• Breaking News

    कहिले खुल्ला लकडाउन

    डी.आर.घिमिरे
    आज विहानैदेखि अलि थाकेजस्तो महसूस भइरहेको छ । समय ब्यवस्थापनका हिसावले त म पूरै ब्यस्तै छु तैपनि यसरी घरमै नजरवन्दीजस्तो भएर वस्दा अत्यास लाग्नेनै भयो । म पनि कसरी अलग हुन सक्छु र ? मैले अस्तिका दिन काठमाण्डौमा अव  अलि हल्का गर्दा हुने आशयको स्टाटस राख्दानै कैयां ब्यक्तिले आफुलाई पनि त्यस्तै महसुस भएको धारणा राख्नुभएको थियो ।
    तैपनि वैशाख ३ गतेपछि केही ठाउँमा सुरक्षित हुने गरि आन्तरिक रुपमा खुला गर्नु शायद अन्यथा हुने छैन कि ? यता विश्व स्वास्थ्य संघले लकडाउन यथावत् राख्न दिएको निर्देशन पनि उत्तिकै महत्वको छ । विश्वब्यापी रुपमा हेर्दा त्यति धेरै सनतोषजनक अवस्था छैन । अमेरिकामा हिजोकै कुरा गर्दा २ हजार १ सयको ज्यान गएको छ । एकै दिन भएको यो मृत्यु  विश्वमै अहिलेसम्मकै बढी मृत्यु हो । एकै दिनमा यति धेरैको मृत्यु अहिलेसम्म विश्वका कुनै पनि देशमा भएको थिएन ।
    संसारमै सबैभन्दा बढी संक्रमितको संख्या भएको अमेरिका अब मृत्युका हिसाबले पनि सबैभन्दा बढी क्षति बेहोर्ने देश बन्ने सम्भावना देखिएको छ ।
    अहिलेसम्म विश्वमा सबैभन्दा बढी मृत्यु हुने देश इटली हो, जहाँ १८ हजार ८ सय ४९ जनाको मृत्यु भएको छ भने अमेरिकामा १८ हजार ७ सय ६९ जनाको ज्यान गएको छ । अव अमेरिकानै उच्च मृत्यु भएको देश हुने अवस्थामा छ ।
    संक्रमितको संख्या हेर्दा पनि संसारमै सबैभन्दा बढी अमेरिकामा ५ लाख २८ हजार ८ सय ७६ पुगेको छ । यसपछि विश्वमा सबैभन्दा बढी संक्रमित इटलीमा छन् । त्यहाँ अहिलेसम्म १ लाख ४७ हजार ५ सय ७७ जना कोरोनाबाट संक्रमित छन् ।
    संक्रमतिको संख्या घट्दो क्रम हो कि भनेर अनुमान लगाउने अवस्था आएकोले अव क्रमसः लकडाउनलाई हल्का वनाउनुपर्ने अवस्था छ । नेपालकै कुरा गर्दा त भारतलाई मात्र नियन्त्रण गर्दा धेरै हदसम्म सुरक्षित हुने अवस्था छ ।
    संंयोग आजनै दुइजनाको स्टाटस हेर्दा आफैले लेखेजस्तो लाग्यो । मैले अलिकता संकेत अस्तिनै गरेकोले आज लेख्न उचित ठानिन । त्यसमध्ये नेकपाका केन्द्रीय सदस्य विष्णु रिजालको यो स्टाटस हो—
    “सावधानी त अपनाउनै पर्छ । तर, अब चाहिँ नेपाल कोरोनाको महामारीबाट जोगियो भन्न सकिन्छ । हालसम्मका नमुना परीक्षण गर्दा र १४ दिनमा देखिने लक्षण १८ दिनसम्म लकडाउनमा बस्दा पनि नदेखिनुको मतलब कोरोनाको प्रभाव भयावह छैन भन्ने नै हो । सरकारले हेलिकोप्टरमा विशेषज्ञ पठाएर ल्याएर आएका नमुनाहरुको परिणाम पनि नकारात्मक देखिएपछि कोरोना फैलिएको रहेनछ भन्ने देखिएको छ । भारतमा महामारी नफैलिँदै नेपालीहरु स्वदेश फर्किएका कारण पनि कोरोना व्यापक हुन पाएन । सरकारले हरसम्भव उपाय प्रयोग गरेर लकडाउन गरेर देशलाई सुरक्षित बनाएको छ । अझै केही दिन धैर्य गरौँ, बिना क्षति विजय सम्भव छ ।”
    त्यस्तै बुटवलकै युवा लेखक मनिकर कार्कीको यो स्टाटसले पनि त्यस्तै संकेत गर्दछ । उनले लेखेका छन्—
