• Breaking News

    गाउँ कसरी पुनर्जीवित हुन सक्छ ?


    डी.आर. घिमिरे

    केही वर्ष अघिसम्म मलाई लाग्थ्यो पहाडमा राम्रो शिक्षण सस्था मात्र हुने हो भने मान्छे बसाई सराई गर्दैनथे कि ? किनकि आज म जहाँ (बुटवल–१३ बेलवास) छु, त्यहाँ आउने वा अस्थायी बसोबास गर्नेको संख्या प्रायः बालबालिकालाई अध्यापन गर्ने नाममा आउने गर्दथे । लोग्ने रोजगारीका लागि विदेश र श्रीमति बच्चा पढाउन तराई वा सहर । यो बाध्यता थियो । त्यस अर्थमा राम्रो शिक्षण सस्था हुने हो भने एक हदसम्म समस्याको समाधान हुने थियो । तर आज धेरै विकराल अवस्थामा पुगेका छौं हामी ।

    गत वर्ष लोकान्तर डट कममा प्रकाशित एक समाचार अनुसार अर्घाखाँचीको मालारानी गाउँपालिकास्थित वीरेन्द्र माविले केही महिना अघिसम्म गणित शिक्षक नपाउँदा विद्यार्थीको पठनपाठन समेत प्रभावित भयो । गणित, विज्ञान र अंग्रेजीका शिक्षकका लागि पाँचपटकसम्म विज्ञापन गर्दा समेत शिक्षक पाउन सकिएन । यसको अर्थ हरेक पालिकामा यो समस्या छ । 

    अपवादलाई छोड्ने हो भने पहाडी जिल्लाका त्यसमा पनि विकट क्षेत्रका स्कूलहरू दक्ष शिक्षकको अभावले प्रभावित हुँदै छन् । 

    अर्को एक समाचार अनुसार सल्यानको कालीमाटी–७ स्थित मनकामना प्राथमिक विद्यालयमा गत वर्ष सात विद्यार्थी थिए, अहिले एक जना पनि छैनन् । डोल्पाको मुड्केचुला–५ को महादेव प्राविमा दुई जना शिक्षकको दरबन्दी छ, विद्यार्थी ३ जना छन् । कर्णालीको राजधानी रहेको सुर्खेत जिल्लाकै अधिकांश प्राविमा १० जनाभन्दा थोरै विद्यार्थी छन् । ०८० फाल्गुण ०६ गतेको कान्तिपुरको सम्पादकीयले लेखेको थियो– कर्णालीमा मात्र १० जनाभन्दा कम विद्यार्थी रहेका विद्यालय प्रदेशभरमा १ सय ५७ वटा छन् ।   

    असन्तुलित लुम्बिनी प्रदेश 

    जसंख्याको हिसावले ६ पहाडी र ६ वटा तराईका जिल्ला मिलेर बनेको लुम्बिनी प्रदेश अत्यन्तै असन्तुलित छ । पछिल्लो तथ्यांक हेर्दा लुम्बिनी प्रदेश नेपालको सबैभन्दा बढी चलायमान प्रदेश हो । नेपालमा ज्यादा जनसंख्या घटेका १० जिल्लामध्ये दुई वटा लुम्बिनी प्रदेशमा पर्दछन् । 

    जनसंख्या वृद्धिदर ऋणात्मक भएका दश जिल्लामध्ये गुल्मी ७ औं र अर्घाखाँची १० औं नम्बरमा छ । त्यस्तै जनसंख्याको बढी चाप रूपन्देही, दाङ, कपिलवस्तु, बाँके र पश्चिम नलपरासीमा छ । अर्थात् वि.सं.२०६८ सालदेखि वि.सं. २०७८ सालसम्म एक दशकको अवधिमा गुल्मीको जनसंख्या २ लाख ८० हजार १६० बाट घटेर २ लाख ४६ हजार ४९४ मा झरेको छ भने अर्घाखाँचीमा १ लाख ९७ हजार ६३२ बाट घटेर १ लाख ७७ हजार ८६ मा झरेको छ ।

