डी.आर.घिमिरे
हरेक ठाउँमा दिनहुँजसो विभिन्न कार्यक्रमहरु भइरहेका हुन्छन् । संघ संस्थाका साधारणसभा, अन्तरक्रिया, छलफल, वार्षिकोत्सव, उद्घाटन, शिलान्यास, आदि आदि । यस्ता कार्यक्रमहरुमा केही बालीघरे व्यक्ति हुन्छन् । उनीहरु संस्थाका प्रतिनिधि हुन्छन् । मानौं कुनै संस्थाको अध्यक्ष भई सकेपछि उसले शुभकामना दिनैपर्छ । यो भनेको आशिर्वचन होला । पहिले पहिले टाउकोमा हात राखेर आशिर्वाद दिने चलन थियो, अहिले त्यसको नाम फेरिएको छ । भनिन्छ, शुभकामना । शुभ होस् भनेर कामना गर्ने । शुभ भनेको राम्रो हो ।तर कुनै कुरा व्यक्त गर्नका लागि त्यो विषयको जानकार हुनुपर्छ र सरोकारवाला हुनुपर्छ । बोल्न दिएन भनेर बोलाएर अपमान गरेको सम्झने लालबुझक्कडहरु पनि होलान् तर सबै अवस्थामा यो कुरा लागू हुन्न । कोही रिसाउँछ कि, फेरि फेरि कार्यक्रममा आउँदैन कि आफैलाई मञ्च उपलब्ध नगराउला कि भनेर आफै तर्सने र तदनुरुपको काम गर्नेहरुको संख्या पनि थोरै छैन । कार्यक्रममा बोलाई सकेपछि खासगरी संस्थागत प्रतिनिधिहरुको हकमा बोल्न नदिनु भनेको अपमान गर्नु हो भन्ने बुझाई बोलाउने र सहभागी हुने दुबैमा छ । सयौंको संख्यामा उपस्थित कार्यक्रममा सबैलाई बोल्न दिनु वा सबैलाई आशन ग्रहण गराउनु निश्चयनै सम्भव छैन । त्यसैले प्रतिनिधिमूलक ढंगले संबोधन गर्ने अवसर दिनु स्वभाविक पनि हो ।
व्यापारीहरुको प्रतिनिधि संस्था उद्योग वाणिज्य संघ, उद्योगीहरुको प्रतिनिधि संस्था (रुपन्देहीको हकमा) रुपन्देही उद्योग संघ, पत्रकारहरुको प्रतिनिधिमूलक संस्था नेपाल पत्रकार महासंघ, यातायात व्यवसायीको पश्चिम नेपाल बस व्यवसायी संघलाई मञ्च उपलब्ध गराउने प्रचलन पुरानै हो । तर पछिल्लो पटक शुद्ध व्यापारीहरुको संस्था रुपन्देही व्यापार संघ, ट्रक व्यवसायीको संस्था ट्रक समिति, यातायात मजदूरहरुको यातायात मजदूर तथा व्यवसायी भलाई कोष, पत्रकारहरुका पार्टी पिच्छेका संगठन, होटल व्यवसायी जेसिज, लियो, लायन्स, रोटरी लगायत अधिकारकर्मीका संगठन, प्याब्सन आदि आदिको नाम लिने हो भने रूपन्देहीमा पचासौं संस्था छन् । र ती संस्थाबाहेक अरु कसैले मौकामा चौका त हान्ला तर स्वभाविक ढंगले पाउँदैन ।
