डी.आर.घिमिरे
काठमाण्डौको त्रिभुवन अन्तर्राष्ट्रिय एयरपोर्टस्थित सिचुवान एयरलाईन्सबाट छेन्दुका लागि दिउसो १ वजे हामी तीन जनाको परिवार उडेका थियौ । कुहिरोको लप्कासँगै जहाजले उचाई लिदै थियो भने हामीहरु आकास मुनि बाक्लो कुहिरो, सेताम्य हिउँले ढाकिएका पहाड छिचोल्दै गन्तब्यतर्फ जाँदै थियौ ।
काठमाण्डौबाट जहाज चढेदेखि नेपाली यात्रु देखेर आश्चर्यमा परेको थिएँ म । दशैं नगिच आइरहँदा यति धेरै नेपाली किन बाहिर हिडे होलान् ? यस्तै प्रश्न मनमा उठाउँदै जहाज चढेंको भएपनि छेन्दुबाट संख्या घट्ने होला भन्ने मेरो अनुमान थियो । २ वर्ष पहिला पनि म मलेसियन एयरलाइन्स हुँदै अष्टे«लिया आएको थिएँ तर, यति धेरै नेपाली थिएनन् । बरू फर्कदा पर्याप्त नेपाली थिए । यो पटक छेन्दुबाट सिड्नीका लागि उडेको ४ शय ५० जना यात्री रहेको जहाजमा दुई तिहाई नेपाली थिए ।
दशैको मुखमा हामी जानुको प्रमुख कारण यो वर्ष टिका नहुनु हो । यद्यपि टीका भएको भएपनि दुवै छोरा, वुहारी, छोरी ज्वाई र नाती–नातिनीहरुसमेतको संयोग आफैमा रोमाञ्चकनै थियो । अरू सवैको कारण त हामीलाई थाहा भएन तर, अधिकांशका परिवारका वहुमत सदस्य अष्ट्रेलिया हुनु हो भनेर अनुमान लगाउन खासै गारो थिएन ।
रोजगारी, अध्ययन वा अन्य कुनै कारणले घर छोडेकाहरू दशैंमा ‘घर’ फर्किएको अनुभव प्रायः सवैले गर्दै आएको विषय हो । यसवारे खासै धेरै चर्चा गरिरहनु पर्दैन । तर यो पटक मेरो अनुभव अलि फरक रह्यो ।
लाग्थ्यो हिजो सम्म गाउँले नै संस्कृति, धर्म र परम्परा धानिदिएको थियो । त्यसैले मानिसहरू शहरबाट मात्र हैन विदेशबाट पनि फर्कने गर्दथे । गाउँ फर्कनुको अर्थ यति मात्र थिएन इष्टमित्र, नाता कुटुम्व, साथी र आफन्तसंगको भेटघाट खास अर्थपूर्ण हुन्थ्यो । बर्षमा एक हप्ताजसो गाउँ जाँदा पाइने आत्मीयता, अपनत्व र सहयोगी भावनाले हरेकको मन फर्काउँथ्यो ।
पहाडबाट बसाइँसराइ गरेर तराई वा सहरमा गएकाहरु पनि दशैमा घर फर्कने गर्दथे । मेरो अनुभवमा सम्पूर्ण रुपले बसाइँसराइ गर्दा पनि दशैंको टिका पछि पहाड जाने गर्दा एक प्रकारको आनन्द आउँथ्यो । तर विस्तारै सो क्रम रोकिदै गयो । पछिल्ला वर्षमा देशविदेश यात्रामा निस्कने क्रम वढ्न थाल्यो र अहिले दशैंमा घर छोड्ने क्रम उल्टो हुन थालेको छ ।
सिड्नी जव म उत्रें । बिदेश छु भन्ने भावनाले नै होला नेपालभन्दा धेरै मान्छे यतै छन् कि जस्तो लाग्यो । २०२३ को अनुमानित तथ्यांक अनुसार अस्ट्रेलियाको सिड्नी शहरको जनसंख्या लगभग ५.३ मिलियन (५३ लाख) छ र सिड्नी अस्ट्रेलियाको सबैभन्दा ठूलो सहर न्यू साउथ वेल्स राज्यको राजधानी होे ।
सामाजिक सञ्जालको कारणले धेरैको दैनिकी थाहा हुन्छ आजभोलि । सिड्नी आउँदा नआउँदै केही साथीहरुका स्टाटस र तस्वीरले म मात्र हैन भन्ने देखाएकै थियो । पत्रकार तीर्थ कोइरालाको यात्रा कतै भइरहेको छ भन्ने कुराको छनक पाएकोले सिड्नी आएको तेश्रो दिनमा सम्पर्क गरें । उनी अमेरिका थिए । छोरा वुहारी उतै भएकोले दशैं मान्ने सन्दर्भसहित अमेरिका पुगेका रहेछन् ।
