डी.आर. घिमिरे
सर्वोच्च अदालतले शेरवहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्ने आदेश दिएको दुई दिन पछि लुम्विनी प्रदेशको आन्तरिक मामला मन्त्रालयमा तत्कालिन मन्त्री चेतनारायण आचार्यसंग भेटभयो । अब ढिलो वा चाँडो प्रदेश सरकार पनि जाने कुरा पक्का भइसकेको थियो । अर्थात् वजारमा एक प्रकारको हल्ला तदनुसारकै थियो । झिनो आशा रहेपनि विभिन्न खेलखण्डहरुले सम्भावना कम हुँदै गएको थियो ।
यसै प्रसंगमा मैले भने—ओलीले सेटिंग गरेको हल्ला खुवै थियो । आखिरी केही रहेनछ । यसपछि उनले गंभीर मुद्रामा भनें—प्रधानन्यायाधिस चोलेन्द्र शमशेर राणाले एकजना मन्त्री मागेका रहेछन् । नदिनाले यस्तो भयो । उहाँको आशय बरु दिएको भएपनि हुन्थ्यो भन्ने थियो । यो कुरा मैलेपछि मलाई आश्चर्य लाग्यो तर, त्यति धेरै विश्वास भने लागेन । शायद मलाई विश्वास नलागेकै कारण अन्य कसैलाई यो सूचना शेयर गरिन । एकआध ठाउँ हल्ला यस्तो पनि छ सम्म भनेको हुँला ।
आखिरी सत्य सत्यनै हुन्छ । यसवारेमा सरकार वनेको दिन देखि चर्चा भएपनि यसको पुष्टि ८८ दिनमा भयो । प्रधानन्यायाधीश राणाले दुइजना मन्त्री मागेका रहेछन् । यो पनि स्पष्ट भयो । यद्यपि वाह्य हल्लाका कारण एकजनामा चित्त बुझाउनु पर्यो । त्यो पनि कांग्रेसले आफ्नो कोटाबाट नियुक्त गर्यो । र उनलाई पुराना त्यागी कांग्रेसको रुपमा चित्रण गरिदै आइएको छ । केही मिडियाहरुले पनि यस अनुरुपनै जोड दिएको देखिन्छ ।
नातामा प्रधानन्यायाधीस राणाका जेठान गजेन्द्र हमाल गैर सांसद हुन् । गैर सांसदलाई मन्त्री वनाउन पाइने संवैधानिक ब्यवस्था भएपनि त्यस्तो अवस्था कसरी आयो भन्नेवारेमा आफैमा एउटा महत्वपूर्ण प्रश्न छ । यो प्रश्न कांग्रेसभित्रैवाट पनि उठेकै छ । नेपाली कांग्रेसका नेता शेखर कोइरालालेनै देउवालाई लोकतन्त्र, प्रजातन्त्र समाप्त पार्ने खेल खेलिरहेको भनेर भनेका छन् । हुन पनि नेपाली कांग्रेसमा के हमालभन्दा अरु त्यागी थिएनन् ? अथवा उनी सरकारलाई नभै नहुने विज्ञ हुन् ? सत्ता गठवन्धनभित्र भएको छलफलमा हमालको नाम कुनै पनि दलवाट ल्याइएको थिएन भनेर पनि गठवन्धनमा सामेल केहीले सार्वजनिक गरेकै हुन् ।
