डी.आर. घिमिरे
बर्माबाट आँखाको उपचारका लागि नेपाल आउनुभएका ६६ वर्षिय मोतिलाल भट्टराईलाई नेपालमा पुरानो रितिथिति हराउँदै गएकोमा पटक्कै चित्त बुझेन । आँखाको उपचारका लागि उहाँ करिव ८ महिनादेखि नेपालमै हुनुहुन्छ । यसवीचमा उहाँले तिलगंगा आँखा अस्पतालमा एउटा आँखानै फेर्नुभयो भने अर्को आँखाको मोतियावीन्दुको अप्रेसन गर्नुभयो । यसले आँखामा सुधार भएपछि उहाँ औधी खुशी हुनुहुन्छ तर, चिन्ता नेपालमा नेपालीपनको विशेषता नै हराउँदै गएकोमा छ ।
नाताले उहाँ मेरो मावली हजुरबा हुनुहुन्छ । रुपन्देहीको छपियामा दाजुभाई भएकोले खास खास समय मिलाएर आइरहनुहुन्छ नेपाल । यो वर्षको दशैंमा उहाँसंगको कुराकानीले आफ्नै विगतलाई पनि कोट्टाउने कोशिस गरें । बास्तवमा नेपालीहरु विगतमा पनि अवसरका लागि विदेशनै जान्थे जसरी अहिले युरोप, अमेरिका, अष्ट्रेलिया, क्यानडा, जापान आदि देशमा गइरहेका छन् ।
के हो त नेपालीपन ? हजुरबाको विचारमा एकआपसमा सहयोगी हुनु नै नेपालीपन हो । तर आजकल नेपालमा सहयोगी मन र भावना दुवै हराउँदै गएछ । कसैलाई केही सोध्दा झर्कने, गाली गर्ने, हेपेर वोल्ने प्रवृत्ति मौलाउँदै गएकोमा उहाँलाई चिन्ता लाग्यो ।
बर्मामा असाध्यै सहयोगी भावना छ, हामी अरुलाई सहयोग गर्न पाउँदा नै खुशी हुन्छौ । आफ्नो अनुभव पोख्दै उहाँ भन्नुहुन्छ– मैले दुई भाई छोरा, एउटी छोरीको विहे गरें । बिहे पनि सामान्य हैन भब्यतापूर्वक नै गरें । तर मेरो एक रुपैयाँ खर्च भएन । वरु उपहारका वस्तुले कोठा भरिए । टमु (भारत मणिपुरको सिमा क्षेत्र) ठाउँमा करिव ७ शय परिवारको संख्यामा नेपाली मुलका बर्मेलीको बसोवास छ । उनीहरुको समाज छ । महिला, युवा, पुरुष सवैका समाज वनेका छन् । उनीहरुले जस्लाई परेपनि एक अर्कालाई सहयोग गर्छन् ।
छोरा छोरीको विवाहका दिन मण्डपमा वस्ने पूजाआजा गर्ने काम परिवारका सदस्यले गर्ने हो, अरु सवै काम समाजले गर्छ । हरेक ब्यक्तिले नगद रकम केही न केही दिन्छन् । छोरीको विवाहमा मात्र हैन छोराको विवाहमा पनि दिन्छन् । सामान्यतः सवै खर्च यसरीनै उठ्छ ।
कुरा यति मात्र हैन हिड्दा डुल्दा घरमा पसेर पानी खाने चलन अद्यापि छ । हो नेपालको ग्रामीण समाज यसरीनै चलेको थियो कुनै वेला । करिव पचासको दशकसम्म यस्तै थियो । जव माओवादी जनयुद्घ शुरु भयो त्यसपछि स्वेच्छिक सहयोग गर्ने चलन हरायो । जवर्जस्त सहयोग त जनयुद्घ कालमा पनि थियो । मानिसदेखि मानिस डराउने अवस्था सृजना भयो । कसैलाई पानी खान दिएपनि आरोप लाग्ने अवस्था आयो । शायद यही नै मुल कारण हो कि त्यसप्रकारको सहयोगात्मक भावनाको अन्त्य पनि भयो ।
