• Breaking News

    उवेलाको तीज !!



    डी.आर. घिमिरे

    मैले २०४० सालदेखि पहाड छोड्न थालेको हुँ । त्यसपश्चात् धेरै वर्षसम्म आउजाउ गरेपनि करिव ०५० देखि धेरै कम भएँ जस्तो लाग्छ ।

    तिजले चाडवाड आएको संकेत गर्दथ्यो । रमाइलो अनुभूति हुन्थ्यो । एक प्रकारले साउने सक्रान्ती देखिनै  तिज लाग्दथ्यो । रेडियो नपालवाट सुन्ने गरेको तिजको लहर आयो बरिलै भन्ने बोलको गितले अहिले पनि सम्झना हुन्छ । अतितको तिजलाई स्मरण गराउँछ । 

    खागरी साँझमा सवै काम सकेपछि खाना खाएर वल्तिर पोल्तिरका अर्थात् छिमेकी दिदीबहिनी जम्मा भइ गित गाएर नाच्दा सारै रमाइलो हुन्थ्यो । हामी पनि नाचेर रमाइलो लिन्थ्यौ । आमा र दिदी वहिनीहरुले आफ्ना पिरब्यथा, सुखदुखका अनुभवहरु, कतै घटेका घटनाहरु टपक्क टिपेर गितको माध्यमबाट पोख्नुहुन्थ्यो । 

    ती पिरब्यथा, सुखदुख साँच्चिकै भोगाई हुन् कि हैनन् जस्तो लाग्थ्यो । प्रायः काल्पनिकनै हुन् जस्तो लाग्दथ्यो । अर्थात् समग्रमा महिलाका समस्या भएपनि सवैले गाउने भएकोले काल्पनिक जस्तो हुन्थ्यो । तिज घर गएर माइत आएका चेलीवेटीलाई वढी लाग्थ्यो । शायद घरमा फुकेर नाच्ने अवसर हुदैनथ्यो वा थोरै भएपनि लाजको अनुभव हुन्थ्यो होला । माइतीमा पुराना साथी, जन्मेदेखिका साथी, संगै पढेलेखेका, घाँसपात गरेका, संगै वनजंगलमा गाई वाख्रा चराउन गएका, दाउरापात गरेका, कैयौं पटक संगै मेलापात गरेका, संगै रोपाईमा गाएका नाचेका, दशैं तिहारमा रमाइलो गरेकाहरु एक ठाउँ भएपछि त्यो भन्दा खुशीको क्षण अरु हुने कुरा पनि भएन ।

    वाल्यकालको सम्झना अलि वढीनै हुन्थ्यो । त्यसमा पनि प्राःय नगिचका नातपातनै हुने गर्दथे । अहिलेजस्तो बसाई सराई थिएन । एकै ठाउँका हुनुका कारणले दिद िवहिनीको नाता अलि गाढा हुने नै भयो । गाउँभरी सवैका घरमा पालैपालो गीत गाउने गर्दथे । यसो गर्दा कसैलाई नास्ता, चिया वा केही खुवाउने चलन थिएन । घैंटाको चिसो पानी खुवाउन सके ठूलै कुरा हुन्थ्यो ।

    तिजमा विवाह गरेर घर गएका चेलीहरु आउने भएकोले बढी रमाइलो हुन्थ्यो । तिजमा आएका चेलीलाई कामको पिर पनि भएन । त्यसैले मनग्गे नाचगानमा रमाउन पाउँथे । गाउका चेलीहरु माइती सम्झेर बर्ष दिनमा बाबाआमा भेट्न आउने, आफ्ना पुराना समकालनि साथी संगी भेट्ने, तिजका रमाइला गित गाउने नाच्ने गर्दा गाउ नै उल्लासमय हुन्थ्यो । 

