डी.आर.घिमिरे
मेचीकाली सन्देश २५ औं वर्ष प्रवेश गरी रजत महोत्सव मनाउने क्रममा छ । सम्भवतः यो वर्षभरी यसले विभिन्न तरिकाले महोत्सव मनाउँदै पत्रिकाको औचित्य, उपादेयता र आवश्यकतालाई स्थापित गर्ला । तर आज मलाई प्रारम्भका १२ वर्ष यस पत्रिकामा गरिएको मेहनत र त्यसले पारेको प्रभाव आदिका विषय स्मरणमा आइरहेका छन् । कुनैवेला दैनिक २४ देखि ३२ पृष्ठसम्म प्रकाशित हुने अखवारहरु अहिले ८ पेजमा झरेका छन् । ८ पेजका अखवार ४ पेजमा झरेका छन् र कैयौं अखवारहरु वन्द हुँदै छन् ।
नेपालको सन्दर्भमा २०४६ सालको राजनीतिक परिवर्तनपछि आमसञ्चारको ब्यावसायिक विकास र विस्तार भयो । ब्यावसायिक पत्रकारिताको वहस र प्रयोग हुँदै गर्दा इन्टरनेट सञ्जालको विकास भयो र फेरि पत्रिकाहरु ओझेलमा पर्न थाले । समय अवधिका हिसावले यो २५ वर्षमा सूचना र सञ्चार जगतमा आमूल परिवर्त भयो । विकसित मुलुकहरूमा साठीको प्रारम्भदेखि (सन् २००३–४ देखि) र नेपालमा त्यसको पाँच छ वर्ष पछि ‘न्यु मिडिया’ (अनलाइन, पोडकास्टजस्ता न्युज पोर्टल) र ‘नागरिक पत्रकारिता’ (सामाजिक सञ्जालमा) को वाढी आएपछि परम्परागत आमसञ्चारका माध्यमहरु खुम्चिदै जान थाले ।
अहिले आएर आर्टिफिसियल इन्टेलिजेन्सको उपयोग र प्रभावले समग्र मिडियानै संकटमा छन् । प्रायः अखवारहरु त संसारभरीनै वन्द हुने क्रममा छन् । भियनास्थित विश्वको सबैभन्दा पुरानो ३२० वर्षदेखि प्रकाशित अस्ट्रिया सरकारको स्वामित्वमा रहेको अखबार ‘वेनर जेइटुङ’ देखि अमेरिकाको साप्ताहिक म्यागाजिन ‘न्युजविक’ सम्मले छापा संस्करण बन्द गरेका छन् ।
जो चलेका छन् तिनीहरुले पनि जनशक्ति ब्यापक कटौती गरेर चलाएका छन् । जसको परिणाम पहिलेको तुलनामा अति कम खोजमूलक तथा मौलिक र स्थानीय समाचारहरू प्रकाशित हुन्छन् ।
विगत दुई दशकको अवस्था हेर्दा विकसित मुलुकमा छापा माध्यमको विज्ञापन ८० प्रतिशतले घटेको छ भने गुगल तथा फेसबुक, इन्स्टाग्राम (मेटा) जस्ता कम्पनीले विज्ञापन आम्दानीमा ८६ र ९७ प्रतिशत वृद्वि हुन थालेको बताइन्छ र तिनै कम्पनीका मालिक विश्वका सर्वाधिक धनी मानिस भएका छन् ।
नेपालकै सन्दर्भमा डिजिटल विज्ञापन वापत सन् २०२४ सम्ममा कुल विज्ञापन खर्चको लगभग ३४ प्रतिशत त्यतै गएको वा जाने अनुमान गरिएको छ । जसवापत कर तिर्नसमेत परेको थिएन । हालै मात्र नेपालले डिजिटल सेवा कर (डीएसटी) र मूल्य अभिवृद्धि कर लिन थालेको छ । सन् २०२३ मा मात्र, गुगल, मेटा, र अन्य बहुराष्ट्रिय एकाधिकार कम्पनीहरूले लगभग ९ करोड रुपैयाँ बराबरको कर भुक्तानी गरेका छन् जसका आधारमा ठूलो रकम विदेशिएको अनुमान गर्न सकिन्छ ।