बोल्नेले हरेक संस्थाको नाम लिनुप¥यो, प्रमुख अतिथि भन्नुप¥यो अरु कोही गन्नेमान्ने रहेछ भने त्यसको पनि नाम लिनु प¥यो । यसै गर्दा ५,७ मिनेट समय खर्चिन्छ । अनि उपदेश दिन थालेपछि आफ्ना कुरा र अर्काका कुरा पनि गर्नुप¥यो । जति लामो बोल्यो उतिनै विद्वान भइन्छ भन्ने भ्रम पनि छ, त्यसैले तलबाट जतिसुकै हाइ काढे पनि, कुरा गरेर समय व्यतीत गर्ने श्रोता भएपनि, मोबाइलमा कुरा गर्दै भाषण गर्नेको भन्दा चर्को आवाज निकाले पनि आँखिचिम्म गरेर बोलिरहनु र उपदेश दिइरहनु नियति नै हुने गर्छ । एउटा कार्यक्रममा गएको व्यक्तिले २,४ घण्टा श्रवण गर्ने क्षमता राख्नैपर्छ ।
त्यहाँ सबैभन्दा आपत पत्रकारहरुलाई पर्छ । पत्रकारमा पनि रेडियो र टीभी पत्रकारलाई पर्छ । छापामा लेख्नेलाई समाचार बनाएर पठाइदिनु भनेपछि आयोजकले नै पठाउँछ । नभए कपि पेष्ट गरौंला भने पनि हुन्छ । रेडियोमा रिपोर्ट बनाउनुपर्ने रहेछ भने २,४ जनाको कोड गर्नु प¥यो । टीभीमा लाइभ खिच्नु प¥यो । त्यसो हुँदा कार्यक्रमको चुरो कुरा के हो भन्ने आधारमा हैन झल्याक झुलुक तस्वीर आउने बाहेक अरु तत्वयुक्त समाचार आउन पाउँदैन । ५,७ ठाउँ जानुपर्ने पत्रकारहरु कहिलेकाँही तल बसेर होहल्ला गर्छन् र मन्तव्य छोटो आउने वातावरण त बनाउँछन् तर बोल्नेले कुरा बुझ्दैन । मञ्चमा उठेपछि वक्ताले म भन्दा पछि अरु पनि वक्ता छन् है भनेर पटक्कै सोंच्दैन । यसो गर्दा समय फोकटमा व्यतीत भइरहेको छ ।
आजभोलि बोल्ने र सुन्ने व्यक्ति सबैमा चेतनास्तर बढेको छ । चार कक्षाका विद्यार्थीहरुलाई कक्षा कोठामा बसेर पढाए जस्तो गर्नु पर्दैन । बोल्न शुरु नगर्दै पत्रकारहरुले मात्र हैन सबैजसो श्रोताले कुरा बुझि सक्छन् । हरेक मञ्चमा एउटै कुरा गर्दा पट्यार लाग्नु पर्ने हो तर त्यस्तो पनि देखिदैन । त्यसैले मेरो विनम्र सुझाव छ कि अब आयन्दा रूपन्देही जिल्लाका कार्यक्रमहरु प्रभावकारी, औचित्यपूर्ण र समयानुकूल बनाऔं । त्यसो भयो भने कार्यक्रमहरुमा उत्साहजनक उपस्थिति यसकारणले हुन्छ कि तोकिएको समयमा कार्यक्रम सकिन्छ भन्ने विश्वास सबैमा जाग्छ । स्वयं म आफै पनि यस्तै कारणले धेरै कार्यक्रममा जान छोडेको छु ।
१) कार्यक्रम तोकिएको समयमा शुरु गरौंः
केही पटक गाह्रो सारो पर्ला । पछि सबै कुरा मिल्छ । ५ देखि १० मिनेटभन्दा पटक्कै नकुरौं । सहभागी हुनेले पनि यसलाई बुझौं । कहिले काँही कार्यक्रम सकिदा मात्र कोही जान्छ भने पनि त्यसलाई सम्मान गरौं । एक पटक दुई पटक तपाईको कार्यक्रम खल्लो होला तर सफल हुन्छ । मानव अधिकार तथा शान्ति समाजले वर्षौंदेखि यस्तै गर्छ । तर ऊ असफल भएको छैन । बुटवलमा गौतम बुद्ध मुटु अस्पतालले बजे हैन मिनेटमा कार्यक्रम शुरु गर्ने कसरत ग¥यो, ऊ सफल छ । त्यसैले सबै आयोजकहरुले यस कुरालाई गम्भीरतापूर्वक लिनु जरुरी छ । हैनभने १५ मिनेट पछि सहभागीले फर्कन शुरु गर्नुपर्छ ।२) मञ्चमा आशन ग्रहण सीमित गरौंः
