डी.आर. घिमिरे
बढ्दो रासायनिक मल र रासायनिक विषादीका कारण आजभोलि क्यान्सर, डायविटीज, प्रेसर लगायतका तमाम रोगहरु वढेका छन् । मान्छे यतिविधि रोगी किन भइरहेको छ ? त्यसकोवारेमा कुनै अध्ययन त भएको छैन तर, चिकित्सकहरु यही भन्ने गर्छन् । साँचो अर्थमा आजका दिनमा विषादी रहीत उपभोग्य वस्तुको उपभोग गर्नु असम्भवनै छ । दैनिक रुपमा हाम्रो भान्सामा पाक्ने कुनै पनि परिकारहरु विषादी मुक्त छैनन् ।
आर्गानिक हरियो तरकारीको नाममा बजारमा विक्री गरिने तरकारीहरु पनि अर्गानिक छैनन् । केवल महंगोमा विक्री गर्न र उपभोक्ता ठग्नको लागि अर्गानिकको ट्याग लगाइएका छन् । अपवाद वाहेक अर्गानिक तरकारीको रुपमा बजारमा पाईने तरकारीहरु पूर्णरुपमा अर्गानिक छैनन् ।
जव हामीले आफ्नो सानो करेसाबारी र कौशीमा त विषादी प्रयोग गर्दछौं भने वजारको के कुरा गर्नु ? यसैले सवैभन्दा पहिले आफ्नो करेसावारी र कौशीमा चाहे त्यो आंशिक आपूर्तिका लागि होस् विषादीरहीत तरकारी उत्पादन गर्न शुरु गर्छौ त्यसपछि बजारले खोज्दै जान्छ र उत्पादकहरु त्यसतर्फ आकर्षित हुन्छन् ।
आजभोलि किसानहरुले मलको रुपमा वनस्पतिको प्रयोग गर्ने प्रचलन छैन । आजभन्दा २५÷३० वर्ष अगाडिसम्म मेरो जन्मस्थल अर्घाखाँचीतिर असुरोको ब्यापक प्रयोग हुन्थ्यो । वीउ राख्दा वा खेत रोप्दा अँसुरोको छापो राख्ने चलन थियो । त्यसले माटो उत्पादनशील वनाउँथ्यो । यसरीनै वारीमा मकै छर्दा गोवर छर्ने चलन थियो । गाइभैसी सवैका घरमा पालिएका हुन्थे । त्यसैले गोवर मलको अभाव हुँदैनथ्यो । बाली हुर्कदै जाँदा युरिया पनि छरिन्थ्यो । युरिया थोरै मात्र छर्नुपर्छ भनिन्थ्यो । विषादी त प्रायः हालिदैनथ्यो । तर, अहिले समय फेरिएको छ । वजारवाट रासायनिक मल अर्थात् युरिया डीएपी छरेर बाली हलक्क हुर्काउने प्रचलन वढेको छ । बालीका लागि चाहिने वीउ बजारवाट किनेर ल्याएर छरिन्छ, जसलाई विषादी पनि उत्तिकै आवश्यक हुन्छ । अर्थात् विना विषादी कुनै पनि खेती हुने कल्पना गर्न छाडिएको छ । घर वरपर, कौशीमा र धेरै वा थोरै जमिन हुनेहरुले पनि युरिया छर्ने र विषादी हाल्ने गरेर खेती गरिन्छ ।
यद्यपि आजभोलि अर्गानिक उत्पादनकोवारेमा वजारमा ज्यादै चर्चा हुने गर्दछ । अर्गानिक हुनका लागि दुइ चार पाँच वर्ष रासायनिक मल र विषादी नछरेको हुनुपर्छ तर, आजभोलि अर्गानिकको परिभाषा फेरिएको छ । अर्थात् घरमा उत्पादन भएको, गाउँघरतिर गएर वोटबाट किनेको उत्पादनलाईनै अर्गानिक भन्ने गरिएको छ ।
अर्गानिक उत्पादनका लागि जैविक उत्पादन प्रणाली हुन जरुरी छ । जसको अर्थ त्यस्तो खेती गर्ने प्रणाली जसले पारिस्थतिकीय प्रणाली अर्थात् इकोसिस्टमलाई हानी गर्दैन र माटोमा प्राकृतिक मलको प्रयोग गरिन्छ ।