निश्चयनै सामाजिक सञ्जालले सूचना प्रवाह र ज्ञानको दायरा वढाएको छ तर अप्रशोधित र गलत सूचनाको वाढीले मान्छेहरु थिलोथिलो हुन थालेका छन् । किनकि विश्वसनीयता र जवाफदेहीको हिसावले आमसञ्चारका काध्यमको सामाजिक सञ्जालसँग तुलनै गर्न सकिदैन ।
त्यसोत हालै अमेरिकामा भएको निर्वाचनको समयमा द वासिङ्टन पोस्टका मालिक जेफ बेजोसले भने– विश्वसनीयता नभएको कुनै पेसा छ भने अहिले त्यो पत्रकारिता भएको छ । उनले यो पनि भनेका छन्– मिडिया सही त हुनुपर्छ नै सही छ भन्ने अरूले पत्याउनु पनि उत्तिकै आवश्यक हुन्छ ।
हो अहिले सामाजिक सञ्जालमा आएका कुरा सही र आमसञ्चारमा आएका कुरा बेठिक भन्ने भाष्य स्थापित भएको छ । यसको कारण पटक पटक एउटै विषय आइरहेपछि गलत कुरा पनि साँचो ठहरिन्छ भनेजस्तै हो । यो भाष्य निर्माण गर्नका लागि सामाजिक सञ्जालनै जिम्मेवार छन् ।
डिजिटल मिडियाले मान्छेलाई दाश बनाउँदै लगेको छ । सामाजिक सञ्जाल भाईरल बनाउने नाममा मनपरी सामाग्री पस्कने प्रवृत्ति बढ्दैछ । प्रायः सामाजिक सञ्जाललाई मिथ्या र अप्रमाणित सामाग्री पस्कने माध्यम बनाएर अराजकता फैलिदै छ । अन्ततः यस्ता मिडियाले लोकतन्त्रलाई नै कमजोर र बनाईरहेका छन् ।
मेचीकाली आवश्यकताले जन्मेको होः
यो पत्रिका कसैको रहर वा लहडले नभई तत्कालिन आवश्यकताले जन्मेको हो । नेकपा (एमाले) विभाजन भई माले पार्टी जन्मेको थियो । माओवादी शान्ति प्रक्रियामा आएर पनि युद्वकालिन धङ्धङी यथावत् थियो । कुट्ने पिट्नेवाहेक अरु कुरै नगर्ने । त्यसमा पनि गिरिजा प्रसाद कोइरालाले संसदीय प्रक्रियामा एमाले जुन अवस्थामा थियो, उही अवस्थामा पुर्याइदिए । यसको कारण यो थियो कि कांग्रेस एमाले निकटतम प्रतिष्पर्धी थिए । यो कुरा गिरिजाका लागि पाच्य भएन । त्यसैले माओवादीलाई वढाइदिएपछि एमाले खुम्चिन्छ भन्ने थियो ।
यो परिवेशमा एमाले चौतर्फी घेरावन्दीमा थियो । सवै दलले आक्रमणको निशाना बनाइरहेका थिए । एमालेका गतिविधि प्रायः पत्रिकामा आउँदैनथे । आइहाले एमालेका झोले भनेर दुत्कार्थे । मिडियालाई अन्य दलका झोला बोक्दा केही हुँदैनथ्यो तर एमालेप्रति थोरै पनि नरम देखियो कि उसलाई दुत्कारेर सडकमा मुख देखाउन लज्जावोध गराउने अवस्था थियो । हो त्यस्तो अवस्थामा यहाँका एमालेजनहरुले पार्टीमाथि भएको त्यस प्रकारको आक्रमण सहन सकेनन् र यो पत्रिकाको जन्म भयो ।