यस अघि तथा नेपाल बार एशोसिएसनका पूर्वअध्यक्ष शम्भु थापा र अधिवक्ता गोविन्द शर्मा बन्दीको पनि मन्त्री हुने चर्चा थियो । उनीहरुका लागि स्वभाविक पनि हुन्थ्यो । किनकि जल्दावल्दा वकील, विषयमा दक्ष र सार्वजनिक रुपमा स्थापित भएकाले स्वभाविक हुन्थ्यो । तर, यी हमाल केवल राणाले कमाल गरेर मात्र आएका हुन् भन्ने कुरा दुनियालाई थाहा भयो । तथापि कतिपयले गैर सांसदलाई पनि मन्त्री वनाउने ब्यवस्था संविधान अनुकुलनै रहेको तथ्य दिंदै यसको विरोधको अर्थ नरहेको वताइरहेका छन् ।
यो प्रकरणले केही महत्वपूर्ण प्रश्न उठेका छन् र ती प्रश्न नेपाली राजनीतिको इतिहासमा सधैभरी उठिरहनेछन् ।
नेपालको न्यायिक इतिहासमा यति विधि वेथिति शायदै भएको थियो । शायद यही कारणले होला पूर्वउपप्रधानमन्त्री कमल थापाले सामाजिक सञ्जालमार्फत भनेका छन्—
‘वर्तमान गठबन्धन मन्त्रिपरिषदमा एक ‘निर्दलीय’ व्यक्तिको सहभागिताले ‘परमादेश’ लेनदेनको आधारमा भएको प्रमाणित भएको छ । न्यायपालिकाको विश्वसनीयतामा अपुरणीय क्षति भयो । कानुनी राज्यको अवधारणा र लोकतन्त्रको चिरहरण भएको छ । गठबन्धन नाङ्गो भएको छ । प्रधानन्यायाधीशले पदमा रहने नैतिकता गुमाउनु भयो,’ ।
यसरी हेर्दा साँच्चिनै यो सरकार परमादेशकै आधारमा वनेको तथ्य स्थापित भएको छ । अब सरकारलाई कसैले परमादेशवाट बनेको भन्दा कसैले आपत्ति जनाउनु पर्ने अवस्था रहेन ।
संसदीय प्रणालीमा सरकार बनेको १ शय दिनसम्म खासै आलोचना गर्ने प्रचलन हुँदैन । तर, यो सरकारले पूर्णता पाउन मात्र ८८ दिन लाग्यो । अर्थात् करिब १ शय दिन । जव आलोचना गर्ने दिन आउँदै थिए, सिंगै सरकारको औचित्यमाथि प्रश्न उठ्यो । स्थिति यस्तो आयो कि सत्तामा जानेहरु वहिर्गमन नभएपनि प्रधानन्यायाधीशले या त राजीनामा दिने या महाभियोग सहने अवस्था आयो । कथं राजीनामा आएन र महाभियोग पनि लागेन भने सर्वोच्च अदालतमा प्रवेशनै हुन नदिने अवस्था सृजित हुँदैछ ।
यद्यपि संसदमा वोलेको कुराको अर्थ रहला वा नरहला ? तर, यो विषयले संसदमा पनि स्थान पाएको छ । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले प्रश्न उठाउँदै सोधेका छन्—
“प्रधानन्यायाधीशले दुईवटा मन्त्री मागेको र प्रधानमन्त्रीले एकजना दिने सहमति गरेको भन्दै समाचार आएका छन्, के सरकारले प्रधानन्यायाधीशको कोटामा मन्त्री बनाउन लागेको हो ? शक्ति पृथकीकरणको सिद्धान्त र स्वतन्त्र न्यायपालिकाको मान्यता विपरीत सरकारले यस्तो सम्झौता किन ग¥यो ? यसमा प्रधानमन्त्रीको जवाफ चाहिन्छ ।”
