डी.आर. घिमिरे
म केटाकेटी हुँदैको अवस्था हो । त्यतिवेला तिजको दोश्रो दिन ऋषिपञ्चमीको दिन आमाहरुले विशेष पूजा गर्नुहुन्थ्यो । यो प्रचलन अर्घाखाँची जिल्ला साविक मैदान हाल पाणिनि पालिकातिरको हो । विहानै उठेर आमाहरु पूजाआजा तिर लाग्नुपर्ने, हामी केटाकेटी भएपनि अलि अलि गोवर सोत्तर गर्नुपर्ने । घाँस काटेर तयारी गर्नेजस्ता काम पनि गर्नुपर्दथ्यो । एकातिर रमाइलोजस्तो तर, कामको वोझ हुने भएकोले खासै रमाइलो मानिदैनथ्यो ।
प्रायः महिलाहरु पाप पखाल्ने भनेर पञ्चमीको पूजा गर्नुहुन्थ्यो । पाप पनि कस्तो भने रजश्वला हुँदा छोइछिटो भएर हुने पाप । त्यतिवेला रजश्वला हुनुलाई स्वभाविक मान्ने गरिएपनि भान्साको काम वर्जित हुन्थ्यो भने वाहिरी काम गर्न छुट हुन्थ्यो । अर्थात् घाँस सोत्तर गर्ने, दाउरा काटेर ल्याउने, भाँडा कपडा सफा गर्ने आदि गर्न छूट हुन्थ्यो । तर पनि कुनै कारणले पुरुषसंग छोइएको वा नगर्ने भनिएका काम गरिएको भए त्यसवाट मुक्ति पाउने भनेको ऋषिपञ्चमीको दिन पूजा गरेर हो भन्ने बुझाई थियो ।
ऋषिपञ्चमका दिन महिलाहरूले एक वर्षको प्रतिनिधित्व हुने गरी ३६५ दतिवनका आँख्लाले दाँत माझेर ३६५ वटै पातले नजीकैको नदी, तलाउ वा धारा तथा कुवामा गई स्नान गर्नाले शरीरको शुद्धि हुने र पाप मोचन हुने भनिन्थ्यो । यस अर्थमा आमाहरुलाई यो काम गर्न दिनै पर्दथ्यो । दतिवन खोज्ने, दाँत माझ्ने र नुवाई धुवाई गरेर पूजाको तयारी गर्नुपर्ने भएकोले विहानभरी अरु काम गर्ने समय हुँदैनथ्यो ।
पूजाआजा गर्दा उस्तै परे दिन वित्थ्यो । पण्डितको कमी हुने भएकोले उस्तै परे दुई ठाउँ पनि पूजा गर्नुपर्ने भएकोले पनि समय वितेको पत्तै हुँदैनथ्यो । त्यसोत प्रसाद खान पाइने लोभ नहुने हैन तर कामको बोझले चिन्ता हुने गर्दथ्यो ।
प्रसंग दतिवनको हो । आखिरी यसरी एकै दिन वर्षभरीको दाँत माझेपछि दैनिक दाँत माझ्नु पर्दैनथ्यो भन्ने बुझाई थियो । मलाई के लाग्थ्यो भने यसरी एकै दिन दाँत सफा गर्नुको साटो दैनिक एक एकवटाले माझे राम्रो हुने थियो । पूजा गर्दा पण्डितहरुले पनि यो कुरा गर्दथे । यही काम दैनिक गर्ने हो भने यसरी एकैपटक नगरे पनि हुन्छ ।
पछि मलाई थाहा भयो, यसरी प्रयोग गरिने दतिवन स्वास्थ्यका दृष्टिले महत्वपूर्ण रहेछ । हिन्दु समाजमा दतिवन एक किसिमको धार्मिक तथा आयुर्वेदिक जङ्गली बोट हो । दतिवनलाई संस्कृत भाषामा अपमार्ग भनिन्छ । आयुर्वेद उपचार पद्धतिमा यसको उत्तिकै महत्व छ । गज्जव के रहेछ भने यो वैदिक कालदेखि नै प्रचलनमा आएको वनस्पति रहेछ ।
हरितालिका तीजको अघिल्लो दिन दरखाने दिन अपमार्गको बिज दूधमा पकाएर खाँदा मस्तिष्क रोग ठिक हुन्छ भन्ने मान्यता पनि पाइन्छ । अपमार्गको विउको भात बनाएर खाएमा एक हप्तासम्म भोक लाग्दैन भनेर पनि भनिन्छ ।
