहासिक तस्वीर सामग्रीहरूको भण्डार संग्रह गरिएको छ । 

    सन् १८९७ खुलेको इम्पीरियल होटलका २७ वटा कोठामा विभिन्न बस्तुहरु संग्रह गरिएको छ । उच्च गुणस्तरको कलाकृति, फर्नीचर र शिल्प कार्यहरू ग्यालरीमा सजाइएको छ । खानी उद्योग, खनिज, खेलकुद, र उपचार केन्द्र, सैन्य र क्विन्सटाउन वरिपरिका धेरै अवशेषहरूको भब्यतालाई आकर्षक ढंगले सजाइएको छ ।  

    कैयौ संग्रहनीय वस्तुहरु फोटोग्राफिको माध्यमबाट राखिएको छ । कतिपय सामग्रीहरू जस्ताको तस्तै भण्डारको रूपमा संग्रह गरिएको छ । सन् १९१२ को नर्थ माउन्ट लाइल माइनिङ प्रकोपसँग सम्बन्धित फोटोहरू, तिनले सिकाएका पाठ र सामग्रीहरूको संग्रह पनि व्यापक छ ।

     





    2079 magh 20


    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Travel