• Breaking News

    हाम्रा रैथाने ‘सुपर फुड’ अन्न कसरी लोप भए ?



    डी.आर. घिमिरे

    सन्दर्भ विश्व खाद्य दिवसः 

    भिटामिन र सप्लिमेन्टको लागि आजभोलि ‘सुपर फुड’ खाने प्रचलन बढेको छ । शरीरको सन्तुलित विकासका लागि यसलाई अनावश्यक मान्न सकिदैन पनि । पोषण तत्वयुक्त खानाको अभावले मानिसमा विभिन्न रोग देखा पर्ने गरेका छन् । संसारभरी एकातिर भोकमरीको चुनौती छ भने अर्कोतिर पोषणयुक्त खानाको । त्यसैले खाद्य सुरक्षा र पोषण सुरक्षाको सवाल उठिरहेको पाइन्छ ।

    मलाई बाल्यकालको याद भएसम्म हामी प्रायः मकैको आटो, गहुँ, कोदो र फापरको रोटी, तोरीको साग, सिमी, बोडी, फर्सी, काँचो केराको तरकारी, सुकाएको साग, स्कुस, निउरो, चम्सुरको साग, गुन्द्रुक अर्थात् सिन्की, अचारको रुपमा केराको बाेंगो, सिमलीकान, कोइरालो, सिलाम, पुदिना आदिको अचार खुवै मिठो मानेर खान्थ्यौं । सखरखण्ड, पिडालु, तरुल खास सिजनमा खाइन्थ्यो । मेरो अनुभवमा दाल धेरै कम खाइन्थ्यो । कहिलेकाही गहत, झिल¨ी, बोडी, मासको दाल भने खाइन्थ्यो । यो अनुभव अर्घाखाँची पाणिनि साविक मैदानको भएपनि पूरै जिल्ला र अन्य पहाडी जिल्लाको कथा समेत हो । कथा यस अर्थमा कि ती खानपान, रहनसहन अहिलेका लागि कथानै हुन् ।

    विश्व खाद्यान्न दिवसका सन्दर्भमा खाद्य सुरक्षा, पोषण र कुपोषणको सन्दर्भ अनेक ढंगले उठ्ने गर्छन् । यस्का साथै जलवायु परिवर्तनको विषय पनि अहिले उठ्ने गरेको ज्वलन्त विषय हो । यस्का लागि सरकार र गैरसरकारी सस्थाहरुले गोष्ठी, सेमिनार गर्छन् । भाषण र कार्यपत्र प्रस्तुत हुन्छन् । यतिसम्म ठिकै छ । तर हामीले ४० देखि ५० वर्ष पुरानो खानपानलाई एकपटक स्मरण मात्र गर्ने हो भने अहिलेका ‘सुपर फुड’को आवश्यकतानै पर्दैन ।

    यो वर्ष सन् २०२३ लाई ‘जीवन र खाद्यको आधार पानी’ भन्ने नाराका साथ विश्व खाद्य दिवस  मनाइदैछ । यस अर्थमा यो पटक खाद्यान्नका लागि सिंचाई र थोरै पानीमा कसरी खेती गर्ने भन्ने विषयले पनि ठाउँ पाउने अनुमान गर्न सकिन्छ ।

    कोदो फापर अलि रुखो र पानी कम भएपनि हुने खाद्यान्न हो । केरा, कर्कलोलाई पनि खासै धेरै पानी चाहिदैन । धानलाई सवैभन्दा धेरै पानी चाहिन्छ । मकैका लागि पनि त्यति धेरै चाहिदैन । जलवायु परिवर्तनका कारण वर्षाको उत्तरार्धमा मात्र पानी पर्ने अवस्था छ । हाम्रो खाना भातमैत्री भएकोले आयात गरेर पनि भात खाने प्रचलन वढेको छ । जलवायु अनुकुलनका हिसावले धान खेती कम र अरु खेती वढाउनुपर्ने अवस्था छ ।

    यो कुरा अन्नमा मात्र हैन, तरकारीमा पनि उत्तिकै लागु हुन्छ । हरियो सागपातवाहेक हामी प्रायः गोभी खान मन पराउँछौं । बेमौसमी तरकारी र फलफुल खान हामीलाई मन पर्न थालेको छ । अर्थात् हाम्रो जीवनशैली वातावरण मैत्री हुन सकिरहेको छैन । 