परम्परागत रुपले प्रयोगमा आउने वनस्पतिहरुले औषधिकै काम गर्दारहेछन् भन्ने कुरा अहिले प्रमाणित हुँदै गएका छन् । तत्कालिन समयमा यस्को व्याख्या गर्न नसक्दा अन्धविश्वास जस्तो मानिन्थ्यो । अहिले हरेक कुराको प्रमाण भए मात्र विश्वास गर्ने अवस्था आएको छ । तदनुसार अनुसन्धानहरु पनि हुन थालेका छन् ।
बिराटनगरमा एक जना पण्डितको भनाई उदृत गर्दै नेपाली रैथाने जडिबुटी नामक पुस्तकमा हाल क्यानडा रहेका वैज्ञानिक नारायण घिमिरेले लेखेका छन्– दैनिक रुपमा एउटा ठुन्का चपाउँदा र दाँत माझ्ने गर्दा दाँत सफा हुने, दाँत–मुखको दर्द कम हुने, मासिक धर्म नियमित हुने, डिम्बाशय बलिष्ठ हुने कुरा वेदमा उल्लेख छ ।
तिनै पण्डितले एउटा राष्ट्रिय दैनिकमा प्रकाशित वैज्ञानिक आलेखको प्रसंगमा पढेका रहेछन् । जसमा भनिएको रहेछ– भाद्र शुक्ल द्वितीयादेखि पञ्चमीसम्म ४ दिन मनाइने तीजको ऋषि पञ्चमीको दिन व्रतालु महिलाहरूले १६५ वटा दतिवनले दाँत माझेर गाईको गोबर र माटोको अपमार्ग (योनि लेपन) स्नान परम्परागत वैदिक चलन हो । कुरम कुइनचिङ तरिकाबाट गरिएको अनुसन्धानले दतिवन चपाउँदा दाँत र दाँतका क्याभिटी तथा गिजाहरूमा हुर्केर मानिसलाई दुःख दिने विभिन्न थरीका स्टेपटोकोकस नामका ब्याक्टेरियाहरूलाई मार्ने, दतिवनमा हुने ओलिनोइक एसिड जस्ता ट्राइटरपिन तथा जेनिन ग्लाइकोसाइडले दाँत सफा बनाउँछ ।
त्यसमा लेखिए अनुसार डीएनए सिक्वेन्सिङ प्रविधिमार्फत अध्ययन गर्दा गोबरमा हुने कार्बन र नाइट्रोजनको अनुपात, गोवरमा हुने ब्याक्टेरोइड्स, फिर्मिकुट्स र प्रोटियोब्याक्टेरिया तथा माटोको लिगानिन, सेलुलोज, चिटिन, जाइलन जस्ता अर्गानिक तत्वहरूलाई सानो सानो पारी टुक्राउन सहयोग गर्छ । त्यसमाथि ट्राइटरपिन तथा जेनिन ग्लाइकोसाइडले मूत्रद्वारका हानिकारक रोगाणु भगाइदिने गर्छ ।
आश्चर्यको विषय यो पनि रहेछ कि दतिवनको बीउ, पात र जरा सबै माछाको पोषणयुक्त दाना बनाउने कच्चा पदार्थको रूपमा प्रयोग हुन्छ । नारायण घिमिरेले लेखेका छन्– दतिवनको बीउमा प्रोटिन र चिल्लो पदार्थको मात्रा बढी हुन्छ भने पातमा मिनिरल्सहरू अधिक मात्रामा रहन्छ । दतिवनको बीउमा लगभग प्रोटिन ३० प्रतिशत, तेल ४.४ प्रतिशत र फाइबर ३ प्रतिशत हुन्छ । जबकि पातमा लगभग प्रोटिन २३ प्रतिशत, तेल २.५ प्रतिशत र फाइबर १५.५ प्रतिशत हुन्छ । माछाको दानामा भिटामिन र मिनिरल्सका लागि दतिवनको पात र अत्यावश्यक एसेन्सियल एमिनो एसिडका लागि दतिवनको बीउ गतिलो कच्चा पदार्थ हो ।
कस्तो गजव छ । हामीले परम्पराका नाममा हेला गर्ने, बेवास्ता गर्ने, अन्धविश्वास भनेर उडाउने यस्ता धेरै रैथाने प्रविधि, ज्ञान, शिपलाई उपयोग गर्न सकिरहेका छैनौं । यो तरिकाबाट हेर्दा अहिले माछाको लागि चाहिने पोषणयुक्त दाना कति विदेशवाट आएको होला ?