ठिक यसरीनै बुटवलका राजनीतिक तथा सामाजिक व्यक्तित्व बलबहादुर आचार्य अमेरिकामै घुमेको देखिन्छ । नेपालगञ्ज बसेर पत्रकारिता गर्ने अक्षरी पोख्रेललाई अमेरिकामै देखें । उनी पनि छोरा वुहारीसंग दशैं मान्ने सन्दर्भमा गएकी रहिछन् । एक हप्ता पुग्दा नपुग्दै पोखराका पत्रकार गंगाधर पराजुली अष्ट्रेलियाको मेलवर्न आईपुगे । गत वर्ष अमेरिकामा दशैं मानेका पराजुली यो वर्ष दशैं मान्ने उद्वेश्यले यता आएका रहेछन् ।
लुम्विनी प्रदेशकी सांसद वसन्ती अधिकारीका दम्पत्ति अलि पहिल्यैदेखि अष्टे«लिया आएका छन् । उनी पनि दशैं मानेर मात्र फर्कने विचारमा छिन् । अर्घाखाँचीका राजनीतिज्ञ जनार्दन खनाल असोजको पहिलो हप्ता सिड्नी आइपुगेका छन् । नवलपुर कावासोती नगर प्रमुख विष्णुप्रसाद भुसाल, बुटवलका व्यावसायिक तथा सामाजिक अगुवा अर्जुनमान सैजू, मेघराज भण्डारी, बुटवल– १२ का अध्यक्ष डिल्लीप्रसाद शर्मा आचार्य र नयाँगाउँका नन्दी किशोर खरेल, राधिका भुसाल, शिक्षक प्रेमवहादुर बस्नेत, निवृत्त शिक्षक प्रदीप श्रेष्ठ, सुखानगर निवासी काशिराम पोख्रेल, रामप्रसाद पाण्डे (क्यानवेरा), कलाकार चिरन बराल लगायत थुप्रै नेपाली दशैंको सम्मुखमा यतै छन् । कतिपयको धेरै वसाईनै यतै हुन थालेको छ । बुटवल–१३ का लक्ष्मण कँडेल प्रायः यतै बस्ने एकजना प्रतिनिधिमुलक पात्र हुन् ।
यी त केही प्रतिनिधि पात्र मात्र हुन् । खोज्दै जाने हो भने हरेक टोलका मानिस भेटिन्छन् । बुटवलको वडा नं १३ को तथ्यांक विष्लेषण गर्ने हो भने हरेक पाँच घरबाट एक जना विदेशिएको भेटिन्छ ।
अष्ट्रेलियामा रहेका नेपालीहरूले नेपालमा जस्तै दशै पर्वलाई परम्परागत रूपमा, आफ्ना परिवार, साथीभाइ र समुदायसँगै उत्साहपूर्वक मनाउँदा रहेछन् । भनिन्छ कर्मसंगै धर्म, सस्कार र सस्कृति पनि जान्छ । शायद यही कारणले होला उनीहरुले आफ्ना धार्मिक र सांस्कृतिक मान्यताहरूलाई जोगाउँदै सवै प्रकारका चाडवाडहरु मनाउने गर्छन् ।
दशैंमा घरमा देवी दुर्गाको पूजा गर्ने र दशमीका दिन टीका र जमरा थाप्ने, परिवारका सदस्यहरूबीच आशीर्वादको आदानप्रदान गर्ने र कतिपय शहरहरूमा संघ–संस्थाहरूको माध्यमबाट सामूहिक कार्यक्रमहरू आयोजना गर्ने गर्छन् । जस अन्तर्गत् नेपाली खानपान, सांस्कृतिक कार्यक्रम र परम्परागत खेलहरू पनि हुँदा रहेछन् ।
त्यसोत केही वर्ष यता विदेशमा बस्नेहरुले पनि दशैं वा अन्य चाडवाडको महत्वलाई सजीव राख्दै, आफ्नो परिवारसँग भर्चुअल माध्यमबाट पनि जोडिने प्रयास गरेको पाइन्छ । कतिपयले बच्चाको जन्म पश्चात् न्वारन, पास्नी वा अन्य धार्मिक कर्म पनि त्यसरीनै गर्छन् । यद्यपि यो पण्डितहरुको अभावका कारणले पनि हो तर आजभोलि धार्मिक कर्म गर्ने पण्डितहरुको पनि समस्या रहेन ।
