डी.आर.घिमिरे
‘प्रितम सिंहले एक पटक मलाई प्रधानमन्त्री बनाउन धेरै मिहिनेत गर्नुभयो । धेरैचोटि दिल्ली जानु भयो । काठमाडौंमा नेताहरू–साथीहरूसँग लगातार छलफल गर्नुभयो,’ । नेपालमा पहिलो पटक ट्रक ल्याएका सरदार समुदायका प्रितम सिंहमाथि किरणदीप सन्धुले लेखेको पुस्तक ‘रोड्स टु द भ्याली ः द लिगेसी अफ सरदार प्रितम सिंह इन नेपाल’ विमोचन कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहालले यसो भनेको दोश्रो दिन एउटा कार्यक्रममा उनले फरक कुरा गरे । उनले भने–
‘उहाँको (प्रितम सिंहको) बारेमा भनेको कुरालाई उचालेर अहिले बबण्डर गर्न खोजिएको छ । त्यो बेलुन पनि छिट्टै फुट्नेवाला छ । त्यसले केही हुनेवाला छैन’ । उनले विपक्षीको विरोधलाई विक्षिप्तता भनेर गंभीर आरोपसमेत लगाए ।
‘१५ वर्ष अगाडि प्रधानमन्त्री पदबाट राजीनामा दिएपछि फेरि प्रधानमन्त्री हुनुहोस् भनेर प्रितमले राखेको सद्भाव त्यसदिन सम्झिएको मात्र हो’, प्रधानमन्त्रीका प्रेस सल्लाहाकार गोविन्द आचार्यको पुष्ट्याई छ ।
दाहालले भनेको कुरा जस्ताको तस्तै सुन्न सकिने भएकोले यतिविधि सच्चाउनुको कुनै अर्थ छैन । उनले भनेको खसोखास के हो भने प्रचण्डलाई प्रधानमन्त्री वनाउन प्रितमले धेरै मिहिनेत गरे । कसरी गरे त्यो स्पष्ट छैन । तथापि दिल्ली आउजाउ चाही गरे । यसको भाव यो हो कि सिंहले दिल्लीको सत्तासंग कुरा गरे होलान् । कहिले गरे त्यो भने स्पष्ट छैन ।
फेरि सवै प्रयास सफल हुन्छन् भन्ने हैन, प्रयास गरेर असफल भएको पनि हुन सक्छ । यस अर्थमा ओलीको प्रस्तावमा बनेको भनेर स्पष्टीकरण दिनुको पनि कुनै अर्थ छैन । बोल्यो कि पोल्यो भने झैं केही वोलेपछि रक्षाकवच ओलीलाई बनाउने पनि नयाँ कुरा भएन । भारतवाट राँगा ल्याएको प्रसंगमा धेरै आलोचना भएपछि त्यो त ओली कै पालामा प्रारम्भ भएको विषय हो भनियो । अहिले पनि त्यस्तै गर्न खोजिएको होला ।
तथापि मेरो विचारमा प्रचण्डले सो कुरा भनेकोमा सत्य बोले भनेर पनि भन्न सकिन्छ । वेला वेला प्रचण्ड सत्य कुरा वोल्छन् । जसरी क्यान्टोनमेन्टका जनसेनाको संख्याका सन्दर्भमा पनि सत्य कुरा बोलेका थिए ।
यिनको समस्या बोलेपछि त्यसमा नअडिनु हो । नेपालको प्रधानमन्त्री कसले बनाउँछ भनेर एकपटक डा. बाबुराम भट्टराईले पनि अनभिज्ञता प्रकट गरेका थिए । निश्चयनै प्रधानमन्त्रीको पद धारण गरेको ब्यक्तिले सो कुरा भन्न हुन्थ्यो कि हुदैनथ्यो त्यो बहसको बिषय हो ।
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा, राजनीतिशास्त्री हरि शर्मा, भारतका लागि पूर्वराजदूत द्घय नीलाम्बर आचार्य र दीपकुमार उपाध्याय लगायतले यसको विरोध गरेका छन् । उनीहरु सवैले भनेका छन्–
प्रतिनिधिसभाको बहुमतअनुसार प्रधानमन्त्री निर्वाचित हुने हो । प्रधानमन्त्री बन्न भारतको अनुहार हेर्ने प्रवृत्ति ठीक होइन’ ।
