डी.आर. घिमिरे
आजभोलि पर्यटनको विषय सवैभन्दा चर्चाको विषय हुने गरेको छ । राजनीतिकर्मी, ब्यवसायी, पत्रकार, लेखक, उद्योगी, ब्यापारी, समाजका अगुवा सवैले यसको यतिविधि चर्चा गर्छन् कि मानौं पर्यटन ब्यवसाय नेपालका लागि निर्विकल्प आय आर्जन गर्ने औजार हो । सरकारका विभिन्न तह, निकाय, अध्येता आदि सवैको विषय पर्यटन हुने गरेको छ । त्यसवाहेक सामुदायिक वनहरु र समुदायले पनि पर्यटनकोवारेमा थोरै कुरा गर्दैनन् ।
यो आफैमा सकारात्मक कुरा हो । यसले एक खालको जागरण ल्याएको छ भन्दा अनुचित हुँदैन । समाजका सवै वर्ग, क्षेत्रले पर्यटनलाई आर्थिक उपार्जनको रुपमा पनि लिएका छन् । सरकारका तीनै तह त्यसमा पनि स्थानीय तहका प्रतिनिधिहरुले पर्यटनकावारेमा गोष्ठि, सेमिनार आदि पनि गरेकै छन् । कतिपय संरचना निर्माणमा लगानी गर्ने काममा पनि पछि हटेका छैनन् ।
लुम्विनी प्रदेश सरकारले कतिपय महत्वपूर्ण काको शुरुवात गरेका छ । पाल्पाको श्रीनगर, अर्घाखाँचीको तिनगिरे, नरपानी, प्युठानको स्वर्गद्धारी, रोल्पाको होलेरी लगायत विभिन्न ठाउँमा हिलस्टेशनका लागि सडक निर्माणको प्रक्रिया शुरु हुनु केही उदाहरण हुन् । यस्ता सडकले पर्यटनको विकासमा विशेष योगदान गर्नेछन् । तराइमा कैयौं ऐतिहासिक, पुरातात्विक, धार्मिक आकर्षक स्थलहरु छन् । लुम्विनी, तिलौराकोट, रामग्राम, वर्दिया निकुञ्जलाई पनि पर्यटनका आकर्षक गन्तब्य मान्न सकिन्छ । रिडि, रेसुङ्गा र स्वर्गद्धारीसम्मको सडक पहुँचले खासगरी भारतीय पर्यटकलाई सहज वनाउने विश्वास गर्न सकिन्छ ।
पर्यटनको विकास रमाइलोको लागि मात्र गरिदैन । बरु रोजगारी बढाउने, उद्यमशीलता थपिने, नयाँ नयाँ प्रतिभा र शिपको वजारीकरण हुनाले आर्थिक गतिविधि चलायमान हुने अवस्था आउँछ । कतिपय देशको अर्थतन्त्र पर्यटनबाटै धानएको छ । त्यसैले सवै देशले यसलाई उच्च प्राथमिकतामा राखेका हुन्छन् । कृषि, पर्यटन, हस्तकलामा आधारित लघुउद्यम, वन एवम् जडीबुटीजन्य उद्योग आदिलाई पनि पर्यटनले टेवा दिने गरेको हुन्छ । अर्थात् रोजगारी अभिवृद्धिका प्रमुख माध्यमको रुपमा पर्यटनलाई लिन सकिन्छ ।
यसै प्रसंगमा मलाई एकजना चिनियाँ महिलाले भनेको कुराले मन पोलिरहन्छ । उनलाई लिएर बुटवलवाट नगिचै पर्ने पाल्पाको नुवाकोट जाने अवसर मिल्यो । साथमा नुवाकोट विकास समितिका अध्यक्ष माधव नेपाल र डा. शागर न्यौपाने हुनुहुन्थ्यो । डाँडामा पुगेपछि उनले खै कथा भनिन् ? मैले अलि बुझिन । उनले सम्झाउँदै भनिन्—मलाई यहाँ ल्याएपछि यसको ऐतिहासिक वा पुरातात्विक महत्व के हो ? त्यसको लिखत दस्तावेज दिनुपर्दैन ? दस्तावेजको अर्थ एउटा पर्चा वा ब्रोसरसम्मको आशय थियो । अथवा उनलाई किन त्यहाँ लगियो ? सो कुरा उनलाई थाहा हुनु पर्यो ।