दतियनको जरा, पात, डाँठ र गेडा माछाको दाना (०.७ प्रतिशत) मा प्रयोग गर्दा माछालाई पोखरीमा पैदा हुने फोहोर पानीका रोगाणु र परजीवीबाट जोगाउन र पानीमा अक्सिजन पुग्न सहयोग पुयाउने भारतमा भएका अनुसन्धानहरूले पुष्टि गरेका रहेछन् । रहू माछाको सन्दर्भमा पूरक आहारको रूपमा दतिवनको जराको एक्स्ट्रयाक्टले इम्युनोस्टिमुलन्टको काम गर्ने, मृत्युदर घटाउने र रोग प्रतिरोधी क्षमता बढाउने तथा हानिकारक जीवाणु रोहिता स्यूडोमोनास फ्लोरोसेन्सको सङ्क्रमणविरुद्ध प्रभावकारी भूमिका खेलेको वताइन्छ ।
बाङ्लादेशमा भएको अनुसन्धानले पूरक आहारका रूपमा दतिवनको जराको सारतत्व खुवाइएको (१.५ प्रतिशत) माछाको शरीरमा सिरम एन्टीबडी उल्लेखनीय रूपमा बढेको, रगतमा पुगेको हानिकारक रोगाणु मार्ने क्षमतामा उल्लेखनीय वृद्धि गराएको देखाएको छ । दतिवनको जराको सारतत्व पोखरीको पानी सफा राख्न र माछाको वृद्धिदर बढाउन सहयोगी हुने समेत यकिन भएको छ । यथार्थमा घरेलु जनावर, घोडा, खरायो आदिको दानाका फर्मुलामा समेत दतिवनको बिरुवा सम्पूर्ण भाग प्रयोग भएको भेटिएको छ ।
दतिवनका बीउमा १८ प्रकारका र पातमा १७ प्रकारका एमिनो एसिड तथा करिव सवै प्रकारका भिटामिन, आइरन पाइने रहेछन् । जुन माछा र मानिस दुवैलाई चाहिन्छ ।
दतिवनलाई आयुर्वेदमा रातो अपमार्ग भनिन्छ । अपमार्गको अर्थ कुमार्ग अर्थात् अंग परिमार्जन भन्ने लागे तापनि सीधै योनि शब्दको प्रयोग अप्रिय लाग्ने स्थानमा तथा प्रवचन गर्दा नारी यौनाङ्गको फोहोर सफा गर्ने, त्यहाँ वास गर्ने रोगाणु निर्मूल गर्ने जडीबुटीको रसका रूपमा दतिवनको डाँठलाई प्रयोग गर्न तीजको स्नानका क्रममा अपमार्ग (रातो अपमार्गले योनि लेपन) गर्न सल्लाह दिने गरिन्छ ।
आयुर्वेदमा अपमार्गलाई एन्टीइन्फ्लेमेटरी वा दर्दनाशक, काटेको ठाउँमा रगत रोक्ने, अपच, खोकी, दम, रक्तअल्पता, जन्डिस र सर्पदंशको उपचारमा प्रभावकारी हुने ओखतीका रूपमा व्यापक रूपमा प्रयोग गरिएको छ । कानको दुखाइमा स्थानीय प्रभावकारी ओखती दतिवनको गेडाको तेल हो ।
वैदिककालको योनि लेपन अर्थात् रातो अपमार्गका लागि गोबर र गहुँतको अर्क (उमालेर आएको बाफ चिस्याएर जम्मा गरी बनेको गहुँत) उपयोग गरिन्थ्यो । धेरै तातोमा पोलेर बनाएको मुल्तानी मिट्टीजस्तै माटोको मसिनो धुलो र दतिवनको डाँठको रस वा चूर्ण अपमार्ग लेपन बनाउने घुलो वा पाउडर हुने गर्थे । स्नानको बेलामा अर्क र गाजल मिसाएर घुल्दा १५ असारको गोरुले दाएको हिलोजस्तो लयालो अपमार्ग