• Breaking News

    स्वस्थ समाज निर्माणका लागि ‘ग्रिन आर्किटेक्चर’


    डी.आर. घिमिरे

    सरकार भएको अनुभूति दिन धेरै गर्नु पर्दैन । सामान्यतः ज्येष्ठ नागरिकलाई दिनुपर्ने प्राथमिक सुविधा दिदा पनि सरकारको अनुभूति हुन सक्छ । यो कामका लागि संघीय सरकारले नीतिगत व्यवस्था गर्ने हो भने स्थानीय तहले सहजै गर्न सक्छन् । 

    मानवीय जनशक्ति स्वस्थ्य हुँदा मात्र समृद्वि प्राप्त हुन सक्छ । चुस्तदुरूस्त तथा प्रभावकारी जनशक्ति तयार गर्नु राज्यको दायित्व हो । मान्छे समृद्व हुनुको अर्थ सुखी, खुसी, शान्त, आनन्दित र सन्तोष हुनु हो । 

    मानिस जव मानसिक रुपमा अशान्त हुन्छ, त्यतिवेला जतिसुकै औषधि गरे पनि निको हुँदैन । नत अस्पतालहरूले बिरामी थेग्न नै सक्छन् । उपचारका लागि अस्पताल अनिवार्य छ, तर सवै समस्याको समाधान अस्पतालले मात्र गर्दैन । प्रारम्भिक उपचारका लागि हामीले गर्नैपर्ने धेरै काम हुन्छन् र पनि गर्न सकेका छैनौं ।

    काम गर्न पनि स्वस्थ्य हुन जरुरी छ । अस्वस्थ ब्यक्तिले काम गरेर समृद्वि प्राप्त गर्न सक्दैन । शरीरमा स्फुर्ति आउन स्वस्थ हुनैपर्छ । स्वस्थ ब्यक्तिलेनै आय आर्जनका लागि श्रम गर्न सक्छ । सिपको प्रयोग गरेर आय आर्जन गर्नसक्छ । सेवा प्रवाहको माध्यमबाट आम्दानी गर्न सक्छ । त्यसैले समृद्विका लागि स्वस्थ हुन आवश्यक छ ।

    नेपालको संविधानले स्वास्थ्य र आवासको ग्यारेन्टी गरेको छ । यसको अर्थ सवैलाई जमिन दिएर मात्र हुँदैन । जमिनको साटो किस्तावन्दीमा सुलभ हिसावले आवास दिन सक्ने हो भने ज्यादा प्रभावकारी हुनसक्छ । कुरा यति हो कि निश्चित योजना बनाएर मात्र सो उपलब्धि प्राप्त हुन सक्छ । जस्तो कि कुनै रोजगारीमा आवद्व रहेछ भने न्युनतम रकम त्यतैबाट प्राप्त हुने अवस्था सृजना गर्न सकिन्छ । स्थायी प्रकृतिको रोजगारी नभएको अवस्थामा वार्षिक न्युनतम श्रम प्रदान गर्न सकिन्छ । 

    निश्चयनै जलवायु परिवर्तनका कारण नयाँ खाले प्रकोपका समस्याहरु सृजना छन् । धेरै वर्षसम्म पानी कम पर्दा मानिसले सार्वजनिक जमिन, नहर, खोला तथा नदी उकास क्षेत्र तथा किनारमै पनि घर वनाएर बसे । उनीहरुलाई कसैले हुँदैन भनेन, बरु वाटो, विजुली, टेलिफोन आदि सुविधा प्रदान गरेर प्रोत्साहन गर्ने काम भयो । यसमा कसैले कसैलाई गाली गरेर समस्याको निकास निस्कदैन ।

    बरु त्यसरी बसेका अव्यवस्थित बस्तीका बासिन्दालाई सुलभ मूल्यमा अपार्टमेन्ट उपलब्ध गराएर व्यवस्थित गर्ने तर्फ सोच्न सकिन्छ । बुटवलमा तिनाउ दानव करिडोरमा बसेकाहरुलाई जग्गा उपलब्ध गराउने कुरा गर्दा त्यो असम्भव भयो । तर, जहाँ जग्गा दिने भनिएको छ सो ठाउँमा व्यवस्थित योजना बनाएर किस्तावन्दीमा अपार्टमेन्ट उपलब्ध गराउने भनेको भए सहजै जाने थिए ।

    कुरा यति मात्र हैन सहरभित्रै पनि कसैले १२ फिटमा घर बनाएर अव्यवस्थित ढंगले बसेका गरिब तथा सुकुम्बासीका लागि पनि सहर बाहिर यसरीनै अपार्टमेन्ट बनाएर स्वेच्छिक रुपले जाने वातावरण बनाउन सकिन्छ  । यस प्रक्रियाबाट खाली भएको जमिनलाई पार्कको रुपमा विकास गर्न सकिन्छ । 