सत्य यो हो कि जव यो पत्रिकाको उदय भयो त्यसपछि यहाँका सवै मिडिया सन्तुलित भए । एमालेका समाचारलाई पनि स्थान दिन थाले । मेचीकाली त नयाँ थियोनै त्यसैले सन्तुलित ढंगले चल्नुनै थियो । धेरै एमाले कार्यकर्ताले यस पत्रिकालाई पार्टीको आधिकारिक सूचना र विचार पाउने पत्रिकाको रुपमा लिन्थे । तर आमसञ्चार माध्यमका रुपमा यसले त्यति गरेर मात्र सुख पाउँदैनथ्यो । माओवादी जनयुद्वको राप र ताप हुँदै गर्दा र तत्कालिन सरकारले निर्ममतापूर्वक दमन गर्दथ्यो । जसको विरोधमा लेख्नै पर्दथ्यो । उता माओवादीले पनि गाउँ गाउँबाट जनता लेखट्थे । कैयौको ज्यान क्रुरतापूर्वक लिन्थे र त्यसको पनि विरोध गर्नै पर्दथ्यो ।
यो अवस्थामा एकातिर पार्टीका नेताको गाली खानु पर्ने र अर्कोतिर माओवादीको पनि गाली खानुपर्ने अवस्थामा हामी थियौं । कुनै दिन पत्रिका माओवादीजस्तो हुन्थ्यो र कुनै दिन माओवादी विरोधीजस्तो । त्यसैले त पत्रिका वजारमा आएपछि कहिलेकाँही माओवादीले हजारौ पत्रिका छपाएर लैजान्थे भने कहिले ज्यान लिने धम्की पनि दिन्थे ।
शान्ति प्रक्रियामा आएपछि एकजना लडाकुले भने– कुनै दिन तँपाईले जासुसी गरेको अभियोगमा जन कारवाही (हत्या) गर्ने भनेर योजना बनेको थियो । पार्टी भित्रै विवाद भएपछि रोकियो । यो कुरा सुनेपछि म झल्यास्स भएँ । मलाई के थाहा थियो भने कुनै ब्यक्तिलाई अन्य कारणलेनै चित्त नबुझे पनि कारवाही गर्ने त्यतिवेलाको अवस्था थियो । तथापि कतिपय नेतृत्वसंग मेरो सम्पर्क एकजना पत्रकारका रुपमा हुने गर्दथ्यो र उनीहरु मलाई विश्वास पनि गर्थे । खासगरी पश्चिम रोल्पातिरबाट आउनेहरुले कुनै दिनको विषय वा विवादलाई लिएर कारवाहीको निर्णय गर्ने गर्थे ।
उता प्रशासनले माओवादीसंग हिमचिम रहेको अनुमान लगाएर पक्राउ गर्ने प्रयत्न गर्दथ्यो । हुन पनि जनसरकारहरु घोषणा हुने गर्थे जहाँ प्रायः जानै पर्दथ्यो र त्यस्ता समाचार देखेपछि एउटा त सूचना लिने प्रयोजन र अर्को माओवादीनै हो कि भनेर पनि कारवाही वा पक्राउ गर्थे ।
एकपटक त सहकर्मी तत्कालिन प्रधान सम्पादक भरत पोख्रेल, कार्यकारी सम्पादक सिद्विचरण भट्टराईसहित मलाई पनि पक्रेर इलाका प्रहरी कार्यालयमा राखियो । घरखानतलासी गरियो । पाल्पाको जनसरकार घोषणसभामा गएका फोटाका आधारमा मलाई पकाउ गरिएको थियो भने । बिद्रोहीले हतियार उठाएपनि सरकारले प्रतिकारवाही गरेर मान्छे मार्ने काम गर्नु हुँदैन भन्नेवारेमा हामी स्पष्टनै थियौं ।
मेचीकाली मुलतः परिवर्तनकारीको पक्षपोषणनै गर्ने उद्वेश्यले जन्मिएकोले सो भूमिकालाई कहिल्यै कमजोर बनाएन । ०६२÷६३ को आन्दोलनमा पनि यसले सवैभन्दा पहिल्यै घुमाउरो तरिकाले आन्दोलनकारीको पक्षपोषण गर्यो । कतिपय सञ्चारमाध्यमहरु आन्दोलनको राप बढ्दै जाँदा स्वभावैले तदनुकुल हुनेनै भए तर मेचीकालीले कुनै पनि दिन आफ्नो इमानलाई रत्तिभर कमजोर हुन दिएन । मलाई अहिले पनि सम्झना छ जव नेपाली सेना सञ्चारमाध्यमका कार्यालयमा आएर गस्ती गर्न थाले त्यतिवेला पनि भलै साँकेतिक रुपमा होस् लेख्न र छाप्न छोडिएन ।