अर्थात् स्थानीय स्रोतहरूको प्रयोग गरेर उत्पादन गरिन्छ । अप्राकृतिक ढंगले उत्पादन वढाउनका लागि रासायनिक मल, कीटनाशक र गैर नवीकरणीय स्रोतहरूको प्रयोग गरिदैन । जैविक खेती वातावरणीय हिसावले सकारात्मक र मानव स्वस्थका लागि फाइदाजनक हुन्छ । यस अनुरुप खेती गर्दा रोटेशनको हिसावले गरिन्छ । हरियो मल तथा कम्पोस्ट मलको प्रयोग र विरुवामा आधारित (बानस्पतिक) कीटनाशक र जडिबुटीले माटोको उत्पादन क्षमतालाई लामो अवधिसम्म सुरक्षित राख्न सहयोग गर्दछ । अर्गानिक उत्पादनको प्रयोगले स्वास्थ्य जोखिम कम गर्छ । क्यान्सर, हृदय रोग, मधुमेह र दम आदि जस्तो रोगहरुको असरलाई कम गर्न सहयोग पुर्याउँछ ।
अर्गानिक उत्पादन अन्य खाद्य पदार्थको तुलनामा महँगो हुन्छ । यसको कारण यस्ता उत्पादनले स्वास्थ्यलाई असर गर्दैन, यस्तो खेती गर्न लागत पनि वढी लाग्छ र उत्पादन गर्न गाह्रो हुन्छ । यो खेती गर्न समय पनि धेरै लाग्छ । तुलनात्मक रुपले लाभ कम हुन्छ ।
नेपालमा जैविक खेती प्रणाली प्राचीनकाल देखि गरि आएको खेती प्रणाली हो । यो दिगो कृषि प्रणाली पनि हो र यो कुनै नयाँ तरिका हैन । दिगो कृषिको अर्थ पर्यावरण तथा वातावरण मैत्री खेती विधी हो । जसले विश्व तापक्रममा भइरहेको वृद्वि अर्थात् ग्लोबल वार्मिग, जनस्वास्थ्य, मानव समुदाय, सुरक्षित खाना, राम्रा पोषण र पशु कल्याणको संरक्षण गर्दछ ।
यसैले अब अर्गानिक खेतीप्रति ध्यान आकर्षित गर्नु जरुरी छ । यसलाई धेरै असहज रुपमा लिनुपर्ने अवस्था छैन । दुनियाभरी गर्ने यस खालको खेतीलाई नेपालले अघि वढाउन नसक्ने कुरै छैन ।
भारतमा गरिएको एक अध्ययन अनुसार सुत्केरी आमाको दुधमा परीक्षण गर्दा युरियामा पाइने किटनाशक पाइयो । जसवाट क्यान्सर, डायविटिज, प्रेसरजस्ता रोगहरु वढेको देखियो । यो अध्ययनवाट प्राप्त निष्कर्ष हो । नेपालमा यसरी अध्ययन गर्ने प्रचलन छैन । किनकि अनुसन्धानको विषयलाई अनावश्यक मानिन्छ । भोज, मोज र होटलमा गएर गोष्ठी, सेमिनार र पार्टी जति पनि गर्ने तर, अध्ययनमा फिटिक्कै खर्च नगर्ने । यो तरिकाले मुलुक वन्दैन भन्ने कुरा घाम जत्तिकै छर्लङ्ग छ ।
यसरी हेर्दा रासायनिक मलवाट नेपाली पैसा विदेसिएको मात्र छैन, स्वास्थ्यमाथि गंभीर नोक्सान भएको छ । परम्परालाई विर्सदै जाँदानै हाम्रो यो अवस्था आएको हो । छिमेकी मुलुक भारतमा यसको केही हदसम्म प्रयोग भएको पाइन्छ । खासगरी कर्नाटक र महाराष्ट्रमा गोवर मलको वहु प्रयोग गरिएको पाइन्छ ।