    जलवायु परिवर्तनका कारण ब्यापक गर्मी बढ्दै गएको छ । यसको नियन्त्रण ब्यापक बृक्षरोपण कार्यबाट मात्र सम्भव छ । त्यसैले माथि उल्लेखित अवस्थाबाट निस्केको जग्गामा वृक्षरोपणलाई वढाउन सम्भव छ । 

    स्वस्थ समाज निर्माणका लागि अहिले योग, ध्यान तथा विहानमा दौडने कामले व्यापकता पाएको छ । यो अत्यन्तै सुन्दर पक्ष हो । यसलाई थप विकास गर्नका लागि पालिकाले टोल विकासमार्फत् थुप्रै काम गर्न सकिन्छ । 

    भनिन्छ चिनमा टोलका बासिन्दालाई बिहान चाँडो उठ्न र बेलुका सूर्यास्तअगावै हल्का खान खान प्रोत्साहित गर्नुका साथै बिहान र साँझ दुबैपटक ६ बजेदेखि ९ बजेसम्म पार्कमा घुम्न, भजनकीर्तन र गीतसंगीत गाउन, शारीरिक व्यायामका लागि नाच्न, कम्फुकराते र तेक्वान्दो समेत सिकाउने गरिन्छ । वुढा वुढीलाई हँसाउने गतिविधि हुन्छ । एक पटक म आफै पनि यस्तो दृश्य देखेर चकित भएको थिएँ ।

    एउटा पालिकाले चाहने हो भने अनेकौं पार्क बनाउन सक्छ । पार्कलाई हरियाली बनाउन वृक्ष मात्र हैन, दुवो, अन्य हरियालीयुक्त झार, फलफुल, जडिबुटी लगाएर पनि हरियाली बनाउन सक्छ । यसले बालबालिका, बृद्व बृद्वा सवैलाई दिने भनेको आनन्द र स्वस्थ वातावरण हो ।

    पहिला ठाउँ ठाउँमा पोखरी र चौपारी हुने गर्दथे । गाईभैसीले पोखरीको पानी खाने गर्दथे । मान्छे चौपारीमा गएर कुरा गर्दथे । गर्मीमा सुस्ताउँथे । पोखरीमा कमलको फूल लगायत विभिन्न प्रजातिका फुलहरु देख्न पाइन्थ्यो । तराइमा सिंगडाको खेती हुन्थ्यो । माछाका लागि व्यावसायिक खेती नगरेपनि खासै समस्या थिएन । चराचुरु¨ीलाई पनि पानीका लागि धेरै दुःख थिएन । जता गएपनि खाइनै हाल्थे । तर आजभोलि त्यस्तो छैन । स्वभाविक हिसावले कुनै पनि चिज पाइदैन । सडक विस्तार गर्ने नाममा प्रायः सवै चौपारीहरु हटाइए र पोखरीहरु पुरिए । तिनको शोधभर्ना गरिएन ।

    पानी जीवन हो । सौन्दर्यका लागि पनि पानी चाहिन्छ । पानी हुने हो भने हरेक पार्क तथा ठाउँमा वाटर फाउन्टेन राख्न सकिन्छ । जसले सौन्दर्यीकरण मात्र हैन, सितलताको महसुस पनि गराउँछ । खै त्यो जीवन । खै त्यो विरुवा हुर्काउने प्रचलन । वृक्षरोपण त हुन्छ तर हुर्काउने तरिका र व्यवस्थापन छैन ।

    हो पहिला पटक्कै नभएको चाँही बालबालिका केन्द्रीत खेल मैदान वा पार्क थिएनन् । अहिले बरु समयानुकुल बालबालिकाका लागि अलग्गै चिल्ड्रेन पार्कको व्यवस्था हुनुपर्ने हो । उनीहरुलाई खेल्न, रमाउन आवश्यक सामाग्री चाहिने हो । त्यस्ता सार्वजनिक स्थानमा स्वच्छ पिउने पानी र सुविधायुक्त शौचालयको व्यवस्था गर्नुपर्ने हो । 

    अब हामीले सोच्नुपर्छ पार्कहरुमा खासगरी बृद्वबृद्वा केन्द्रीत पार्कहरुमा स्वच्छ पिउने पानी मात्र हैन, चिया–कफी पिउने र इन्टरनेटको समेत व्यवस्था गर्नुपर्छ । यस्ता कामका लागि अलग्गै जनशक्ति चाहिदैन । टोल समिति वा समुदायलेनै चलाउन सक्छ । यसो गर्दा मान्छेले एक्लिएको अनुभव गर्न पाउँदैन । धेरै चिन्ता गर्ने अवस्था पनि आउँदैन र गुणस्तरीय जीवन बिताउन सक्छ ।

    सहर भन्नेबित्तिकै हाम्रो दिमागमा मान्छे नै मान्छेको समूह आउँछ । ठूलाठूला भवनहरूको दृश्य दिमागमा आउँछ, तर प्रकृति आउँदैन । खुला ठाउँ राख्नुभन्दा सार्वजनिक भवन वनाउने तर्फ हाम्रो ध्यान जान्छ । अहिले त यस्तो लाग्छ कि ती सवै भवनहरु ढिलोचाँडो खण्डहरमा परिणत हुनेछन् । बरु उद्यानहरु रहे भने तिनको काम आउने छ ।