सन् २०१४ देखि अहिलेसम्म सात वटा दशैं यही मनाउँदै गरेका लक्ष्मण कंडेलको अनुभवमा शुरुमा स्थायित्व नहुन्जेल अफ्टेरो भएपनि स्थायित्व भएपछि धेरैले आफ्ना परम्परा, सस्कृति र धर्मलाई प्राथमिकतामा राख्ने गर्छन् ।
यसको अर्थ नयाँ तथा एक्लै रहेका वा स्थायित्व नभएकाले चाडवाड मान्दैनन् भन्ने हैन । उनीहरुले सामुहिक रुपमा विभिन्न पार्कहरुमा गएर पनि ज्येष्ठ नागरिक वा आफुभन्दा सिनियरबाट टीका थाप्ने गर्छन् । यसका लागि एनआरएनए तथा नेपाली समुदायका संघसस्थाले पण्डित र जमराको व्यवस्था गरेर सहयोग गरेका हुन्छन् । सानो परिवार भएका र आफ्नो घर नभएका कारण जमरा राख्न नसक्नेलाई नेपाली समुदायका ब्यक्तिले सञ्चालन गर्ने पसलमा जमरा किन्न पाइन्छ ।
आजभोलि नेपालीहरु बाक्लै आउन थालेका छन् । एकातिर बुवाआमालाई घुमाउने, अर्कोतिर चाड पनि मनाइने भएपछि यतै बोलाउनेको संख्या दिनहुँ बढ्दो छ, कणेंलले भने– कतिपयका नातागोतानै यतै हुने र फरक फरक सहर वा राज्यमा हुने भएपछि पूर्णिमा सम्मनै दशैं मनाउन थालिएको छ ।
कुरा दशैंको मात्र हैन अन्य चाड तिहार, तीज, माघे सक्रान्ति, होली लगायत सवै चाडवाड र पर्वहरु उत्साहपूर्वक मनाउन थालिएको छ । बाक्लो नपाली वस्ती भएका ठाउँमा तदनुसारका पसलहरु पनि छ्यापछ्याप्ती नै भेटिन्छन् । कुनै प्रकारको सार्वजनिक विदा नहुने भएपनि विदा लिएर वा समय मिलाएर दशैंलाई भब्यतापूर्वक मनाउने क्रम वढ्दै गएको देखिन्छ । अष्ट्रेलियामा मुख्यतः इसाई धर्मका चाडपर्वहरू (जस्तै क्रिसमस, इस्टर) मा मात्र विदा दिने गरिन्छ ।
कणेंलको अनुमानमा सिड्नीको वाडियामा सवैभन्दा धेरै करिव पाँच शय र डेनम कोटमा करिव साठी घरपरिवार नेपाली छन् । यसवाहेक अवन, अस्टलमा पनि उल्लेख्य संख्यामा छन् । केही वर्ष पहिलेसम्म पूजाआजा गरेर फुलप्रसाद सेलाउने ठाउँ थिएन । तर अहिले लिभरपुलमा भारतीय मूलका नागरिकले सो को व्यवस्था मिलाएका छन् । त्यसैले परम्परा अनुसार सवै कर्म गर्न कुनै समस्या छैन ।
नेपालमा भन्दा एक दिन ढिला थियो अष्ट्रेलियामा दशैं । अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले असोज २७ गते अर्थात् अक्टोबर १३ तारिखमा दशैं मनाउनुपर्ने जनाएको थियो । तर पहिलादेखिनै समय व्यवस्थापन गर्नुपर्ने धेरैले २६ गतेका लागि समय मिलाई सकेकाले सोही दिननै टीका लगाउने तयारी गरेको पाइयो । फेरि दुई चार दिनसम्मै टीका लगाउनु पर्ने भएकोले पनि आफ्नो अनुकुलतामा दुवै दिन टीका लगाउने तयारी गरेका छन् ।
सिड्नीमा मात्र हैन, क्यानवेरा, मेलवर्न, वृशवेन, पर्थ, तास्मानिया लगायत जहाँ जहाँ नेपाली छन् ती सवै ठाउँमा दशैं मनाउने गरिन्छ ।
क्यानवेरामा वसोवास गर्ने दीपक पाण्डेका अनुसार हिजो मात्र एउटै पार्कमा करिव पचास जना अभिभावकसंग भेट भएको थियो । यसवाट अनुमान लगाउन सकिन्छ दशैंको मुखमै पर्याप्त नेपालीहरु आएका थिए ।
२०८१ असौज २५

No comments:
Post a Comment