यसको अर्थ केवल राजनीतिक विषयमात्र हैन यसले सामाजिक मुद्वा र भ्रष्टाचारका विषयलाई पनि उत्तिकै प्राथमिकताका साथ प्रकाशन गरिरह्यो । लुम्विनी प्रादेशिक अस्पतालका सटर बजारमूल्यभन्दा धेरै कममा दिइएको थियो । यसले अस्पतालको आम्दानीमा प्रभाव पारेको थियो । उपभोक्ता हित संरक्षण मञ्चको पदाधिकारीका रुपमा म स्वयं र यस पत्रिकाका सञ्चालक सदस्य तेजप्रसाद पाठक हुनुहुन्थ्यो । अध्यक्ष नर्वु लामा कार्यकारी प्रमुख । पर्याप्त सूचना थिए । धारावाहिक समाचार प्रकाशन गर्ने योजना बनेपछि तिलक आचार्यले करिव पाँच दिन लेख्नुभयो । पछि सटरको मूल्याँकनका लागि नर्वु लामा र यो पंक्तिकारसमेतले झण्डै पाँच गुना बढाउने सिफारिस गरियो ।
पार्टी कार्यकर्ता र पत्रिकाका शेयर सदस्यसमेतका सटरहरु थिए । यो समाचार प्रकाशन र निर्णयपश्चात् धेरै नै गाली खानुपर्यो । तैपनि अस्पतालको आम्दानीले एउटा लय समात्यो । आम रुपमा त्यसले राम्रै प्रभाव पार्यो ।
अर्को एउटा उदाहरण अदालती समाचारको । पुनरावेदन अदालत बुटवलमा मुख्य न्यायाधीस थिए मोहन प्रसाद सिटौला । अर्का न्यायाधीस थिए ताहिर अलि अन्सारी । सिटौला आपराधिक चरित्रका मान्छे रहेछन् भन्ने कुरा मैले पछि थाहा पाएँ । जसको बारेमा थोरै चर्चा गर्नेनै छु ।
सामान्यतः अधिकांश न्यायाधीसहरु सामन्ती स्वभावका हुन्छन् भन्ने मेरो बुझाई छ । उनीहरुको आलोचना गर्न नहुने । केही कमजोरी भएपनि बोल्न नहुने । जे गर्छन् सहिदिनु पर्ने । घुसको लेनदेन वकीलबाट हुने । सेता दौरा सुरवाल लगाएपछि भित्र जति कालो भएपनि ढाकिने । खोलेर हेर्न नमिल्ने । उनले दोहारो सुविधा लिएका थिए । मेचीकालीले शायद तीन चार अंकमा समाचार लेख्यो ।
समाचारको प्रभाव सिटौलामाथि पर्दथ्यो । उनको जागीरे जीवनमा सम्भवतः प्रमोशनका लागि नोक्सानी हुने वाला थियो । समाचारकै आधारमा पत्रिकामाथि मुद्वा लगाएर पार नलाग्ने अवस्था थियो । बाईलाइन समाचार प्रकाशित भएकोले एउटा घटना घटाएर पनि मुद्वा लगाउने योजना बुनेछन् । संयोग सो योजना पत्रिकाकै एकजना जिम्मेवार सञ्चालकसंग पुगेपछि मसंग आयो । त्यतिन्जेल शायद उनी सरुवा भए वा के भयो अहिले मैले भुलें । अर्थात् एउटा अदालती समाचारले न्याय क्षेत्रमा कम्पन ल्यायो ।
मुलुक संघीयतामा गएपछि साविक लुम्विनी अञ्चललाई फुटालेर कतिपयले अनुकुल वतावरण वनाउन चाहन्थे । जुन विषयलाई पत्रिकाको तर्फबाट निरन्तर खवरदारी गरियो । यद्यपि यसमा यहाँका सवै मिडियाको जोडवल लागेको हो तथापि मेचीकालीले आफ्नो मिशन बनाएर यो सवाललाई सतहमा ल्याउने काम गर्यो ।