यसको जवाफ प्रधानमन्त्रीले देलान् वा नदेलान् तर कसैले पनि सत्य हो भनेर स्वीकार गर्ने कुनै संभावना छैन । त्यही सम्भावना अनुसार कानुन न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्र कार्कीले त्यो सबै झुटा समाचार भएको भन्दै त्यसको पछि नलाग्न सदनलाई आग्रह गरे । कार्कीले यसो भनेको दुईघण्टामै प्रधानन्यायाधीशका जेठान मन्त्री बने । मन्त्री वने पश्चात् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पनि पार्टी प्रतिनिधि भनेर दलील गरे । तर, यतिवेला सम्म वाग्मतिमा धेरै फोहोर वगि सकेको छ । जसलाई सफा गर्ने तागत गठवन्धन वा अरु कसैसंग छैन ।
यद्यपि जव वजारमा यो हल्ला आयो त्यसपछि प्रधानन्यायाधीश स्वयंले पनि मन्त्री वनाउलान् भन्ने लागेको थिएन । कम्तिमा यसो गरेको भए लाज पचाउने वहाना पनि हुन्थ्यो । सरकारलाई पनि परमादेशबाट बनेका हैनौं भन्ने तर्क गर्ने ठाउँ हुन्थ्यो ।
राणाले एउटा इतिहास मात्र रचेका छैनन्, कार्यकारिणी निकायमा भाग खोज्ने पहिलो प्रधानन्यायाधीश पनि बनेका छन् । शक्ति सन्तुलनका लागि सरकारका तीन वटा अंगमा रहेको शक्ति पृथकीकरणको सिद्वान्तलाई धुलिसात पारेका छन् । उनी न्याय निरुपणका लागि अयोग्य सावित भएका छन् । यहाँ सम्म कि अब उनलाई शंकाको सुविधासमेत दिने ठाउँ रहेको छैन ।
यो प्रकरणले न्यायपालिकाको विश्वसनियतामाथि प्रश्न उठेको छ । गैर संवैधानिक काम भएको छ । नैतिकहीन काम भएको छ । कुरा यति मात्र हैन उनी अब पनि सो पदमा रहिरहनु न्यायपालिकाकै लागि खतरा भएको छ । यद्यपि यस्ता प्रश्न यसभन्दा पहिला पनि उठेका थिए तर, यति निर्लज्ज रुपमा हैन ।
अहिलेको सरकार अदालतको मातहत रहेको देखिएको छ । मानौं अदालतले जे भन्छ त्यही काम गर्दछ र अर्कोतिर न्यायपालिकाले कार्यपालिकाको कामलाई सदर मात्र गर्ला ।
जेसुकै भएपनि यस घटनाले राजनीतिमा तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीका विरुद्व कुन हदसम्मको गठवन्धन भएको रहेछ भन्ने कुराको पुष्टि भएको छ । सम्भवतः यस्ता धेरै अरु तथ्यहरु पनि खुल्दै जानेछन् ।
त्यसैले अब प्रधानन्यायाधीश यो पदमा रहनु अनुचित हुन्छ । यसमा गठबन्धन दलहरुले वोल्न सक्लान् वा नसक्लान् ? त्यो तपशिलको विषय हो । तर, कानुन ब्यावसायीहरु पनि यसका लागि केही हदसम्म जिम्मेवार छन् । हिजो सर्वोच्चलाई यति हदसम्म निर्णय दिलाउन उनीहरुले गरेको पैरबी पनि जिम्मेवार छ । संसद पुनस्र्थापना मात्र हैन यति दिनभित्र शेरवहादुरलाईनै प्रधानमन्त्री बनाउन आदेश दिलाउने कानुन ब्यावसायी हैनन् र ?