    खाना खाने रैथाने शैली गजवको थियो । म स्वयंले अनुभव गरेको देखेको र भोगेको कुरा हो–कोदाको पिठो अलि सारो वन्ने गरी मुछेर तेल घिउ नहाली च्युरी र केराको पातमा खाने गरिन्थ्यो । गोमुत्र चिकित्सक बाबा योगिराजका अनुसार यसरी पकाएर खादा अमिलचुकी आउने रहेछ भने ठिक हुन्छ । मकैको रोटी वनाएर मोहीसंग मिठो मानेरै खाने गरिन्थ्यो । मोही पाचनक्रियाका लागि असाध्यै उपयोगी रहेछ । चामल कमै खाने गरिन्थ्यो । खासमा चाडवाडमा मिठोमसिनो मानेर भात खाइन्थ्यो । त्यतिवेलाको आफै मिलमा लगेर पिसेको चामलबाट पकाएको भात स्वादिलो हुन्थ्यो । चामल धोएको पानी चौलानी हालेको तरकारी बाक्लो हुन्थ्यो । अहिले चामल जति धोएपनि सेतो आउँदैन । सेतो नआउने मात्र हैन विषादीका कारण कमिला पनि नजिक पर्दैन ।

    आजभोलि विरामी हुने ४० वर्ष कटेको प्रायः विरामीलाई चिकित्सकहरुले भात, चिनी, नुन, मैदाको रोटी, पाउरोटी, चाउमिन, चाउचाउ आदि नखानै भन्ने गर्छन् । ओहो हाम्रा बाउवाजेहरु कति जान्ने सुन्ने र बुझ्ने रहेछन् । यस्को अर्थ सवै बिषयमा हैन, कैयौं कुरामा कमजोर थिए तर खाने कुरामा कति परिपक्कता थियो । अहिले सम्झदा पनि आश्चर्य लाग्छ ।

    बिडम्वना के छ भने यो कुरा वुझ्नै ५० वर्ष लाग्ने रहेछ । यहाँनिर मैले जोड्न खोजेको विषय यो हो कि आज हामी सुपर फुडको खोजीका भौतारिएका छौं, तर हाम्रा रैथाने खानपान सवै सुपरफुड रहेछन् । हाम्रोमा कोदोलाई तल्लोस्तरको खाना भनिन्थ्यो । कतिपय ब्राह्मणले त यसलाई खाँदैनथे । कोदोका परिकार खोले, रक्सी खानेलाई गाली गर्दा ‘कोदे’ भनेर भनिन्थ्यो । मैले २०५५ सालपछि मात्र ढेंडो खान थालेजस्तो लाग्छ । पहिलोपटक मेरो खवाई देखेर हरि लम्साल (तत्कालिन रुपन्देही पत्रकार महासंघका अध्यक्ष)ले थाहा पाउनुभयो र भन्नुभयो–तँपाई ढेंडो खाने मान्छे हैन ।

    ढेंडो खाँदा दाल, मासुको रस वा तरकारीमा डोवेर सुर्लुक्क निल्नुपर्ने रहेछ । मलाई के थाहा ? मैले त भात जसरी चपाएर खाएछु । कोदोको रोटी भने खाएको थिएँ । लगभग ५०,०० वर्ष पुरानो बिश्वको सबैभन्दा पुरानो बाली तथा फाइबरको स्रोत कोदो कार्बोहाइड्रेट, प्रोटिन, मिनरल्स र भिटामिन तथा फलाम, म्याग्नेसियम, पोटासियम र फस्फोरस एवं धेरै खनिजहरूको स्रोत रहेछ । कोदोमा शरीरलाई आवश्यक पर्ने सबै एमिनो एसिडहरू पनि हुने रहेछन् । 

    कोदोले रक्तचापलाई नियन्त्रण गर्न, हृदय रोग र टाइप टु मधुमेहको जोखिम कम गर्न मद्दत गर्छ ।  हड्डी र दाँत वलियो पार्न, स्वस्थ छाला कायम राख्न, कोषहरूलाई क्षति हुनबाट बचाउने एक शक्तिशाली एन्टिअक्सिडेन्ट पनि पाइन्छ । एन्टिअक्सिडेन्ट गुणयुक्त कोदो मधुमेहका रोगीलाई फाइदाजनक मानिन्छ । गो विशेषज्ञ बाबा योगीराजका अनुसार नियमित कोदो खानेलाई क्यान्सर हुँदैन ।