    आजभोलि ग्रिन आर्किटेक्चर भन्ने छ । जसले माटो सुहाउँदो भवन निर्माणमा जोड दिन्छ । विश्वका कतिपय स्थानमा माटो सुहाउँदो आर्किटेक्चर डिजाइन गर्ने चलन छ । विडम्वना नेपालमा राजस्थानको मार्बल नभई घर नै बन्दैन । हामी प्रकृतिप्रेमी हुन सकिरहेका छैनौं । अर्को कुरा हामी मानिस बस्ने घर बनाउँछौ, तर परेवा, कुकुर, बिरालो, माहुरीलगायत अन्य जीव जनावरबारे सोच्दैनौं । 

    गाउँघरमा परेवा, कुखुरा, हाँस, माहुरी सबै बस्ने ठाउँ बनाइन्थ्यो । अहिले सहरमा घरपालुवा चराचुरुंगीसँगै अन्य चराचुरुंगी र जीव जनावरका लागि बस्ने ठाउँ नै छैन । शायद त्यसकै परिणाम होला पहिलेपहिले वर्षामा शंखेकिरा र गड्यौँला कति धेरै देखिन्थे । फट्यांग्राहरू उत्तिकै देखिन्थे । साँझमा झ्याउँकिरी कराउँथे । तर, हिजोआज कहाँ गए ? हामीले ग्रिन आर्टिकेक्चरको प्रयोग गर्न छोडेका कारण यस्तो भएको हो कि ? 

    गत वर्ष एकपटक नेपालगञ्जमा विहानै मन्दिरमा जाँदै थियौं केही साथीहरुसहित । एक  ठाउँमा घर अगाडि सानो सिमेन्टको पोखरी वनाएर पानी राखेको देखें । एकजनालाई यो के हो भनेर सोधे । 

    उनले भने– चराचुरुंगीका लागि घरबाहिर पानी राखिएको हो । ओहो कस्तो राम्रो विचार । पोखरीहरु सुक्दै गए । कम्तिमा यति भएपनि थरीथरीका चराचुरुंगी आएर पानी त खान पाउने भए जस्तो लाग्यो ।

    यी सवै कुरा मानिसको जीवनका लागि, स्वस्थ समाजका लागि अत्यावश्यक नै हुन् । भनिन्छनि सकारात्मक चिन्तनका लागि सकारात्मक वातावरण चाहिन्छ । सकारात्मक वातावरणका लागि माथि उल्लेखित अवस्था राज्यका निकायले सृजना गरिदिनुपर्छ । 

    स्वस्थ नागरिक निर्माणका लागि ठूला अस्पताल जरुर चाहिन्छन् । तर अस्पतालले मात्र स्वस्थ समाज बन्दैन । यो प्रक्रिया धेरै महंगो र खर्चिलो पनि हुन्छ । निजी अस्पतालहरुले विरामीको संख्या वढाउन खोज्नु स्वभाविक होला, सरकारले र नेतृत्व तहमा रहेकाहरुले विरामीको संख्या घटाउने रणनीति र कार्यनीति बनाउन आवश्यक छ । 

    प्रायः चिकित्सकहरुले खानपानप्रति बेवास्ता गरेको पाइन्छ । उनीहरु जे खाएपनि हुन्छ भनेर भनिदिने गर्छन् जवकि खानपानका कारण मानिसको स्वास्थ्यमा धेरै प्रतिकुलताहरु आइरहेका हुन्छन् । बजारमा विज्ञापन गरिने अधिकांश पत्रु खाना स्वास्थ्यका दृष्टीले खराव हुन् भन्ने जानेर पनि तिनको नियन्त्रण गर्न ध्यान दिइदैन । कृत्रिम स्वादका लागि प्रयोगमा आउने रसायन स्वास्थ्यका दृष्टिले घातकनै हुन्छन् भन्ने कुरा धेरैलाई थाहा नभएको विषय हैन । तर, विज्ञापनबाट राज्यले कर असुल्ने भएकोले तिनको नियन्त्रण र नियमनमा खासै चासो दिइदैन ।  

    अन्तमा बुटवल एक शैक्षिक र प्राज्ञीक थलो हो । यहाँको वरपर यति धेरै उद्यान (पार्क)हरु छन् कि नेपालकै सन्दर्भमा यो उद्यानको राजधानी हो । उद्यानमा नियमित आउजाउ गर्नेको संख्या पर्याप्त छ । के हामी उनीहरुको सुक्ष्म अध्ययन गरेर प्रभावकारितावारे कुनै निष्कर्ष निकाल्न सक्दैनौं ?

    २०८१ भदौ १३, भदौ १८ मा नेपाल प्रेसमा प्रकाशित


    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Travel