डी.आर. घिमिरे
विसं २०४८ सालको कुरा हो । म बुटवलमा वसेर दैनिक लुम्विनीमा पत्रकारिता गर्न थालेको तीन चार वर्ष भइसकेको थियो । भर्खर वहुदल आएको थियो । तत्कालिन सम्पादक प्रकाशक कर्ण दाई (कर्णवहादुर कार्की) मा नयाँ जोश जाँगर थियो । पत्रिकालाई देशब्यापी बनाउनुपर्छ भन्ने मान्यतावाट ओतप्रोत हुनुहुन्थ्यो । त्यसै सिलसिलामा दाङ नयाँ कार्य क्षेत्र बन्ने भयो । मलाई दाङ सरुवा गरियो । कहिल्यै नगएको ठाउँमा बस्ने, समाचार खोज्ने र पठाउने कुरा महाभारतनै थियो ।
कर्ण दाईसंग सल्लाह भएर हो वा नभएर मलाई हेक्का भएन । तर, म डिल्ली दाजुसंगै दाङ गएँ । त्यतिवेला एकजना पञ्चायतकालिन युवा संघका नेता थिए । अहिले नाम भुलें । तिनलाई डिल्ली दाजुले फोन गर्नुभयो र भेट पनि भयो । बसपार्कमा उत्रेपछि मलाई त्याहाँको भुगोल, विशेषता आदि बताउँदै पैदल हिडालेर घोराहीको एक होटलमा लैजानुभयो । नयाँ ठाउँमा जाँदा पत्रकारका हैसियतले जान्नुपर्ने कतिपय विषयवारे सिकाउँदै भन्नुभयो– हेर बाबु तिमी नयाँ ठाउँमा आएका छौ । पत्रकार भएर आउनु र गैर पत्रकार भएर आउनुमा फरक हुन्छ । तिमीले यहाँको भुगोल, जनसंख्या, जातजाति, धर्म, सस्कृति तथा यस ठाउँमा रहेभएका सवै विषयको जानकारी लिनुपर्छ । अन्यथा पत्रकारिता गर्न सकिदैन ।
वास्तवमा यो सिकाई मेरा लागि नयाँ थियो र जीवनकै लागि आबश्यक । अहिले सम्झन्छु कति मार्मिक कुरा गर्नु भएको रहेछ । करिव ६ महिना मेरो पत्रकारिता त्यसै ठाउँमा बित्यो । बसुन्जेल मेरो सामिप्यता नारायण गुरुसंग भयो ।
विसं २०५१ सालको कुरा हो, बुटवलको आदर्शनगरमा एउटा बोर्डिङ स्कुल सञ्चालन गर्ने कुरा भयो । मेरो डेरा त्यसै ठाउँमा भएकोले स्थानीयसंग अलि बढी चिनजान थियो । नयाँ ठाउँमा विद्यार्थी खोज्न गारो होला भनेर सो स्थान खोजिएको थियो । यसमा मलाई खासै जानकारी नभएपनि हरि भाई (हरि घिमिरे) को सल्लाहमा सो स्थान पहिचान गरिएको थियो । खासमा सो विद्यालय हरि भाईलाई नेपालगंजबाट बुटवल ल्याउनकै लागि सञ्चालनमा ल्याइएको थियो । यसमा आर्थिक व्यवस्थापन वामदेव घिमिरे (हरिका सहोदर दाजु) को थियो । वामदेव र म सहपाठीसमेत भएकाले यस विषयमा हामीवीच भएको सल्लाह अनुरुप योजना बनेको थियो ।
बिद्यालयको नाम इडन बोर्डिङ स्कुल रहने भयो । नामाकरण आदिको व्यवस्थापन हरि र उनीसंगै शिक्षण पेशा गर्ने दार्जिलिङका शशी शरण राईले गरेका थिए । त्यतिवेला अंग्रेजी माध्यमका विद्यालय चलाउन दार्जिलिङका शिक्षक राख्ने चलन थियो । मेरो मुल पेशा पत्रकारिता भएकोले विहान साँझ विद्यार्थी खोज्ने र अभिभावकसंग सम्पर्क समन्वय गर्थे । हरि र शशी पहिला बुटवलकै सिद्घार्थ बोर्डिङमा अध्यापन गर्थे । उनीहरुको लोभलाग्दो लाल जोडी थियो ।