बर्माका त्यो परम्परा कायमै छ । हजुरबा भन्नुहुन्छ–सडकमा कतै गाडी विग्रेमा देख्नेले बोलाएर खान बस्न अनुरोध गर्ने परम्परा छ । उस्ले सहज तरिकाले वस्न खान पाउँछ र आवश्यक परे अन्य सहयोग पनि पाउँछ । तर अहिले नेपालमा कोही दुर्घटनामा परेपनि उठाउने कोही हुँदैनन् जस्तो लाग्यो ।
यहाँको मन नपर्ने अर्को पक्ष समयप्रतिको बेवास्ता हो । हरेक काममा एक दुई घण्टा तलमाथि हुनु सामान्य भएछ । यसरी कसरी काम सम्पन्न हुन्छन् ? उहाँको प्रश्न छ ।
नेपाली भाषामा अंग्रेजी मिसाएर बोलेको पनि उहाँलाई पटक्कै चित्त बुझेन । बर्मामा मिठो नेपाली बोल्छन्, नेपाली सस्कार सिक्छन् अर्थात् सिकाइन्छ । हरेक वर्ष तीन महिना नेपाली कक्षा निःशुल्क सिकाउन सस्कृत पाठशाला स्थापना गरिएको छ । तीन महिनामा एक कक्षा उत्तिर्ण गर्ने गरी गरिएको यो व्यवस्था अनुसार बर्माको १० कक्षा उत्तिर्ण गर्दा नेपाली भाषाको पनि १० कक्षा उत्तिर्ण गर्छन् ।
यहाँको महंगी देखेर पनि उहाँलाई अत्यासै लाग्यो । जता पनि करको बोझ । सरकारले र ब्यक्तिले पनि खाली पैसाकै कुरा गर्ने र पैसाकै पछाडि दौडिने ? आखिरी के गर्ने हो पैसा ? वडो गजवको प्रश्न छ उहाँको । बर्मामा यति विधि कर लिदैन सरकारले । १० प्रतिशत मात्र भन्सार लाग्छ । अरु लाग्दैन । जवकि नेपालमा ४० प्रतिशतको हाराहारी तिर्नुपर्छ । यसैले ब्यापार व्यवसायमा सहज छ बर्मामा । उहाँका एकजना छोराले चीन र थाइल्याण्डबाट सामान ल्याएर बर्मा र नेपालमा पठाउँछन् । उनको अनुभवमा नेपालमा सामान पठाउन असाध्यै दुःख छ । उपभोक्ताले व्यहार्नुपर्ने महंगीको कारण करकोे बोझ हो, नेपाल वसाईमा उहाँको वुझाई यस्तो रह्यो ।
नेपालमा जति कर भारतमा पनि छैन । उनीहरु भारतको सिमा क्षेत्रमै वस्ने भएकोले बर्माबाट जति सामान ल्याएपनि भन्सार तथा अन्य करनै लाग्दैन । सरकार चलाउन कर लिनु ठिकै होला तर, नागरिकले व्यहोर्न त सक्नुपर्यो नि भन्नुहुन्छ उहाँ ।
काम गरेर खान सहज छ बर्मामा । अहिले त करिव ७०÷८० हजारभन्दा धेरै बर्मेली नेपाली थाइल्यान्ड गएर कपडा सिलाउने सर्टिङ–सुटिङ व्यवसायमा पकड जमाएर वसेका छन् । हजुरबा पनि सन्तुष्ट हुनुहुन्छ । राजनीतिवाहेक अरु सवै काम गर्न र सुखसंग जीविका चलाउन कुनै दुःख छैन बर्मेली नागरिकलाई ।