उनले अझै अगाडि वढेर भनिन्–सक्नुहुन्छ भने उकालो लाग्नुभन्दा अघि अर्थात् वेलवासको समथर ठाउँ जहाँवाट उकालो लागिन्छ त्यँहीनिर प्रदर्शनी कक्ष राख्नुपर्छ । जहाँ भिडियोमार्फत् यहाँका तस्वीर हेर्न पाइयोस् । जानकारीमूलक सूचना पाइयोस् । तब न यहाँ आएर हेर्नुको मज्जा हुन्छ ।
वास्तवमा मेरा आँखा उनले खोलिदिइन् । अझ मलाई पत्रकार हुनुको कारणले पनि कथा लेख्नुपर्ने तँपाइलेनै हो भनिन् । उनी पत्रकारिताको पृष्ठभूमिबाट आएकी रहिछन् । त्यसैले पनि उनले विशेष जोड दिएकी थिइन् ।
यो कुराले मलाई केही गर्ने जाँगर चल्यो । तत्कालिन अवस्थामा उद्योग, वातावरण तथा पर्यटन मन्त्रालयमा कुरा गरी पानश फाउण्डेशन मार्फत् एउटा लुम्विनी प्रदेशको टुर गाइड निकाल्यौ । संगसंगै इच्छा के थियो भने हरेक दर्शनीय स्थलको ब्रोसर निकालेर प्रचार गरौं । प्रचार अरु केही गर्नु पर्दैनथ्यो । मात्र अवलोकन गर्न जानेलाई एक एकवटा परिचय पुस्तिका अर्थात् ब्रोसर दिए मात्र पुग्थ्यो ।
भारत वा अन्य मुलुकमा घुम्दा मैले देखेको पनि छु । त्यँहा हरेक स्थानको महत्व के हो भनेर जानकारी दिने चलन हुुन्छ । घुम्न जाने पर्यटकले जान्न खोज्दा रहेछन् । सम्भव भएसम्म नेपाली र अंग्रेजीमा त्यस्ता लेखेर राख्दा प्रभावकारी हुने रहेछ । पाल्पाको दोभानस्थित सिद्वबाबा मन्दिरको ब्रोसर यही अनुरुपनै वनाइएको छ । दलवहादुर गुरुङ्ग अध्यक्ष भएपछि नेपाली, अंग्रेजी र हिन्दीमा लेखिएको जानकारीमुलक ब्रोसर प्रकाशित छ । यसो गर्दा निकट रहेका महत्वपूर्ण स्थानको पहिचान दिन पनि सकिन्छ । मौखिक रुपमा भनिएका कुरामा भन्दा लिखतमा विश्वास गर्न सकिन्छ । यसो गर्दा हतार रहेछ भने झोलामा राखेर घर गएर पनि पढ्न सकिने हुन्छ । यसमा अलिकता स्थानीय वस्तु वा सामानको उल्लेख गर्दा त्यस्ता सामानको विक्री गर्न पनि सहयोग हुन्छ ।
कुरा यति मात्र हैन हरेक ठाउँमा स्थानीय पहिचान दिने वस्तु वा सामान र अत्यावश्यक पानी, कोक, विस्कुट, नमकिन आदि विक्री गर्ने ठाउँ पनि चाहिने रहेछ । विदेशतिर घुम्दा हरेक ठाउँमा व्यावसाय संगसंगै हुँदो रहेछ । वास्तबमा पर्यटनले जति धेरै आम्दानी गराउन सक्छ त्यतिनै सफलता हो ।