    अर्को सुपर फुड फापर तिते र मिठो दुई किसिमको हुन्छ । तिते त्यति खाने चलन थिएन । मिठे स्वादिलो र मिठो हुने भएकोले खाने गरिन्थ्यो । अहिले जताततै फापरको बखान हुने गर्छ । अहिले कोदोको लोकप्रियता संसारभरनै बढिरहेको छ । 

    तीते फापर मधुमेहका बिरामीलाई अझ बढी लाभदायक छ । यस्ले बढ्दो चिनी, इन्सुलिन र कोलेस्टेरोलको मात्रा न्यूनीकरण गर्छ  । यसमा फाइबर स्टार्चका अलावा भिटामिन बी–१, बी २ पनि पाइन्छ । मलाई डा. दिलजन मन्सुरले तिते फापरको रोटी खाने सल्लाह दिएका थिए । तर पाउन सकिन ।

    फापरमा पाइने ‘रुटिन’ भनिने एन्टिअक्सिडेन्टले उच्च रक्तचाप र हृदयसम्बन्धी रोग लाग्नबाट बचाउन सहयोग गर्छ । जापानी अध्ययनअनुसार फापरमा पित्तथैलीको कोलेस्टेरोल (गल स्टोन) हुनबाट बचाउने क्षमता हुन्छ । फापरमा मिनरल, भिटामिनका साथै कार्बोहाइडेड, फाइबर, प्रोटिन, सुगर, चिल्लो पदार्थ र पानीको मात्रा पनि पाइन्छ । 

    त्यति मात्र हैन, यसले क्यान्सर लाग्ने जोखिम कम गर्ने, आइरन, भिटामिन ई र म्याग्नेसियम प्रशस्त पाइने भएकोले यो आफैमा औषधिजन्य खाद्यपदार्थ हो ।  

    तरकारीमा चम्सुरको साग भांचिएको हड्डीको उपचारका लागि रामवाण मानिन्थ्यो । दम र खोकीको उपचारमा पनि यसको प्रयोग हुन्थ्यो । यसले कलेजो, मिर्गौला, छाला, आँखाका समस्या निराकरण गर्न पनि मद्दत गर्छ भन्ने मान्यता छ । चम्सुरले रक्तचाप र रगतमा चिनीको मात्रा घटाउँछ भन्ने मान्यता छ । भनिन्छ यसमा झाडापखाला र ब्रोङ्काइटिस निदान गर्ने गुण पनि हुन्छ । यो प्रायः हातखुट्टा भाँचिदा मात्र खाने गरिन्थ्यो ।

    ‘छोरा पाए खसी, छोरी पाए फर्सी’ भनेर अवहेलना गरिने फर्सी तरकारीमा सुपरफुडनै रहेछ । यो एन्टिअक्सिडेन्ट, एन्टिइन्फ्लामेटरी र एन्टिडाइबेटिक गुणयुक्त तरकारी मानिने रहेछ । यसमा पाइने केमिकल र फ्याटी एसिड शरीरका लागि लाभदायक रहेछन् । फर्सीको बियाँ फालेर तरकारी खाइन्थ्यो । तर, आजभोलि प्रोस्टेटको समस्या हुनेले नियमित फर्सीको बियाँ खाने गर्छन् । भिटामिन ‘ए’ धेरै पाइने भएकोले प्रायः विदेशतिर फर्सीको सुपलाई उत्तम मानेर खाइन्छ । 

    गुन्द्रुक हिमालयन सुप भनेर तारे होटलहरुमा खुवाउन थालिएको छ । थकाली खानामा त यो अनिवार्य नै हुन्छ । गुन्द्रुक पोटासियम, म्याग्नेसियम र क्याल्सियमजस्ता तत्वको पनि स्रोत हो रहेछ ।

    मस्यौरा वा तितौरा अभावमा खाने तरकारी थियो । दालको साटो झोलिलो तरकारीको रुपमा मस्यौरा खाने गरिन्थ्यो । मासको दालमा कर्कलो थिचेर वा कुटेर स–साना डल्ला पारेर घाममा सुकाएर तयार गरिने यो तरकारी परम्परागत खाद्य हो । आजभोलि मासमा आलु, कर्कलो, पिँडालु, तरुल, कुभिन्डो, इस्कुस, काउली, बोडी, सिमी, कसैकसैले च्याउ र चनाजस्ता तरकारी पिसेर लेदो बनाई मिसाएर पनि मस्यौरा बनाइन्छ । 