शुरूमा पशुपालन र कृषि गर्न नेपालीहरू बर्मा पुगेका थिए । अहिले पनि कृषि र पशुपालनमा ठूलो संख्या रहेको छ । कृषि कर्मबाट पनि मनग्गे फाइदा पनि हुँदो रहेछ । पर्याप्त जमिन हुनुले थोरै लगानीबाट जग्गाको व्यवस्थापन हुन सक्ने र सरकारले लिजमा पनि दिने भएकोले कृषिबाट लाभ लिन सक्ने अवस्था सृजना भएको हो ।
बर्मामा विदेशी मूलका नागरिकमध्ये सवैभन्दा धेरै चिनियाँ छन् । नेपाली मूलका नागरिक पनि करिब ३ लाख छन् । अधिकांश नेपालीहरू अहिले याङ्गोन (रङ्गुन), म्यानडले, हालको राजधानी नेपिताउ र मुसे जो चिनको सिमा क्षेत्र पर्छन्, नाउछो, लास्यो, चाउमे, मिचिना, मोगेव, नाम्ती, मोगाउ र देशको अन्य भागहरुमा बस्छन् ।
मोगेवलाई दोश्रो नेपाल भन्दा रहेछन् । यो रुवी (पत्थर) पाइने ठाउँ हो । बर्माको मूल श्रोत हिरा, रुवी, सुन, पेट्रोलियम पदार्थ हो । मिचिनाको फाकान हरियो रुवीका लागि, माइसु रातो रुवीका लागि विशेष मानिदो रहेछन् । हुम्लिङ नदीबाट सुन निकाल्ने रहेछन् । कैयौं नेपाली मुलका बर्मेलीहरु रुवीबाट प्रसस्त धनी बनेका पनि छन् । भारतीयसंग हिन्दीमा कुरा गर्न सक्ने भएकोले नेपालीलाई यो व्यापार गर्न सहज भएछ । जवकि बर्मीहरुलाई आफ्नो भाषाभन्दा अरु आउने रहेनछ ।
जीवा लामिछानेले आफ्नो पुस्तक सर्सती संसारमा पनि पत्थरको खेलो गरेर धेरै नेपालीको जीवनस्तर माथि पुगेको उल्लेख गरेका छन् । तथापि यो व्यवसायमा फाइदाका साथै जोखिम पनि छ । जमिन किनेर पत्थर उत्खनन गर्ने हो । कैयौं वर्षसम्म पनि पत्थर फेला नपर्न सक्छ ।
रुवी एक प्रकारको चम्किलो पत्थर हो । यसलाई रत्नराज अर्थात् गहनाहरूको पनि राजा भनिन्छ । रुवीका लागि म्यानमारको मोगोक विश्वमै प्रसिद्ध छ । रातो रुवी प्रेमको प्रतीक मानिन्छ ।
हीराझैँ महँगोमा बिक्री हुने रुवीको एउटै टुक्रा ३० करोड रुपियाँसम्म पर्दोरहेछ । कैयौं नेपाली मूलका बर्मेलीहरु यसको व्यापार गरेर धनी वनेका छन् ।
ऐतिहासिक पक्षलाई हेर्दा बेलायती शासनको बेलामा अधिकांश गोर्खा नेपालबाट बर्मामा जागीरको खोजीमा जाने गर्थे । बर्मा गए नि कर्म सँगै भन्ने उखान त्यसै बनेको हैन । १९४८ मा बर्माको स्वतन्त्रता पछि, नेपाली÷गोर्खाहरु बर्मा सेनामा भर्ती भएका थिए । १९५० को दशकमा त गोर्खालीलाई बर्मी सेनाको प्रमुख सम्पत्ति मानिन्थ्यो ।
हाम्रो परिवारमा पनि बर्माको इतिहास जोडिएको छ । हाम्रा चार जना हजुरबाहरु गंगाराम, तुल्सीराम, नरपति र यमलाल सवैजना बर्मा जानु भएको थियो । मेरो साइला हजुरबाको छोरा पुनारामबाका अनुसार कान्छा यमलालको करिव ८० वर्ष अघि चिन्दी वा सिन्धी नदीमा खसेर मृत्यु भएको थियो । त्यतिवेला नदीमा पुल थिएन शायद । रसी वा त्यस्तै माध्यमबाट आउजाउ गर्नु पर्दथ्यो क्यारे । मेरो हजुरबा तुल्सीराम बर्माको मोतिना भन्ने ठाउँमा वस्नुभएको कुरा आफुले सुनेको भनी छिमेकी मोहन घिमिरे (मोहन दाई) ले वताउनु हुन्छ । हजुरबा बर्माबाट भागेर गोरखपुर आई जागीर गर्नुभएको थियो ।