    सोही अवधिको संख्या हेर्दा रुपन्देहीमा ८ लाख ८० हजार १९६ बाट बढेर ११ लाख २१ हजार ९५७ भयो । अस्थायी रूपमा बसोबास गर्नेहरूसहित रूपन्देहीको जनसंख्या १५ लाखभन्दा बढी रहेको बताइन्छ । नेपालमै सबैभन्दा बढी जनसंख्या वृद्धिदर हुने जिल्लामध्ये रूपन्देही दोस्रो, बाँके चौथो, दाङ छैठौं र कपिलवस्तु दशौं स्थानमा पर्छन् ।

    विकास र विनाश संगसंगैः

    अर्घाखाँची जिल्ला सडक निर्माणमा नामुद मानिन्छ । हरेक गाउँमा र घरघरमा सडक पुगेको जिल्ला भनेर सामान्य ज्ञानमा रुचि राख्नेहरुले भन्ने गर्छन् । समयको विकासले शायद गुल्मी, पाल्पा पनि त्यो अवस्थामा पुगे कि ? तर नाम अर्घाखाँचीकै आउँछ ।

    हुनपनि भाष्य यस्तो निर्माण भयो कि विकास भन्नुनै सडक हो । मान्छे एक घण्टा हैन आधा घण्टा हैन दश मिनेट हिड्नु पनि विकासको सूचक भित्र परेन । पाणिनि–५ कै कुरा गर्दा लरधारामा ५ घर छन् । उनीहरु कति वर्ष बस्छन् त्यस्को पत्तो छैन तर, सडकका लागि आठ दश लाख खर्च भइसकेको छ । विजुली, खानेपानी, सञ्चार आदिमा हुने खर्चको अनुमान लगाउँदा करोडको हाराहारी खर्च हुन सक्छ । सडक मर्मत खर्च वर्षेनी हुनेनै भयो । 

    धातिवांग जुखुदीमा दुई तीन घरमा यसरीनै बाटो विजुली लैजाँदा त्यसरीनै अनावश्यक खर्च गर्नुपरेको थियो । उनीहरुलाई बाटो बिजुली लैजानुभन्दा अन्यत्र सार्नु सुरक्षाको हिसावले उचित हुने थियो । तर यो प्रस्ताव लैजाँदा उनीहरुले मानेनन् । 

    पाणिनि–५ का अध्यक्ष इन्द्रमणि घिमिरेका अनुसार यस वडामा मात्र बर्षेनी कम्तिमा १५ देखि २० लाख रुपैयाँ सडक मर्मतमा खर्च हुन्छ । अहिले पनि रजौसा–कुँडापानी–अमजा–बर्थान हुदै भर्तापुर पुग्ने वैकल्पिक सडक हुँदा हुँदै अर्को ट्रयाक खोलिदैछ । योजनामा प्राथमिकीकरण छैन र प्राविधिक अध्ययन पनि गरिदैन । अचम्म के छ भने जनताले पनि सडकबाहेक अरु माग्दैनन् । रोजगारी सृजना गर्न र बाँझा जग्गा उत्पादनशील बनाउने कुनै उपायका बारेमा सोचिदैन । 

    अहिले बुटवलबाट पाणिनि–५ मा पुग्न अढाई घण्टा लाग्छ । गोरुसिंगे हुँदै घुम्टी भएर जाँदा म आफैले ड्राइभ गरेर तीन घण्टामा पुगेको छु । सार्वजनिक सवारीमा एक घण्टा बढी लाग्ला । पैदल यात्रा गर्दा तिनगीरे हुँदै सालझण्डी आउन एक दिन लाग्थ्यो भने सल्लेरी, नेटाका पोखरा, कालीकाठी, खत्रीपोखरी, भर्तापुर, दमिल्ला, पाब्र हुँदै वाणगंगा नदीको किनारै किनार बैरीया आउन पनि पूरै एक दिन लाग्थ्यो । एक दिन बजार गरेर फर्कदा दुई दिनमा घर पुगिन्थ्यो । यसरी चार दिनको मेलो थियो । अहिले बिहान गएर साँझ फर्कन सकिन्छ । 