यस सन्दर्भमा मैले नभुल्ने विषय छ– तत्कालिन बुटवल नगरपालिकाको सहभागितामूलक विकास कार्यक्रम । यस अन्तर्गत् राजा ज्ञानेन्द्रले सत्ता हात लिएकै समय हो । नगरले उपभोक्ताबाट ५० प्रतिशत उठाएर सडक बनाउने गर्दथ्यो । साविक सेमलारबाट नगरपालिकामा गाभिएका दुई वटा वडा १४ र १५ अर्थात् वेलवासदेखि तामनगरसम्मको क्षेत्र ग्रामीण अवस्थामा थियो । ग्रामीण क्षेत्र भएकोले सो प्रतिशत धेरै भयो । यसलाई ३० प्रतिशतमा झारिनुपर्छ भनेर एउटा कार्यक्रम पत्रिकाकै तर्फबाट वेलवासस्थित १५ नं. वडा कार्यालयमा सार्वजनिक सुनवाई गरियो ।
सोही वर्ष नगरअधिवेशनले ३० प्रतिशतमा झार्यो । यो नियम धेरै पछिसम्म कायम थियो । अहिले यो नियम मोतिपुर सेमलारमा सरेको छ । सानो प्रयासले कति लामो समयसम्म काम गर्दो रहेछ भन्ने कुराको यो ज्वलन्त नमुना हो ।
तिनाउ दोहनका विषयमा त यसले अभियाननै चलायो । त्यस वापत पत्रिकाले धेरै गाली पनि खेप्नु परेको अनुभव छ मेरो । वातावरणले खान दिन्छ र भनेर कैयौं ब्यक्तिले धारे हात लगाउँदा पनि आफ्नो अडानमा तलमाथि हुन सकिएन । जसको मार पत्रिकाको विज्ञापनमा पर्दथ्यो ।
यस्ता धेरै विषय छन, जसलाई सानो स्तम्भमा लेख्न सम्भव छैन । मेरो विचारमा मेचीकालीले सन्देशले समाजमा पारेका प्रभावलाई लिएर एउटा अनुसन्धान पुस्तिका तयार गर्न सक्छ र यसो गर्दा मिडियाका अध्येतालाई पनि सघाउ पुग्ने थियो ।
मेचीकालीले खासगरी स्थानीय क्षेत्रका समस्याहरू, विकास परियोजनाहरू र स्थानीय प्रशासनका गतिविधिहरूमा आधारित समाचारलाई वढी प्राथमिकता दिने नीति बनाएको हो । यसो गर्दा जनताका गुनासा, माग, र विचारहरूलाई स्थानीय सरकारसमक्ष पुरÞ्याउन सहज हुन्छ । आजको दिनमा मुलुक संघीयतामा प्रवेश गरिसकेकोले प्रायः यहाँ लेखिएका विषयले संघीय सरकारको ध्यान तान्न मुस्किल हुने भएकोले स्थानीय विषयलाई नै प्राथमिकता दिएर जवाफदेही बनाउन सकिन्छ ।
यसरी यो पत्रिकाले राजनीतिका अतिरिक्त विकास, समाज, संस्कृति र वातावरणका विषयलाई पनि उच्च प्राथमिकता दिने नीति अनुरुप काम गर्दै आयो ।
निष्कर्षमा मेचीकाली सन्देशले जनतालाई सूचित, जागरूक र सशक्त बनाउने काम मात्र गरेको छैन, प्रशासन र सरोकारवालाहरूलाई तत्कालीन समस्याहरू समाधान गर्न पनि दबाब सिर्जना गरेको छ । तथापि नयाँ प्रविधिलाई आत्मसात गर्दै आफैलाई परिमार्जन र परिष्कृत गर्नु आजको चुनौति हो र प्रविधिको प्रयोग गरी सधै नयाँ सूचनाका साथ नयाँपन दिन सकिने अवसर पनि छ ।
(लेखक मेचीकाली सन्देशका सस्थापक सम्पादक हुनुहुन्छ) ०८१ मंसीर ३०

No comments:
Post a Comment