बुटवलको मणिमुकुन्दसेन उद्यानमा, हिलपार्कमा र शंकरनगरको पार्कमा पर्याप्त मानिसको आवतजावत हुने गर्छ । तर, त्यहाँ गएपछि हरेकले न्युनतम शुल्कनै लिएर पनि ब्रोसर पाउने ब्यवस्था किन नगर्ने ? एउटा सानो तर, आकर्षक ब्यापार गर्ने थलो किन नवनाउने ? जहाँ गएपछि वार्गेनिङ्ग गर्न नपरोस् । एउटा फोटो लिने ठाउँ किन नवनाउने ? यी साना कुरा हुन् तर, पर्यटन ब्यवसायका लागि अत्यन्तै आवश्यक हुन् ।
पानश फाउण्डेशनले प्रदेशस्तरको पुस्तक निकालेपछि प्रदेशका हरेक जिल्लाका ५ वटासम्म त्यस्ता ठाउँ पहिचान गरी ब्रोसर छाप्ने प्रस्ताव फाउण्डेशनको तर्फबाट पर्यटन विभागमा पनि राख्यौं । उनीहरु खुशीनै भए । काम गर्ने इच्छा पनि देखाएका थिए । शायद उनको म्याद छिटै सकियो । काम गर्न भ्याइएन । नेपालको एउटा भयानक समस्या के छ भने प्रक्रिया झन्झटिलो छ । समयमा काम हुनै सक्दैन । एउटा कर्मचारी सरुवा हुँदासाथ ती सवै काम रोकिन्छन् ।
नेपालमा पर्यटनको विकास गर्न धेरै लगानीभन्दा सृजनात्मक काम गर्नुपर्ने अवस्था देखिन्छ । लगानी गरेर संरचना वनाएर यति ठूलो प्रतिस्पर्धी वजारमा हामीले विक्री गर्न सक्दैनौं । बरु जाने आउने सडक पहुँच विस्तार गरेर, सरसफाई राखेर, भएका वस्तुको व्यवस्थापकीय कुशलता प्रदर्शन गरेर, आकर्षक तथा सुन्दरीकरण गरेर गन्तब्यलाई आकर्षित गर्नुपर्छ ।
लुम्बिनी प्रदेशका १२ वटै जिल्लामा कैयौं पर्यटकीय स्थलहरु छन् । ती स्थलहरु धार्मिक, साँस्कृतिक, ऐतिहासिक र पुरातात्विक हिसावले मात्र हैन पर्यावरणीय, जैविक विवधता र प्राकृतिक हिसावले पनि अनुकरणीय छन् । तर, समस्या त्यहाँ जानेहरु घुमेर आउँछन्, आँखाले देखिने वस्तु देखेर आउँछन् । नदेखिने चिज सुन्न पनि पाउँदैनन् । जसका लागि गाइड आवश्यक हुन्थ्यो । त्यो नभए एउटा ब्रोसर त चाहिन्थ्यो । कुनै पनि ठाउँमा जाँदा वा घुम्दा आँखाले देखिने एउटा हुन्छ भने नदेखिने अर्को । देखिने कुरा उनीहरु आफैले देख्छन् हामीले नदेखिने कुरा देखाउन सक्नुपर्छ ।
उदाहरणको रुपमा अर्घाखाँचीका अर्घाकोट दरबार, खाँचीकोट दरबार, बल्कोटको ऐतिहासिक पौवा, सुपा देउराली मन्दिर, पाणिनि तपोभूमि जस्ता असाध्यै महत्वपूर्ण स्थल भएर पनि नियमित रुपमा पर्यटक जाने वा लैजाने चलन छैन । गइ हालेमा टिकट काटेर त्यसलाई ब्यावसायीकरण गर्ने चलन छैन । यहाँसम्मकि नयाँ पुस्ताले तिनको महत्वका सम्वन्धमा वताउन पनि नसक्ने भए । एक अर्थमा ज्ञानको हस्तान्तरण पनि हुन सकिरहेको छैन । अहिले स्थानीय पाठ्यक्रम वनाउने लहर चलेको छ । जसमा यस्ता विषयलाई महत्व दिनुपर्ने अवस्था आएको छ । अर्घा लगायतका शक्ति पिठहरुमा दशैको पूर्णिमाको दिन भब्य मेला लाग्छ । सरायँ नाच विशेष प्रकारको हुन्छ । तिनलाई पर्यटक तान्ने माध्यम किन नबनाउने ?