मेरो बुवा डाँसुराम पनि जापानसंगको लडाइमा सामेल हुनुहुन्थ्यो । पछि लखेटाइमा पर्नुभयो र भारतमा केही समय जागीर खानुभयो । बुवा मात्र हैन मेरो गाउँका धेरै ब्यक्ति बर्माको सो युद्घमा सामेल हुनुहुन्थ्यो । सन् १९४८ मा अंग्रेज उपनिवेश शासनबाट बर्माले स्वतन्त्रता प्राप्त गरेकोले शायद यो त्यसभन्दा अघिको सन्दर्भ हुनसक्छ ।
बुवा पुनारामका अनुसार पाणिनि–५ साविक मैदानका ओखरवोटे तुल्सीरामका बुवा सवैभन्दा पछि नेपाल आएका थिए । उहाँहरुसहित देवीप्रसाद घिमिरे, चन्द्रवहादुर क्षेत्री, खडानन्द बेल्वासे भन्ने रानीवासे राइला, कृष्णवहादुर दर्जीको बुवा लाटो दमाई, बरखोलाको काइलो भन्ने लुरे दमाई, झन्द्रेकका च्याप्टे दमाई भन्ने पौन सिंह परियार (त्यतिवेला दमाई भनेर चिन्ने गरिएकोले र अन्य नाम थाहा नभएकोले मैले यसरीनै चिनाउन खोजेको हुँ ।) का साथै मौरीथुम, मनन्थुम, भलायडाँडा, आँपेवारीलगायतका क्षेत्रबाट कैयौं ब्यक्ति बर्मा गएका थिए । त्यतिवेला धन कमाउन जाने भनेकै बर्मा हुन्थ्यो । भारतमा त पछि मात्र जान थालेका थिए ।
बर्मा र नेपालको साइनोको कुरा गर्दा मेरो गउँको सम्वन्ध पनि कम्ता पुरानो रहेनछ । तर यो इतिहास कसैले लेखेन । यहाँसम्मकि म आफैले पनि बुवाबाट लिनुपर्ने धेरै सूचना लिन सकिन ।
शायद जर्नेल नेविनले सन् १९६२ मा सत्ता हत्याएर जातीय दङ्गा नगरेको भए हजुरबा उतै रहनुहुन्थ्यो कि ? सोही दङ्गाका कारण फिर्ता भएका धेरै नेपाली रुपन्देहीको छपिया, भैरहवा बर्मेली टोल र नवलपरासी लगायतका ठाउँमा आएर बस्ती बसेका थिए ।
सन् १९६२ देखि फर्कन थालेका नेपाली कहिलेदेखि गए त ? इतिहास कोट्टाउदा भेटिने तथ्य के हो भने अङ्ग्रेजले शासन लिएपछि नेपालीभाषीहरूलाई अङ्ग्रेजले नै लगेको हो । सन् १८८५ मा त्यहाँको राजालाई नियन्त्रणमा लिएर इस्ट इन्डिया कम्पनीले बर्मा कब्जा गरेको थियो । तत्पश्चात् बर्मेली सेनाले विद्रोह गरेर शासन सत्ता फिर्ता लग्ला भनेर त्यो दबाउन नेपालीहरूलाई त्यहाँ लगिएको थियो । त्यसरी जानेहरूले बर्मामा खेतीयोग्य उर्बर जमिन छ भनेर आफ्ना टोल, समुदायलाई पनि बोलाएर उनीहरूलाई रेलको लिग खन्ने, सुन खानी र अन्य खानीमा काममा लगाए ।
२०८० कार्तिक ८
No comments:
Post a Comment