धेरैलाई के भ्रम छ भने गोवर मलवाट पर्याप्त उत्पादन हुँदैन । हुन पनि रासायनिक मलले तत्कालका लागि उत्पादन वढाउँछ । तर दीर्घकालिन ढंगले हेर्दा यसले त्यत्तलै नोक्सान पुर्याउने गरेको छ । यो कसरी भने हरेक वर्ष मलको मात्रा वढाउँदै जाँदा खर्च वढ्छ र माटो कामै नलाग्ने हुन्छ । तथापि अध्ययनहरुले भने गोवर मलवाट उत्पादन वढेको देखाउँछ ।
अर्गानिक खेतीका लागि सहज तरिका
भारतकै कर्नाटक र महाराष्ट्रमा युरियावाट भन्दा गोवरबाट धेरै उत्पादन हुने गरेको तथ्य पाइएको छ । उनीहरुले गरेको अध्ययन अनुसार युरियाको प्रयोग गर्दा एक एकड जमिनमा २० देखि २५ क्वीन्टल उँखु हुन्थ्यो भने गोवरको प्रयोग गर्दा ९० क्वीन्टलसम्म पुग्यो ।
त्यस्तै १२ क्वीन्टल गहुँ हुने एक एकड जग्गामा २० देखि २२ क्वीन्टल भयो भने २.५ क्वीन्टल कपास हुने ठाउँमा ७ क्वीन्टल भयो । यो तथ्यले गोवरकै प्रयोगवाट उत्पादनमा बृद्वि भएको देखाउँछ । खेतीका लागि शत्रु जीव र मित्र जीवको ठूलो अर्थ छ । विषादीको कुरै नगरौं रासायनिक मलले पनि मित्र जीवलाई मार्ने गर्छ ।
अर्थात् गोवर जीवजन्तुको लागि खाना हो भने युरिया विष हो । गड्यौला मल आजभोलि अति प्रयोगमा छ । त्यो साच्चैनै उपयोगी छ । तर, गड्यौलालाई हातमा राखेर त्याहाँ युरिया राखिदिने हो भने ती मर्नेछन् । यसरी युरियाको प्रयोगले करोडौं गड्यौलाहरु मर्ने गरेका छन् ।
गड्यौलाको महत्व ः
गड्यौलाले माटोलाई नरम र उत्पादक वनाउँछन् । गड्यौला तातो मौसममा माटोभित्र जान्छन् भने चिसो हुँदा वाहिर आउँछन् । अर्थात् माटोलाई तलमाथि गराउने काम यिनैले गर्छन् । यसो गर्दा माटो हल्का हुन जान्छ । अचम्म यो छ कि गड्यौला जमिनमुनि जाँदा एउटा वाटो जान्छन् भने निस्कदा अर्को वाटो । यसो गर्दा जमिनको सतहको पानी भित्रैसम्म जाने वाटो वन्छ । अर्थात् पानी रिचार्ज हुने आधार वन्छ ।
भनिन्छ एउटा गड्यौलाले आफ्नो जीवन कालमा ३६ मे.ट. माटो तलमाथि गराउँछ । लाखौं करोडौं गड्यौलाले यही काम गर्दा के होला ? त्यही माटो ट्याक्टर लगाएर तलमाथि गराउने हो भने कति खर्च लाग्ला ? यसरी हेर्दा गड्यौलाको अर्थशास्त्र विचित्रको पाइन्छ ।
ती गड्यौला जसले माटोलाई उलट पलट गरेर हल्का वनाउने गर्छन्, जव ती मर्छन् अनि माटोको अवस्था के होला ? स्वभावैले माटोमा कडापन हुन्छ । पानी जमिनमुनि जाँदैन । पानीको रिचार्ज हुँदैन । वाहिरैवाट पानी वग्दा माटो वगाउने, पहिरो जाने आदि समस्याहरु आउँछन् । बालीको जरा माटो मुनि जान छाड्छ । खेती हुने कुरै भएन । अर्को रोचक तथ्य के छ भने एउटा गड्यौलाले ५० हजारदेखि १ लाखसम्म नयाँ बच्चा जन्माउँछ । त्यसैले गड्यौलाको खेती गर्न पनि सहज छ ।
थारै गोवरवाट कसरी उत्पादन वढाउने ?