पर्यटकलाई आकर्षण गर्ने हो भने वर्षभरी हुने मेलाका झलक दिने गरी सानो भिडियो वनाएर त्याहाँ जाने जो कसैलाई एकपटक टिकट काटेर हेर्ने व्यवस्था मिलाउँदा त्यसले सन्तुष्टि दिलाउन सक्छ । यो गर्दा जुनसुकै समयमा जाने पर्यटकहरुले पनि त्यहाँको सँस्कृतिवारे जान्न र बुझ्न सक्नेछन् । एक दुइ घण्टा वसेर आनन्द लिने समयमा वरपर नास्ता पसल चल्न सक्छन् । स्थानीय उत्पादन वा वस्तुलाई कोशेलीको रुपमा ब्यापार गर्न सकिन्छ । सकिन्छ भने एक रात वस्ने पाहुना अलि धेरै भएमा उनीहरुलाई लाइभ देखाउने ब्यवस्था हुन सक्छ । यसवाट धेरै ठूलो आकर्षण हुन सक्ला । तर, यस्ता विषयमा प्रायः ध्यान दिइदैन ।
एक पटक तत्कालिन लुम्विनी प्रदेशका उद्योग, वन तथा पर्यटन मन्त्री लीला गिरी सुपा देउरालीको मन्दिर जानु भएको रहेछ । एकजना भारतीय पर्यटक देखेपछि उहाँलाई पनि जिज्ञासा लागेर किन आएको भनेर सोध्नु भएछ । जसको उत्तरमा ती भारतीय पर्यटकले भनेछन्—मेरो सन्तान नभएकोले यस ठाउँमा आएर भाकल (कुनै चिज प्राप्तिका लागि सशर्त गरिने कामना । जस अन्तर्गत् चाहना पूरा भएमा केही वस्तु चढाउने प्रतिवद्वता ब्यक्त गरिन्छ ) गरेकोमा छोरा भएपछि भाकल पूरा गर्न आएका रहेछन् । यसरी कसैले राम्रो जागीर पाउन, कसैले जागीरमा प्रमोशन हुन, कसैले सन्तान प्राप्तिका लागि, पढाई पूरा गर्न पाउँ भनेर वा यस्तै कैयौं इच्छा पुरा होस् भनेर भाकल गर्ने गर्छन् ।
यो सानो विश्वासको कुरा हैन । फेरि यो कसैले दवाव दिएर पनि हैन । स्वइच्छाले गरेका हुन् । सवाल के हो भने यस्ता सन्देश त्याहाँ जाने हरेक पर्यटकले थाहा पाउने वातावरण वनाउन जरुरी छ ।
माथि उल्लेखित दरवारहरुवाहेक गुल्मी लगायतका जिल्लामा पनि विभिन्न दरबारहरु रहेका छन् । गुल्मीका इस्माकोट, चन्द्रकोट, चारपाला, धुर्कोट, बम्घाकोट, भार्सेअर्कुल, मुसिकोट दरवार, दाङमा छिल्लीकोट र दङ्गिसरण दरवार, सल्यानी राजाको दरवार,पचपन्न झ्याले दरवार, पाल्पाका अर्गली, पाल्पा, रानीघाट दरवार, प्युठानमा ओखरकोट, उदयपुरकोट, रोल्पाको खुङग्रीकोट र गजुलकोट दरवार जस्ता तमाम दरवारहरुले वाइसे चौवीसे राज्यको झलक दिन्छन् । यि सवै पर्यटक तान्ने राम्रा माध्यम हुन सक्छन् ।
हामीले लुम्बिनीलाई पनि बजारीकरण गर्न र पर्याप्त आम्दानी गर्न सकेका छैनौं । भारतीय र्धािर्मक पर्यटकहरुलाई लुम्बिनी वाहेक अरु धेरै कुराले आकर्षण गर्न सकिन्छ । मठ मन्दिरहरुको ब्यवस्थापन गर्दा पनि पर्यटकहरु आउन सक्छन् । भारतीय पर्यटकको मनोविज्ञानलाई हेरेर पनि कैयौं धार्मिकस्थललाई प्रचार प्रसार गर्नुपर्ने आवश्यक छ ।
आखिरी यसरी पनि पर्यटक तान्न सकिदो रहेछ
विश्वकै सबैभन्दा ठूलो मुस्लिम देश इन्डोनेसिया हो । तर, एकपटक इन्डोनेसिया गएर फर्केको ब्यक्तिले बुझ्ने कुरा के हो भने मुस्लिम देश भएर पनि राजधानी जकार्तामा सवैभन्दा धेरै रामायण र महाभारत देखिन्छन् । राजधानीमै कृष्ण सारथि भएर रथ हाँकेको धेरै ठूलो प्रतिमा ठडिएको छ ।