    तिजको दिन राम (मेला) हेर्ने भनेपछि अघिल्लो दिनदेखि घाँसपात गरेर छिटो जाने गरिन्थ्यो । घरदेखि नजिकै मैदान भनिने मन्दिर भएको ठाउँमा हाम्रो टोलका सवै जम्मा हुने चलन थियो । उक्त ठाउँमा करिव पाँच वटा वार्डका महिला पुरुष जम्मा हुन्थे । अक्सर पुरुषले हेर्ने ताली बजाउने काम बढी गर्थे । थोरैले मादल बजाउँथे । यसका लागि शिप चाहिने भएकोले सवैमा यो शिप हुँदैनथ्यो । 

    तिजको समयमा काँक्रा फलेका हुन्थे । घरवाट वाहिर जाँदा कसैका घरवारीमा काँक्रा फलेका भए पहिचान गरी साँझ वा राती चोरे खाने चलन पनि थियो । नाचगान गर्नेलाई काँक्रा खुवाउने पनि गरिन्थ्यो । त्यो आफ्नै प्रकारको रमाइलो थियो ।

    पाकुमगुम पाकुमगुम गर्दै मादल वजाउने पुरुषको विशेष महत्व हुन्थ्यो । ऊ महिलाहरुको आकर्षण पनि हुन्थ्यो । वीचवीचमा मायाँप्रेमका कुरा पनि हुन्थे । जिस्काउने गरेर मनोरञ्जन लिने गरिन्थ्यो जस्तो लाग्छ । मादलको साथमा उत्साह र उर्जाले भरीएर गाइएका मिठामिठा स्वरले राम्रा कपडामा सजिएका महिला आकर्षक हुन्थे । गितमा एकल र जोडा (दूई जना) नाँचको प्रतिस्पर्धा हुने गर्दथ्यो । महिलाहरुले बिभिन्न अलंल्कार, गरगहना, नया लुगा देखाएर आफ्नो हैसियत प्रदर्शन गर्दथे । यति वेला अलि राम्रो कपडा वा गरगहना लगाउन सकेन भने अलि टिठ लाग्दो भने हुन्थ्यो । 

    तिजको पञ्चमीको दिन पूजा सकिएपछि हसाङफस्याङ गर्दै तिजको राम हेर्न गइन्थ्यो । मेलामा जेरी पकाएर व्यापार हुने गर्दथ्यो । खान सक्नेले खान्थे नखानेले पनि गन्धको स्वादले सन्तुष्ठि लिने गर्दथे । सवैले रातो साडी लगाउने भएकोले मेलास्थल रातै देखिन्थ्यो । 

    पछि बहुदल आएपछि अलि बढी राजनीतिका गितहरु गाउन थालियो । यद्यपि म त्यतिवेला बुटवल आइसकेको थिएँ । तैपनि गितका माध्यमबाट आफ्नो पार्टी र नेताको प्रशेसा गरिएका हुनाले समाचारका विषयवस्तु वन्ने गर्थे । म बुटवल वसेपनि उतैको आकर्षण हुन्थ्यो । त्यसैले पाएसम्म तिनै समाचार वनाएर सन्तुष्ठि लिन्थे । 

    राजनीतिले त्यतिबेला पानी बाराबार जस्तै हुनथयो । दिदी वहिनीहरु विभाजित भए । वास्तवमा उनीहरुको रमाइलो खोसियो जस्तो लाग्छ । कहिलेकाही तिजको राममा बितण्डा मच्चाउथे । भाग दौड हुन्थ्यो । बुढाबुढी र केटाकेटीको बिचल्ली हुन्थ्यो । तीजको अघिल्लो दिन दर खाने गरिन्थ्यो । दरको नाममा शुद्ध शाकाहारी मिठो परिकाए बनाएर खाइन्थ्यो । खासमा दर भनेको मिठो खिर हुन्थ्यो । यो राती अवेर खाने गर्दथे । अर्को दिन तिज र भोकै वस्ने भएकोले अघिल्लो रात अलि अवेर मात्र खाने गर्दथे ।  