    मेरो परिवार जतिवेला बसाई सराई गरेर कपिलवस्तुको तत्कालिन पत्थरदेइया हाल बिजयनगर गाउँपालिकामा आयो (यो २०४३ तिरको कुरा होला) त्यतिवेला दुई वटा विषय थिए । जो बुवाले मलाई भन्नुभएको थियो– यहाँ अर्थात् पहाडमा बसेर धन पनि सकियो, शरीर पनि सकियो । तराईतिर गए कम्तिमा शरीर त बँच्ने थियो । 

    बुवाले राख्नुभएको यो प्रस्ताव मेरा लागि स्वभाविक थियो । किनभने त्यतिवेला म पत्थरदेइयामा रहेको भुवनेश्वरी माविमा अध्यापन गर्थे । मेरो मनोविज्ञान बुझेर बुवाले सो प्रस्ताव राख्नु भयो वा आफ्नै कारणले ? अहिले अनुमान मात्र लगाउन सकिन्छ । किनभने अहिले बुवा हुनुहुन्न र मैले जानेबुझेसम्म  कतै यसवारेमा बोल्नुभएको पनि छैन । तर नुन तेल चामल लत्ताकपडा बोकेर वाणगंगाको चुनौतिपूर्ण यात्रा पार गर्नु चानेचुने कुरा थिएन । 

    पछि जव मैले हिमालयन–क्याराभान चलचित्र हेरें मलाई यति पछुतो लाग्यो कि जसको समाधान मसंग थिएन । पेरिसबाट आएर एरिक भालीले डोल्पाली जनजीवनमा आधारित चलचित्र हिमालय–क्याराभान बनाएका थिए । डोल्पाका थिन्ले लेण्डुप सो चलचित्रका नायक थिए । आजभन्दा २५ वर्ष अगाडि सन् २००० मा सो चलचित्र विश्वविख्यात ओस्कर पुरस्कारका लागि अन्तरर्राष्ट्रिय प्रतियोगितामा मनोनयन भएको थियो । 

    तर वाणगंगाको जनजीवनमा कुनै क्याराभान बनाउन कुनै विदेशी आएन । यदि बनेको हुन्थ्यो भने म आफै नायक बन्ने थिए कि ? अहिलेजस्तो शिप, प्रविधि र सोंच भएको भए निर्माता पो हुने थिएँ कि ? केही न केही त पक्कै हुने थिएँ । 

    वास्तवमा लाग्छ कहिलेकाँही मेरो आफ्नै जीवन पनि फिल्म हो कि । मात्र यस्लाई मिलाएर प्रस्तुत गर्न सक्नुपर्छ । प्रश्न फेरि पनि यहाँ छ अहिलेजस्तो सडक भएको भए शायद बुवाले तराईतिर आउने प्रस्ताव राख्नु हुने थिएन कि ?

    नुनतेल लिन बटौली आएको अस्ति जस्तै लाग्छ । ३५ वर्ष पुगेछ । बाटोको कम्ता दुःख थिएन । डोकोमा घीउ बोकेर दोश्रो दिन बटौली पुगिन्थ्यो । सेते र बुद्घे साहु घीउका नामुद ब्यापारी थिए । उनीहरुको खास नाम थाहा भएन । हामीले बुद्घे साहुकहाँ घीउ बेचेर गोपाल साहु (०६२ तिरका बुटवलका उपमेयर रामेश्वर श्रेष्ठको बुवा) कपडा किनेको सम्झना ताजै छ । त्यतिवेला वंशराजकहाँ किराना सामान किनिन्थ्यो । जुल्पी (जेहेरी) बुटवलको नामुद थियो । त्यतिवेला जिन्दगीमा बुटवल सहरमा बसिएला भनेर सोचेकै थिइन ।