जकार्तामा मात्र हैन मुस्लिम धर्मावलम्बीको बहुलता रहेको जाभा र सुमात्रा द्वीपहरूमा पनि मुस्लिम कलाकारहरूले रामायण र महाभारतका कथाहरू पपेट सोमार्फत देखाएका छन् ।
इन्डोनेसियनहरुको विचारमा ‘इस्लाम उनीहरुको धर्म हो भने रामायण संस्कृति ।’ मुस्लिमहरुमा धार्मिक कट्टरताको भावना हुन्छ भनेर मान्ने हो भने त्यो गलत देखिन्छ इन्डोनेसियमा । र साथै हिन्दुहरु पनि कट्टर छैनन् । नब्बे प्रतिशतभन्दा बढी हिन्दुको जनसंख्या भएको बाली टापुमा भएका मन्दिरहरूमा जुनसुकै जात भएपनि प्रवेश निषेध गरिदैन ।
भनिन्छ बालीमा हरेक गाउँमा तीनवटा मन्दिरहरू हुनैपर्ने नियम छ । सवै हिसाव गर्दा हजारभन्दा बढी मन्दिर छन् र तीनवटा मन्दिर गाउँको उत्तर, मध्य र दक्षिणमा हुन्छन् । ब्रह्मा, विष्णु र शिवका यी मन्दिरहरू इन्डोनेसियालीहरूका आस्थाबिन्दु हुन् । अझ रोचक कुरा, बालीका हरेक घरबाहिर हाम्रातिर तुलसाको मोठ भएजस्तै साना मन्दिरहरू छन् । घरको कुनै एकजना सदस्यले बिहान पूजा गरेपछि मात्र बाली निवासीहरूको दिनचर्या सुरु हुँदो रहेछ ।
हामीकहाँ कैयन् पर्यटकीय स्थल छन् तर तिनको ब्राण्डिङ्ग गर्न सकिएको छैन ।
ब्राण्डिङ्गको कुरा गर्दा इन्डोनेसियाको बालीमा लुवाक कफीको ब्राण्डिङ्ग गजव तरिकाले गरिएको छ । जसको लागि करिब ५५ डलर तिर्नुपर्छ । पर्यटकहरु यस्को स्वाद नलिई प्रायः फर्कदैनन् । लुवाक एउटा जन्तु हो । जसलाई पाकेको कफीका दाना खुवाइन्छ । उसले बीन्सको दिसा गर्छ र त्यसलाई संकलन गरेर सफा गरिन्छ र घाममा सुकाइन्छ । जव सुक्छ त्यसपछि सुकेको दाना भुटेर ओखलमा कुटेर धूलो बनाइन्छ र ब्रान्डेड खुवाइन्छ ।
जन्तुको दिसालाई कफी बनाउँदा कसैलाई घीन लाग्न सक्छ तर, यसले ब्राण्ड वनाएको छ । यसलाई विश्वकै महँगो कफी मानिन्छ । यही कफीका कारण पर्यटकहरु आकर्षित हुने गर्छन् ।
लुवाक एउटा निशाचर जीव हो जो दिनमा लाटोजस्तै हुन्छ तर रातमा बाठो हुन्छ । प्रायः कफी हाउसहरुमा लुवाकलाई थुनेर राखिएको हुन्छ ।
भनिन्छ नेपालमा पनि मलसाप्रो वा कतै वनचरी भनिने जीवले कफी खान्छ । तर, बालीमा जस्तो यहाँ त्यसलाई संकलन गरेर प्रसोधन गर्ने चलन छैन ।
के हामीकहाँ यस्ता वस्तु छैनन् ? भएपनि हामीले त्यस्ता वस्तुको ब्राण्डिङ्ग गर्न सकेका छैनौं । कसैले केही शुरुवात गर्यो भने त्यसैलाई कपिपेष्ट गर्ने चलन वढी छ । चाइनिजहरु लोकल रक्सीलाई यसरीनै ब्राण्डिङ्ग गरेर कमाउने गर्छन् । तर, नेपालको कोदोको रक्सी धेरै राम्रो रहेको भनिन्छ तैपनि त्यसलाई विदेशी मुद्रा आर्जन गर्ने माध्यम वनाइएको छैन । बरु विदेशी रक्सी खाएर ठूलो मान्छे बन्ने होडवाजी छ ।
पर्यटक तान्न महंगा संरचना चाहिदैनन्