सिद्घार्थ बोर्डिङको अध्यक्ष डिल्ली दाजुनै हुनुहुन्थ्यो । उक्त स्कुलमा पनि दार्जिलिङकै मृगेन्द्र गुरुङ प्राचार्य हुनुहुन्थ्यो । बुटवलको स्थापित पत्रकार, देशविदेश जाने बुझेको हुनाले उहाँलाई अध्यक्ष बनाइएको रहेछ । त्यसै समयदेखि हरि भाइको पनि उहाँसंग राम्रो सम्वन्ध बनेको रहेछ । ईडनमा पनि उहाँलाईनै अध्यक्ष बनाउने प्रस्ताव हरि भाईले राखेपछि नस्वीकार्ने कुरै भएन ।
पहाडको नाता बागलुङ भएकोले ईडनको एउटा बार्षिकोत्सव समारोहमा बुटवलका तत्कालिन नगरप्रमुख सूर्यप्रसाद प्रधानलाई डिल्ली दाजुलेनै ल्याउनु भएको थियो । त्यही समारोहमा उहाँले छोरी लक्ष्मीलाई ल्याउनु भएको थियो । शायद पहिलो पटक मैले लक्ष्मीलाई त्यही देखे । उनी पछि रसिया गएर मेडिकल डाक्टर बनेर आइन् । डाक्टरको रुपमा आम्दा अस्पतालमा भेट हुन्थ्यो । ज्वाई डा. गोविन्द गौतम पाल्पा मेडिकल कलेजमा सेवारत भएपछि वारम्वार भेट हुन्थ्यो । एक खालको पारिवारिकजस्तै सम्वन्ध भएपनि काठमाण्डौतिर गएपछि भेट पातलियो ।
बुटवलको शुक्रपथमा उहाँको घर थियो । परिवारमा छोरा, छोरी, ज्वाई चिकित्सक हुनुको कारणले घर बनाउँदा पनि भविष्यमा नर्सिङ होम चलाउनुपर्ला भनेर घरको डिजाइन गर्नुभएको थियो । हामी जाँदा घरको आकार प्रकारबारे प्रायः बताईरहनु हुन्थ्यो । उहाँको यो सपना पूरा भएन । अलि पछि सो घर विक्री गरी देवदहको खैरेनीमा बसाई सर्नुभयो । देश विदेशको अनुभव भएका कारण उहाँले घर बनाउँदा केही न केही नयाँपन हुन्थ्यो ।
म धेरै पटक खैरेनीको घरमा गएँ । एकपटक हरि, गंगा र म गएका थियौं । शायद भर्खरै घर बनेको थियो । घर हेर्न पनि जानुपर्छ भनेर हामी गएका थियौं । भाउजुले पनि औधी मायाँ गर्नुहुन्थ्यो । अतिथि सत्कारमा ज्यादै रुचि राख्ने दुवैको स्वभाव थियो । भेटेपछि जे भएपनि खाएर मात्र बिदा गर्नुहुन्थ्यो ।
हामीलाई छिटै फर्कनुपर्ने थियो । बिदा हुने वेला केही नखाई पठाउन उहाँको मनले मानेन । छिटो जे हुन्छ त्यही खाने भनेर आलु उसिनेर खाऊँ भन्नुभयो । वास्तवमा आलुको नास्ता गजवकै भयो त्यतिवेला । एउटा नयाँ सिकाई पनि भयो हाम्रा लागि । आजभोलि होटलमा पनि आलुको परिकार हुने गर्छ ।
उहाँसंग वसेपछि समय वितेको थाहै नहुने । अनुभवले खारिनुभएका देश विदेशका अथाह ज्ञान र अनुभव सविस्तार भन्न सक्ने उहाँको बानी तारिफ गर्ने लायकको थियो । खासगरी रसियाको कुरा अलि बढीनै गर्नुहुन्थ्यो । तर हेल्सिन्की, सोफिया, बुल्गेरिया, रोमानिया आदिको प्रसंग पनि आइरहन्थे ।