    प्रसंग नुनतेलकै थियो । हिजो नुनतेल गर्ने बाटाघाटा सवै आनको तान भएका छन् । मोटर गुड्ने बाटाले पुरानो अस्तित्व नामेट पारेको  छ । हो अहिले हिजो जस्तो हिँड्नुपर्दैन । मोटर कुदेर लिन आउँछन् । अहिले त गाउँ गाउँमा छिनभरमै ट्याक्सी आउँछन् । घरै पिच्छे मोटरसाइकल छन् । बिहान दिउसो बस चल्छन् । रात्री बस पनि बाक्लै आउजाउ गर्छन् । बीच गाउँबाट लमतन्न सुतेको मोटरबाटोले स्थानीय उत्पादन अन्यत्र लैजाँदैन । बरु चामल पिठो, तरकारी देखि खुर्सानीसम्म तराईबाटै बोकेर लैजान्छ । 

    अहिले बिहानै उठेर पानी लिन पँधेरो धाउनु पर्दैन । पानी लिनकै कारण राती एक दुई घण्टा पहिला उठ्नु पर्दैन । त्यति गर्दा पनि पानी नपुगेर पालो कुरेर बस्नु पर्दैन । अहिले पानी लिन जाने ती ठाउँमा चमक छैन । जतिवेला पनि मानिसको भिड हुने त्यस्ता खोल्साहरु अहिले डरलाग्दा देखिन्छन् । उचा ठाउँमा रहेका पँधेराहरु प्रायः नासिएका छन् ।

    गाउँका कैयौं पोखरीहरु सडक र विद्यालय बनाउँदा पुरिएर थातथलो छैन । पोखरी अनुसारका नाम थिए हिजो । अब पोखरीनै नभएपछि ती ठाउँको नाम मात्र रहेर के गर्ने ? बाँझपोखरा, पोखरीबारी, उपल्ला पोखरा, मौलिपोखरा, गुहे पोखरा, भुसाल पोखरा, रिपाहा पोखरा, डाडापोखरा,मंगलटारीको पोखरी, चौरमा दुईवटा पोखरी, नयखर्कको पोखरी, ढोबाटदेखि माथि देवलको पोखरी, नयखर्कको पोखरी, रानीवासमा पोखरी, मालिकामा रहेका दुई वटा पोखरी । टाकुरा अघि राँग्से कुवा (गहिरो पोखरी), मैदानको पोखरी, माझका पिपलामा रहेको पोखरी, त्यतिवेला पञ्चायतघर भनिन्थ्यो, अहिले वडा कार्यालयनिरको पोखरी, नेटाको पोखरी आदि आदि थिए । पोखरीको संख्या यकिन गर्न सकिदैन तर, अहिले धेरै पोखरीहरु छैनन् । जो पुरिए र नासिए । नेटापोखरा (डाँडोमा रहेका पोखरी) नामका दुई पोखरी थिए । ती पनि छैनन् । 

    कतै कतै होलान् तर तिनमा पानी हुन छाड्यो । करिव २० बर्ष अघिसम्म पानी हुन्थ्यो । जथाभावी डोजर लगाउँदा शायद पानीका श्रोत छिन्नभिन्न भए । कही बुटा काटिए जसले गर्दा मुहान सुके । सडक भनेपछि कुनै सम्झौता गरिएन । त्यसको वातावरणीय प्रभाव मूल्यांकन गरिएन । कतिपय समस्या न्युनिकरण गर्न सकिन्थ्यो होला त्यो पनि गरिएन । एक तथ्यांक अनुसार बिगत ३० वर्षमा पानीका ठूला स्रोतहरुमा ३० प्रतिशतले पानी घटेको छ । यो कहाली लाग्दो अवस्था देशैभरीको हो ।

    जहाँ जहाँ पोखरी थिए ति ठाउँमा चौपारी पनि हुन्थे । उकालो ओरालो गर्दा सुइय सुस्केरा हाल्दै चौपारीमा बसेर हावा खानुको मज्जा अर्कै हुन्थ्यो । त्यो पनि हरायो । आखिरी ती चौपारी यथावत् राख्न नसकेपनि नयाँ ढंगले बनाउने नीति बनाउन सकिन्थ्यो । बनिबनाउ पोखरी पुरेर वा मासेर अहिले एक गाउँ एक पोखरीको नीति सरकारलेनै ल्याएको छ । पहिला बनाइएका ती पोखरीहरु कति आवश्यकताले बनाइएका रहेछन् ? अहिले स्पष्टै भएको छ ।

