डी.आर.घिमिरे
सत्तारुढ दल हुनुको कारणले नेकपाको आन्तरिक विवाद सडकमा पोखिदा विभिन्न क्षेत्रवाट टिका टिप्पणी हुनु अन्यथा हैन । त्यसैले वैठक, छलफल, कोठाचोटामा हुने गफगाफ सवैको वारेमा चासो प्रकट हुन्छ । हुनुपर्छ ।
अस्ति शनिवार साँझ जव सचिवालय वैठक सकियो, त्यसपछि एउटा विषयले तरंग पैदा गर्यो । त्यो तरंग पैदा गर्ने विषय थियो— सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष बामदेव गौतमका लागि पाल्पा निर्वाचन क्षेत्र नम्बर—१ खालि गराएर प्रतिनिधिसभामा लैजाने सहमति बनेपछि नेकपाभित्रको समिकरण फेरिएको छ ।
मिडियाले भनेको कुरामा विश्वास गर्ने हो भने अव धेरै छिटो सांंसद दलबहादुर रानालाई राजिनामा दिन लगाईने छ । उप निर्वाचनमार्फत वामदेवलाई जिताएर प्रतिनिधिसभामा लगिने छ र प्रधानमन्त्री बनाउने योजना छ ।
एउटा हैन दर्जनौं मिडियाले यस्तै लेखेका छन् । यो कुराको जाँच कसरी गर्न सकिएला ? मेरो विचारमा सचिवालय वैठक पश्चात् जारी विज्ञप्ति वा वैठकमा सहभागी कुनै नेताको भनाई । नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ हुनुको कारणले उहाँको भनाईलाई आधिकारिकनै मान्नुपर्छ । त्यस आधारमा उहाँले भनेका कुरा यस्ता छन्—
१. स्थायी समितिको वैठक २५ गते वस्ने ।
२. वैठक तयारकिो लागि २४ गते सचिवालय वैठक वस्ने ।
३. वामदेव गौतमलाई उपयुक्त समयमा प्रतिनिधिसभामा लैजान पहल गर्ने ।
४. गल्ती कमजोरीप्रति प्रधानमन्त्री, अध्यक्ष कमरेडवाट आत्मालोचनासहित सरकार, पार्टीलाई सफल, सुदृढ वनाउन संस्थागत विधि प्रक्रिया आत्मसात् गर्ने ।
५. पार्टी एकता विरोधी कुनैपनि गतिविधिमा संलग्न नहुन आम पार्टीपंक्तिलाई निर्देशन दिने।
यसवाहेक अरु सूत्रलाई हेर्ने हो भने कतिपय नेताहरुले चुहाउन सक्ने विषय हुन सक्लान् । आइतवार विहार्न कान्तिपुरले महासचिव विष्णु पौडेलको अन्तर्वार्ता छापेको छ । जसमा गौतमसंग सम्वन्धित विषयमा भनेका कुरा यसप्रकार छन्—
तत्काल सरकार परिवर्तन हुँदैन । यही सरकार बाँकी अवधि अर्थात् ५ वर्षसम्म चल्छ ।
उहाँ (गौतम—ले.) पार्टीभित्रको एउटा सशक्त नेता हो । उहाँले संसद्भित्रबाट महत्वपूर्ण योगदान दिन सक्नुहुन्छ भन्ने हिसाबले लैजान लागिएको हो ।
हामीले उपयुक्त समयमा वामदेव कमरेडलाई प्रतिनिधिसभामा लैजान्छौं । स्वाभाविक रूपमा प्रतिनिधिसभाको उपयुक्त ठाउँको पहिचान गरिकन उहाँलाई लगिनेछ ।
यो वा त्यो निर्वाचन क्षेत्र भन्ने टुंगो भइसकेको छैन । यो विषयमा सल्लाह गर्छौं ।
स्वाभाविक रूपमा यो प्रस्ताव प्रधानमन्त्रीले नै राख्नुभएको हो । प्रधानमन्त्रीको प्रस्तावलाई वामदेव कमरेडले ग्रहण गर्नुभएको छ ।
यसवाहेक वैठकमा सहभागी कुनै पनि नेताका सार्वजनिक अभिब्यक्तिले दलवहादुर रानाको नामनै लिएको पाइदैन । त्यसरीनै पाल्पा निर्वाचन क्षेत्रको कुरा पनि आएको छैन ।
प्रवक्ता र महासचिव दुवैको भनाईमा एउटै आशय छ । त्यो हो उपयुक्त समयमा पार्टीले गर्ने निर्णयवाट वामदेव गौतमलाई प्रतिनिधिसभामा लगिन्छ ।
तर, धेरै मिडियाले यो कुरा जवर्जस्त रुपमा स्थापित गरिरहेका छन् । के पार्टीको आन्तरिक जीवनको कुरा अरुले भनेर विश्वास गर्न सकिन्छ ?