जे होस् यस अघिनै सर्वोच्च अदालतको वार इकाईले राखेको दशैं चियापान कार्यक्रममा प्रधानन्यायाधीश आउने भएपछि वरिष्ठ अधिवक्ताहरुले वहिस्कार गरेका थिए । परन्तु बहिस्कार गर्ने पूर्व सूचना पाएपछि प्रधानन्यायाधीश राणा कार्यक्रममै गएनन् । संसद विघटन गरेर जनतामा जाने कामलाई प्रतिगमन देख्नेहरुले यसलाई के भन्छन् थाहा छैन ।
राणाको यो कदमलाई कसैले पनि राम्रो मानेका छैनन् । कानुन ब्यवसायी, पूर्व न्यायाधीशहरु, राजनीतिकर्मीहरुले पनि यसको खुलेर विरोध गरेका छन् । गठवन्धन दलका नेताहरु नवोले पनि कार्यकर्ताहरुले पक्षपोषण गर्न सकेका छैनन् ।
पूर्वप्रधानन्यायाधीश अनुपराज शर्माले यस घटनालाई दुर्भाग्यपूर्ण भन्दै यस्तो नजीरले भोलिका दिनमा हरेक क्याबिनेटमा दिनुपर्ने अवस्था आए के गर्ने भन्ने प्रश्न उठाएका छन् । शर्माको भाषामा यस्तो शासन व्यवस्थालाई लोकतान्त्रिक भनिदैन र यो काम लोकतन्त्रकै लागि खतरा हुन्छ ।
नेपाल बार एसोसिएसनले यस प्रकारका घटनाले राज्य नै असफल हुने खतरा देखेकोे छ । संवैधानिक मूल्यमान्यता र शक्ति सन्तुलनको सिद्धान्तअनुुसार प्रधानन्यायाधीशले कार्यपालिकामा हिस्सेदार बन्न खोज्नु आपत्तिजनक भएको बारको भनाइ छ । दशैं पश्चात् पूर्व अध्यक्षहरुको सल्लाहमा कडा कदम चाल्ने भनिएको छ । अब हेर्नुछ उनीहरुले के गर्लान् भनेर ?
यो प्रकरणले चरम अराजकता बढ्ने र अन्ततः असफल राष्ट्र बन्ने भएकोले आम नागरिकको ध्यान जानुपर्ने निष्कर्षमा वार लगायत पुगेको देखिन्छ । अन्यथा अरु धेरै प्रकरणको सिलसिला जारी रहनेछ । गठवन्धनमा सामेल दलहरु यतिसारो न्यायपालिकाप्रति हुरुक्कै हुनुभित्र केही कारणहरु छन् । जसको वारेमा सवैले थाहा पाउन जरुरी छ ।
के हुन सक्लान् ती कारण ?
सत्तासंग धेरै मुद्वाहरु जोडिएका छन् । गठवन्धन सरकारले प्रकारान्तरले ती सवै मुद्वाको फैसला अनुकुल वनाउने प्रयास गरेको छ । शायद अझै एकजनालाई मन्त्री नवनाए वापत मुल्य चुकाउनु परेमावाहेक अन्य अवस्थामा सत्ताकै पक्षमा निर्णय आउने वा ल्याउने नियतले मनत्री बनाइएको छ ।
राजनीतिक दलसम्बन्धी अध्यादेशविरुद्धको मुद्दा विचाराधीन अवस्थामा छ । एकीकृत समाजवादीको वैधानिकतामाथि प्रश्न उठाउँदै दर्ता गरेको मुद्दा पनि विचाराधीननै छ । सभामुख अग्निप्रसाद सापकोटाविरुद्धको मुद्दा, बालुवाटार सम्वन्धी पूर्वप्रधानमन्त्रीद्वय माधव नेपाल र बाबुराम भट्टराईमाथि अनुसन्धान गरी भ्रष्टाचारको अभियोगमा पूरक अभियोग दायर हुनुपर्ने माग, रौतहट बम काण्डमा पुर्पक्षका लागि थुनामा रहेका मोहम्मद अफताब आलमको मुद्दालाई जसरी पनि किनारा लगाउनुपर्ने दायित्व यो सरकारसंग छ ।
यसर हेर्दा यो सरकारलाई अदालतवाट धेरै थोक गराउनुपर्ने छ । उनीहरुलाई थाहा छ यी सवै काम लेनदेन विना गर्न सकिदैन ।
अन्तमा हमालले राजीनामा त दिएपनि प्रधानन्यायाधीश दोष मुक्त हुन सक्दैनन् । उनले गर्ने कर्म गरिसकेका छन् । जसको भागिदार उनी हुनैपर्छ । त्यस अर्थमा अब उनीसंग राजीनामा दिने भन्दा अरु विकल्प छैन भन्दा हुन्छ । यदि यी दुवै हुन सक्दैनन् भने सर्वोच्च अदालतमा प्रवेश निषेध गर्नुपर्छ ।
२०७८ असौज २४
No comments:
Post a Comment