औपचारिक रुपमा टाई सुट लगाउने, दैनिक दाडी फाल्ने, चिटिक्क परेर हिड्ने उहाँको दैनिकी हुन्थ्यो । कुरै कुरामा एक पटक दिनहुँ किन दाडी फाल्नुपर्छ भनेर मैले सोधें । यसमा उहाँको जवाफ थियो– वुढौली लागेपछि डेन्टिङ पेन्टिङ गरिरहनुपर्छ । अहिले तिमीहरुलाई अहिल्यै चाहिदैन तर, समयले माग गर्छ । म अलि झुत्रेजस्तो देखिन्थे कपडा लगाउने वा ब्यक्तित्व झल्काउने कुरामा बेवास्ता गर्ने । हरि भाईले पनि त्यसप्रकारको सल्लाह दिन्थे । बोर्डिङमा टाई सुट लगाउने भएकोले पनि उनीहरुको यस्ता विषयमा रुचि हुन्थ्यो । दाजु डिल्लीप्रसाद आचार्य यसवारेमा अलि बढीनै गंभीर हुनुहुन्थ्यो । यसलाई पुष्ट्याई गर्न विभिन्न राजदुत, कन्सुलर, विदेशी सरकार प्रमुख आदिको उदाहरण उहाँले दिनुहुन्थ्यो ।
ग्रेटवाल हेर्ने धोको
२००६ को अक्टुबरमा हामी अर्थात् भैरहवाका वरिष्ठ पत्रकार नारायण सापकोटाको नेतृत्वमा श्रद्घेय दाजु डिल्लीप्रसाद, भैरहवाकै व्यावसायी मित्र माधव अधिकारीसहित यो पंक्तिकारलाई उत्तर कोरियाको भ्रमण गर्ने अवसर मिल्यो । दाजु डिल्लीप्रसाद र म एउटा कोठामा हुन्थ्यौं । मेरो विदेश अनुभव थोरै मात्र थियो । त्यसैले मलाई धेरै कुरा सिकाउने बताउने गर्नुहुन्थ्यो । यस क्रममा दुईवटा विषय विर्सनै नसकिने छन् । पहिलो चिनको ग्रेटवाल प्रसंग र दोश्रो उत्तर कोरियामा कोट नहुनुको पिडा ।
हामी सांघाई हुँदै बेइजिङ गएका थियौं । बेइजिङबाट प्योङयोङ जानु थियो । सांघाइमा मेडिकल अध्ययन गर्ने ज्योति (सुपुत्रीः नारायण सापकोटा) ले होटल आदिको व्यवस्था मिलाएकी थिइन् । सापकोटा आचार्य नाताले मामा भाञ्जा हुनुहुन्छ । भाषाको असाध्यै समस्या हुने त्यतिवेलाको सन्दर्भमा ज्योतिले ठूलै गुन लगाएकी थिइन् । केही दिन घुमेर हामी बेइजिङ गयौं ।
चिनमा आएपछि द ग्रेट वाल र तेयनमेन स्क्वायर हेरिएन भने चिन आएको अर्थ रहँदैन भनेर वारम्वार भन्नुहुन्थ्यो दाजुले हामीलाई । मेरा लागि त पहिलोपटक गएका कारणले पनि यसको विशेष अर्थ र महत्व थियो नै । तर समय मिलाउने चाप नेतृत्वकर्तालाई हुन्थ्यो । यसमा दाजु नारायण सापकोटा चेपुवामा हुनुहुन्थ्यो । मामाको चाहना पूरा नगर्नु अनुचित हुने, पूरा गर्नु समय मिलाउन गारो । डिल्लीदाइ र म एउटै कोठामा बस्ने भएकोले बढी गुनासो मसँग गर्नु हुन्थ्यो । म पनि दवाव दिन नसक्ने, घुम्न पाए खुशी हुने । बडो अफ्टेरो अवस्था थियो ।
तिमीहरु उमेर भएका फेरि पनि आउला तर म ७१ वर्षको मान्छे ग्रेटवाल हेर्न पाइन भने शायद मेरा लागि धोको मात्र हुन्छ होला । डिल्ली दाजुको यो भनाई असाध्यै मार्मिक थियो । अन्तमा तेयनमेन स्क्वायर त हेरियो ग्रेटवाल चाही फिर्ता हुँदा हेर्ने सहमति भयो ।
प्योङयोङबाट फर्केपछि ग्रेटवाल जाने कि नजाने भनेर छलफल भएपनि उहाँको अगाडि कसैको केही लागेन । हामीहरु गयौं । हामीलाई नेपाली विद्यार्थी रनमिन युनिभर्सिटी अर्थात् जन विश्वविद्यालयमा अध्ययनरत पत्रकार मित्र ध्रुव पौडेलले त्यतिवेला गरेको सहयोग विर्सन सकिदैन ।