लेपन तयार हुन्थ्यो । उक्त अपमार्ग लेपनको क्रिम बाहिर र भित्र दलेर कम्तीमा १० मिनेट रहन दिई यौनांग, अनुहार लगायत शरीरको फोहोर सफा गर्ने गरिन्थ्यो । आजको बजारका आधुनिक क्रिम र लेपनभन्दा यो विधि छालाको स्वास्थ्यका लागि अत्यन्त प्रभावकारी हुने गर्छ । समयक्रममा यसको सारपक्ष नहेरिने र सबै कुरा मात्र चलनका रूपमा एक पुस्ताबाट अर्को पुस्तामा जाने क्रममा स्नानको उत्कृष्ट उपाय निकृष्ट सल्लाहमा परिवर्तन भएको सजिलै अनुभूति गर्न सकिन्छ । (उही पृ १४९)
आजभोलि डेंगु वा अन्य विभिन्न कारणले प्लेटलेट्स घट्ने गरेको पाइन्छ । खागरी डेंगुले यसलाई स्वभाविकजस्तो वनाएको छ । तर, सन् २०१४ को सेप्टेम्बरमा पाकिस्तान जर्नल अफ फर्मास्युटिकल साइन्सेजले दतिवनको सँगको सेवनले शरीरको वजन घटाउन, हेमोग्लोबिन र प्लेटलेट्सको सङ्ख्या सुधार गर्न मद्दत गर्ने तथ्य प्रकाशमा ल्याएको रहेछ । दतिवनको जराले मुखका कीटाणुहरू मार्ने हुँदा टुथब्रसका रूपमा प्रयोगमा ल्याइएको प्रसंग पनि रहेछ । दतिवनको जराको धूलो, मरीचको धुलो र मह मिसाएर खाँदा खोकी निको हुने आयुर्वेदकर्मीहरुले वताउने गर्छन् । दतिवनको पात र प्याज मिलाएर बनेको पेस्ट छालाको रोग निको गर्ने राम्रो ओखती हो भने दहीसँगै खाएमा यसले पखालाको उपचार गर्ने सो जर्नलको दाबी छ । दतिवनको पातको पेस्ट कीरा, विच्छी सर्प वा माहुरीको टोकाइको विषाक्तताको उपचार गर्दा उपयोग गरिन्छ ।
छालाको रोगमा जरा पिसेर बनाइएको लेप प्रयोग गर्ने, पातको रसलाई घाउ र खटिरा भएको ठाउँमा मलहमको रूपमा लगाउने, ताजा पात बिहान उठेपछि र राति सुत्नु अघि चपाएर खाएमा कब्जियत नष्ट हुने, पखाला लाग्दा तीन ग्राम जति दतिवनका पातबाट तयार पारिएको काढा चिसो भएपछि मह मिलाएर पिउने, दतिवनको जराबाट निकालिएको तेल दम रोगीका लागि, जराबाट निकालिएको इथानोलले बाझोपन हटाउन सहयोग गर्नसक्ने, दतिवनबाट निकालिने मिथानोलले अर्बुद्ध रोगसँग लड्न मद्दत गर्ने तथा मूत्रथैली र मृगौलाको पत्थरीलाई झार्न पनि सहयोगी हुने विभिन्न अनुसन्धानले देखाएको वताइन्छ ।
यसैले यसभित्र रहेका अपाच्य कुरालाई हटाएर यसको विज्ञान पक्षलाई अपनत्व लिई ब्यवहारमा उतार्दा मात्र हामी ठिक ठाउँमा पुग्न सकिन्छ ।
२०८० असौज १
सन्दर्भ सामाग्री
https://ne.wikipedia.org/wiki/
-https://scienceinfotech.com.np/4364896/_
नेपाली रैथाने जडिबुटी पृ.१४८–१४९, नारायण घिमिरे ः प्रकाशक शिखा वुक्स २०७८
No comments:
Post a Comment