राजनीतिशास्त्री हरि शर्माको भाषामा प्रधानमन्त्रीको अभिव्यक्ति गैरराजनीतिक र राष्ट्रकै गरिमा घटाउने खालको छ । पूर्वराजदूत दीपकुमार उपाध्यायको भाषामा यसो हुनु देशको दुर्भाग्य हो र यो देशको लागि एकदमै घातक कुरा हो ।
महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्रीले गलत बोल्नुभएकोले त्यसमा आफ्नो प्रष्ट रुपमा विमति राख्दै नेपालको प्रधानमन्त्री नेपालको संसदप्रति उत्तरदायी हुनुपर्ने, संसदको गरिमालाई वृद्धि गर्ने र नेपालको राष्ट्रिय सम्मानलाई अभिवृद्धि गर्न सक्नुपर्ने धारणा सार्वजनिक गरेका छन् ।
अव दाहालको भाषामा बबण्डर गर्न खोजेको कसले हो त ? निश्चयनै उनको संकेत नेकपा एमालेप्रति हो । एमाले अध्यक्ष केपी शर्मा ओलीले ‘राष्ट्रिय स्वाभिमान र स्वाधिनता गिराउने खालको अशोभनीय र आपत्तिजनक अभिब्यक्ति आएकाले उनले जवाफ होइन, राजीनामा दिनुपर्छ भने ।
एमाले संसदीय दलका सचेतक महेश बर्तौलाको भाषामा प्रधानमन्त्री दाहालले प्रधानमन्त्री पदमा बस्ने हैसियत गुमाएका छन् । एमाले सांसद रघु पन्तले प्रधानमन्त्रीको सो भनाइले देशको गरिमा मेटेको तीखो टिप्पणी गर्दै सम्माननीय प्रधानमन्त्री पनि भनौं कि नभनौं भन्दै प्रश्न गरे र थपे–नेपालमा प्रधानमन्त्री दिल्लीले बनाउँछ कि संसदले बनाउँछ ?
उपर्युक्त आधारमा के भन्न सकिन्छ भने प्रधानमन्त्री प्रचण्डले गैरजिम्मेवारपूर्ण अभिव्यक्ति दिएका हुन् । राष्ट्रका संवेदनशील विषयमा बोल्दा पदीय गरिमाको हेक्का राख्नु पर्ने, छिमेकलाई जोडेर वोल्दा कुटनीतिक मर्यादाको हेक्का राख्नु पर्नेमा त्यसो गरेको पाइदैन । बरु उल्टै खिसिट्युरी गरेर उम्कने प्रयास गरेको पाइन्छ ।
गत चैतमा चीनमा भएको बोआओ फोरममा प्रधानमन्त्रीको हैसियतमा जानुपर्नेमा अन्तिम समयमा गएनन् । पहिलो पटक भारत जाने मानसिकताका कारण उनी चिन गएनन् । लगत्तै गत जेठमा तीन दिने भारत भ्रमणमा गए र फर्कदा त्रिभुवन विमानस्थलमा उनले भने– लिपुलेक, लिम्पियाधुराको सीमा विवाद मिलाउन भारतसँग बंगलादेशको मोडलमा जमिन सट्टापट्टा गर्न सकिने विकल्पमा चर्चा भयो । यो पनि छलफलबाट भनेको विषय थिएन ।
भ्रमणका क्रममा १९५० को असमान सन्धि पुनरावलोकनसहित दुई देशबीचको समस्यालाई दीर्घकालीन समाधान गर्ने उद्देश्यले गठित ईपीजीको प्रतिवेदन बुझ्नेबारे प्रधानमन्त्री प्रचण्डले भारतसंग कुरा गर्नुपर्ने थियो । तर वातावरण बिथोलिने डरले छलफलको विषय बनाइएन ।
कुनैवेला मालिकसंग वार्ता गर्छु भनेर नेपालका पार्टीहरुलाई किनारा लगाउने प्रचण्डले शायद सोही अनुसारनै मालिकसंगको पहुँच विस्तार गरेका हुन् कि ? प्रश्न उठाउन सकिने अवस्था छ ।