ग्रेटवाल पुगेपछि १ घण्टाको घुम्ने समय थियो । ५० युयान प्रतिव्यक्ति टिकट लिएर हामी गयौं । कहाँ जाने, कता जाने बडो असमञ्जस्यको अवस्था थियो । जता गए पनि ग्रेटवाल देखिन्थ्यो । मानिसहरूको घुइँचो उस्तै थियो । हामीले सोच्यौँ जता बढी भीड छ त्यतै जाऔँ । एकोहोरो आधा घण्टा हिडेर फकिर्यौ भने ठिक्क होला भन्ने सोंचेर वाटो लाग्यौं । बीचबीचमा फोटाका पोजहरू लिदै भीडलाई छिचोल्दै आधा घण्टा हिडे पनि मानिसको भीड उस्तै थियो । वालको माथि बनाइएको मानिस हिड्न सक्ने बाटो जस्तै थियो । मानिसको ताती आँखा जति टाढा दौडायो, त्यति नै देख्न सकिन्थ्यो ।
मानिसको अनुमान लगाउने हो भने लाखौँ मानिस हुनुपर्ने अनुमान लगाउन सकिन्थ्यो । १ घण्टाको समयमा त हामीले यति विघ्न देख्यौँ भने दिनभरी हेर्दा कस्तो देखिदो हो जस्तो लाग्यो । जति हेरे पनि धित नमर्ने रहेछ त्यहाँ गएपछि । वृद्ध, वृद्धाहरू, युवायुवतीहरू, बालबालिकाहरू सबै खाले मानिसको उपस्थिति देखिन्थ्योे । त्यहाँ देखिने मानिसका अनुहार पढ्दा जतिसुकै वृद्धहरू भएपनि उनीहरुको अनुहार खुशीले गद्गद् र अनुहारमा चमक देखिन्थ्यो ।
डिल्ली दाइले त जीवनकै लागि यहाँभन्दा अर्को खुशी हुने ठाउँ छैन भन्दै हुनुहुन्थ्यो । बिहानदेखि खाना खाने अवसर जुरेको थिएन । तैपनि भोकको अनुभूति थिएन । विश्वका धेरै देशहरूकोे भ्रमण गर्नुभएका डिल्ली दाइलाई हेर्दा यस्तो लाग्थ्यो कि उहाँले जीवनमा गर्नुपर्ने सबैभन्दा महत्वपूर्ण कार्य आजै गर्नुभयो । पूर्वमा नर्वेको हेल्सिन्की हुँदै दक्षिणमा सोफिया, बुल्गेरिया, रोमानियासम्मको यात्रा अनुभव सुनाउँदै बेइजि¨को यो अवसर पहिलोपटक पाएकोमा प्रफुल्ल मुद्रामा हुनुहुन्थ्यो ।
चन्द्रग्रहबाट समेत देख्न सकिने भनेर चर्चामा आउने द ग्रेटवाल त्यतिन्जेलसम्म करिब ७ हजार नेपालीले हेरेको चर्चा हुन्थ्यो । यसको तथ्यांक कसरी आयो मलाई त्यसको हेक्का भएन ।
कोटको कथा
हामी प्योङयोङको ३९ तलाको थ्यलन नबपमय क्ष्लतभचलबतष्यलब िहोटलको २५ औँ तलामा बसेका थियौं । हामीलाई नेपालदेखिनै चिनजान भएका नेपाली भाषा जानेका किम बोनको नेतृत्वमा स्वागत र घुमाउने गरिउको थियो । अन्तिम दिन १२ अक्टुबर क.किम इल सुङ्गको पार्थिव शरीर देखाउने कार्यक्रम थियो । अघिल्लो दिन विदा हुने समयमा किम बोनले सफा र राम्रा कपडासहित कोट लगाएर ठिक ८ वजे तयार हुनुहोला भन्नुभएको थियो । उनको जोड काटमा थियो । म संग कोट थिएन । मेरा लागि यो चिन्ताको विषय थियो । कतै जान नपाइने हो कि भन्ने आशंका पनि लाग्यो । केही वहानावाजी गर्ने सोंचेर समयमै सुतियो । बिहान ४ बजे उठेर तयारी गर्यौं । ८.०० बजे बाहिर निस्कदा हाम्रो गाडी आइसकेको थियो । सोङ्ग र मिस पाङ्ग दुईजना हामीसँंग थिए ।