    अचारको रुपमा खाइने कतिपय चिज औषधिकै रुप रहेछन् । जस्तो तितो सिमलीकानले पत्थरी हुन नदिने र मृगौलाको लागि राम्रो औषधि रहेछ । केराको बोंगो पित्त, ज्वरो, पत्थरी, रक्तचाप, मधुमेह, कलेजो, मिर्गौला, मूत्ररोग, कपाल झर्ने–खुइलिने, हैजा, पत्थरी, छालाका रोग, अपच, अरुचि, कमलपित्त, सवै प्रकारका हेपाटाइटिसलाई निको पार्न सहयोगी रहेछ । त्यस्तै मासिक धर्म, छारे, रक्तपित्त, गाँड, गाँठा–गिर्खा, पाचनप्रणालीका घाउ–खटिरा, गला–घाँटीको रोग, मुख पाकेको, पेट पोल्ने, दुख्ने, अर्बुद, शारीरिक कमजोरी, कुपोषण, आन्द्रा सुक्खा हुने, रक्तस्राव, आउ–पखाला, क्षयरोग, मानसिक रोग, प्रमेह, प्रदर इत्यादिलाई पनि निको गराउने रहेछ । 

    कर्कलोको कुरै नगरौं । खाद्य वैज्ञानिक नारायण घिमिरेको भाषामा सल्फर, एमोनिया, नाइट्राइट, जिंक आदि हुने, सेपिलो अरु खेती राम्रो नहुने, कृषिका लागि प्रतिकूल मानी फालिएको जग्गामा पनि फलिदिन्छ कर्कलो । बदलामा यसले अत्यधिक पोषण तत्वयुक्त तरकारी मानिसलाई उपलब्ध गराउँछ ।                                                (www.setopati.com/blog/180360 

    जनावरमा गरिएको अनुसन्धानअनुसार कोइरालोको फुलमा छालाको क्यान्सर नियन्त्रण गर्ने गुण हुन्छ ।  कोइरालोको बोक्रा कलेजो (लिभर) टॉनिकका रूपमा प्रयोग गरिन्छ । यो पनि खुवै खाइन्थ्यो । तितौरा वनाउँदा यस्कै प्रयोग हुन्थ्यो 

    पुदिनाको चटनी सारै मिठो । यो कफनाशक हुनुका साथै ज्वरो, खोकी, हैजा, ग्यास्ट्रिक, पाचन र कतिपय दुखाइ कम गर्न उपयोगी मानिन्छ । त्यसबाहेक पेय पदार्थ, पान मसलादेखि सौन्दर्य प्रसोधनसम्ममा पुदिनाको प्रयोग गरिन्छ । यो मुख ताजा राख्ने (माउथफ्रेसनर) पनि हो । गर्मीमा लू लागेपनि पुदिना दिने चलन छ ।

    वास्तवमै हामीले खाने गरेको सुपर फुड खाना आजभोलि लोप भएर फेरि संरक्षण गर्न थालिएको छ । विश्व खाद्यान्न तथा कृषी संगठन एफ.ए.ओ. का अनुसार जलवायू परिवर्तनले निम्त्याएको सबैभन्दा ठूलो चुनौती भनेको खाद्यान्न संकट नै हो । स्थानीय विशेषता रहेका अन्नवाली विस्तारै उत्पादन हुन छाड्नु, अत्यधिक विषादीको प्रयोगले उत्पादनशिल विशेषतायुक्त माटोको क्षमतामा ह्रास आउनु र विस्तारै रैथाने विउ विजन लोप हुँदै जानु खाद्यान्न व्यवस्थापनको चुनौति हो ।

    एउटा तथ्याकंका अनुसार सन् २०२५ सम्मा बिश्वमा खाधान्न अभाव भएर बिकसीत देशका ठूला ठूला निगमहरु बिकासोन्मुख देशका खाली जमिनमा कृषी गर्न लगानी गर्ने दावी गरिएको छ । जवकि १९६० को दशकमा नेपाल संसारभरि चामलको छैठौ धेरै निर्यात गर्ने देशहरुमा पर्दथ्यो तर, आज नेपालले चामल लगायत धेरै कृषिजन्य उत्पादनहरु आयात नगरे भोकमरीले संकट निम्त्याउने छ ।

    २०८० असौज २८


    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Travel