धेरैलाई लाग्न सक्छ पर्यटकहरु आउन र वस्न महंगा संरचना चाहिन्छन् । तर, यो हैन । सरकारले सडक सञ्जालको ब्यवस्था गर्नु पर्यो र निजी क्षेत्रले बसेर खाने तथा आराम गर्ने ब्यवस्था गर्नु पर्याे । संरचना सामान्य भएपनि चिटिक्क सरसफाई हुनुपर्यो । त्यसवाहेक सुरक्षाको प्रवन्ध हुनुपर्यो । यति भएपछि पर्यटकलाई सन्तुष्टि मिल्न सक्छ । हो यसवाहेक सुन्दरीकरण पनि उत्तिकै आबश्यक हुन्छ । सवै कुरा मिलाएर राख्ने, सफा वनाउने हो भने त्यसै पनि आकर्षण वढ्छ ।
एउटा उदाहरण दिऊँ—मन्दिरमा पूजाआजा गर्दा फुल, धुप र फलफुल चढाउने नाममा जथाभावी गर्दा फोहोर हुन्छ भने ती सवै चढाउने ठाउँ निश्चित गरियो भने फेहोर हुँदैन । प्रायः वौद्य मठहरुमा तोकिएको ठाउँमा चढाउने गरिन्छ भने हिन्दुका मन्दिरमा जथाभावी चढाउने गरिन्छ । यो सानो उदाहरण हो । यस्ता कार्यलाई कसरी प्रशिक्षित गर्ने भन्नेवारेमा सरोकारवालाको ध्यान जानु आवश्यक हुन्छ ।
त्यसैले पर्यटकहरुलाई आकर्षित गर्नका लागि र अलि समय भुलाउनका लागि धेरै महंगो हुनु जरुरी छैन । पर्यटक भन्दासाथ महंगो गराउने सोंचाईलाई त्याग्नुपर्छ । एउटै विषयलाई हरेक पालिकाले वनाउने काम पनि गलत हुन्छ । मानौं बुटवल, तिलोत्तमा, सैनामैना सवैले थारु संग्राहालय वनाउनु जरुरी छैन। यसो गर्दा सवैलाई घाटामात्र हुन्छ ।
बुटवल नेपालमै सवैभन्दा धेरै पार्कहरु भएको शहर हो । छिमेकमा पनि पार्कहरु वनिरहेका छन् । ति पार्कहरुको आबश्यकता किन पर्यो भन्ने हो भने जवाफ छैन । खुला ठाउँ, टहल्नका लागि त पार्कहरु आबश्यकनै हुन्छन् । तर, एउटाले जे गर्यो त्यही रुपमा अर्कोले किन गर्ने ?
कसैले जनावर राख्यो भने अर्कोले पनि त्यही जनावर किन राख्छ ? जवकि जनावरलाई हल्ला गरिने ठाउँमा राखिनु हुँदैन । अलिकता खुला ठाउँ आवश्यक हुन्छ । तर, पुरै पिकनिक क्षेत्रमा जनावर पाल्नु अनुचित हुन्छ । यसको हेक्का कसरी र कसले राख्ने ? विना योजना अर्कोले जे गर्यो त्यही गर्छु भन्ने मानसिकताले यो अवस्था ल्याउँदै छ ।
संग्राहालयको अवधारणा यतिवेला यत्रतत्र आइरहेका छन् । यसमा शुरुवाटै सोचिनुपर्ने विषय के हो भने कस्तो संग्राहालय वनाउने ? परम्परागत वस्तु, कुनै ब्यक्ति विशेषका विषय । वनस्पति, वन्यजन्तु, धार्मिक तथा पुरातात्विक वस्तुसम्वन्धी, औद्योगिकरणसम्वन्धी, साहित्यसम्वन्धी । यस्ता अनेक हुन सक्छन् । त्यसैले यसमा स्पष्ट भएर मात्र एउटै क्षेत्रमा एउटै प्रकारका नहुने गरी वनाउँदा वजारीकरण गर्न सहज हुन्छ ।
यसो गर्दा पर्यटकहरु सवै ठाउँमा जान सक्छन् । पर्यटकलाई भुलाउने हो भने एउटा ठाउँमा सवै चिज राखिनु हुँदैन । त्यसले पर्यटन ब्यवसाय फस्टाउँदैन । पर्यटन फस्टाउनुको अर्थ धेरै दिन भुलाउन सक्नु हो । यसो गर्दा रोजगारी सृजना हुन्छ । ब्यापार ब्यवसाय फस्टाउँछ । हामीले खोजेको अन्ततः रोजगारी नै हो । यसतर्फ ध्यान आकृष्ट हुनैपर्छ ।
२०७८ पुस २ गते
No comments:
Post a Comment