    मोटरबाटो, बिजुली बत्ती, स्वास्थ्य चौकी, स्कुल, कलेज अत्यावश्यकनै हुन् । खुल्नै पर्दथ्यो, खुले । यो खुशी र हर्षको विषय हो । तर अवको नेतृत्वले सोंच्नुपर्ने के हो ? त्यो सडकलाई उपयोग गरी कृषि र अन्य उत्पादन बोकेर सहरतिर पठाउने तर्फ ध्यान दिनु पर्ने छ । चुनौति नयाँ नयाँ थपिदै गएका पनि छन् । जस्तो कि बाँदर र बँदेलको आतंकले मान्छे बस्नै नसक्ने अवस्था छ । 

    यसरी हेर्दा भैतिक रुपमा धेरै सुविधा थपिएको छ । तथापि नयाँ चुनौतिको सामाना गर्नुपर्ने अवस्था सृजना भएको छ । समयले ल्याउने परिवर्तन आवश्यक थियो र छ पनि । मानवीय विकासमा पर्याप्त ध्यान गएको छैन । साना साना तालिमलाई मानव विकासका कार्यक्रम भनेर हुने अवस्था छैन । खाली बिद्यालय अव गुणस्तरीय शिक्षाले मात्र भरिने छैनन् । अव त रोजगारसहितको शिक्षा चाहिने भयो । ज्ञान, शिप र योग्यताको संगम कसरी बनाउने भनेर विकल्प खोज्नु पर्ने देखिन्छ । 

    विकल्प सकिएकै हुन् ?

    निश्चयनै बसाइँसराइले गाउँ नै रित्तिएर कतिपय विद्यालय विद्यार्थीविहीन बनेका छन् । हो हामीले बसाइँसराइ पूरै अन्त्य गर्न सकिँदैन मात्र कम गर्ने हो । त्यसका लागि सरकारले सेवासुविधा विकेन्द्रीकरण गर्नै पर्छ । पूर्वाधारतर्फ सडक निर्माण मात्र पर्याप्त छैन । आधारभूत स्वास्थ्य सेवा, विद्युत्, खानेपानी, सञ्चार सुविधाका अतिरिक्त उद्यमशील एवं रोजगारीको अवसर सृजना गर्नेतर्फ ध्यान दृष्टि लगाउन अत्यावश्यक छ ।

    यसरी हेर्दा गाउँलाई पुनर्जीवन गर्नु भनेको केवल भौतिक विकास होइन, स्थानीय मानिसहरूको आशा, अर्थतन्त्र र संस्कृति पनि जोगाउने हो । जसले दीर्घकालीन महत्व राख्छ र सामुदायिक स्वामित्वमा अपनत्व महसूस गर्छ ।

     एकीकृत रुपमा कृषि फार्महरुको सञ्चालन, पशुपालन, जंगल तथा निजी जग्गामा फलफुल खेती र निजी बनको विकासका लागि वाह्य पूँजी भित्राउने नीति स्थानीय तहलेनै ल्याउने नीति अख्तियार गर्नुपर्छ ।

    किनकि उद्यमशिताका लागि सानो पूँजीले मात्र हुँदैन । ठूलो लगानी र प्रविधि स्थानीय तवरमा जुटाउन सम्भव हुँदैन र लगानीको प्रतिफल पनि तत्काल हुन सक्दैन । त्यसैले केही बर्ष घाटा व्यहोर्न सक्ने क्षमता चाहिन्छ । जसका लागि वाह्य पूँजी भित्राउने नीति ल्याउनै पर्छ । उनीहरुलाई केही वर्ष कर मिनाहा गर्ने, सडक पहुँच मार्ग वनाइदिने, सुरक्षाको प्रवन्ध गरिदिने, वन्द हडताल नगर्ने अवस्था सृजना गरिदिनेजस्ता यावत् काम पनि गरिदिनु पर्छ । यसवाहेक आवश्यकता अनुसार कृषि मजदुर बाहिरवाट लैजाने तथा उत्पादनमा जोडिने युवालाई निश्चित आम्दानीको ग्यारेन्टी गर्ने र स्थानीय आवश्यकता पहिचान तथा सम्भाव्यता अध्ययन गर्नु नितान्त पनि उत्तिकै आवश्यक छ ।