यसपछि स्वयं दलवहादुरकै कुरा हो कि भन्ने हो भनेपनि त्यस्तो देखिदैन । कतिपय मिडियाले रानाकै भनाईलाई कोड गरेर लेखेका छन् । जसमा उनले भनेका छन्—
“मेरो कोही नेताहरुसंग सम्पर्क नै भएको छैन, मलाई यस बारेमा केही जानकारी छैन, मसंग नसोध्नुस, अहिलेको परिस्थितिबारे नेताहरुलाई नै जानकारी होला” ।
प्रतिक्रिया लिन खोज्नेलाई रानाले त्यसो भनेपनि धेरैले नसोधिकनै लेखिरहेका छन् ।
अति धेरै लेखेपछि रानाले फेसवुकवाटै जवाफ फर्काउँदै भने—
“केही समयदेखि हाम्रो पार्टी भित्र देखापरेको आन्तरिक बिबादलाई आजको सचिबालयको बैठकमा सम्बन्धित नेताहरुले आत्मालोचना गर्ने,२५ गते स्थायी समितिको बैठक बस्ने,३ जना अध्यक्ष राख्ने बिषय अघि नबढाउने र कमरेड बामदेव गौतमलाई उपयुक्त समयमा प्रतिनिधि सभाको उम्मेदवार बनाएर प्रतिनिधि सभामा लैजान पहल गर्ने जस्ता महत्वपूर्ण निर्णयहरु गरेर समाधान निकाल्न सफल भएको कुरा पार्टी प्रबक्ता कमरेडबाट जानकारी पाउदा सम्पूर्ण नेता कार्यकर्ता मतदाता र शुभचिन्तकहरु अत्यन्त खुसी भएकाछौं। तर बैठकमा र सम्बन्धित कसै संग पनि छलफल र चर्चा नै नभएको बिषय “बामदेव गौतमलाई पाल्पा क्षेत्र नं १ बाट चुनाव लडाउने सहमति भएको “भन्ने समाचार झूठो, भ्रम पूर्ण र पार्टीको एकता बिरोधी षड्यन्त्रबाट प्रेरित भएको ब्यहोरा सबैमा जानकारी गराउन चाहन्छु ।”
मिडियाले पाल्पा क्षेत्र नम्बर १ का जनता आक्रोशित भएको कुरा पनि सम्प्रेषण गरेका छन् ।
हुँदै नभएको कुरा सम्प्रेषण भएपछि जनता रुष्ठ हुनु स्वभाविक हो ।
मिडिया प्रो—एक्टिभ भएर उठाएको विषयमा कुनै श्रोत प्रयोग गर्नुपर्दैन र ?
यस्तै हो भने मिडियालाई कसरी विश्वास गर्लान् आम जनताले ?
समाचार सत्य हो तर, श्रोत खोल्नै सकिदैन भन्ने लागेमा श्रोतलाई खोल्दा असुरक्षित हुने भएमा अपवादमा विना श्रोतका समाचार कहिलेकाही दिन नसकिने हैन तर, के यो त्यस्तै विषय हो र ? कुनै निर्णयले राष्ट्रलाई ठूलै नोक्सानी हुने भएमा श्रोत उल्लेख नगरिकनै पनि समाचार व्रेक गर्नु उचित होला अन्यथा विना श्रोतका समाचार दिएर पाठकलाई लडाउनु उचित हुँदैन कि ? यसमा रचनात्मक सुझावको खाँचो छ ।
२०७७ वैशाख २१

No comments:
Post a Comment