धेरैको समस्या एउटा वा दुइवटा र्गाभैसीको गोवरले पर्याप्त खेतीका लागि पुग्दैन भन्ने छ । तर, गोवर धेरै आवश्यक हुँदैन । बरु यसको प्रयोग विधि जान्नुपर्छ । सामान्यत ः गोवरलाई सुख्खा वनाएर प्रयोग गर्ने हाम्रो प्रचलन छ । तर गोवर गिलो प्रयोग गर्नुपर्छ । सुख्खा हुँदा त्यसमा भएको तत्व उडेर जान्छ । गोवरलाई त्यत्तिकै खेतवारीमा लगेर खनाउने गरिन्छ । यो तरिका पनि गलत रहेछ । हामीले घघरघरमा दुई चार किलो गोवरवाट वर्षभरीलाई पुर्याउन सकिन्छ । अर्थात् ५ किलो गोवर प्रयोग गर्न जान्ने हो भने साढे २ विगाहा जमिनमा एक पटकको लागि चाहिने मल पुर्याउन सकिन्छ ।
त्यो कसरी सम्भव छ ?
चाहिने सामाग्री ः ५ किलो गोवर, ५ लिटर मुत्र ( जुन प्राणीको गोवर उही प्राणीको मुत्र ), १ किलो कुहेको वा सडेको भेली, १ किलो दालको आटा, आधा किलो पिपलको वोट मुनिको माटो ।
यति जम्मा गरिसकेपछि घोलेर प्लास्टिकको ड्रममा १५ दिनसम्म राख्ने र दैनिक एक पटक चलाउने । वढी बाक्लो भए थोरै पानी मिसाएर पातलो वनाउन सकिन्छ । यसलाई घाममा नराख्ने । सितल ठाउँमा राख्ने ।
माथि उल्लेखित सामाग्री मध्ये पिपलको वोट मुनिको माटो किन भन्ने प्रश्न आउन सक्छ । यसको कारण पिपल सवैभन्दा अक्सिजन दिने विरुवा भएकोले यो माटोमा सवैभन्दा धेरै मित्र जिवाणु हुने रहेछन् । ती जिवाणु माटोको उत्पादन क्षमता वढाउन उपयोगी हुन्छन् । यर यसवाट लाखौं हैन करोडौं जिवाणुहरु तयार हुँदा रहेछन् ।
यति गरिसकेपछि तयार भएको झोलमा २०० लिटर पानी मिसाएर १ एकड अर्थात् साढे २ विगाहा खेतमा छर्न सकिन्छ । यो तरिकाले पहिलो पटक वाली छर्नु अघि, दोश्रो पटक चौथो वा पाँचौ दिनमा, तेश्रो पटकदेखि हरेक २१ दिनमा स्प्रे गरेर छर्ने । सामान्यत ः एक वालीमा ४ वा ५ पटकसम्म यो तरिकाले छरेपछि अरु कुनै रासायनिक मल खर्चनु पर्दैन ।
भनिन्छ यो मलमा १८ वटा नाइट्रोजन, क्याल्सियम, फसफोरस, आइरन, सल्फर लगायतका सुक्ष्म पोषण तत्व पाइदा रहेछन् । यस्ता सरल तरिका हामीले किसानलाई बुझाउन सकेका छैनौं । वास्तवमा यो तरिकाले खेती गर्दा अर्गानिक उत्पादन गर्न पनि सकिन्छ । सस्तो मूल्यमा उत्पादन गर्न सकिन्छ । विदेश जाने पैसा रोकिन्छ । सरकारले अनावश्यक अनुदान दिइराख्नु पर्दैन । बरु यो तरिकाले खेती गर्ने किसानलाई सहयोग गर्दा हुन्छ । कारणवस किसानले झन्झट मान्छन् भने ब्यावसायिक रुपले यस्तो मल उत्पादन गरी वजारमा लैजाने ब्यक्तिलाई अनुदान दिएर निःशुल्क वितरण गर्दा पनि सरकारलाई फाइदानै हुन्छ । अव यस तर्फ हाम्रा कृषि वैज्ञानिकहरु लाग्ने कि ? वा सधैभरी आयात वढाउँदै रोगी नागरिक तयार गर्ने ? यसरी तयार गरिएको मलको म्याद कहिल्यै सकिदैन ।
२०७८ असौज १२
No comments:
Post a Comment