    यो समस्या नेपालको मात्र हैनः 

    यो समस्या संसारभरीनै छ । कैयौं देशहरुले यस्ता समस्याको समाधान विभिन्न तवरले गरेकै छन् भने हामीले गर्न नसक्ने कुरा हुँदैन । विश्वव्यापी रुपमा यस्ता कैयौं उदाहरण छन् जसले गाउँलाई पुनर्जीवन दिएका छन् । कसैले जैविक खेतीको माध्यमबाट र कसैले हस्तकलालाई पर्यटनसंग जोडेर पनि काम गरेको पाइन्छ ।

    त्यस्तै होमस्टे, ट्रेकिंग रुट, सांस्कृतिक महोत्सवलाई पनि महत्व दिएर पहिचान बनाएका छन् । इको–टूरिजम अन्तर्गत् चरा, जनावर, वनस्पतिको अवलोकन गर्ने काम उत्तिकै हुने गरेका छन् । एकपटक मैले चिनको भ्रमणका क्रममा थाहा पाएको थिएँ–त्यहाँ वसाईसराईलाई महत्व नदिनका लागि सहरमा हुने आम्दानी गाउँमै हुने अवस्था सृजना गरिएको रहेछ ।

    कतिपयले स्थानीय उत्पादनलाई ब्रान्डिंग गरेर बजारमा विशेष पहिचानका साथ विक्री गर्ने गर्छन् । जापानको “साटोयामा”मा खाली गाउँमा कलाकारहरूको आवास बनाएर सांस्कृतिक केन्द्रमा रूपान्तरण गरिएको थियो । कतिपय देशले सौर्य ऊर्जा र डिजिटल सुविधा भएको “स्मार्ट गाउँ”का रुपमा विकास गरेको पाइन्छ ।

    कतिपयले सांस्कृतिक विरासत र स्थानीय शिल्पकलाको प्रयोगलाई प्राथमिकता दिएर परम्परागत घरहरुलाई विश्व सम्पदा सूचिमा राख्न लगाएर पनि पर्यटनलाई प्राथमिकता दिएको पाइन्छ ।

     कतिपयले युवाहरूलाई गाउँमा बस्न प्रोत्साहन स्वरुप आवास अनुदान तथा सानो व्यवसायका लागि ऋण दिएर प्रोत्साहन गरेका हुन्छन् । भनिन्छ दक्षिण कोरियामा यसो गरेर करिव २ हजार गाउँलाई  पुनर्जीवित गराएका थिए । कही कही साहसिक पर्यटनलाई प्राथमिकता दिएर रोजगारी सृजना गर्न सकेका छन् । कतै स्थानीय फलफुलमा आधारित वाइन उत्पादन गरेर तथा पहाडी क्षेत्रलाई गर्मीमा हाइकिंग गन्तव्य वनाएर पनि विकास गर्न सकिने हुन्छ । 

    समग्रमा हामीले हाम्रा गाउँलाई कसरी पुनर्जीवन दिने भनेर छलफलनै प्रारम्भ गरेका छैनौं । त्यसैले यो काम ढिला भएपनि सकिएको छैन । कतिपय विश्वविद्यालयमा अध्ययनरत युवालाई अनुसन्धानमा सहयोग गरेर विकल्पको खोजी गर्न सकिन्छ । स्थानीय शिक्षक, कर्मचारीहरुलाई अनुसन्धान वृत्ति दिएर छलफल चलाउन सकिन्छ ।    

    (श्री कृष्ण माविको पहिलो व्याचका विद्यार्थी घिमिरे हाल बुटवलमा वसेर पत्रकारिता र अनुसन्धानमा सक्रिय छन् ) २०८१ चैत्र ११


    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Travel