मसंँग कोट थिएन । होटलबाट निस्कँदासाथ सोङ्गले कोटको कुरा गरे । कोट मसँंग नभएकोले के भनौँ के भनौँ भन्ने भयो र मैले भनिहालेँ –कोट मेरा लागि मन नपर्ने ड्रेस हो । त्यसैले कोट लगाउने चलन छैन । आजसम्म लगाएको पनि छैन । ऊ असाध्यै अफ्टेरोमा पर्यो । खासमा कोट नलगाएको एकजना पनि हुने रहेनछ । मैले त्यतिन्जेल जीवनमै कोट किन्न सकेको थिइन । अव नेपाल फर्केपछि कोट किन्ने कुरा डिल्ली दाईलाई सुनाएँ । उहाँले घर गएपछि एकजोर सुट दिने आश्वासन दिनुभयो ।
विदेश जाँदा एउटा कोट सिलाउने चाहना मेरो थियो तर दशैंको चपेटामा पैसाको पनि अलि कमी भएकोले कोट सिलाउन सकेको थिइन ।
किम इल सुङ्गको पार्थिव शरीर राखिएको ठाउँमा विशाल घर रहेछ । शव राखिएको ठाउँमा पुग्न धेरै ठाउँ पार गर्नुपर्ने रहेछ । धेरै मानिसहरूको भिडभाड भएकोले हामीलाई सिधा जान अनुमति थियो । त्यहाँ भित्र जाँदा विस्तारै गफ गर्दै जानका लागि उभिएर आफसेआफ गइने स्वचालित भ¥याङ्ग थियो ।
पार्थिव शरीर राखिएको स्थान बाहिर विशाल प्रतिमा थियो । भित्र पस्दा तेज हावा आउने रहेछ । झण्डै उडाउला जस्तो । किम इल सुङ्गको पार्थिव शरीर भएको ठाउँमा पुग्दा कोठाको मध्यभागमा सुताएर राखिएको आँखा चिम्म गरेको शरीर, कोट लगाइदिएको र पल्टिएका किम इल सुङ्गले वृद्व अवस्थामै देहत्याग गरेका थिए । जस्ताको तस्तै शरीर देख्न पाउँदा मलाई माओको पार्थिव शरीर हेर्ने तीव्र इच्छा जागेर आयो । हामी चीनको तेयनमेन स्क्वायरमा गएर पनि प्राविधिक कारणले सो अवसर गुमाएका थियौं ।
क. किम इल सुङ्गको पार्थिव शरीर हेरेर फर्कदा कतिपय महिलाहरूले आँशु पुछेको देखिन्थ्यो । जापानी साम्राज्यवादबाट मुक्त गराएर स्वाधीन राष्ट्र निर्माण गरेका किम इल सुङ्गप्रति त्यहाँका जनताले अगाध आस्था र सम्मान प्रकट गर्दा रहेछन् । हामी त्यहाँबाट निस्केपछि किम इल सुङ्गले प्रयोग गरेको गाडी हे¥यौँ । स्थानीयरूपमा हिड्दा प्रयोग गरेको रेलको डिब्बा पनि त्यहाँ रहेछ । बैठक कक्षजस्तो थियो । बीचबीचमा गएर कार्यकर्तालाई निर्देशन दिने काम त्यही रेलको डिब्बाबाट हुने रहेछ । विभिन्न देशले दिएका उपहार सम्मानपत्र आदि पनि त्यहीँ थिए ।
त्यसपछि हामी फक्यौँ । फर्कदा किम बोन गिलले तपाईलाई कस्तो लाग्यो भनेर सोध्नुभयो । मैले भनें—युद्धको पीडा हामीले पनि भोगेका छौँ । तर, तपाईहरूकोमा आएर यो सब हेर्दा एउटा ठूलो उत्साह जाग्यो । कतिपय सोंचमा समेत परिवर्तन आएको छ । तपाईहरूले किम इल सुङ्गप्रति देखाउनुभएको सद्भाव र सम्मानबाट मैले बुझेको छु यो देशलाई यो ठाउँमा ल्याइपु¥याउने उहाँ एकमात्र नेता हो र वास्तवमा तपाईहरूले किम इल सुङ्गलाई मुटुको टुक्रा मान्नुहुँदो रहेछ ।
२०८० भदौ ०७
No comments:
Post a Comment