    “अब यसरी हुँदैन है ! अब बाहिरी आवागमन ६ महिनाका लागि बन्द गर्ने । सम्पूर्ण निर्लीकरणसहित औषधि तथा अत्यावश्यक सरसामानको आपूर्ति नियमित गर्ने, संभावित र लक्षणजन्य केशहरूलाई कडा निगरानी र आइसोलेसनमा राख्ने, स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थालाई उच्च महत्व दिँदै सधैं तयारी अवस्थामा राख्ने, राज्य संयन्त्र चुस्त पार्ने अनि सामाजिक दुरी कायम गरेर आन्तरिक आवागमन र बन्द व्यापार खुला गर्ने ! ”
    आज १९ औं दिन भयो लकडाउन भएको । यसरी हेर्दा अव वाहिरी मान्छेलाई रोक्न सकियो भने कोरोना भाइरस यही उब्जदैन । आजै वीरगन्जमा आएर बसेका तीन जना भारतीयमा कोरोना भाइरसको लक्षण देखिएपछि उनीहरूको स्वाब पुनः परीक्षणका लागि काठमाडौं पठाइएको भन्ने समाचार आएको छ ।
    वीरगन्ज—२ छपकैयाको एक मस्जिदमा बसिरहेका २४ जना भारतीयको समूहबारे स्थानीयवासीले खबर गरेपछि प्रशासनले उनीहरूको स्वाब परीक्षण गर्ने व्यवस्था मिलाउँदा यो संकेत देखिएको हो  ।
    उनीहरु तीन जनालाई खोकी पनि देखिएकोले अहिले अस्पतालकै आइसोलेसनमा राखिएको रहेछ । त्याँहा रहेका बाँकी २१ जनालाई क्वारेन्टाइनमा पठाएको छ ।
    ती भारतीयहरूले चार महिनादेखि नेपालमै बसिरहेको बताएका छन् । नयाँदल्ली र उत्तरप्रदेशका उनीहरू धर्म प्रचारको क्रममा नेपाल आएका रहेछन् ।
    अव के गर्ने त ?
    मेरो विचारमा अव अर्ध लकडाउन गर्दा हुन्छ । हिजो भारतीय मिडियाले जे हल्ला गरे त्यो ठिकै छ । ठिकै यस अर्थमा कि भारतले र नेपालले पनि सिमानामा कडाई गर्नैपर्छ । नेपालले कोरोना संक्रमित भारत पठाएको आरोपमा त्यसै पनि सत्यता छैन भन्ने कुरा नेपालमा संक्रमितको संख्यालेनै स्पष्ट गर्छ । जम्मा नौ जनालाई संक्रमित भएको देश ती पनि सवैको अवस्था ठिकठाक छ भने भने कसरी पठाउने कुरा हुन्छ र ?
    आजसम्मको अवस्था हेर्दा भारत “लकडाउनको अवधि थप्ने पक्षमा छ । प्रधानमन्त्री नरेन्द्र मोदीको आशय यस्तै रहेको कुरा दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले ट्वीटमार्फत् बताएका छन् । प्रधानमन्त्री नरेन्द्र मोदीले आजैखमुख्यमन्त्रीहरूसँग भिडिओ कन्फरेन्स गरेका थिए जसका आधारमा पनि उक्त आशयलाई महत्वपूर्ण मान्न सकिन्छ ।
    भारतका घना बस्तीमा भाइरसको सङ्क्रमण देखा पर्न थालेकोले लकडाउन हटाउँदा सहजै सङक्रमणको नयाँ लहर शुरू हुने जोखिम देखिन्छ । महाराष्ट्र राज्यले त ३० एप्रिलसम्म लकडाउनको अवधि बढाउने निर्णय गरिसकेकै छ ।
    जे होस् यसवाट हामीलाई अन्ततः फाइदानै हुनेछ । अर्ध लकडाउन खोल्दा अन्तर्राष्ट्रिय विमानस्थल पनि लकडाउन गर्नुपर्छ । आन्तरिक उडानको हकमा स्वास्थ्य जाँच गरेर अथवा केही विधि वनाएर छोड्ने वनाउन सकिन्छ । लामो दुरीका सवारी साधन चलाउनु हुँदैन । हरेक ब्यक्तिको निगरानी गर्ने ब्यवस्था गर्नुपर्छ । नेपालमा पहिले काठमाण्डौ र त्यसपछि सुदुरपश्चिमवाहेक अन्यत्र कही देखा गरेको छैन अहिलेसम्म । वाहिरवाट फाट्टफुट्टवाहेक नेपालमा कोही आएको पनि छैन । आइ हाले पनि तिनीहरुलाई क्वारेन्टाइनमा राखिएकै छ । यति भएपछि नेपाल अव ढुक्क भए हुन्छ ।
    यद्यपि होसियारी अपनाउने कुरामा असाध्यै सजगता अपनाउनु पर्नेछ । वरु अव सिमा क्षेत्रमा रहेका नेपालीलाई क्रमसः नेपाल ल्याएर क्वारेनटाइनमा राख्दै जाँदा हुन्छ र त्यसपछि तेश्रो मुलुकमा रहेका नेपाली पनि आउन चाहन्छन् भने तिनीहरुलाई ल्याउने तर्फ सोंच्नुपर्छ होला ।