भए भरका संस्था प्रमुखलाई मञ्चमा राख्ने र थोरै मात्र तल राख्ने बस्ने प्रथालाई हटाउनै पर्छ । सम्मान गर्नका लागि मञ्चमै जानु पर्दैन । अघिल्लो लाइनमा संघ संस्थाका प्रतिनिधि र दलका प्रतिनिधि भनेर सिटको व्यवस्थापन गर्न सकिन्छ । यसो गर्दा कसैको आत्मसम्मान र स्वाभिमानमा ठेस लाग्दैन । मञ्चमा अध्यक्ष र एकजना प्रमुख वक्ता वा परम्परागत भाषामा प्रमुख अतिथि छ भने उसलाई मात्र राख्दा हुन्छ । यसले कार्यक्रमको गरिमा बढाउँछ । उपस्थित संख्या कम भएको ठाउँमा पनि क्षतिपूर्ति हुन्छ । र कतिपय व्यक्तिहरु मञ्चमा जान नपाउँदा आफू धेरै तल परेको, घटुवा भएको सम्झन्छन् । उनीहरुलाई पनि सान्त्वना मिल्छ । विडम्बना त के छ भने केही व्यक्ति यस्ता पनि छन् जसलाई बोलाउनै पर्दैन । खुरु खुरु मञ्चमा गएर हात मिलाउँछ र त्यही बस्छ ।कता कता कतिपयको मनोविज्ञान के छ भने मञ्चमा बसेकाहरुसँग हात मिलाएपछि आफू पनि सो सरह भइयो भन्ने भ्रम छ । टाढैबाट नमस्ते गरेर पनि शिष्टाचार आदान प्रदान हुन्छ र कोही सानो हुन्न । कार्यक्रम चलिरहेको छ । कसैले खादा ओढाउँदै होला, कसैले ब्याच लगाउँदै होला, कसैले माला लगाउँदै होला । त्यस्तो अवस्थामा पनि मञ्चमा गएर हात मिलाउने नाममा ट्राफिक जाम हुन्छ । यसो गर्दा समय व्यवस्थापनमा समस्या उत्पन्न हुन्छ ।
३) खादा र ब्याच नलगाऊँः
मञ्चमा बसेका व्यक्तिको परिचय शुरुमै हुन्छ । उनीहरुको नाम लिइएको हुन्छ । तालि पड्काएर आशन ग्रहण गराइन्छ । तर, यतिले नपुगेर खादा ओढाइन्छ र ब्याच लगाइन्छ । खादा टिर्लिक्क टल्कन्छ । तर त्यसको औचित्य त्यति नै हो । खादा पसिना पुछ्न र जुत्ता सफा गर्न समेत काम लाग्दैन । घरमा लगेर फाल्ने नै हो । त्यस्तो कपडामा अनावश्यक पैसा किन खर्चने ? बरु यसको सट्टा दिनु नै छ भने जाडोको समयमा मफलर वा सल ओढाउने काम उपयुक्त हुन सक्छ । यी चीजहरु महँगो पर्छ भन्ने हो भने नओढाउँदा पनि केही फरक पर्दैन । अर्को फजुल खर्च व्याचमा पनि हुने गरेको छ । ब्याच लगाउने काम पनि फोकटिया हो ।बीसौं जनालाई एकएक नाम लिएर आशन ग्रहण गराउने र त्यसपछि फेरि उत्तिनै समय लगाएर ब्याच वा खादा लगाइदिनु आवश्यक छैन । लगाउनै पर्ने छ यदि भने आसन ग्रहण गर्दाका साथ सँगसँगै अध्यक्षता ग्रहण गर्ने व्यक्तिले नै लगाइ दिंदा समयको बचत हुन्छ । त्यसैले यस कुरामा पनि सुधारको असाध्यै खाँचो छ ।

No comments:
Post a Comment