    आज फर्केर हेर्दा यस्तो लाग्छ तिजको मौलिकता हरायो । सस्कृति हरायो । कला र गला पनि हरायो । कलाकारहरु वोलाएर जसरी नाचे पनि हुने जसर िउफ्रे पनि हुने वडो विचित्रको जमाना आयो । कतिपय अवस्थामा महलिा पुरुषको प्रतिष्पर्धा वा अस्वस्थ प्रतिष्पर्धाजस्तो हुन थाल्यो । 

    विवाह गरेर गएकी महिलाले आफ्ना भोगाइ अभिव्यक्त गर्न तीज गीत गाउने परम्परा रहे पनि अहिलेका गीतले शब्द, सङ्गीत, भाका कुनै पनि पक्षमा त्यो मर्म र भावना बोक्न सकेको पाइदैन । 

    त्यतिवेला सामाजिक विसंगतिलाई पनि गीतको माध्यमवाट खोतल्ने गरिन्थ्यो । केही उदाहरण ः

    भातै र खाम्ला जेठो बुढो धानैको, तरकारी खाम्ला गाबा बरि लै

    लिन र आए भेट्न आए मेरा दाजै, बिर्साइदिए आमा बरि लै

    तीज वर्षा याममा हुने भएकोले नदी तरेर जान नसक्ने अवस्था  पनि हुन्थ्यो । जसलाई गीतको आषामा यसरी भनिन्थ्यो ।

    “नदीपारि दिए मेरा बाबैले

    तर्न सकिनँ आइनँ बरि लै“।

    समयले पुरानो अवस्था नभएकोले यस्ता गीत गाउन नपर्ने अवस्था भने आयो । किनकि सवै नदीनालामा पुल वने । मोटरेवल सडक भए ।

    अलि पछिल्ला दिनमा गाउन थालेका गीत यस्ता रहे–

    लेक फुल्यो लालीगुराँस, बेसी फुल्यो टोनी बरि लै

    जन्मै किन हेपिएको, यो छोरीको जुनी बरि लै

    अहिले गीतमा पनि व्यापार हुन थाल्यो । यूट्यूबमा भ्यू बढाउने वा व्यापारिक प्रयोजनका रूपमा गीत गाएर सवै कुरा विर्सने अवस्था आयो । यस्तो लाग्छ सामाजिक सञ्जालले पनि धेरै विकृति ल्यायो । कसैले उत्तेजनामा कुनै असभ्य गीत गायो भने त्यसैलाई भाइरल बनाउने र नक्कल गर्ने प्रवृत्ति ब्याप्त छ । विक्रम संवत्मा ४० को दशकमा चलचित्र कन्यादानको गीतमा “तीजको रहर आयो बरि लै“ भनेको विषयलाई मानक वनाउन थालिएको छ । जवकि त्यसभन्दा अगाडि पनि धेरै राम्रा गीत गाउने गरिन्थ्यो ।  

    वास्तवमा तीजका गीत कहिलेदेखि गाउन थालिए होला भनेर खोज्दा खास तथ्य पाउन सकिदैन । खासमा नपौराणिक कथाबाट प्रेरित भएरनै तीजका गीत गाउन थालेको पाइन्छ । अध्येताका अनुसार तीजका गीत खासगरी दुई प्रकारका छन् । एउटा महिलाका मनोवेदना र चाहनासँग सम्बन्धित छ भने अर्को शिव पार्वतीको आराधना गर्ने भजनसँग सम्बन्धित छ ।

    पहिला पहिला छोरीहरूको रजस्वला नभई विवाह गरिदिने र टाढा माइती हुने अनि सधैँ माइत जान नपाइने कारण तीजका गीतमा महिलाले सासू, जेठानी वा पतिबाट पाएका वेदना वा भोगाइ पोखिने गरेको अध्येतहरु बताउँछन् ।

    लेख्य नेपाली भाषाको अभिलेख १०३८ सम्मको भेटिएको बताइन्छ । तर तीजको गीत त्योभन्दा पनि पहिला नै आएको अनुमान गर्न सकिन्छ । किनभने तीजको गीत कथ्य वा मौखिक भाषा हो । 

    २०८० असोज ३


    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Travel