भारतका करोडौं जनताको मनमा चिसो पस्ला भनेर भारतीय प्रधानमन्त्रीको प्रस्ताव स्वीकार्दै मध्यप्रदेशस्थित महाकालेश्वर मन्दिर पुगेर गेरुवा बस्त्रमा देखा परे । केही दान पनि गरे । अर्थात् यी सवैले के देखाउँछ भने प्रचण्ड यतिवेला सत्ता टिकाउनका लागि भारतको भक्ति गाउन तयार छन् । कुनै वेला भारतका निम्ति कम्फर्टेवल समीकरण गर्न लागेको अभिब्यक्ति दिएका प्रचण्डले एकपछि अर्को कम्फर्टेवल हुन वा बन्न खोजेको देखिन्छ ।
त्यसोत प्रचण्ड वोलेर पछुताउने नेता हुन् भन्ने मान्यता स्थापित भएकै छ । उनले कैयौं कुरा यसरी वोल्ने गरेको सत्य हो ।
माओवादीमाथि १७ हजार मानिस मारेको आरोप लाग्दा ५ हजारको जिम्मा मलाई दिनुहुन्छ भने म जिम्मा लिन्छु । राज्यले मारेका पनि मेरै टाउकोमा हालियो भने यो न्याय हुँदैन भनेर पनि भनेकै हुन् ।
त्यसैले त कुनैवेला प्रचण्डसंग सहकार्य गरेका राजनीतिक विश्लेषक मुमाराम खनाल प्रचण्डलाई सोचेर नबोल्ने, विचार गरेर नवोल्ने, सनकमा बोल्ने नेताको रुपमा विष्लेषण गर्छन् ।
ब्याख्याताहरुले यसलाई समय अनुसार ब्याख्या गर्छन् । कुनैवेला प्रचण्डको इमान्दारिता भन्छन् भने कुनैवेला त्यसो भनेकै हैन । आशयलाई बंग्याइयो । विपक्षलाई सैह्य भएन । यस्तै यस्तै । मलाई पनि के लाग्छ भने उनले मनको कुरा ओकल्छन् र ओकलेका हुन् । त्यसैले यसलाई अनावश्यक विषयान्तर गर्नुभन्दा सत्य कुरानै यही भन्दा उचित हुन्थ्यो ।
विषयान्तरको प्रयास ः
प्रधानमन्त्रीको कुर्सीवाट सवै सत्य कुरा बोलिराख्नु पर्दैन । आबश्यकता अनुसार वोल्ने हो । कुटनीतिमा त संकेतले पनि काम गर्छ । वाहिर हुँदा यही कुरा वोलेको भए त्यसलाई कसैले यतिसारो आपत्ति जनाउने थिएनन् । यस अर्थमा यो सत्य भएर पनि बोल्न नहुने विषय हो ।
तर, सत्तारुढ दल माओवादी केन्द्रका नेताहरुले यसलाई विषयान्तर गर्दैछन् । सामाजिक सञ्जालमार्फत् गृहमन्त्री नारायणकाजी श्रेष्ठले भनेका छन्–‘प्रतिनिधिसभाबाट मिटरब्याज सम्बन्धी बिधेयक पारित हुनुपर्दथ्यो । तर गरिएन । यस सम्बन्धमा जारी अध्यादेश निष्कृय भएको छ । यसबाट को पीडित जनताको पक्षमा छ र को विपक्षमा छ भन्ने स्पष्ट भएको छ’ ।
माओवादी केन्द्रका उपमहासचिव एवं सांसद वर्षमान पुनले सामाजिक सञ्जालमै लेखेका छन्– ‘देशभरमा मिटरब्याजपीडित आन्दोलन भइरहेको अवस्थामा कानुनी शून्यता हुने भयो । कोही थुनामा छन्, कोही मुद्दा चलिरहेकाले अवस्था जटिलता बनेको छ । यो दुःखद् कुरा हो ।’
सामाजिक सञ्जालमा हेर्दा एमालेले मिटरब्याजीको पक्ष लिएको आभाष दिन खोजिएको छ । के सत्य यही हो ? के यसलाई कसैले विश्वास गर्छ ? मिटरब्याजी ठगलाई कारवाही गर्न के नेपालमा कुनै कानुन छैन ? यस्ता विषयमा आबश्यक परे विधेयक ल्याएर कारवाही गर्न कसले रोकेको छ ?
बरु विगतमा ललिता निवास प्रकरणमा माधव नेपालदेखि बाबुराम भट्टराईसम्म तानिने भएपछि सवैजना मिलेर ओली सरकार ढालेको सत्य हो । जुन कुरा मिनेन्द्र रिजालले सार्वजनिक गरेकै हुन् ।
२०८० असार २१
No comments:
Post a Comment