    लकडाउन खोलेपछि पनि खासै काम हुने अवस्था छैन । केही उद्योग वाहिरवाट श्रमिक नल्याइकन चलाउने कुरा होला । तर, ठूलो क्षेत्र कम्तिमा ६ महिनादेखि वर्ष दिन प्रभावित हुनेनै छ । पर्यटन ब्यवसाय त एक वर्षसम्म उठ्ने अवस्था रहने छैन । यस वीचमा गर्न सक्ने काम भनेको उत्पादननै हो । पहाडतिर अहिले सवै मान्छेहरु गएर वसेको अवस्था छ । वषाकर्् नजिकिदै छ । मौसम त्यति प्रतिकुल छैन । त्यसैले सवै नेपालीलाई खेती गर्न आहृान गर्ने र उनीहरुलाई मल विउ के उपलब्ध गराउन सकिन्छ त्यो गराउने हो भने यो नै उत्कृष्ट कर्म हो ।
    यसका लागि आवश्यक पर्ने अनुदान प्रस्तावना मागेर हैन फिल्डमा गएर दिनुपर्छ । यसको अर्थ कागज मिलाएर हैन कामका आधारमा दिने ब्यवस्था मिलाउनुपर्छ । स्वदेशमा उत्पादित खाद्यान्नको उपयोग गर्ने, स्वदेशी कपडा प्रयोग गर्ने, महंगा र विलासी सामान ल्याउन नपाइने ब्यवस्था गर्ने कुरालाई कडाइपूर्वक लागु गर्नुपर्छ ।
    कोरोनालाई अवसरका रुपमा लिएर राजनीतिक दलहरुले आफ्नो भूमिका निभाउनुपर्छ । यस्तो आशा गर्नु नेपालको सन्दर्भमा उचित नहोला तर, यस्को विकल्प छैन । अव पनि खाली सरकारकै कुरा गरेर वस्ने हो भने हामीसंग असफल हुनुको विकल्प छैन । प्रतिपक्षले सोंच्नुपर्छ कामलेनै वैकल्पिक धारणाकासाथ न आउने हो भने जनताले विश्वास गर्ने छैनन् । कुनै पनि पार्टीले एउटाको असफलतावाट अवसर लिने सोंच राख्ने हो भने अव त्यस्तो राजनीति गर्नुपर्दैन ।
    राजनीति जसले गरेपनि सत्ता जसले चलाएपनि मुलुक एउटा ट्र्याकमा हिड्नैपर्छ । काम गर्ने सस्कृतिको विकास गर्दा भोलि सवै दलले त्यसवाट फाइदा लिन सक्नेछन् । त्यसैले अव सम्पूर्ण रुपले उत्पादनमै ध्यान दिन आवश्यक छ । यो कुरा गरिरहँदा नेपाललाई अहिले चाहिएको ठूला हैन साना परियोजना हो । कसैले ५ वटाभन्दा धेरै गाईभैसी पाल्छ भने त्यसलाई स्यालुट गर्नुपर्छ ।
    जग्गा लिजमा लिएर हैन आफुसंग भएको जग्गामा खेती गर्छ वा कुनैपनि उत्पादन गर्छ भने त्यसलाई सहजीकरण गर्नुपर्छ । मैले यो यस कारणले भनेको छु कि यस प्रकारको कामले स्वरोगार सृजना पनि संगसंगै गर्दछ ।
    अव हाम्रा गन्तव्य मुलुकले रोजगारी कटौती गर्न शुरु गर्नेछन् । त्यसैले सहज ढंगले विदेश गएर पनि रोजगारी पाउने सम्भावना हुने छैन । विश्वब्यापी रुपमा अर्थतन्त्र यति कमजोर हुने छ कि कसैले पनि अरुका लागि हैन आफ्नै लागि मात्र केही गर्नुपर्ने अवस्था आउने छ । यसको  प्रभाववाट हामी कोही पनि मुक्त हुने छैनौं ।
    अवको केही वर्ष पर्यटन ब्यवसाय पनि कमजोर हुने निश्चित छ । मान्छे कोही पनि होटलमा गएर वस्नका लागि सुरक्षित महसूस गर्ने छैन । त्यसैले हरेक कुरामा वैकल्पिक उपाय अवलम्वन गर्ने नीति अख्तियार गर्न जरुरी छ ।
    अवको एउटा विकल्प भनेको वैदेशिक रोजगारीमा जान चाहने र गइसकेको तर, फर्कनुपर्ने अवस्थामा रहेको ठूलो जमातलाई कृषि उद्यममा लगाउनुनै हो । यसका लागि अहिलेदेखिनै आवश्यक गृहकार्य गर्न जरुरी छ ।
    २९ चैत २०७६

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Travel